‘जबज र माओवादबाट सहमतिको विन्दु खोजिनुपर्छ‘

मा प्रकाशित

shankar_pokharel

एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा वामतालमेल गर्ने सहमति भएको छ । वामतालमेलसँग यी कम्युनिस्टबीच एकीकरण गर्ने पनि सहमति पत्रमा हस्ताक्षर भएको छ । वामएकताबारे एमाले र माओवादीको संयुक्त सरकार हुँदा पनि कुरा उठेको थियो । तर, एमालेका अध्यक्ष केपी शर्माओलीलाई माओवादीले एक्कासि सरकारबाट वहिर्गमन गराएपछि तुहिएको हो । अहिले फेरि तेस्रो चरणको निर्वाचनपछि एमाले र माओवादी नजिकिएर वामतालमेल गर्दै पार्टी एकीकरण गर्नेसम्मको सहमति गरेका छन् । प्रस्तुत छ यिनै वामतालमेल र पार्टी एकीकरणका सम्बन्धमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग साैर्यकर्मी शरद शर्माले गरेकाे कुराकानीको सारसंक्षेप ।

वामतालमेल कसरी सम्भव भयो ?
पहिलो कुरा त विगतमा पनि वामतालमेलका कुरा नभएका होइनन् । तर, प्रधानमन्त्रीबाट हाम्रा अध्यक्षलाई माओवादीले समर्थन फिर्ता गरेपछि त्यो रोकिएको हो । होइन भने स्थानीय तहका निर्वाचनमा नै वामतालमेल हुने यियो तर भएन । अहिलेचाहिँ निर्वाचन नजिकिएका कारण हामी तीनै दल एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँग चुनावी तालमेल गर्ने र पार्टी एकताका लागि पहल गर्ने भनेर ६ बुँदे सहमति भइसकेको छ ।

त्यो कुरालाई व्यावहारिक रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल चलाइरहेका छौँ । अब आउँदो प्रतिनिधिसभा र प्रदेशसभामा हामीले एउटै चुनावी घोषणापत्र बनाएर जाने सहमतिसमेत गरिसकेका छौँ । केही राजनीतिक व्यक्तित्वहरू, स्वतन्त्र समूह त सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा पनि सहमति भएको छ ।

वाम एकीकरण केले डो¥यायो ?
जब राजनीतिक स्थायित्व र समृद्धिको प्रश्न अगाडि आउँछ, त्यतिबेला धेरै राजनीतिक दलहरू उपयुक्त हुदैनन् । दलहरू धेरै हुनु भनेको राजनीतिक द्वन्द्वको विस्तार मात्र हो । त्यसका लागि त स्वभाविक रूपमा पार्टी प्रवेश एउटा माध्यम हो भने ध्रुवीकरण अर्को माध्यम । त्यसैको प्रतिफल हो नेपालमा रहेका वाम एकता ।
देशमा अस्थिर सरकार भयो भने मुलुक समृद्धितर्फ जाँदैन भन्ने कुरा विगतको २८ वर्षको प्रजातन्त्रको पुनस्थापनापछि बनेका सरकारले देखाएको छ । ५ वर्षसम्म स्थायित्व सरकार कहिल्यै बन्न सकेन ।

यो गठबन्धनले कसले फाइदा गर्ला ?
गठबन्धनले दुवै पार्टीलाई नाफा हुने निश्चित रहेको छ । यदि गठबन्धनले नाफा नै नहुने हो भने त ६ बुँदे सहमति गरेर अगाडि बढ्ने नै थिएन । एउटाको लाभको लागि अर्कोले एकता गर्छ भन्ने कुरा हुँदै हुँदैन । एमालेले पनि यो एकता प्रक्रिया र चुनावी तालमेलबाट लाभ देखेर गठबन्धनको प्रक्रिया अघि बढेको हो । प्रमुख नेताहरूबीचको छलफलको चरणमा त एउटै चिन्ह लिएर जाने सहमति भएकै हो ।

पछि माओवादी केन्द्रका साथीहरूले प्रत्यक्ष निर्वाचन पद्धतिमा आफ्नो चुनाव चिह्नमा उम्मेदवार नहुँदाखेरि समानुपातिक पद्धतिमा गाह्रो भयो भन्ने कुरा गर्नुभयो । एउटै चिन्हमा जाँदाखेरि मतदाताले सहजरूपमा छनोट गर्ने अवस्था रहन्छ भन्ने हाम्रो मान्यता छ । तर, एउटै चुनाव चिन्ह लिएर जान समस्या भए आआफ्नो चुनाव चिन्ह लिएर चुनावमा जान्छाैँ । निर्वाचन आयोगले मतपत्र छापिसकेको हुनाले एउटैमा जान सायद समस्या हुन्छ कि भन्ने हो ।

पार्टी नै एकीकरण हुन थालेपछि केही नेतामा असन्तुष्टि पैदा भएको छ भनिन्छ नि ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेको पार्टी एकता प्रयासचाहिँ माओवादी केन्द्रको विघटन हो, पुरानो विघटन नभइकन नयाँ बन्दैन भन्नेखालको कुरा गर्नुभएको थियो । उहाँले भनेजस्तै अहिले नेपालमा रहेका २ ठूला कम्युनिस्ट पार्टीको एकीकरण हुन थालेको हो । र उहाँले भनेको कुरा तल्लो तहका कार्यकताले पनि मान्ने गर्दछन् ।

न कि त्यसमा कसैको असन्तुष्टि होला भन्ने मलाई लाग्दैन न एमालेमा पनि । माओवादीले सशस्त्र द्वन्द्वबाट आएको नेतृत्वले के भन्छ भन्नेले धेरै कुरा तय हुन्छन् । त्यहाँ नेतृत्वले जे भन्छ कार्यकर्ताले सहज रूपमा ग्रहण गर्ने स्थिति छ । वामएकताबारे दुवै पार्टीले आफ्नो नेता र कार्यकतालाई बुझाउनु सक्नुपर्दछ । कतिपयमा अस्पष्टता, अन्योलता रह्यो होला विगतमा तर बिस्तारै मिल्दै जान्छ ।

पार्टी एकतासम्म जाँदा एमाले र माओवादीबीच फ्युजन कसरी होला ?

हिजोको राजनीतिक कार्यदिशाका सन्दर्भमा एमाले र माओवादी केन्द्रका आआफ्ना मान्यता थिए । अब २ वटा पार्टीको अस्तित्वमा आधारित भएर एकताको औचित्य पुष्टि गर्ने कुरामा केन्द्रित हुने कि एउटा पार्टी निर्माणका आधारहरूका सहमति कायम गर्न कोशिस गर्ने ? भन्ने प्रश्न आउछ । विगतका प्रश्नहरूमा नभई अब आउने प्रश्नहरूमा २ पार्टी अब कसरी जाने भन्ने सहमति कायम गर्ने हो भने एकताप्रक्रिया सहज हुन्छ ।

माओवादीले माओवाद मान्दै आए, एमालेले जनताको बहुदलीय जनवाद मान्दै आएका छन् । त्यसो हुँदाखेरि माओवाद र जबज मान्दै आएको कम्युनिस्ट पार्टी एकता हुँदाखेरि वैचारिक पक्ष के हुने ? प्रश्न पनि उठ्ने गर्ला । अहिलेको माओवादी नेतृत्वले २१औँ शताब्दीको जनवादका रूपमा सारेको अवधारणासँग जनताको बहुदलीय जनवादको अवधारणाका बीचमा खासै फरक छैन ।

अब हामीले यी २ विन्दुलाई समातेर सहमति खोज्ने हो । माओवादीको २१औँ शताब्दीको जनवादका सोचहरू र एमालेले अगाडि सार्दै आइरहेको जनताको बहुदलीय जनवादका सोचहरूमा खासै भिन्नता नरहेको अवस्थामा त्यहीबाट सहमतिको विन्दु खोज्ने प्रयास गर्नुपर्दछ ।

कम्युनिस्ट एकता भएपछि एकतन्त्रीय शासन व्यवस्था हुन्छ भन्ने कुरो सुनिएको छ नि ?
देशलाई समृद्धितर्फ लैजान खोजिएको हो । एकतन्त्रीय शासन होइन । अहिले तानाशाहीको जन्म कम्युनिज्मबाट हुन्छ भन्नेखालको मान्यता नै गलत हो । एकदलीय शासन व्यवस्था रहेको चीनमा समेत २ कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने प्रणाली र आन्तरिक लोकतान्त्रिक प्रणाली त उनीहरूले स्थापित गरेका छन् नि । तर, हाम्रो वामएकता एकतन्त्रीय नभई देशमा चिरस्थायित्वको लागि गठन भएको हो ।

पार्टी एकता हुँदा नेता कार्यकर्ताको व्यवस्थापन कसरी हुन्छ ?
यो ठूलो समस्या होइन । अहिले दिनहुँ एमालेमा प्रवेश गर्नेको संख्या वृद्धि भइरहेको छ । तिनलाई पनि हामीले व्यवस्था गरेका छाैँ । यदि, एकीकरण भएमा पार्टीमा ५ जना ठूला नेता रहने छन् । ती सबै पूर्व प्रधानमन्त्रीहरू हुनुहुन्छ । दोस्रो, तेस्रो तहमा पनि धेरै नेताहरू छन् । तिनको पनि व्यवस्थापन गर्नु नै पर्दछ । अहिले ३ जना शीर्ष नेता रहेको पार्टीमा थप २ जनालाई व्यवस्था गर्न त्यति गा¥हो देखिँदैन । एमाले प्रजातान्त्रिक अभ्यासमा चलेको पार्टीले सबै कुरा मिलाउन सक्दछ ।

संक्रमणकालीन अवस्थामा व्यवस्थापनका संक्रमणकालीन विधिहरू हुन्छन् । संक्रमणकाल टुंगिसकेपछिको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण हुन्छ । कार्यकर्ताको रोजाइमा जो पर्छ त्यो नै नेता हुन्छ । पहिलो फेजमा हामीले संक्रमणकालीन अवस्था भनेर नेता कार्यकर्ताको व्यवस्थापन गर्दछौँ । दोस्रो फेज भनेको संक्रमणकालको अन्त्य पछाडि लोकतान्त्रिक अभ्यासमा जान्छौँ ।

एकतापछि पार्टी कस्तो बन्ने परिकल्पना गर्नुभएको छ ?
पार्टी विल्कुल नयाँ बन्छ । २ वटा ठूला कम्युनिस्ट पार्टी मिलिसकेपछि त्यसको प्रभाव त केही न केही भइहाल्छ । तर, कस्तो हुन्छ भन्ने कुरा पछि नै थाहा हुन्छ । एकतापछि नेता कार्यकर्तामा उत्साह मिलेको नयाँ पार्टी बन्नेछ ।

अहिले क्षेत्र बाँडफाँट गर्न समस्या किन प¥यो ?
निर्वाचनको मुखमा आएको हुनाले अहिले समस्या परेको हो । तर, त्यो समस्या पनि दुवै दलको कार्यदलले बसेर लगभग सकाइसकेको स्थिति रहेको छ । २ पार्टीबीच एकीकरण गर्ने भन्ने कुरा पहिला पनि आएको हो । तर, त्यो त्यतिकै सेलाएको थियो । मुख्यतः तेस्रो तहको स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि र प्रदेशसभामा तालमेल गरेर पछि पार्टी एकीकरण गर्नेसम्मको कुरामा २ पार्टी सहमतिमा पुगियो । र, ६ बुँदे सहमति पनि भयो ।

अब सहमतिअनुसार ६० एमाले र ४० माओवादीलाई दिने कुरा छ । त्यो भागबन्डामा गर्न केही त समय चाहिन्छ । हामीले दोस्रो संविधानसभा र गएको स्थानीय तहको नतिजालाई आधार बनाएर तालमेल गर्न खोजिरहेका छौँ । अहिले कार्यदलले अन्तिम बाँडफाँट गरिरहेको छ । एउटा जिल्लामा दुवै पार्टीलाई प्रतिनिधि र प्रदेशसभामा मिलाउनका लागि अलि बढी समय लागेको हो ।

तपाइको प्रतिक्रिया