मत-विमत

कानुनी राज्यभित्रकाे जंगली शासन !

सौर्य अनलाइन २०७४ फागुन १ गते १०:५१ मा प्रकाशित

नेकपा एमाले तथा नेकपा माओवादी एकअर्कामा समाहित हुनका लागि गोलबद्ध हुने प्रक्रियामा अगाडि बढ्ने प्रयासरत छन् । परिवर्तनको संवाहक शक्तिको रूपमा रहेको यी दुबै समूहबीचको एकतालाई सामान्य रूपमा अध्ययन गर्ने हो भने दुबै शक्तिहरू नेपालका उदयीमान शक्ति हुनको साथै समान वाम राजनीतिक विचारधारबाट अभिप्रेरित भएका छन् ।

-प्रदीप उप्रेती   राजनीतिको क्षेत्रमा सदैव कुनै पनि पक्ष मित्रशक्तिको रूपमा कायम रहन सक्दैन भन्ने कुराको दृष्टान्त नेपालको राजनीतिमा पनि वेलाबखत चरितार्थ हँुदै आएको पाइन्छ । यसै तथ्यलाई मनन गर्ने हो भने माओवादी द्वन्द्व उत्सर्गमा पुगेको बखत एकआपसमा शत्रुतापूर्ण व्यवहार रहेका नेपालका प्रमुख प्रजातान्त्रिक शक्तिहरू नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादीलाई उदाहरणका रूपमा लिन सकिन्छ । ०६२÷६३ को संयुक्त जनआन्दोलनपूर्व कायम रहेको कटुतापूर्ण व्यवहारमा आन्दोलनको सफलतापश्चात् मित्रता उन्मुख पथमा अग्रसर भएकै कारण नेपालको राजनीतिवृत्तमा सुखद् अनुभूति कायम गर्न सकिएको हो ।

परिणामतः नेपाल राज्यको गणतन्त्रात्मक संविधान ०७२ बहाल रहन गई गणतान्त्रिक सम्प्रभू नेपाल तथा नेपाली जनताको रूपमा रूपान्तरण भएको पाइयो । जसअनुसार निर्वाचनहरू सम्पन्नभई मुलुक शान्तिको मार्गमा क्रमशः अगाडि बढ्ने प्रयत्न गरेको छ । यस सुखद् परिसूचकलाई अझै स्थिर एवं मजबुत वनाउनका खातिर वर्तमान परिवेशमा नेकपा एमाले तथा नेकपा माओवादी एकअर्कामा समाहित हुनका लागि गोलवद्ध हुने प्रक्रियामा अगाडि बढ्ने प्रयासरत छन् ।

परिवर्तनको संवाहक शक्तिको रूपमा रहेको यी दुबै समूहबीचको एकतालाई सामान्य रूपमा अध्ययन गर्ने हो भने दुबै शक्तिहरू नेपालका उदीयमान शक्ति हुनुको साथै समान वाम राजनीतिक विचारधाराबाट अभिप्रेरित भएका छन् । त्यसो भएता पनि व्यावहारिक धरातलीय हिसाबमा हेर्दा तुलनात्मक भिन्नता दुबै समूहमा रहेकै कारण हालसम्म पनि एकताको सूत्रमा आबद्ध हुन नसकेको मात्र हो । त्यसो भन्दैमा राजनीतिक एकता कायम नहोस् भन्ने दुरासय पक्कै पनि नागरिक समुदायमा रहेको पाइँदैन ।

तथापि एकताका लागि दुबै पक्ष त्यतिकै लालायित रहेका छन् । जुनसुकै राजनीतिक पृष्ठभूमि भएका शक्तिहरू एकताबद्ध हुनु निश्चय पनि मुलुकको लागि सुखद् पक्ष नै मान्नुपर्ने हुन्छ । अतः त्यो सैद्धान्तिक रूपमा लोकतन्त्रको मूल्य, मान्यता एवं सफल आदर्शलाई रुचाउने नेपाली कांग्रेस होस् वा अन्य कुनै राजनीतिक समूह नै किन नहोस् । यी दुबै वाम राजनीतिक समूह मध्ये एउटा खेमा जनताको बहुदलीय जनवादलाई विश्वास राख्ने चेष्टा गर्दछ भने अर्कोचाहिँ माओवादमा विश्वास राख्दछ ।

सैद्धान्तिक रूपमा बहुदलीयतामा विश्वास राख्दै लोकसम्मतिकोे आधार जनमतलाई विश्वासमा लिँदै क्रमशः संघीय गणतन्त्रको मार्ग पहिल्याउने शक्ति तथा द्वन्द्वात्मक धरातलबाट उद्भव भएको सघर्षमय जीवनगाथालाई आत्मसाथ गर्ने शक्तिको माझमा हुने एकताले मुुलुकमा सकारात्मक राजनीतिक सन्देशको प्रत्याभूति गर्न सक्षम रहोस् भन्ने कामना नै आमनेपाली जनचाहनासमेत हो । तर, यसलाई व्यवहारमा उतार्दा भने निक्कै चनाखो हुनुपर्ने देखिन्छ किनकी लोकसम्मतिको जग मानिएको नेपाल राज्यको गणतान्त्रिक संविधान २०७२ को भावना तथा मर्म विपरीत जाने प्रयास कुनै पनि प्रजातान्त्रिक वा वामशक्तिहरूले गर्ने छैनन् भन्ने जनविश्वासमा अवश्य पनि तुषारापात गर्नु हुँदैन ।

जनताको बहुदलीय जनवादी सिद्धान्तलाई पूर्णरूपमा पालना गर्दै ठोस एकता कति सम्भव देखिन्छ यो पक्ष माओवादीका लागि निक्कै मननीय छ एवं प्रकारले संघर्षमय राजनीतिक पृष्ठभूमिलाई पूर्णरूपमा त्याग्न नसक्ने समूहको सैद्धान्तिक धरातललाई आत्मसाथ गर्न एमाले पार्टी र तिनका समर्थक कति सक्षम रहन्छन् तत्पश्चात मात्र ठोस एकता सम्भव हुने वा नहुने भनेर निक्र्योल गर्न सहज हुनेछ । नीतिगत रूपमा माओवादमा विश्वासी समूहको राजनीतिक चरित्रलाई विश्वजनमतले पूर्णरूपमा आत्मसम्मान गर्दै सम्मानित राजनीतिक परिवेशको प्रत्याभूति नै वाम एकीकरणका सार्थक राजनीतिक कर्म मान्न सकिनेछ ।

संघर्षमय जीवनगाथाको अतिरिक्त मतपत्रमा विश्वासी समूह हौ भन्ने नेपाल तथा विश्वजनमतलाई प्रमाणित गर्नु माओवादी समूहको लागि थप चुनौतीसमेत हो । अतः यस विधामा रहेका असमजस्य व्यवहारलाई अन्त्यगर्न यदि घनिभूत बहस आवश्यक रहे सो चलाउनसमेत पछिपर्नु हुँदैन । तसर्थः दुबै वाम समूहमा नीतिगत राजनीतिक धरातल एक्कै प्रवृत्तिको भएको कारण एकीकरणका प्रयासहरू सम्भव देखिएको हो, तथापि चुनौतीमय अवस्थामा दीर्घकालीन एकीकृत अस्तित्व कति समयसम्म वहाल रहन्छ भन्ने अर्को पक्ष हो ।

यस प्रकारका व्यवहारले आमनागरिक समाजमा आशंकासमेत उत्पन्न गरेको छ, विद्यमान अवस्थामा सतहमा देखिएको एकीकरणको प्रयास विगतका निर्वाचनमा हुन सक्ने पराजयको भयबाट बच्न दुबै वामसमूहबाट गरिएको सुनोयोजित हतकण्डा हो वा वास्तविक रूपमै मुलुक र जनताको हितको खातिर स्थिरता, शान्ति, समृद्धि एवं प्रगतिको शुभारम्भको सुखानुभूतिका लागि भएका सुखद् परिवेश हुन् नेपाली नागरिक समाज आज द्विविधापूर्ण अवस्थामा रहेको छ । यदि यथार्थमा चुनावी रणनीति केन्द्रित एकता भएको भए हालको परिवेशमा एकताको कुनै अर्थ नरहने निश्चित छ ।
यद्यपि मुलुकको हितका लागि एकताबद्ध हुनु आवश्यक छ वा छैन भन्ने कुराको निर्णय गर्ने विवेक सम्मत अधिकार नेपाली जनतालाई नभई सम्बद्ध प्रजातान्त्रिक पार्टीका उपल्लो तहका नेतागणका अधिकार क्षेत्रभित्र रहनेछन् । जन सरोकारसँग प्रत्यक्ष आवद्ध रहने विषयहरूमा विविध कारणले हुने ढिलाइले मुलुकको विकासमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । तत्पश्चात्ः हालसम्म प्राप्त भएको राजनीतिक उपलब्धिहरू गुम्नसक्ने अवस्था सुषुप्त रूपमा मुखरित हुँदै आएको पाइन्छ ।  किनकी यस उपमहाद्वीपमा भारतीय प्रभावको गति मन्द भएको पाइँदैन ।

वेला बखतमा मित्रराष्ट्रका विशेष प्रतिनिधिहरूले अस्वाभाविक एवं अघोषित रूपमा सार्वभौमसत्ता सम्पन्न नेपाल राज्यको भ्रमण गरेको तथ्यले नेपाली राजनीतिक वृत्तमा नौलो तरंग उत्पन्न गराउँदै आएको छ । यस क्षेत्रको सुरक्षा चुनौतीको प्रश्नमा जहिले पनि भारत अग्रस्थानमा रहेको छ । नेपालसँगको खुला सिमानाको सन्दर्भमा हालसम्म भारतीय पक्षले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा कुनै प्रकारको असमझदारीपूर्ण व्यवहार प्रकट गरेको देखिँदैन । यसलाई सुखद् पक्ष मान्न सकिन्छ ।

तथापि धेर–थोर रूपमा चरम नेपाली राष्ट्रवादको चरित्र स्वरूप प्रवेशआज्ञा एवं राहदानीको व्यवस्थापन तथा सीमा क्षेत्रमा काडेतारको प्रस्तावको उठान यदाकदा नभएको पनि होइन । यसप्रकारको व्यवहारलाई कूटनीतिको क्षेत्रमा त्यति फलदायी मान्न सकिँदैन । यसले कूटनीतिक मित्रताको कसीमा कटुता पैदा गर्ने सम्भावनालाई नकार्न सकिँदैन । जुन दुबै राष्ट्रका लागि घातक सावित हुने देखिन्छ । यसका अतिरिक्त वाम एकतामा देखिएको द्विविधाले मुलुकभित्र तथा बाह्य जगतमा शंका उत्पन्न गराएको छ ।

अन्ततः मुलुकको शान्ति एवं राजनीतिक एकाग्रता भंग नहुने गरी कार्य गर्नु नै बुद्धिमानी ठहरिनेछ । तसर्थ जे जस्तो अवस्था भएता पनि मुलुक र जनताका लागि दुवै पक्षबाट नरम–करम मिलाई युद्धगत मानसिकतालाई प्रजातान्त्रिक अभ्यासमा क्रमशः रूपान्तरित गर्दै आफ्नो राजनीतिक पृष्ठभूमिमा रही एकता प्रयासहरू सकारात्मक गतिमा अगाडि बढ्दै जाओस् ।

प्रदीप उप्रेती

 

प्रतिक्रिया