खोजखबर

दौरा सुरुवाल बहसमा प्रदेश !

सौर्य अनलाइन २०७४ फागुन १ गते १०:४७ मा प्रकाशित


-चमिना भट्टराई   ०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरासुरुवाल र साडी चोलो थियो । वर्तमानका मन्त्री, प्रदेशका मुख्यमन्त्री सांसद भएका पुरूषहरू दौरासुरुवाल र महिला साडीमा सार्वजनिक कार्यक्रममा देखिन्थे । ०४६ को परिवर्तनदेखि ०६८ सम्म पोसाकको विवाद थिएन ।

कहाँ जाँदा आफ्नो पदीय मर्यादालाई ख्यालगरेर सबैले पोसाक लागाउँथेँ । तर, ‘अहिले काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर’ भने जस्तै भएको छ । गर्नुपर्ने काम धेरै छन् । जनताका अपेक्षा बग्र्र्रेल्ती छन् ।

तर, नेताहरू के लगाउने कस्तो बन्ने भन्ने कुराका केन्द्रीय भएको आभास हुँदै छ । विकसितदेखि अल्पविकसित राष्ट्रमा आफ्नै राष्ट्रिय पहिचान हुन्छ । औपचारिक कार्यक्रममा सरकारका जिम्मेवार व्यक्ति मात्र होइन अरूले पनि सकेसम्म राष्ट्रिय पोसाक लगाउँछन् । नेपालमा पनि त्यो क्रम ०६८ सम्म कायम थियो । अझ रोचक कुरा के पनि थियो भने, सरकार परिवर्तन हुने समय भयो कि दौरासुरुवालको बजार केही फस्टाउँथ्यो ।

राष्ट्रिय पोसाक लगाउनु पर्छ भन्ने भावना दह्रो थियो । सके नयाँ किन्थे नभएर पुरानैमा आइरन लगाएर टलकाउँथेँ । तर, ०६८ सालमा माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि नेपालको पोसाक दौरासुरुवाल हटाइयो ।यसमा सम्बन्धित रहेर कैयौँले टिप्पणी गरे, ‘नेपाल पोसाकविहीन भएको छ ।’ नेपाल पोसाकविहीन हुँदा नेपाली युवा समाज सुधारक श्यामकृष्ण बजगाइँ र राजकुमार बजगाइँले ०६९ सालबाट नै नेपाल पोसाकविहीन हुनुहुन्न भन्दै ‘१७ पुसलाई प्रस्तावित नेपाली पोसाक दिवस’ मनाइरहेका छन् ।

उनीहरूले नेपालको पोसाक पुनः दौरासुरुवाल र टोपी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गदै आइरहेका छन् । वास्तवमा देशको पहिचान विरंगी भएरभन्दा एउटै पहिचामा उभिँदा सुन्दर मात्र होइन एकरूपता देखिन्छ । परिवर्तनको नाममा के के छोडने र के के समात्ने गम्भीर हुनुपर्छ । अधिकार पाउनु र त्यसलाई सदुपयोग गर्न सकारात्मक कुरा हो । तर, राष्ट्रिय, पोसाक, भाषाजस्ता कुरा छोडदै गयौँ भने कता पुगिएला ? जन्मदा बाहुन, क्षत्री, वैश्य, शुद्र जे जे जाति छौँ त्यो भन्दा पनि पहिले हामी सबै नेपाली नै हौँ ।

यदि राष्ट्रियता रहेकै अवस्थामा त्यही भित्र खोज्ने हो आ–आफ्नो पहिचान । राष्ट्रिय पोसाक नै नरहँदा विश्व समुदायले नेपाललाई कसरी चिन्ने ? कुरा पोसाकको मात्र होइन, कुरा सोचाइको हो । दौरासुरुवाल नै लगाउन पर्छ भन्ने पनि होइन । तर, दौरा सुरुवालको स्थान केले लिँदै छ भन्ने हो । हामीले दौरा सुरुवाललाई विस्थापित गरेर लगाउन लागेको टाइ सुट र सफारी सुट नेपालको कुन जाति वर्ग वा समुदायलाई आफ्नो पहिचान दिएको अनुभूति हुन्छ ? परिवर्तन गर्ने नाममा चलिआएको पोसाकको स्थानमा विदेशीलाई ठाउँ दियौँ भने त्यो कत्तिको सान्दर्भीक हुन्छ त्यसमा पनि सोच्नुपर्ला ।

नेपालको राजनीतिक परिवर्तन कसले कस्तो लुगा लगाउने भन्नाका लागि भएको होइन । नेपाललाई आर्थिक, राजनीति, सामाजिक र सामरिक रूपमा विकास र समृद्ध बनाउनका लागि भएको हो । यो परिवर्तनमा जे जतिले ज्यान गुमाए उनीहरूको सपना पनि भोलि सत्तामा जानेले गर्ने पहिलो बहस वा निर्णय पोसाकको होस् भन्ने पक्कै थिएन । यो विषयमा सबैले गम्भीर हुनुपर्छ । सहिदको सम्मान पैसाले हुँदैन उनीहरूको सपना पूरा गरेर हुन्छ यसमा पनि राजनीतिक नेतृत्वले विचार पु¥याउनु पर्छ । पटकपटकको संघर्ष र सहिदको बलिदानीबाट मुलुक संघीयतामा प्रवेश गरेको छ ।

यसलाई कार्यान्वयन गर्न र लामोसमयदेखिको रिक्त रहेर पूर्णता पाएको स्थानीय निकायलाई सक्रिय रूपमा जनताका पक्षमा काम गर्नुपर्ने धेरै काम छन् । तर, मुख्य नेतृत्वहरू ती कुरालाई थाती राखेर कस्तो लुगा लगाएर संसद्मा जानेर मर्यादापालकले के लगाउने भन्ने कुरामा बढी अल्झिएको देखिँदै छ । मुलुकमा यतिवेला सात प्रदेश छन् । सात प्रदेशका आ–आफ्नै विशेषता छ । त्यसलाई सबैले सम्मान गर्नुपर्छ । तर, हामी एउटै नेपालभित्रका नागरिक हौँ भन्ने भुल्नु हुँदैन । नेपाल भन्ने देश थियो र संयीयताका सात प्रदेश भए त्यो पनि मनन गर्नुपर्छ ।

सोमबार (हिजो) प्रदेश–२ को निर्धारित प्रदेशसभा बैठकको तयारी चलिरहेका वेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक कुवा रामपुरस्थित प्रदेश संसद् भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो । एउटा नेपालीले आफ्नो विवेकले दौरा सुरुवाल लगाउन पाउने कि नपाउने ? प्रश्न छ । मधेसवादी दलले सर्वदलीय बैठकमार्फत प्रदेशसभाको पहिलो बैठकमै मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने उर्दी जारी गरे । त्यसपछि उनीहरू अनौपचारिक पोसाकमा ड्युटी खटिएका थिए । उनीहरूले मर्यादापालकको चिनोको रूपमा एउटा सानो ब्याच लगाइएका थियो ।

प्रदेश–२ को कार्यव्यवस्था परामर्श समितिले सफारी सुट र सारी चोलो ड्रेसकोड तय ग¥यो । यसलाई कति उपलब्धी मान्ने ? अझ रमाइलो कुरा के पनि छ भने त्यो पोसाक तत्काल उपलब्ध हुन सक्दैन । त्यसैले मर्यादापालकहरूले आफूखुसी पोसाक लगाउन पाउने भएका छन् । नेपालको मात्र होइन विश्वका संसदीय अभ्यासमा मर्यादापालकको एउटै ड्रेस हुन्छ । उनीहरूलाई सहजै चिन्न सकियोस् भनेर पनि एकै प्रकारको पोसाकको व्यवस्था गरिएको हुन्छ । सुरक्षाका दुष्टिले पनि संसद् भवनमा खटिने मर्यादापालकले एकै प्रकारका पोसाक लगाउँछन् ।

प्रदेश–२ मा भएको अभ्यासको भने आलोचना पनि भएको छ । कुरो प्रदेश–२ को मात्र होइन । ०६८ पछि भित्रिएको चिन्तनको हो । नेपालको राष्ट्रिय पोसाकको बहस चलिरहेको बेला युवापुस्तामा भने दौरासुरुवाल र ढाकाटोपीप्रति आकर्षण देखिएको छ । युवाहरू बिहे वा औपचारिक समारोहमा जाँदा दौरासुरुवाल, ढाका वा भादगाउँले टोपीमा देखिन थालेका छन् । पोसाक फेसन वा शरीर ढाक्नका लागि मात्र लगाइँदैन त्यसको आफ्नै विशेषता र पहिचान हुन्छ । यसमा गम्भीर हुनपर्छ ।

प्रतिक्रिया