संस्मरण : पाइतो सरेको पहिलो रात

मा प्रकाशित

—मातृका पोखरेल

कटारी पढ्दाको कुरा हो ।
ओहो, त्यस दिनको घटना सम्झँदा अहिले पनि कताकता डर फर्केर आउँछ । महिना त थाहा छैन । ०३७ सालको दसैँतिहारपछिको समय हुनुपर्छ । यारी खोलाको तीनसय बेँसीमा धान थन्क्याउने र कुनिऊँ लगाउने याम थियो । त्यसैले पनि मंसिर महिनातिरको समय हुनुपर्छ भनेर लख काट्छु म ।

३७ साल भनेपछि मेरो उमेर १४÷१५ वर्षको रहेछ । एक्लै आवतजावत गर्न सक्थेँ कटारी । नाम मात्र हिँड्नको हुन्थ्यो कुदिन्थ्यो बेसरी । दिदीको घर थियो कटारीको पूर्वपट्टि बर्मझियामा । म दिदीको घरमा बसरे कटारी स्कुलमा पढ्थेँ ।

एउटा सानोतिनो बिदामा घर आएको थिएँ । सायद दुई÷चार दिनको मात्र बिदा थियो । कटारीबाट थामखर्क आइपुग्न एकदिन पनि लाग्दैनथ्यो त्यो समय । मरूवा खोला, आहाले, बरपानी, राउतखर्क, लिम्पाटार, स्वरूङ खोलो छिचोल्दै थामखर्क पुग्दा पनि घाम अस्ताउँदैनथे । अहिले त सम्झँदा पनि अत्यास लाग्छ ।

म आउँदा पिताजी घरमा हुनुहन्नथ्यो । प्रायःजसो पिताजी घरमा कमै र बाहिरै बढी रहनुहुन्थ्यो । घरमा पिताजी नभएको बेला हामीलाई एउटा चाडपर्व जस्तै लाग्थ्यो । पूरै फुक्काफाल । आमालाई हामी कोही टेर्दैनथ्यौँ । खेती, लगानी आदितिरै पिताजीको बढी समय बित्थ्यो । पिताजीको अघिल्तिर बस्दा कडा अनुशासनको अनुभव गथ्र्यौं हामी । हामी परिवारका सदस्यहरूलाई मात्र होइन, गाउँ टोलका अरू किशोर युवाहरूसमेत त्यो अनुभव गर्थे । कडा अनुशासनमा बस्न नचाहने हाम्रालागि पिताजीको अनुपस्थिति खुबै रमाइलो हुन्थ्यो । पिताजी घरमा हुनु भनेको ज्योतिष र संस्कृत साहित्यका श्लोकहरू घोक्नु र टाढाटाढाबाट आउने आफन्तजनहरूको चिना बनाउनु नै हाम्रो प्रमुख काम हुन्थ्यो । हामी प्रायः त्यसबाट सर्वथा मुक्ति चाहन्थ्यौँ ।

घर सानोतिनो गुरूकुलजस्तै थियो । हामी परिवारका सदस्यको मात्र होइन । हामीलाई पढाउन बसेका शिक्षकहरूले पनि पिताजीबाट अनिवार्यजसो ज्योतिष पढ्नुपथ्र्याे । त्यसमाथि ज्योतिष पढ्न भनेर टाढाटाढाबाट आएका अरू पनि भइनैरहन्थे । गुरूकुल भनेर घोषणा नगरिएको तर अव्यवस्थित खालको गुरूकुलजस्तै थियो हाम्रो घर ।

बिदा छोटो भएकाले तुरून्त मैले कटारी फर्कनु थियो । भोलिपल्ट शनिबारको दिन थियो । आमाले शुक्रबारकै दिन पाइतो सरेर ‘आदमारा गएर बस !’ भन्नुभयो । प्रशिद्ध ज्योतिषी भए पनि पिताजीलाई शनिबारको यात्रा ग्राह्य थियो । शनिबारको यात्रा अशुभ हुन्छ भन्ने एकप्रकारको सामाजिक मान्यताजस्तै बनिसकेको थियो । अहिलेसमम पनि त्यो अन्धविश्वास गाउँघर मात्र नभएर सहरको कुनाकानीमा बाँचिरहेको छ ।
आदमारा गएर बस्नु मेरा लागि खुसीको कुरा थियो । आदमाराको बसाइँ हाम्रा लागि वनभोज खान गएजस्तै रमाइलो हुन्थ्यो ।
०००
आदमाराका हस्तबहादुर पोखरेललाई हामी ‘खत्री माहिँलाबा’ भनेर सम्बोधन गथ्र्याैं । गाउँतिरका सबैले ‘माहिँलाबा’ भनेरै बोलाउँथे ।
खत्री माहिँलाबा साँच्चैका मम्तराम थिए । उमेरले बुढौली लागे पनि हामी किशोरवयका मानिसहरूसँग उत्तिकै दौँतरीकोजस्तो व्यवहार गर्न जान्दथे ।

खत्रिनी माहिँलीआमा साँच्चैकी सोझी र असल थिइन् । उनले मलाई दिएको स्नेह सम्झँदा अहिले पनि भावुक हुन्छु । आफू सम्पन्न माइतीकी चेली भएको कुरा बारम्बार गर्थिन् उनी । अरूलाई खान दिने कुरामा माहिँलीआमा साँच्चिकै दिलदार थिइन् । उनीहरूको घर हाम्रो दोस्रो घर थियो । अन्नपात राख्ने हाम्रो मुलघर पनि त्यही थियो ।

खत्री माहिँलाबासँगका सम्झनाका तरेलीहरू खोतल्दा आफैँलाई अझै रोचक लाग्छन् । किशोर र युवावयका हामीलाई साथी बनाउन सक्ने खुबी थियो उहाँमा । वर्षे धान खेतीका लागि तीनसय बेँसीमा यारी खोलाको पानी अपुग हुन्थ्यो । कुलोमा पानी झुक्याएर आफ्नो खेतमा लाउनेहरूको पनि बिगबिगी हुन्थ्यो । खत्री माहिँलाबासँग रातरातभर खेतमा गएर पानी लगाउँदा पनि हामी कुनै दुःख झन्झटको महसुस गर्दैनथ्यौँ । रमाइलो लाग्थ्यो । यारी खोलाबाट अनिँदा आँखा बोकेर गोलढुंगाको उकालो आदमारा आउँदा एउटा सानो समरमा विजय प्राप्त गरेर फर्केझैँ लाग्थ्यो ।

आफ्नो खेतमा पानी लगाउन पनि मानिसहरू तर्साउने भूत भएको अभिनय गर्थे । त्यस्तै तर्साउने अभिनय गरेर खेतमा एकोहोरो शंख बजाउँथे जतनपुर पुछारघरका साहिँला काका । हातको मुठ्ठी कसेर दुरूस्तै एकोहोरो शंखको आवाज निकाल्थे उनी । अरू सबै भागुन् र एकलौटी खेतमा पानी लाउन पाइयोस् भन्ने साहिँला काकाको पोल खुलिहालेछ केही समयपछि । पानी लगाउने मान्छेहरूले साहिँला काकाको शंखको वास्ता गर्न छाडिहाले । तैपनि साहिँला काकाले एकोहोरो शंख फुक्न पछिसम्मै छाडेनन् ।

‘धेरै तमासा नदेखा है साहिँला !’ शंख फुकेको आवाज नजिकै आएपछि खत्री माहिँलाबा साहिँला काकाले सुन्ने गरी जवाफ फर्काउनुहुन्थ्यो ।
‘बरू आइज झुलो चकमक लिएर बिँडी बनाएर खाउँ ।’ माहिँलाबा निम्ता गर्नुहुन्थ्यो ठूलो स्वरले । त्यसपछि हाँस्दै आइपुग्नुहुन्थ्यो पुछारघरे साहिँला काका । एकछिनपछि फेरि सुरू हुन्थ्यो साहिँला काकाको एकोहोरो शंख फुक्ने काम । त्यही शंख फुकेरै पुछारघरे काका रातभरिमा अरूको भन्दा आफ्नो खेतमा बढी पानी लगाउनुहुन्थ्यो । आदमाराको उकालो चढ्दा हामी देख्थ्यौँ– अरूको खेत फुस्रै भएर लडिरहँदा पनि उहाँको खेतमा पानी टिलपिलटिलपिल भएर भरिएको हुन्थ्यो । एकोहोरो शंखको सफलता थियो त्यो ।

साँझ परेपछि खत्री माहिँलाबाको आँगनभरि मान्छे जम्मा हुन्थे । गाउँको सानो मेला लागेजस्तै हुन्थ्यो माहिँलाबाको आँगन । माहिँलाबा दिनभरि जंगल गएर रूखका मुढा ल्याउँथे । साँझ नपर्दै आँगनमा धुनी बाली सक्थे । त्यो आँगनमा गाउँमा सबै मान्छेहरू जम्मा हुन्थे र आआफ्ना अतीतका कुरा गरेर समय कटाउँथे । हामी उनीहरूका कुरा सुनेर खुबै रमाइलो मान्थ्यौँ ।
०००
‘हिँड जाउँ मुढा लिन ।’ एक दिन बिहानै खत्री माहिँलाबाले भन्नेबित्तिकै पारी पाखामा मुढा लिन जान म तयार परिहालेँ । बेलुकाको धुनी बालेर आगो ताप्नुको मज्जा नै बेग्लै हुन्थ्यो ।

काठको मुढो खोज्न बुदियाटार पाखामा पुग्यौँ । ढुंगैढुंगाको एउटा ओडार थियो । कुँक कुँक कुँक कुँक यस्तै एउटा आवाज निरन्तर आइरहेको थियो । पछिल्तिर फर्कंदै मेरा कानमा माहिँलाबाजेले खुसुक्क भने, ‘यहाँ कालिज लुकेर बसेको रहेछ । यहाँ उभिँदै गर म पक्रेर ल्याउँछु ।’
कालिज खान पाइने आसले फुरूंग थिएँ म । श्वास फेरेको आवाज पनि कालिजले पत्तो नपाओस् भन्ने कुरामा म सजग थिएँ । छेउको ढुंगामा अढेस लगाएर बसेँ ।

खत्री माहिँलाबा ओडारको तल्लो भागमा पुग्नुभयो । कानलाई कोल्टे पारेर कालिजको आवाज सुन्नुभयो । कुँक कुँक कुँक कुँक … आवाज मसम्मै आइरहेको थियो ।
खत्रीबाले मतिर आँखाको इसारा गर्दै ढुंगाको ओडारभित्र फुत्त टाउको छिराउनुभयो । सेतो कमेज र सुरूवाल लगाएको उहाँको शरीरको आधा भाग ढुंगाको ठूलो फब्ल्याँटोबाट बाहिरै थियो । निकै समय बितिसक्यो । माहिँलाबाले टाउको ननिकालेपछि म ओडारको मुखमै पुगेँ । म पुग्नेबित्तिकै माइलाबाले टाउको बाहिर निकाल्नुभयो । उहाँको शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो । बोल्नै नसक्ने गरी मुख सुकेको थियो ।

‘खै त कालिज ?’ मैले सोधेँ ।
मेरो प्रश्नको उत्तर नदिइकन माहिँलाबा हतारहतार कुद्कुद् भन्ने हाते इसारा गर्दै अघि लाग्नुभयो, त्यसपछि धेरै वर आएपछि लामो श्वास तान्दै भन्नुभयो, ‘केको कालिज हुन्थ्यो, त्यहाँ त अजिंगर पो रहेछ । आज धन्न बाँचियो । भगवान्ले हात थापेका रहेछन् ।’ कालिजको मासु खाने धोको त्यसै रह्यो । काठको मुढो पनि नबोकीकन हामी घर फक्र्यौं त्यसदिन ।
०००
पाइतो सर्नका लागि आदमारा गएर बस्ने कुरा मेरो लागि खुसीकै कुरा थियो । खत्री माहिँलाबाको निस्फिक्री खालको स्वभाव र खत्रिनी माहिँलीआमाको मायालु व्यवहारले परिवारका हामी सबै सदस्य त्यहाँ जान खुबै रूचाउँथ्यौँ ।

पाइतो सर्न आदमारा गएँ । म पुगेपछि उसैगरी खुसी भए खत्री माहिँलाबा र माहिँलीआमा । साँझ उस्तै रमाइलो भयो । आँगनमा माहिँलाबाले उसैगरी धुनी सल्काउनुभयो । चन्द्रबहादुर खड्का, शेरबहादुर खड्का, दुर्गबहादुर खड्का, भरतबहादुर खड्का, नेत्रबहादुर पोखरेल, चक्रबहादुर खड्का आदि गाउँमा सबैसबै मान्छे आए । धुनी ताप्दै भर्खरै भित्र्याएको धानको कुरा भए । सधैँ हुने कुराहरू भए । नयाँनयाँ प्रसंगहरू पनि थपिए ।

‘भोलि बिहानको फजेरीमै बाटो लाग्नु ! हामीलाई पनि हिँडेको थाहा नदिनू नि !’ सुत्ने तर्खर गर्दै माहिँलीआमाले पनि आगो निभाउँदै भन्नुभयो । म पनि गाउँमा सबै मानिसहरू बिदा भइसकेपछि सुत्न छेउको कटेरोमा चढेँ ।
एकछिन राम्रैसँग झकाएछु मात्र । आफैँलाई रातभरि निदाएको भ्रम पर्ने गरी झकाएछु । आँखा खुलेपछि हेर्छु । मिर्मिरे उज्यालो सर्वत्र फैलिएको छ ।

‘लौ बर्बादै भयो । उज्यालो पो भइसकेछ’ मनमनै आत्तिएँ । लिम्पाटारको उकालोमा घामले पोल्ने डर थियो । सखारै लिम्पाटारको उकालो छिचोल्ने योजना भत्किए जस्तै लाग्यो । कसैले थाहा नपाउने गरी झोला समातेँ र मतानबाट भुइँमा ओर्लिएँ । माहिँलीआमाले खोकेको आवाज आयो । हिजो सुत्ने बेलैमा भन्नुभएको थियो, ‘बिहान हामीलाई थाहा नदिइकन हिँड्नु है ।’
उहाँहरूमलाई परिवारकै सदस्य जस्तो ठान्नुहुन्थ्यो ।

सुस्तरी तगारो खोलेँ र गल्लीमा निस्किएँ । उज्यालो यति चहकिलो थियो कि दक्षिणतिरको महाभारत, पश्चिमतिर देखिने स्वरूङ् र लेखानीको डाँडो, उत्तरतिरको भुङ्जु पर्वत छ्यांगै देखिन्थे ।
‘अब ढिलो गर्नु हुँदैन । छिटो गर्नुपर्छ ।’ मनभरि सोच्दै ओरालो लागेँ । यारी खोला तरेर निबुवाटारको तेर्सो लाग्दा पनि उज्यालोको मात्रा उस्तै थियो । खुसी नै लाग्यो । बेलैमा कटारी पुग्ने लोभ थियो ।

निबुवाटारका कृष्णबहादुर श्रेष्ठ गाउँ समाजमा नेवार माहिँला भनेर प्रसिद्ध थिए । उनी ग्रामीण भेगका परिचित व्यापारी थिए । गाउँटोलमा सज्जन मान्छेका रूपमा चिनिन्थे । उनीसँग पनि हाम्रो परिवारको अत्यन्तै निकटको सम्बन्ध थियो । उनको घर मूलबाटोको मुन्तिर थियो । घरको अघिल्तिर खोलाको डिलमा गाईगोठ थियो । म पुग्दा उनी गाईवस्तुलाई घाँस हाल्दै रहेछन् ।

‘नानी, यो राती कता हिँडेको ?’ मलाई देखेर छक्क परे माल्दाइ ।
‘कटारी हिँडेको दाइ !’ मैले पनि सहजै भनेँ ।

मेरो कुराले उनी झन् छक्क परे । ‘रातीको १० बजेकै छैन होला । यस्तो समयमा कहाँ हिँडेको ।’ उनको कुराले म खङ्ग्रङङ भएँ ।
‘म त बिहान भएर हिँडेको पो भन्ने ठानेको ।’
मैले सबै कुरा माल्दाइलाई बताइदिएँ ।

जूनको उज्यालो मलाई बिहान भएको भ्रम परेछ । यो कुरा थाहा पाएर एकपटक आफैँ अतालिएँ । आधा रातमा स्वरूङ खोलाभित्र पुगेको भए … यही सोच्दासोच्दै रातभर पनि डर लागिरह्यो ।

स्वरूङ खोलो एक्लै हिँड्न दिउँसै पनि डरलाग्दो थियो । वरिपरिको ढुंगे पहरोले आफैँले बोलेको प्रतिध्वनी एकछिन पछि फेरि आफ्नै कानमा गुञ्जिन आइपुग्थ्यो । पहराका थाप्लामा बसेर कहिलेकाहीँ बाँदरले ढुंगा लडाइदिन्थे र खोलामा हिँड्ने यात्रीहरूमा आतंक मच्चिन्थ्यो । खोलामा बाढी आएको बेलामा उस्तै आतंक । खोलाको वल्ला छेउ, पल्ला छेउ दुवैतिर पहरो । कतै भाग्ने ठाउँ छैन ।

‘मलाई नभेटेको भए स्वरूङ खोलामा आज भुतले खान्थ्यो’ माल्दाइले ठट्टा गरे ।
‘हो, नेवार माल्दाइलाई त्यो राती नभेटेको भए !’
त्यो घटना सम्झँदा अहिले पनि डर लाग्छ ।
उज्यालो भएको प्रस्ट ठम्याएपछि मात्र म बाटो लागेँ । माइली भाउजूले दिएको चिया खाएर मनभरि डर उमारेर त्यसदिन घाम नअस्ताउँदै म कटारी पुगेँ ।
अहिले पनि सम्झँदा डर लाग्छ । ‘त्यस रात नेवार माल्दाइलाई नभेटेको भए … ।’

 

तपाइको प्रतिक्रिया