साहित्य

पुनहिलबाट देखिने हिमाली सौन्दर्य

सौर्य अनलाइन २०७४ माघ २० गते १५:४१ मा प्रकाशित

हिमाल सुन्दर हुन्छन्, त्यसैले देवता पनि हिमालमा बस्न रुचाउँछन् । कैलाश पर्वत भगवान् शिवको वासस्थान भएको कुरा हिन्दू ग्रन्थहरूमा पाइन्छ । हिमालय पर्वतलाई ऐश्वर्यशाली भनिन्छ । प्रकृति माताले हाम्रो देश नेपाललाई जस्तो माया संसारका अन्य कुनै देशलाई पनि दिएकी छैनन् । हामीसँग समुद्र छैन तर समुद्रको अस्तित्व जोगाउने हाम्रै हिमालय पर्वतबाट निस्केका हिमनदी छन् ।

नेपालमा भएका हिमाल, प्राकतिक सुन्दरता र स्रोत एवं तिनको महत्वबारे हाम्रा धर्मग्रन्थहरूमा जे जति चर्चा भयो त्यसको तुलनामा आधुनिक युगमा देशमा त्यसबारे पटक्कै चर्चा भएन । कस्तुरीको खोजमा भौतारिने हामीले केही नगरेको देख्दा पिरोलिएर विदेशीले उल्टै बरु हिमाल र त्यसको सौन्दर्य र महत्वबारे लेखिदिएपछि, बोलिदिएपछि बल्ल हामी झस्किन्छौँ । यसवेला मलाई टोनी हेगनको सम्झना आउँछ, जसले नेपाललाई विश्वभर चिनाए । यो पोखरादेखि उत्तर–पश्चिम वरपरको यात्रासँग सम्बन्धित सानो नियात्रात्मक लेख भएकाले म त्यसैमा केन्द्रित हुन चाहन्छु । धवलागिरि र अन्नपूर्ण हिमशृंखलाबारे विश्वमा खास गरी युरोप र अमेरिकामा त्यसवेला उल्लासपूर्ण रूपमा चर्चा भयो जब सन् १९५० को जुलाई ३ मा अन्नपूर्ण प्रथम (८ हजार ९१ सय मिटर) को सफलतापूर्ण आरोहण गरियो । फ्रेन्च नागरिक माउरिस हरजोज फ्रान्सका मात्र नायक भएनन्, आठ हजार मिटरभन्दा माथिको हिमाल चढ्ने उनी विश्वकै प्रथम मानव हुन सफल भए ।

उनको आरोहणपश्चात् नेपाल खासगरी अन्नपूर्ण क्षेत्र विश्वका मानिसको मनमन्दिरमा वास बस्न थाल्यो र मानिसहरूले नेपाल प्रवेशको लागि सहज वातावरण बनाउन पहल पनि गरे । दबाब दिए । त्यसपछि सन् १९७० मा मोदी खोलाको शिरमा रहेको अन्नपूर्ण आधार शिविर (४ हजार १ सय ३० मिटर) मा शिविर खडा गरेर क्रिस बोनिङटनको नेतृत्वमा बेलायती पर्वतारोहीले पूर्वी मोहोडाबाट अन्नपूर्ण प्रथमको आरोहण गरेपछि पदयात्री र पर्वतारोहीको लागि यो क्षेत्र जीवनमा एकपटक पुग्नै पर्ने स्थानको रूपमा स्थापित हुन पुग्यो ।

फलस्वरूप अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण परिक्रमा र सगरमाथा आधार शिविर आज संसारका मानिसहरूले सबैभन्दा बढी मनपराउने पदयात्रा मार्गमा पर्दछन् । विश्वका सञ्चारमाध्यममा पर्वतारोहणपछि यी क्षेत्र चर्चामा भइरहन्छन् । तीन पदमार्ग मध्ये सबैभन्दा लोकप्रिय अन्नपूर्ण सेन्चुरीको नामबाट परिचित अन्नपूर्ण आधार शिविर र यस वरपरका क्षेत्र जस्तै धान्द्रुक, लान्द्रुक, छोमरोङ, टाढापानी, घोडेपानी, पुनहिल, खोप्रा डाँडा आदी चर्चामा रहेका छन् ।यसरी यी क्षेत्र बढी चर्चित हुनुका मुख्य कारण भनेको दुई–चार दिन हिँडनासाथ हिउँ नै हिउँले भरिएको एवं हिमनदीको सागर तथा विशालतम हिमाल नजिक पुग्न सक्नु, कम उचाइबाट नै हिमालको काखमा पुगेर लुटपुटिन पाउनु, प्रत्येक देउराली, घुम्ति र भन्ज्याङबाट धवलागिरि र अन्नपूर्ण हिमालको लस्कर लोभलाग्दो रूपमा देखिनु, गुरुङ र मगर जातिको जनजीवनसँग परिचय हुन पाउनु, वनजंगल, जंगली जनावर र चराचुरुगीसँग रमाउँदै प्रकृतिसँग नाच्न पाउनु मुख्य रहेका छन् ।

सानोमा मामाघर जाँदा र आउँदा हिमालहरूले लुकामारी खेलेजस्तो लाग्थ्यो । ती को हुन् ? घरीघरी ती किन लुक्छन् र फेरि फुत्त मलाई जिस्क्याउँछन् ? ममा उत्सुकता जाग्थ्यो मात्र । हिउँदमा गाढा नीलो आकास देखिएको दिन मेरो घर नजिक नौनादीको स्कुलको एउटा गल्छेडोबाट एउटा हिमाल देखिन्थ्यो । एक दिन बुबासँग फाँट साठीमुरे खेतमा जाने बेलामा त्यसरी नै त्यो हिमाल मुसुक्क हाँसेको देखियो । मैले बासँग हिमालको नाम सोधेँ । बाले जवाफ दिनुभयो, ‘पोखराको माछापुछ«े हिमाल भनेको त्यही हो ।’ मेरो बुबा त्यसबेला गाउँले दाजुभाइको छोरा (मेरो दौतरी) को कानको उपचारका लागि उनलाई लिएर पोखरामा जाँदा त्यसको नाम थाह पाउनुभएको रहेछ । त्यसवेलादेखि मेरो मनमा पोखरा र माछापुच्छे«सँगै बसेका हुन् ।

हिमालसँग प्रेम प्रसंग गाँसिएकाहरूले देउरालीको पाखो होस्, गल्छेडो परेको उपत्यका होस् वा पहाडको कुनै धुरी होस् वा लमतन्न सुतेको तराईको फाँट वा नदी र ताल किन नहोस् ऊ हिमालको रूप हेर्न आँखा चहार्न थाल्छ । प्रकृतिको वरदानले गर्दा त्यो अवसर हामी नेपालीलाई प्रचुर मात्रामा मिलेको छ । पोखरा–बाग्लुङ सडक खण्ड सम्पन्न भएपछि नेपालीबीच पनि अन्नपूर्ण सेन्चुरी पदमार्गअन्तर्गतका घोडेपानी, पुनहिल, टाढापानी, घान्द्रुक, लान्द्रुक, छोमरोङ, अन्नपूर्ण आधार शिविर चर्चामा आउन थालेका हुन् । सहरमा सुन्दर पोखरा गाउँमा लोभलाग्दो घान्दु्रक भनेर त धेरैले भन्ने गर्छन् । साँचो अर्थमा धवलागिरि र अन्नपूर्णको काख नै गुरुङ र मगरको उद्गमस्थल हो । त्यसैले पनि यो क्षेत्र नेपाली संस्कृतिको जन्मस्थान मध्येको पनि एक हो ।

अहिले धेरैजसो गाउँ नजिक एउटासम्म मुस्ताङ जिप छिर्नसक्ने मोटरबाटो बनेकाले पहिले चार–पाँच दिन लाग्ने पदयात्रा छोटिएका त छन् नै पदयात्रा मन पराउनेका लागि भने पुर्खाले बनाएका गोरेटा विखण्डित भएका छन् । दुःख लाग्छ । पैदल बाटो नै भएर किन डोजर चलाउन परेको ? प्रश्न उठ्छ । अहिले काठमाडौंबाट एक दिनमा पोखरा हुँदै हिले वा घान्दु्रक वा लान्दु्रकसम्म पुग्न सकिन्छ । त्यसैले राजधानीबाट हिँडेको दोस्रो दिन घोडेपानी पुग्न सकिन्छ । दृश्यावलोकनको मुख्य थुम्को पुनहिल (३ हजार २ सय १० मिटर) पुग्न घोडेपानीबाट मात्र एक घण्टा लाग्छ । त्यहाँबाट हिमाल, उपत्यका, तरेली परेका पहाड र सूर्योदयको भरपुर स्वाद र आनन्द लिन सकिन्छ ।

घोडेपानी पदयात्राको मुख्य विन्दुमा रहेको हुनाले त्यहाँबाट खयर भारानी ताल, घान्दु्रक, अन्नपूर्ण आधार शिविर, तातोपानी–जोमसोम जता पनि पदयात्रा तय गर्न सक्छौँ । पुनहिलबाट दृश्यावलोकन गरेपछि फर्कने हो भने चौथो दिन राजधानी वा पूर्व–पश्चिमका अन्य सहर फर्कन सकिन्छ । यो क्षेत्रमा वर्षभर यात्रा गर्न सकिन्छ । साउन र भदौमा बाढी र पहिरोको जोखिम भने हुन्छ । मैले माथि उल्लेख गरेका पदमार्ग मध्ये नेपाली र भारतीय युवा तथा पाका पर्यटकबीच धेरै लोकप्रिय रहेको घोडेपानी पुनहिल पदमार्ग नै हो ।

पुनहिल पदयात्रा चर्चित हुनुको मुख्य कारण एकै दिन मात्र पदयात्रा गरेर नेपालका सुन्दरतम एवं विश्व चर्चित धवलागिरि र अन्नपूर्ण हिमशृंखलाको सौन्दर्यको नजिकबाट रसपान गर्न पाउनु हो । त्यतिमात्र नभएर गुरुङ र मगरको संस्कृति हुनु, नौलो भेषभुषामा सजिएका युवायुवती देखिनु, सोरठी तथा सालैजो भाकाका लोकगीतमा छमछम नाच्दै रम्न पाउनु, ढुंगाको गाह्रो र ढुंगाकै छानो भएका सुन्दर नेपाली शैलीका घर हुनु मुख्य रहेका छन् । त्यसबाहेक वन, लालीगुराँस, झरना, खोला, चराचुरुंगी र समग्रमा प्रकृतिको काखमा रम्न पाउनु हो । दुई–चार दिनमात्र नै किन नहोस् सहरको कोलाहलबाट आक्रान्त बनेका मानिस प्रकृतिको न्यानो माया पाउँदा खुसीले बेहोस नै हुन पुग्छन् ।

म सर्वप्रथम घोडेपानी ३३ वर्षअघि पुगेको थिएँ । यो बीचमा निरंकुश पञ्चायत व्यवस्था, संवैधानिक राजतन्त्रदेखि संघीय गणतन्त्रसम्म नेपाली राजनीतिमा ठुल्ठूला परिवर्तन भए । तपार्इंले सोच्नु होला कि प्रकृतिमा केही परिवर्तन भएको छैन ? त्यो होइन । प्रकृतिमा पनि त्यस्तै परिवर्तन भएका छन् । प्रत्यक्ष देखिने परिवर्तन भनेको त्यसक्षेत्रको लालीगुराँसको चौपट्टै घनाजंगल अहिले पातलो भएको छ, धवलागिरि हिमालको पूर्वी पाखोमा हिउँ नै छैन भने शिरमा थुप्रिने हिउँ कम भएको छ । अन्य हिमालमा हिउँ पातलो भएको छ भने हिउँजम्ने ठाउँमा अहिले नांगा पखेरा मात्र देखिन्छन् । अर्कोतर्फ भौतिक रूपमा पनि घोडेपानीमा त्यस्तै परिवर्तन भएको छ । त्यसबेला दुइटा छाप्राबाट सुरु भएको होटल व्यवसाय अहिले सयको हाराहारीमा चार–पाँच तले होटलले भरिएको छ । घोडेपानी पुग्दा पोखराको लेकसाइडतिर हिँडेको जस्तो अनुभूति हुन्छ ।

परिवर्तन नभएको भनेको मेरो मन हो, सायद । म जतिपटक पुनहिल पुग्छु त्यति नै पटक हिमाल देख्दा चौगुना रमाउँछु र उफ्रन्छु । अहा ! कति रमाइलो हँ ? हिमालहरू वास्तवमा यति सुन्दर हुन्छन कि तीनलाई जताबाट, जुन कोणबाट हेर्दा पनि उत्तिकै नयाँ र उत्तिकै आकर्षक देखिन्छन् मानाँै तिनीहरू विवाह मण्डपमा बस्न तयार नयाँ दुलही हुन् ।
मित्र मिठाराम अधिकारी, ज्ञानेन्द्र बानिया, अमर गुरुङ र म अन्नपूर्ण दक्षिणको पश्चिम काखमा रहेको खयर भारानी ताल पुगेर स्वता गाउँ हुँदै घोडेपानी फर्केका थियौँ । यसपटक माघसम्म न हिमालमा हिउँ प¥यो न पहाड र तराईमा पानी ! तर, हाम्रो यात्राको लागि मौसम भने सुरम्य थियो । त्यहाँ नीलो आकाशसँग प्रेमालापमा मग्न हिमचुचुरालाई छेक्न साहसगर्ने बादलको एउटै फुर्को थिएन । ८ पुस ०७४ को बिहान ६ बजे सूर्योदयको दृश्य क्यामरामा उतार्न म पुनहिल पुगेको थिए । आश्चर्यको कुरा के भने पुस महिनाको त्यो ठिहि¥याउने बिहानीमा पनि हामी पुग्नुभन्दा पहिले नै लगभग ८० जना नेपाली र विदेशी पर्यटक त्यहाँ सूर्योदय र सेता हिमशृंखलाको शिरमा सूर्योदयको पहिलो चुम्वनको वर्षा भएको तस्बिर खिच्न पुगिसकेका थिए ।
भिड देख्दा मलाई अचम्म नै लाग्यो । हर्षले आनन्दविभोर पनि भएँ । म हिमाल देखेर आनन्दित भएको त थिएँ नै त्यसमाथि नेपाली युवायुवति त्यहाँ पुगेको देख्दा झन् पुलकित भएँ । सूर्योदयको वेलामा भने म अत्तालिएँ । हुस्सु, कुहिरो नभएको हुनाले साह्रै सफा थियो । फोटो खिच्ने ठाउँमा उभिनसम्म मिल्लने ठाउँका लागि पनि हम्मेहम्मे नै प¥यो । पछाडिको एउटा सानो कोणमा उभिएर मैले पनि सूर्योदयको तस्बिर लिएँ ।

पुनहिलबाट पूर्वतर्फ पोखराको उपत्यकासहित अन्नपूर्ण दोस्रो, मनास्लु हिमाल र तुवाँलो नभएको बिहान मनास्लुभन्दा पूर्वमा रहेका गणेश हिमालको शृंखलासम्मको धामो धार देखिन्छ । त्यहाँबाट नजिकै पूर्वोत्तर कोणमा दुबै पुच्छर देखिने गरी माछापुच्छे« हिमाल देखिन्छ भने त्यसको ठीक पछाडि अन्नपूर्ण तेस्रो, उत्तर कुनामा गन्धर्व चुली र गंगापूर्ण देखिन्छन् । त्यसरी नै ठीक उत्तरमा अत्यन्त सुन्दर रूपमा हिउँचुली र अन्नपूर्ण दक्षिण अँगालो हाल्न मिल्छ कि जस्तो गरी उभिएका छन् । त्यसपछि अन्नपूर्ण प्रथमको चुचुरोसहितको ठूलो आकर्षक शृंखला देखिन्छ । क्रमशः पश्चिमोत्तर कुनामा फाङ हिमालको कालो तीखो चट्टानको धार हुँदै नीलगिरिका तीन दिदीबहिनी कोभन्दा को अग्लो भने जस्तो गरी उभिएका देखिन्छन् । नीलगिरि जोमसोम तथा ल्होमान्थाङ क्षेत्रबाट ठूलो आकारमा देखिन्छ ।

पुनहिलको अर्को महत्वपूर्ण दृश्य भनेको आफ्नो विशाल र सुन्दर रूपको घमण्ड गर्दै गजधम्म परेर बसेको धवलागिरि प्रथमलाई नजिकबाट देख्नु पाउनु हो । धवलागिरि प्रथमसँगै अन्य सुन्दर चुचुराहरू लामबद्ध रहेका छन् । धवलागिरिको लामो शृंखला पुनहिलको ठीक पश्चिममा पर्दछ । धवलागिरि प्रथमको दाहिनेतिर ढल्केर उभिएको टुकुचे पिक हो भने सँगै पछिल्तिर उभिएको हिमाल धवलागिरि दोस्रो हो । त्यसपछि क्रमशः धवलागिरि तेस्रो, चौथो, छैटौँ, पाँचौँ, गुर्जा हिमाल र चुरे हिमशृंखलाको लामो र लोभलाग्दो हिमालको लस्कर देखिन्छ । हिमालभन्दा ठीक तल हिउँले खाएका नांगा पाखा रहेका छन् भने त्यसभन्दा तल कालीगण्डकीको विशाल उपत्यका र सुन्दर गाउँ रहेका छन् ।

क्षणभर हामी सबै तस्बिर खिच्न व्यस्त भयौँ । नेपाली युवायुवति धवलागिरि प्रथमलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए । कुनै कुनै पर्यटकले ठूला, लामो लेन्स सहितका क्यामरा तेस्र्याएका देखिन्थे भने धेरै पर्यटकले साना क्यामरा र मोबाइलबाट चित्त बुझाएका थिए । अहिले दृश्यावलोकन टावर पनि बनेकाले त्यहाँ पनि पर्यटकको भीड देखिन्थ्यो । त्यहाँबाट हामी पुनहिलको दक्षिण धार हुँदै मोहोरे डाँडातिर लाग्यौँ । हाम्रो पूर्व, पश्चिम र उत्तरमा हिमाल नै हिमालको राज देखिन्थ्यो । प्रकृतिको त्यो अनुपम दृश्य देखेर हामी सबै रोमाञ्चित भएका थियौँ । हाम्रा पाइला हिमालबाट आएको चिसो सुसेलीसँग तालमा ताल मिलाउँदै नाच्दै थिए ।

प्रतिक्रिया