झुमाको ‘घाटुसरी’ युरोप प्रदर्शन हुने

२०७४ असोज २६ गते ९:०० मा प्रकाशित
सौर्य समाचार

Ghatuकाठमाडौं २६ असोज । घाटुसरी परम्परामा आधारित वृत्तचित्र प्रदर्शनका लागि गायिका झुमा लिम्बू युरोप जाने भएकी छन् । लिम्बूले निर्माण गरेको सांगीतिक र सांस्कृतिक विषयमा आधारित वृत्तचित्र ‘घाटुसरी’ युरोपका विभिन्न शहरमा प्रदर्शन हुने भएको हो ।  घाटुसरी परम्परा लमजुङका गुरुङ, मगर, दुरा, कुमाल र बराम जातिमा प्रचलित रहेको छ । यही विषयमा लिम्बूले अध्ययन गरी तयार पारेको वृत्तचित्रमा नेपाली संगीत परम्परा र सांस्कृतिक अन्तर्सम्बन्धलाई उधिनिएको छ ।

लिम्बूको अध्ययन, अनुसन्धान भने नाल्मा र बेसीसहरमा प्रचलित गुरुङ परम्पराको सतीघाटुमा केन्द्रित छ । यस परम्परामा संगीतको लय र धुनमा नृत्यांगना बेहोस हुने र फेरी संगीतबाटै ब्युँझने शक्तिबाट प्रभावित भएको उनले जनाइन् । यसले मनमा अनेकन जिज्ञासा उब्जाएको लिम्बूले बताइन् ।  नेपालको मौलिक गीत संगीत र त्यसको समाजसँगको अन्तरसम्बन्धलाई अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने लक्ष्य राखेर युरोप जान लागेको उनले जनाइन् ।

राजधानीमा मंगलबार वृत्तचित्र प्रदर्शनपछि उनले भनिन्, ‘यसअघि मुन्धुममा गायनको विकासक्रमबारे अध्ययन गरेकी थिएँ । तर यसपटक घाटुसरीभित्रको सांगीतिक प्रभाव र परम्पराबारे अध्ययन गरेकी छु ।’ यो वृत्तचित्र तयार पार्ने क्रममा उनले नेपालको गण्डक तथा त्यस वरपरको क्षेत्रमा पुगेर अध्ययन गरेको बताइन् ।  उनले भनिन्, ‘भविष्यमा सुदूरपश्चिम लगायतका भेगका संगीत संस्कृतिको अनुसन्धान गर्ने तयारी पनि गरिरहेको छु ।’

गीत संगीतलाई कर्णप्रिय बनाउन यसको अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै लिम्बूले भनिन्, ‘कतिपय गीत संगीत बुझ्नका लागि घुम्नैपर्ने हुन्छ । कोठाभित्र रचना गरिएका गीत–संगीत पनि मीठो त सुनिएलान्, तर त्यस्ता गीत–संगीतले मौलिकताकोे प्रतिनिधित्व गर्न सक्दैनन् ।’  विभिन्न ठाउँ घुमेर लोकजीवन र संस्कारजन्य अभ्यासका विषयलाई बुझ्न सक्यो भने त्यसले मौलिकतालाई बचाउनुका साथै मन छुने खालको गीत बन्ने उनले बताइन् ।

तपाइको प्रतिक्रिया