तीन महिनादेखि मोवाइलको टावर बन्द

२०७४ असोज २६ गते १५:२९ मा प्रकाशित

ताप्लेजुङ, २६ असोज । विगत तीन महिनादेखि मोवाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको हो ।

टावर जडान गरिएको तीन महिना नपुग्दै खराबी आए पनि बन्द भएको तीन महिना बितिसक्दासम्म मर्मत भएको छैन ।

वैशाखमा जडान गरिएको टावरमा असार १४ गते नै खराबी आएको स्थानीयवासी भानुभक्त गौतमले बताए ।

खराबी भएको तीन महिना बितिसक्दासम्म मर्मत नगरिँदा त्यहाँका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ता मर्कामा परेका छन् । उक्त मोबाइल टावरको सेवा क्षेत्र जिल्लाको दुर्गम भेग पर्छ ।

साबिकको याम्फुदिन, मामांखे, खेवाङ, सुरुम्खिम, मेहेले, पेदाङ, आम्वेगुदिन, पेदाङ, तेल्लोक, सिकैचा लगायतका गाविसवासीले सो टावरबाट सेवा लिँदै आएका छन् ।

अन्य स्काई तथा एनसिएलको समेत राम्रो नेटवर्क नआउने भएकाले त्यहाँका बासिन्दालाई थप समस्या भएको छ ।

इलाममा रहेको एकीकृत मर्मत सम्भार इकाईको कार्यालयलाई खराबी आउनासाथ खबर गरे पनि हालसम्म चासो नदिएको स्थानीयवासीको आरोप छ ।

यता टावरमा आएको खराबीबारे कार्यालयले चासो राखेको र केही दिनमा नै मर्मत हुने कार्यालयका इञ्चार्ज ज्ञाननाथ सापकोटाले बताए ।

टावरको रेडियो लिंकमा खराबी आएको र मर्मतका लागि केही सामान क्षेत्रीय कार्यालयबाट मगाउनु परेको र टावर राखिएको ठाउँमा पुग्न निकै समय लाग्ने भएकाले पनि ढिलाइ भएको सापकोटाको भनाइ छ ।

ताप्लेजुङसहित पूर्वी क्षेत्रमा जडान गरिएका विटिएस टावरको मर्मतसम्भार उक्त कार्यालयले नै गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया