मत-विमत

नेताहरूको शब्दजाल

सौर्य अनलाइन २०७४ माघ २९ गते १०:१७ मा प्रकाशित

नेपालको राजनीतिलाई दिशाविहीन बनाउने अरू कोही होइन, राजनीतिक दल र ती दलका नेताहरू नै हुन् । प्रजातन्त्र, लोकतन्त्र अर्थात् अहिले भनिँदै आएको गणतन्त्रको अर्थमा खासै फरक छैन, समग्रमा जनताद्वारा निर्वाचित राजनीतिक दलले सत्ता सञ्चालन गर्ने एउटा राजनीतिक विधि मात्र हो । नेपालका नेताहरू दुनियाँलाई शब्दजालमा फसाउन माहिर छन् । त्यति मात्र होइन, नेपालमा प्रजातन्त्रको विकल्प छैन भन्ने र प्रजातान्त्रिक मूल्य मान्यताअनुसार विधिको शासन चलाउन नसक्ने राजनीतिक दल र ती दलका नेताहरूले नेपाली जनतालाई विकल्प खोज्न बाध्य पार्ने अवस्था पटकपटक सिर्जना गरेका छन् ।

विभिन्न समयमा भएका शान्तिपूर्ण र हिंसात्मक आन्दोलनले राष्ट्र र नेपाली जनताको निकै ठूलो नोक्सानी भयो । व्यवस्था परिवर्तन भयो भनियो तर शासन सञ्चालन गर्ने ठाउँमा जाने शासकहरूका चरित्र र चिन्तन परिवर्तन भएनन् । कुनै पनि राजनीतिक दल र ती दलका नेताहरूले जनता र राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ भन्ने कुराको हेक्का राखेनन् । जनतालाई राष्ट्रको मालिक बनाउने राजनीतिक नारा अघि सार्ने राजनीतिक दलहरूले राष्ट्रलाई कमजोर बनाउँदै जनतालाई विदेशीको दास बन्न वाध्य बनाए ।

नेपाली जनताले राष्ट्रका मालिक हुन पाएकोमा गर्व गरेको र शिर ठाडो गरेर बाँच्न पाएको कतै पनि देखिँदैन । राजनीतिक व्यवस्था सञ्चालनमा नेपालीको सार्वभौमसत्ता सम्पन्न लगाम नदेखिने गरी विदेशीका पन्जामा गएको छ । सत्य सुन्न र बक्न नसक्नेले यो यथार्थ नेपाली जनतालाई भन्नै पर्छ । जनतालाई गुमरावमा राखेर चलाइने व्यवस्था र त्यो व्यवस्था अन्तर्गतका अन्य अवयवहरूले पनि भ्रम फैलाउने काम गर्नु राष्ट्र र नेपाली जनताप्रति गरेको गद्दारीका रूपमा बुझ्नुपर्छ ।

काठमाडांैमा डुलेर खाने सरकार र सत्तासीन नेताहरूको कटुआलोचना भइरहेको अवस्थामा राज्यले आर्थिक भार उठाउनै नसक्ने गरी काठमाडांैको जस्तै चरित्र र चिन्तन बोकेका थप सात वटा प्रदेश सरकार बनाउने आवश्यकता किन ठानियो ? यो प्रश्नको उत्तर दिनसक्ने राजनीतिक र नैतिक तागत नेपालका नेताहरूसँग छैन ।

खाने गाँस र बस्ने वासको उचित व्यवस्थासमेत नभएका नेपाली जनताले तिरेको करबाट आठ वटा सरकार र सयाँै मन्त्रीहरूलाई कसरी पाल्ने ? सरकार र मन्त्रीहरू कम भएकोले देश विकास नभएको र जनताले दुःखको जीवन बाँच्नुपरेको हो र ? यस्ता कमजोर राजनीतिक निर्णय गर्ने र आपैmँ कमजोर हुँदै व्यवस्था र आफूसमेत समाप्त हुने जाली काम गर्नेहरूले राष्ट्रको अस्तित्व रक्षागर्न सक्छन् ? नेपाल राष्ट्रका जनतालाई एकताबद्ध गरी राख्न सक्छन् ? विदेशीसामु शिर ठाडो गरेर राष्ट्रलाई नेतृत्व दिन सक्छन् ? के साँच्चिकै नेपालका नेताहरूले राष्ट्र र जनताको भाग्य र भविष्य उज्ज्वल बनाउन सक्छन् ?

नेपालका नेताहरूको चरित्र र राजनीतिक संस्कार अध्ययन गर्दा जतिसुकै हुंकार गरे पनि इमानदारीपूर्वक राष्ट्र र नेपाली जनताका दुःखलाई केन्द्रमा राखेर काम गर्नेछन् भनेर भरोसा गर्न सकिने अवस्था छैन । नेताहरूका भ्रममा फसेका र स्वार्थी चरित्र भएकाहरूका मनमा नेपालका नेताहरूले चमत्कार गर्नेछन् भन्ने लागेको होला, त्यो भ्रम बिस्तारै हट्दै जानेछ । पहिलो कुरा त यो संविधानप्रति छिमेकीको धारणा सकारात्मक छैन । दोस्रो कुरा नेपालका नेताहरूले विदेशीको एजेन्डाका रूपमा लादेको संघीयता कार्यान्वयनमा ल्याउन खोज्दा नै राष्ट्र दुर्घटनामा पर्न सक्ने अवस्था देखिन्छ ।

दुर्घटनामा नपरोस् हामी कामना गराँैला तर के खान्छन् ती मुख्य मन्त्रीहरू, कहाँ बस्छन् ? काठमाडांैको सरकारले भन्दा भिन्न काम मुख्यमन्त्री र अन्य मन्त्रिहरूले के गर्न सक्छन् ? विदेशीको योजना अन्ततः राष्ट्रलाई अन्त्यहीन युद्धमा फसाउन यो सबै विधी अबलम्बन गर्न लगाइएको छ । केही मान्छेहरू मुख्यमन्त्री बन्लान् झन्डा हल्लाएर दुनियाँसामु नाक फुलाउलान् तर राष्ट्र बलियो होइन कमजोर नै बन्नेछ । केन्द्रको सरकारलाई र नेताहरूलाई विदेशीले जसरी प्रभावमा पारेर आफू अनुकूल काम गराउँदै छन्, अब त्यो दायरा अरू फराकिलो हुनेछ । विदेशीहरू अब केन्द्रको सरकारसँग होइन, प्रदेश सरकार प्रमुखसँग सोझै सम्बन्ध विस्तार गर्नेछन् र आर्थिक अनुदान र सहयोगका नाममा प्रदेश सरकार आफ्नो अधिनमा राखेर चलाउने कोसिस गर्नेछन् ।

राजनीतिक विचार र राष्ट्रिय चरित्र समाप्त भएको राजनीतिक नेतृत्वले नेपाली जनतालाई न्याय दिने, विकास गर्ने, जनतालाई अधिकार दिने र रोजगारीका अवसर प्राप्त हुने अवस्था सिर्जना गर्न संघीयतालाई अघि सारिएको हो, जति भने पनि यही संघीयताले सबैलाई समाप्त पार्ने खतरालाई नजरअन्दाज गर्नु महाभूल हुनेछ । अनुशासनविहीन स्वतन्त्रताले मानिसलाई महत्वकांक्षी बनाउन सक्छ तर सभ्य र चरित्रवान बनाउन नसक्ने कुरा साबित भएको आजको अवस्थामा देशले काँचुली फेर्दै छ भनेर फलाक्नुको खासै अर्थ छैन ।

राष्ट्र बिखन्डन हुनसक्ने जोखिम यथावत छ, प्रदेशको राजधानी यहाँ र त्यहाँ हुनुपर्छ भन्दै जनविद्रोह हुने खतरा त्यत्तिकै छ । विगतमा युद्ध हाँकेर आएका केही तत्वहरूबाट युद्ध नसकिएको हुंकार गरिँदै छ । आपूmलाई मधेसका मसिया ठान्नेहरूलाई विदेशीले लगानी गरेर फेरि उचाल्ने र नाकाबन्दी गर्ने अवस्था बिद्यमान छ । एक मधेस एक प्रदेशको माग गर्नेहरूको प्रदेश सरकारले छिमेकी राष्ट्रसँग हामी गाभिन तयार छौँ भन्न सक्ने अवस्थालाई नकार्न सकिँदैन । देशलाई फेरि युद्धमा जाकेर नेपालीलाई विगतकै जस्तो भागाभाग् गर्नुपर्ने अवस्था ल्याउने विदेशीको कुटिल चालबाजीअन्तर्गत संघीयता कार्यान्वयनमा ल्याइएको कुरा मै हँु भन्ने विद्वानले समेत बुझ्न् सकेका छैनन्, या बुझेर बुझ पचाएका छन ।

यसरी व्यवस्था चल्दैन, समाजलाई यसरी संगठित बनाइराख्न र राष्ट्र र राष्ट्रियतालाई यसरी बलियो बनाई राख्न सकिँदैन । राजनीतिक दल र नेताहरूले आजसम्म गरेका अराजनीतिक हर्कत राष्ट्र र नेपाली जनताका पक्षमा थिए भन्न सक्ने कुनै आधार छैन । विदेशीले हप्काउदा तर्सिनुपर्ने गरी राजनीतिको केन्द्रमा आएका तत्वहरूले राष्ट्र र नेपाली जनताप्रति कुनै पनि समयमा धोखाधडी गर्न सक्ने सम्भावना कायम छ । बास्तवमा नेपालीलाई हामीले नढाँटिकन सुसूचित गराउने हो भने, वर्तमान राजनीतिक नेतृत्व कुनै पनि राजनीतिक सिद्धान्त र चरित्रका आधारमा सञ्चालित छैन ।

बाहिर जेसुकै भने पनि अहिलेको राजनीतिक नेतृत्वको तागत भनेका विदेशीहरू नै हुन् । जनताको जनमत बहाना मात्र हो भन्ने कुरा कांग्रेसीहरूका रबैयाले थप पुष्टी गरेको छ । अहिलेको सत्तासीन राजनीतिक नेतृत्व र वाम भनिएकाहरू समेतको लक्ष्य फरक छैन ! विदेशीलाई रिझाएर सत्तामा को बस्ने, सबैको मूख्य एजेन्डा त्योभन्दा अर्को छैन । यस्ता अस्थिर मानसिकता र चरित्र भएका नेताहरूले निम्त्याउने भनेको विपद् मात्र हो समाधान होइन ।

प्रतिक्रिया