महाशिवरात्री र श्री पशुपतिनाथ

मा प्रकाशित

–विश्वनाथ खरेल

हिन्दूहरूमा भगवान् श्री पशुपतिनाथको ठूलो महिमा छ । श्री पशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे वेद, पुराण, धार्मिक साहित्यिक र तान्त्रिक ग्रन्थहरूमा विस्तृत रूपमा पाइन्छ । हाम्रोे हिन्दू समाजमा परापूर्वकालदेखि नै शिवजी पूजाआजा, उपासना गर्ने चलन आजसम्म कायमै छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दूहरूको बाहुल्यभएका क्षेत्रहरूका शिवमन्दिर, शिवालय, शिवलिंगेश्वर, ज्योतिर्लिंगेश्वर आदि स्थानहरूमा यस पर्वमा असंख्य भक्तजनहरूको भिड लाग्ने गर्र्दछ । फागुन कृष्ण चतुर्दशीमा महाशिवरात्री पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ ।

भारतलगायत विश्वका विभिन्न राष्ट्रहरूबाट र स्वदेशका साधु–सन्त, महन्थ, भक्तजनहरू शिवरात्रि पर्वमा पशुपतिनाथको पूजा–आराधना र दर्शनार्थ प्रत्येक वर्ष पशुपति क्षेत्रमा भेलाहुने गर्दछन् । महाशिवरात्रिका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

विश्वको सृष्टि गर्दा अर्धनारीश्वरको रूपधारण गर्ने शिवले समय समयमा आवश्यक तथा कुतूहलवस् हरेक रूप धारण गरेका थिए । ती रूपहरूको चर्चा असम्भव नै देखिएकाले खास अवतारहरू मात्र देख्न सकिन्छ । शिवजीको १० अवतार छन् भनेता पनि प्रख्यात शिवपुराण र स्कन्दपुराणले यस विषयमा प्रशस्त प्रकाश पारेका छन् । त्यसैले यस लेखको आधारशीला यिनै ग्रन्थ बनेका छन् । हिन्दूहरूको ठूलो र श्रद्धापूर्वक मनाइने पर्व यो महाशिवरात्रीलाई हिन्दूहरूले सर्वोच्च स्थान दिएका हुनाले पनि उनको आराधनाको पर्वमा ‘महा’ जोडेर महाशिवरात्री भनिएको हो । नेपालअधिराज्यभरमा भएका मन्दिरहरूमा श्री पशुपतिनाथको मन्दिरको प्रसिद्धी रहेको कुरा विभिन्न ऐतिहासिक प्रमाणहरूबाटसमेत अवगत हुन्छ । शिवजीको प्रथमअवतारको नाम महाकाल हो । कालको पनि काल भएकोले महाकाल भनिएको हो । महाकालले कालको पनि नियन्त्रण गर्न सक्छन् । दक्षको यज्ञमा जब शंकर र सतीको अनादर गरिएको थियो, त्यसबखत शिवजीले महाकालको स्वरूप लिएका थिए ।

प्रत्येक साल फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री मनाइन्छ । शिवलाई यजुर्वेदमा स्पष्ट रूपमा वर्णन गरेर उनलाई वैदिक देवताको रूप प्रदान गरिएको पाइन्छ । यसर्थ शिवजीको आराधना प्राचिनकालदेखि नै भएको बुझिन्छ । हाम्रा आराध्य देव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छौं । जसमा शंकर, महेश, पशुपति, रुद्र, भोलानाथ, भोलेबाबा, महादेव, शम्भु, कैलाशपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई ‘पशुपति’ को संज्ञाले बडो श्रद्धा गर्दछौँ । सारा नेपाली चाहे हिन्दू होउन् वा बौद्ध सबै पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधना गर्दछौँ ।

यस महान् पर्वमा नेपालीहरू मात्र नभएर छिमेकीमुलुक भारतका असंख्य श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दछ । ‘पशुपति क्षेत्र’ ले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरव गाथालाई विश्वभरी चिनाउँछ । विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दू धर्मको प्रधानता छ । नेपालको संविधानले पनि सनातन धर्मसंस्कृतिको रक्षा गर्ने कल्पना गरेको छ । देशले शैव धर्मलाई शताव्दी अगाडिदेखि अंगीकार गर्दै आएको छ । हाम्रा आराध्य देवताका रूपमा प्रख्यात पशुपतिनाथ शिव कै प्रतीक हुन् । यसै क्रममा पशुपतिको दर्शन गर्नुअगाडि गुह्येश्वरीको दर्शन गर्ने प्रचलन छ । यसरी गुह्येश्वरी पशुपतिकै शक्ति हुन् । निराकार रूपमा आराध्याभएकी गुह्येश्वरीले शक्ति कै विम्वलाई सम्झाउँछिन् ।

श्री पशुपतिनाथको महत्व नेपाली जनजीवनमा पहिलेदेखि नै प्रसिद्ध थियो । नेपालमा भएको पशुपतिनाथको उद्भवसम्बन्धी भिन्नभिन्न धारणाहरू पाइन्छन् । हिमवतखण्ड, पशुपतिपुराण, नेपालमहात्म्यजस्ता साहित्यिकग्रन्थहरू तथा गोेपालराज वंशावली लगायतका भाषावंशावलीहरूमा पनि त्यससम्बन्धी चर्चा पाइन्छ । पशुपतिनाथको उद्भवको सम्बन्धमा चर्चा गर्ने पहिलो वंशावली गोपालराज वंशावली हो । नेपालमा पाइएका वंशावलीहरूमा सो वंशावली सबैभन्दा पुरानो मानिन्छ ।

शिव र पार्वती सँगसँगै रहेको वेला शिवका परमभक्त नन्दी, भृंगीले शिवको मात्र कदर गरेर पार्वतीको अवहेलना गरेको भान त्यसबखत पार्वतीलाई भयो । तसर्थ, शिवले अर्धनारीश्वरको रूपमा शिव र पार्वतीलाई एकअर्काको पुरक तुल्याए । भक्तजनहरूले शिव र पार्वतीको अर्को रूप शिवलिंगमा देखे त्यसैले शिवलिंग पूजित हुन थाल्यो ।

हिन्दूहरू नेपालमा मात्र होइन, विश्वभरी छन् । त्यसैकारण महाशिवरात्रीको पर्व नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा बडो उत्साह, उमंग र भक्तिभावसाथ मनाइन्छ । यस दिन भोलेबाबाको शोडषोपचारको विधिले पूजाअर्चना गरिन्छ । आह्वान, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, उपवीत, गन्धपुष्प, धूपदीप, नैवेद्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिणा आदि गरिन्छ । यसअवसरमा श्रद्धालुहरू उपवास बस्छन् । ती उपवास बस्नेहरू र अन्य भक्तजन मन्दिर अघिल्तिर भजनकीर्तन गरी भगवान्मा तल्लीन भएका हुन्छन् । यसदिन देशवासीहरूको नाममा शुभेच्छा प्रकट गर्ने परम्परा अद्यावधिक छ । यसरी प्राचीन नेपालमा पशुपतिनाथको अति नै महत्वपूर्ण स्थान हुनुका साथै पशुपतिको चर्चा टाढाटाढासम्म हिन्दूहरूको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी हिन्दूधर्मलाई नष्ट गर्ने उद्देश्यले तत्कालीन बंगालका सुल्तान समसुद्दीनद्वारा सन् १३४६ अर्थात विसं १४०९ माघमा काठमाडौं उपत्यकाभित्रसमेत आक्रमण गरी विभिन्न हिन्दू र बौद्ध गुम्बा, मठ–मन्दिरहरूका साथै पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तुपहरू भत्काउने, बिगार्ने कार्यजस्ता निन्दनीय कार्यहरूद्वारा प्रशस्त धनसम्पत्ति लुटी काठमाडौं उपत्यकामा हाहाकार मच्चाई ध्वंसात्मक कार्यहरू गरी हिन्दूधर्मको उपहास गरेका थिए ।

हलाहल विषलाई पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुन् । सबैको कल्याण गर्न उनले हलाहलजस्तो विषपान गरेका हुन् । समाजका अहितकारी वस्तुहरू जस्तो कि सबै लागुपदार्थ हामी शिवलाई समर्पण गरौँ । शिवले हामीलाई त्यसबाट रक्षा गर्दछन् । समाजका सबैजसो अनिष्टलाई अँगाल्ने र अमृत प्राणीहरूलाई दिने भगवान् शिवको महिमा गाउनाले र सत्मार्गमा अग्रसर हुने प्रणले समाज र देशका लागि नै हितकार हुनेछ । भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर रक्षा गरून् । यसबाट नै सम्पूर्ण प्राणी मात्रको कल्याण हुने कुरामा दुई मत नहोला ।

 

तपाइको प्रतिक्रिया