कता जाँदै छ अबको विद्यार्थी आन्दोलन ?

मा प्रकाशित

bhanu Bhattaraiनेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीको अग्रणी भूमिका रहेको छ । चाहे त्यो राजतन्त्र फाल्न होस् वा प्रजातन्त्र ल्याउनका लागि होस् । ती सबै काम विद्यार्थी आन्दोलन गरेको हुन् । ०३६ सालमा जनमतसंग्रह मार्फत राजनीतिक परिवर्तन गर्नमा पनि विद्यार्थी आन्दोलनको भूमिका रहेको छ । त्यतिबेला ०३५ सालको अन्त्यमा पाकिस्थानका प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई त्यहाँको सैनिक शासनले फाँसी दिएपछि त्यसको प्रतिकात्मक रूपमा विरोध हुन थाल्यो ।

नेपालमा पनि त्यसको प्रभाव परेर विद्यार्थीहरू हत्याको विरोधमा सडकमा उत्रिए । विद्यार्थीको त्यो आन्दोलनले २० वर्षे पञ्चायतीशासनमा रुमल्लिरहेका नेपाली जनतालाई परिवर्तनको चाहनाको महसुस गरायो । ०१७ सालको परिवर्तनपछि पहिलोपटक आमविद्यार्थी संगठित भए ।  पाकिस्तानी प्रधानमन्त्री भुट्टोको फाँसीको विरोधमा विद्यार्थीहरूको आन्दोलन हुन थाल्यो ।

लैनचौरस्थित पाकिस्तान राजदूतावासमा ज्ञापनपत्र बुझाउँदाजाँदा तत्कालीन पञ्चायत सरकारले विद्यार्थीमाथि दमन र धरपकड ग¥यो । त्यसैकै विरुद्धमा विद्यार्थीहरूले झनै दिनदिनै काठमाडौका सडक तताउन थाले । विद्यार्थीहरूले क्याम्पस स्कुलबन्द गरेर आन्दोलनलाई उत्कर्षमा पु¥याए । उनीहरूले भुट्टोको फाँसीको विरोधसँगै पञ्चायत शासनको विरोधको स्वर उठाउन थाले ।

विद्यार्थीको आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि ३ महिना काठमाडाैं अस्तव्यस्त भयो । आन्दोलनको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी फेडरेसनले नेतृत्व लिएका थिए । आन्दोलनका स्वरूप परिवर्तनसँगै विद्यार्थीले नेपाली शासन व्यवस्था पनि परिवर्तनको माग गदै मुख्य एजेन्डा बनाउन थाले । फलस्वरूपमा विद्यार्थीकै आन्दोलनको कारण ०३७ नेपालमा भएको एक निर्वाचन हो जनमत संग्रह । जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा चुनाव भएको थियो । निर्विकल्प भनिएको पञ्चायति व्यवस्थालाई जनमत संग्रहमा लैजान राजालाई बाध्य पार्ने काम विद्यार्थीहरूले नै गरे ।

त्यस्तै ०४६ सालमा प्रजातन्त्र ल्याउनमा पनि विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ०६२÷६३ को आन्दोलन पनि विद्यार्थीले गर्दा सफल भएको थियो । दोस्रो जनआन्दोलनमा सर्वप्रथम गणतन्त्रको नारा घन्काउने विद्यार्थी नै हुन् । त्यतिबेला विद्यार्थी सडकमा आएर राजतन्त्रविरुद्ध नारा लगाएका थिए । गणतन्त्र ल्याउन राजनीतिक दललाई दबाब दिएका थिए । फलस्वरूप आन्दोलन सफल भयो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो ।  राजनीतिक परिवर्तनमा मात्र नभएर विद्यार्थीले शैक्षिक परिवर्तनमा पनि अग्रणी भूमिका निर्वाह गरेका छन् ।

देशको शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगति हटाउन विद्यार्थी संगठन लागेका देखिन्छन् । त्रिभुवन विश्वविद्यालयको शिक्षा होस् वा उच्च शिक्षा होस त्यसको गुणस्तर सुधार गर्न विद्यार्थीले पटकपटक आन्दोलन गरेका छन् । विद्यार्थी आन्दोलनकै कारण उच्च शिक्षा सर्वसुलभ बन्न सकेको छ । केन्द्रीय विश्वविद्यालयमा मात्र पढाइ हुने उच्च शिक्षालाई गाउँगाउँमा विद्यार्थीले लगेका छन् । अहिले गाउँटोलमा उच्च शिक्षा अध्ययन हुने गर्दछ । गाउँमा अहिले स्नातक गरेका विद्यार्थीको संख्या उल्लेख्य छ ।
विद्यार्थी संगठनहरूले अहिले पनि सरकारलाई शैक्षिक मुद्दामा घच्घचाउने गरेको छन् । उनीहरू राज्यलाई गलत दिशामा लैजानबाट रोक्ने गरेका छन् । चाहे चिकित्सा क्षेत्र होस् चाहे विश्वविद्यालय वा माध्यमिक तहको शिक्षामा होस् । सरकारको गलत कार्यलाई विद्यार्थीले खबरदारी गरेको पाइन्छ । भर्खरै सरकारले अयोग्य शिक्षकलाई सिधै स्थायी गर्नेगरस गरिएको शिक्षा ऐन नवौँ संशोधनलाई विद्यार्थीले खुलेर विरोध गरे । विद्यार्थी संगठनको विरोधका कारण अहिले नवौँ संशोधन अड्किएको छ ।

यस्तै सार्वजनिक यातायातमा ४५ प्रतिशत, उच्च शिक्षामा छात्रवृत्ति र उपचार खर्चमा ४५ प्रतिशत सहुलियत गर्न पनि विद्यार्थी संगठनको आन्दोलनबाट सम्भव भएको हो । अहिले यी लागू भइसकेका छन् । तर, विद्यार्थी आन्दोलनले सतही सफलता हात पारे पनि गहिराइमा भने सफलता हासिल गर्नसकेको छैन । त्रिविमा शुल्क बढे मतलव छैन । स्कुलको फि बढे मतलब छैन । विगत १० वर्षदेखि विद्यार्थी आन्दोलनले खासै उपलब्धी हासिल गर्न नसकेको पूर्वविद्यार्थी नेता बताउँछन् । अखिलका पूर्वअध्यक्ष ठाकुर गैरै विद्यार्थी आन्दोलन जुन स्पीरिडमा चल्नुपर्ने हो त्यो नचलेको बताउँछन् ।

उनी भन्छन्, अहिलेका विद्यार्थी संगठन विकाउ भइसकेका छन् । राजनीतिक गतिविधी गर्ने विद्यार्थी राजनीतिक आन्दोलनसँग शिथिल भएका छन् । उनीहरूलाई नयाँ ऊर्जा आवश्यक छ । विद्यार्थी आन्दोलनलाई अब राजनीतिक नभई शैक्षिक आन्दोलनमा बढी केन्द्रित गराउन आवश्यकता रहेको उनको अनुभव छ । अहिले विद्यार्थी नेता आन्दोलनमा गरेर, टायर बालेर, ढुंगाइँटा फालेर नेता कहलिन्छन् । तर, तिनीहरूलाई विद्यार्थी आन्दोलन के हो भन्ने पनि थाहा हुँदैन । ती विद्यार्थी क्याम्पसमा भर्ना नभइकन बिहानै गेटमा पुगी राज्यका विरुद्ध टायर बाल्ने गरेका छन् । यही विद्यार्थी आन्दोलन सही गतिमा हिँडेको भए ८ वर्षदेखि रोकिएको स्ववियु निर्वाचन हुने थियो ।

स्ववियु निर्वाचन नभएर विद्यार्थी हकहितको संरक्षण हुन सकेको छैन । दुईपटक निर्वाचनको मिति तोक्दा तिनै विद्यार्थी संगठनको कारणले निर्वाचन हुन सकेन । गतवर्ष भएको निर्वाचनमा पनि देशका ठूला क्याम्पसमा बिथोलियो । स्ववियु निर्वाचन किन हुन सकेन भनेर विद्यार्थी संगठनले कहिल्यै समीक्षा गरेनन् । आफू जित्ने भए निर्वाचन हुन दिने र हार्ने भएपछि नदिने हर्कत अझै विद्यार्थी संगठनमा रहेको छ । यसले विद्यार्थी आन्दोलनलाई स्खलित गर्ने काम गरेको छ । यदि साच्चै विद्यार्थी आन्दोलनलाई सही दिशामा लैजाने हो भने पहिला स्ववियु निर्वाचन गर्नुपर्दछ ।

यस्तै अहिले विद्यार्थी नेता शैक्षिकभन्दा आफ्नो स्वार्थमा हिँड्ने गरेका छन् । उनीहरू नेताको पिछलग्गु भएर नेता र संगठनको नाममा चन्दा उठाउने काममा लागेका देखिन्छन् । त्यही चन्दाबाट उनीहरू बाँचेका छन् । विद्यार्थी नेताहरूको ध्यान कहाँ शुल्क, बढ्यो शैक्षिक गुणस्तर कस्तो भयो भन्नेतर्फ रहेको देखिन्न । कहाँ कुन ठेक्का मिलाएर कति पैसा कमाउन सकिन्छ ? त्यहि ध्याउन्नमा अहिलेका विद्यार्थी नेता रहेका छन् । अनि कसरी हुन्छ त विद्यार्थी आन्दोलन सफल ।
अर्कोतिर उनीहरूले नाफाखोर व्यपारीद्वारा सञ्चालित शैक्षिक संस्थालाई नै आफनो कमाइ खाने भाँडोको रूपमा लिएका छन् । नयाँ शैक्षिक सत्र हुँदा स्कुलमा तालाबन्दी गरेजस्तो गर्ने र पछि त्यही स्कुलबाट चन्दा लिने गरेको पाइन्छ ।

पढेर उत्पादनसँग जोडिने अवस्थामा विद्यार्थी नेताको अहिलेको काम देख्दा दया लागेर आउँछ ।  साच्चै विद्यार्थी आन्दोलनलाई निर्णायक बनाउने हो भने ५ लाख विद्यार्थीलाई उत्पादनसँग जोडेर देशलाई समृद्धितर्फ लैजान आवश्यक रहेको छ । हामी आमविद्यार्थीले चन्दाबाट पालिने नेताबाट के कुरा सिक्ने ? गम्भीर प्रश्न खडा भएको छ । एउटा सच्चा र जिम्मेवार विद्यार्थी नेताले साना बालबालिकाप्रति संवेदशील भएर शैक्षिक उन्नतिका लागि अहं भूमिका निर्वाह गर्नुपर्दछ । तर, अहिलेका नेतामा यस्तो गुण पाउन सकिँदैन ।

अवको विद्यार्थी आन्दोलन राजनीतिक आन्दोलन नभई विशुद्ध विद्यार्थीलाई उत्पादनसंग जोड्न खालका हुनु पर्दछ । दैनिक १५ सय रोजगारीका लागि बिदेसिने र वार्षिक २० हजार पढ्नका लागि बिदेसिनेलाई रोक्न जरुरी रहेको छ । नेपालमा नै शैक्षिक उन्नयनको प्रशस्त सम्भावना रहेको छ । देश संघीयतामा गइसकेको अवस्थामा अब हरेक युवा विद्यार्थीका लागि रोजगारी सिर्जना गर्नुपर्दछ । त्यो यहीबाट नै सम्भव छ । अबको विद्यार्थी आन्दोलन विद्यार्थीको हकहिततर्फ उन्मुख भएर परिवर्तनमुखी हुन आवश्यक छ न कि चन्दामुखी ।

विद्यार्थीले चाहे देशको शासन व्यवस्था नै परिवर्तन गर्न सक्छन् भन्ने कुरा लेखमा अघि नै औँल्याइसकेको छ । अब शासन परिवर्तन होइन शैक्षिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ डो¥याउन आवश्यक छ । यो प्रयत्न सबै संगठनका विद्यार्थी नेताले गर्नुपर्छ ।  (लेखक अखिलका नेता हुन् )

तपाइको प्रतिक्रिया