अक्षरको विकास र मेसोपोटामिया सभ्यता

मा प्रकाशित


देवेन्द्र थुम्केली
मानिसले एकअर्कामा संवाद गर्न प्रयोग गर्ने सांकेतिक चिन्ह नै पछि गएर अक्षर अर्थात् लिपीको रूपमा विकास हुन पुगेको हो । चित्रात्मक रूपमा प्रयोग गरिएका चिन्हहरूले बिस्तारै मानिसलाई संवाद गर्न सहज बनाउँदै लग्यो । यिनै चिन्हलाई मानिसले अक्षरको रूप दिएका हुन् । अक्षरको विकास हुनुपूर्व मानिसले एकअर्कामा संवाद गर्ने माध्यम भनेकै आवाज, हाउभाउ÷मुद्रा र रेखात्मक चित्र थिए । जब मानिसले चित्रात्मक लेखाइलाई संकेत चिन्हको रूपबाट विकास गर्दै अक्षरमा लगे तब त्यसले संवाद गर्न सहज बनाउँदै लग्यो । यसमार्फत मानिसले अभिलेखीकरणको सुरुआत गरेका हुन् ।

अहिलेसम्म प्राप्त प्रमाणका आधारमा विश्वमा पहिलोपटक लेखन पद्धतिको विकास मध्यपूर्व अर्थात मेसोपोटामिया सभ्यताको सुमेरबाट भएको मानिन्छ । सुमेर सभ्यतामा लेखिएका अक्षरलाई ‘क्युनेफर्म’ अर्थात ‘लेखाइपद्धति’ भनिन्थ्यो । ४५ सयदेखि ४ हजार इसापूर्वको बीचमा सुमेरियनले विकास गरेको अक्षर चित्रात्मक हुन्थे ।

सुमेरियनले सर्वप्रथम माटोको स्लेट बनाई त्यसमा ज्यामितीय आकारमा अक्षर लेखेर लेखनपद्धतिको विकास गरेका थिए । समयक्रमसँगै उनीहरूले माटोका स्लेटसँगै काठ, ढुंगा तथा धातुमा समेत अक्षर लेख्न थाले । पछि मेसोपोटामिया सभ्यताका अन्य केन्द्रमा समेत लेखाइपद्धतिको विकास हुँदै गयो । उनीहरूले चित्र, मूर्ति तथा वास्तुकलामा समेत यस्ता अक्षर लेखेर आफ्नो इतिहासलाई अभिलेखीकरण गरेको पाइन्छ ।

अक्षर स्वयं कलाको एउटा सांकेतिक रूपमा हो । यसलाई एउटा मानक मान्दै मानिसले आफूले सहज ढंगले एकअर्कामा संवाद गर्न विकास गरेको अक्षर लेख्ने प्रणाली वा कलालाई लिपीका रूपमासमेत चिनिन्छ ।

सुमेरियनले इतिहास, महाकाव्य, धार्मिक, तथा आर्थिक अभिलेखलाई लेखेर राख्ने परम्पराको सुरुआत गरेका हुन् । मेसोपोटामिया प्राचीन मध्यपूर्वको सभ्यताको केन्द्रको रूपमा चिनिन्थ्यो । ग्रिक भाषामा ‘मेसो’ भनेको ‘मध्य’ र ‘पोटामोस’ भनेको नदी भनेर बुझिन्छ । टिग्रिस र युफ्रेटस् नदी बीचको भूभागलाई मेसोपोटामिया भनिन्छ ।

मेसोपोटामिया इरान, सिरिया, टर्की, इराक, साउदी अरबसम्म फैलिएको भूभाग पर्दथ्यो । यस सभ्यतामा नवपाषाण युगको अन्त्यपछि करिब ४५ सयदेखि ४ हजार इसापूर्वमा विश्वमै व्यवस्थित पहिलो नगर तथा बृहत् धार्मिकस्थलको निर्माण गरिएको थियो । यस्ता धार्मिक स्थललाई ‘जिगुरात’ भनिन्थ्यो । यस्ता जिगुरातमा उनीहरूले धार्मिक अनुष्ठान तथा आराधना गर्ने गर्दथे ।

मेसोपोटामियाका प्रत्येक नगर राज्यका आफ्नै देवीदेवता हुन्थे भने जिगुरात धर्माधिकारीको नियन्त्रणामा रहन्थ्यो । यीमध्ये गिलगामेसको नाम चर्चित छ । उनी उरुक राज्यका पुरोहित नरेश थिए । यिनै गिलगामेसले लेखेको महाकाव्य ‘इपिक अफ गिलगामेस’ अहिलेसम्म पाइएको विश्वकै पहिलो महाकाव्य हो । यसमा दैविक र मानव शक्तिले भरिपूर्ण भएका गिलगामेसको चर्चा गरिएको छ ।

यसैगरी इजिप्सियनले पनि चित्रात्मक लेखाइपद्धतिको विकास गरेको थिए जसलाई ‘हाइरोग्लिफ’ अर्थात ‘पवित्र कुँदाइ’ भनेर चिनिन्थ्यो । विश्वमा विकास भएका सभ्यता मेसोपोटामिया, इजिप्ट, ग्रिक, सिन्धुघाँटी, रोमन आदिमा इतिहास, धर्म, साहित्य, शासकका वीरगाथा, सामाजिक जीवन पद्धति तथा आर्थिक विषयलाई अभिलेखीकरण गर्न अक्षरको विकास भयो । फरकफरक स्थानअनुसार अक्षरको विकास भयो । जसलाई पछि लिपी भनेर चिनिन थालियो । लिपीको विकाससँगै ती सभ्यताका कला, साहित्य, संस्कृति, धर्म तथा विविध सामाजिक जीवनलाई अभिलेखीकरण गर्ने प्रचलन चल्यो ।

चीनमा दोस्रो शताब्दीमा कागजको आविष्कार भएपछि मात्रै छपाइ पद्धतिको विकास भएको हो । यसभन्दा अगाडि माटो, धातु, ढुंगा, काठ आदिमा कुँदेर नै अक्षर लेख्ने चलन थियो । यो कार्यलाई त्यतिवेला निकै कठिन र उच्चस्तरको कामका रूपमा लिइन्थ्यो । कागजको विकाससँगै ब्लक बनाई चित्र तथा अभिलेख राख्ने प्रचलन सुरु भएको हो ।

 

तपाइको प्रतिक्रिया