यात्रा संस्मरण : फ्रेन्च धुरीबाट देखिने सांग्रीला

मा प्रकाशित

पाल बाहिरको तापक्रम माइनस १८ भन्दा कम थिएन । पालबाट बाहिर निस्कँदा आइस चरम–चरम आवाजका साथ पच्किन्थ्यो । त्यस्तोमा चुपचाप बाहिर बस्ने हो भने शरिर नै आइसमा परिणत हुन धेरै घण्टा कुर्न पर्दैन । बिहान पाँच बजे भान्साको पालबाहेक वाल्टर र स्टाफका पाल उठायौँ । हात कठ्यांग्रिएर पालका किला उखेल्न नसक्ने भएका थिए । मैले पाल पट्याउन मात्र सहयोग गरेँ । पालको शीत जमेर आइस भएको थियो । आइससँगै पाल गुटमुट्याएर भारी ठीक ग¥यौँ । बिहान भएकाले बतासको गति मन्द थियो । हिउँ पगालेर बनाएको चिया र खाजा भान्साको पालभित्र बसेर खायौँ । भरियाले चिउरा र चिया खाए ।

भरियाले भारी मिलाउँदै गर्दा हामीले पनि बुटमाथि क्र्याम्पोन बाध्यौँ । हामीसँग भएका डाउन ज्याकेट, ट्राउजर, गेटअप, पन्जा लगायौँ । स्की स्टिक र चस्मा ठीक पा¥यौँ । भरियाको लागि हामीले ल्याएका जुत्ता, मोजा, हावाछेक्ने ज्याकेट र सुरवाल, ऊनको टोपी, पन्जा र चस्मा पहिले नै दिइसकेका थियौँ । सबैले सबै न्याना लुगाहरू लगाएर नै सुतेका थिए । घाम परेपछि हिउँको चमकले आँखा अन्धो पार्ने भएकाले चस्मा सबैलाई अनिवार्य गरिएको थियो । दुई दिनका लागि हामी सबै अति होसियार हुनुपर्ने थियो । दिउँसोको खाजा र आफ्ना सामान झोलामा ठीक ग¥यौँ । अघिल्लो दिनको सल्लाह बमोजिम आङदाबा शेर्पा सबैभन्दा अगाडि, कुक भरियाको पछाडि र अरू बीचमा एक–अर्कासँग नजिक भएर हिड्यौँ । त्यसरी हिँडनुको कारण कुनै ठाउँमा कोही आइसमा चिप्लदा तुरुन्त सहयोग गर्न सकियोस् भन्ने थियो ।

त्यो दिनको मौसम चौपट्टै सफा थियो र सोही अनुरूप बढेको थियो चिसोको डिग्री । धवलागिरि हिमशृंखलाका कञ्चन सेता हिमाल र सफा नीलो आकास लालीगुराँसको डालीमा ढुकुरका जोडी प्रेममा चुर्लुम्म डुबेझै डुबेका जस्तै देखिएका थिए । १७औँ दिनकोे बिहान हिउँ र छोङ्वर्धन हिमनदीको उपत्यका भएर नै उकालो लाग्यौँ –फ्रेन्च पास (भन्ज्याङ) तिर । त्यो हिमनदी आइसको समुद्रजस्तो देखिन्थ्यो । हामी हिँडने बाटोमा धेरै आइस थियो भने कतै–कतै हिउँ थियो । आइस भएको ठाउँमा डोरेटो थाह पाउन मुस्किल हुन्थ्यो भने हिउँ भएको ठाउँमा मानिस हिडेको पाइला देखिन्थे र त्यसलाई हेर्दै हिँडथ्यौँ । सेतो उपत्यकामा हिँडेको त्यो प्राणीको लस्कर कुनै अर्कै ग्रहमा अर्कै ग्रहका जीव घस्रँदै क्षितिजपारीको सांग्रीला खोज्न यात्रामा निस्के जस्तो देखिएको थियो ।

धवलागिरि प्रथम (८१६७ मि) संसारको सातौँ अग्लो, सुन्दर एवं धेरै भूभाग ओगटेको ठूलो हिमाल हो भन्ने कुरा पहिले पनि उल्लेख भइसकेको छ । हामी त्यसको पश्चिम–दक्षिण मोहोडाको उपत्यका हुदै एक दिन हिँडिसकेका थियौँ । उच्च आधार शिविर (४८४७ मि) बाट सुरु भएको हाम्रो यात्रा क्रमशः उचाइतर्फ नै ठडिएको थियो । धवलागिरिको चेपबाट झुल्केको घामका सुनौला किरण उपत्यका छिचोलेर हिमालपारी डोल्पा छिचोलेर तिब्बतसम्मनै पुगेका थिए । हिमालमा चिसो, गर्मी र हवा उत्तिकै कडा हुन्छ । सूर्यको किरण हिउँमा परेपछि आउने किरण अचाक्ली तेजिलो हुन्छ । त्यसले आँखाको किरण एकैक्षणमा खाइदिन्छ भने छाला पनि जलाइदिन्छ ।

त्यसैले छालालाई बेवास्ता गरे पनि आँखाको सुरक्षाको लागि चस्मा अनिवार्य रूपमा चाहिन्छ । हामीले भिरेका बाक्ला ज्याकेटले गर्मी भएको थियो तर छिनछिनमा हुइँकिँदै आउने चिसो हावा छेक्न ज्याकेट भिर्नै पर्दथ्यो । घाम लागेपछि आइस झन् चिप्लो भएकाले पाइला सार्न कठिन भएको थियो । वाल्टर र मैले क्र्याम्पोन लगाएका थियौँ तापनि त्यो सहज थिएन । फ्रेन्च भन्ज्याङ पुग्ने बेलामा उकालो र धाजा फाटेको ठाउँ छ । एक–दुई ठाउँमा चिप्लो र क्रिभास (आइसको धाजा फाटेको ठाउँ) भएकाले आङदावाले मलाई पार गराएका थिए भने भरियाको भारी पालैपालो नघाएका थियौँ ।

हामी सँगसँगै हिँडेकाले कोही अत्तालिन परेन । हिमाल त्यसमा पनि पाँच हजार मिटरभन्दा माथि उकालो चढनु भनेको कुनै हिमालको चुचुरो चढनु जस्तै हो । त्यो उचाइमा सामान्य अवस्थामा पनि मुटुको धड्कन बढने, सास फेर्न गाह्रो हुने, टाउको दुख्नेसम्म पनि हुन्छ । त्यसैले त्यस्तोमा गति सुस्त हुन्छ । मौसमले हामीलाई साथ दिएकाले कठिन यात्रा पनि सहज जस्तै भएको थियो । त्यसवेला हिउँ परेको भए अग्ला भन्ज्याङका नाका पुरिएर थुनिन पनि सकिन्थ्यो । दुई–तीन दिन थुनिने हो भने बाँच्ने सम्भावना त्यो अग्लो ठाउँमा कमै हुन्छ । हामी बिहान ११ बजे फ्रेन्च पास (५३६५ मि) पुग्यौँ । त्यो ठाउँबाट धवलागिरि प्रथमको पश्चिमी लामो भाग, टुकुचे चुचुरो (६८४८ मि), सीता चुचुरा र धवलागिरिका अन्य चुचुराले हामीलाई घेरेका थिए भने पश्चिम र उत्तरमा नेपालको डोल्पा, डोल्पाभन्दा उत्तरमा चीनको तिब्बत देखिएको थियो ।

त्यो भन्ज्याङमा उभिएर त्यहाँबाट देखिने अलौकिक दृश्यको अवलोकन गर्दा पृथ्वीको उच्च स्थानमा उभिएर संसारलाई फन्को मारेको जस्तो लाग्दथ्यो । त्यसवेला त्यस्तो उच्च स्थान र हिउँ नै हिउँ भएको ठाउँमा पुगेको मेरो पहिलो यात्रा थियो । त्यसपछि भने मैले कैलास परिक्रमा, सगरमाथा, रोलवालिङ, लाङ्टाङ, अन्नपूर्ण, डोल्पा, मुगु, हुम्ला आदी विकटक्षेत्रको यात्रा गरिसकेको छु । विगतका अन्य यात्रालाई आधार मानेर भन्दा फ्रेन्च पासको त्यो ठाउँ सगरमाथाको कालापत्थर, डोल्पाको जाङला धुरी, अन्नपूर्ण परिक्रमाको थोराङ ला, कैलास परिक्रमाको डोल्मा ला, हुम्लाको नारा ला जत्तिकै महत्वपूर्ण, रमणीय, साहसिक र खतरा भएको धुरी थियो ।

दृश्यावलोकनको दृष्टिकोणबाट हेर्दा फ्रेन्च धुरी एउटा अलौकिक ठाउँ थियो जहाँबाट उत्तरतिर टुकुचे चुचुरासहित माथिल्लो मुस्ताङको खण्ड, दक्षिणमा धवलागिरिका हिमशृंखला, सीताचुचुरा, पूर्वमा धवलागिरि प्रथमको सिंगो रूप र पश्चिममा डोल्पा र चीनको तिब्बत देखिन्थ्यो ।

धवलागिरि हिमालभन्दा पश्चिम–उत्तरमा रहेको फुस्रो, बालुवा र गेगरको पहाड, थुम्का, पिरामिड र उपत्यका भएको हाम्रो माथिल्लो डोल्पा र मुस्ताङको भूभागको सुन्दरतालाई सम्झदा यस्तो लाग्छ कि साँचो अर्थमा जेम्स हिल्टनले आफ्नो पुस्तक ‘द लस्ट होराइजन’ मा भनेको सांग्रिला त्यही नै हो । उनले स्वर्ग भनेको त्यसैलाई हो । विदेशीले नेपाललाई स्वर्ग भन्छन् । हिमालयलाई पूर्व वैदिककालदेखि र पछिल्ला युगका ग्रन्थमा स्वर्ग भनेर उल्लेख गरिएको छ ।

वाश्तवमा किरात, गन्धर्व, देवगण आदिको वासस्थान त्यही भूभागमा थियो । अति सुन्दर, अति अग्ला, सेताम्मे हिमचुचुराभन्दा धेरै टाढा उत्तर, मानसरोवर र कैलासको दक्षिणमा रहेको नेपालको त्यो भूभाग वैदिक कालमा विभिन्न गणले स्वर्गको रूपमा चित्रण गरिएको क्षेत्र हो । मानसरोवर र कैलास पर्वतलाई भगवान् शिव र पार्वतीको घर भएको भन्ने कुरा धेरै धर्मग्रन्थ र कथाहरूमा पाइन्छ । डोल्पा र मुस्ताङका क्षेत्रहरू भनेको कैलास र मानसरोवरका आँगन हुन् । दुरीको दृष्टिकोणबाट हेर्दा पनि यी क्षेत्र नजिक छन् । भौगोलिक बनोट उस्तै छ । फरक के भने तिब्बत तिरका उपत्यका हाम्रा उपत्यकाभन्दा लामा र फराकिला छन् । पौराणिक कालको कुरा गर्न प्रमाणबारे थाह नभए पनि खस साम्राज्यको समयमा मानसरोवर, कैलासदेखि पश्चिम लद्दाखसम्म नेपालको भूभाग भएको कुरा त इतिहासमा पुष्टि भइसकेको छ ।

यहाँनेर महाभारतको एउटा सानो प्रसंग जोडन अनुमति चाहन्छु । महाभारतको भाग ६, अनुशासन पर्वको अध्याय १९ मा ऋषि वदान्य र अष्टावक्रको एउटा कथा छ । त्यो कथा भीष्मले युधिष्ठिरको सहधर्मको प्रश्नको उत्तर दिँदा भनेको प्रसंगबाट जोडिएको छ । त्यसमा मुनी अष्टावक्रले वदान्य ऋषिसँग उनकी गुण, प्रभाव, शील र चरित्रमा पृथ्वीमा तुलना नै हुन नसक्ने सुप्रभा नामकी सुन्दरी छोरी माग्दछन् । वदान्यले सर्त राख्दछन् ।

त्यो सर्तअनुसार अष्टावक्र उत्तरतिरका हिमाल पार गरेर कैलास पर्वत नपुग्दै विश्रवाको छोरा कुवेरको अलकापुरी पुग्नुपर्ने हुन्छ । अलकापुरी पार गरेपछि किरात भेषधारी महादेवको उत्तम स्थान कैलास पर्वत आउँछ । कैलास पर्वत पनि पार गरेपछि कुवेरकोभन्दा दिव्य, सुवर्णमय, रत्नजडित सुन्दर आश्रम भेटिन्छ । त्यो सुन्दर दरवारमा एक जराजीर्ण दीक्षापरायण बृद्ध बसेकी हुन्छिन् । मुनी अष्टवक्रले तिनलाई भेटेर फर्केपछि मात्र बदान्यले कन्या दिने कुरा गर्छन् । स्त्री–पुरुषबीचको सम्बन्ध कस्तो हुनुपर्छ भनेर बुझाउन गरिएको परिक्षणको कुरा कथाको निष्कर्षमा छ ।

वदान्यको आग्रहलाई स्वीकार गरेर अष्टावक्र उत्तरतिर लाग्दछन् । अष्टावक्र अहिलेको जनकपुरको नजिकका ऋषिहुन् भन्ने पनि उल्लेख गरेको पाइन्छ । उनी कुवेरको अलकापुरीमा एक वर्ष बस्छन् । त्यहाँ कैलास पर्वतलाई स्वर्ग भनिएको छ । अष्टावक्रले किरातभेष धारी महादेवको उत्तम स्थान (कैलास) परिक्रमा गरी शिर झुकाएर प्रणाम गरे र पृथ्वी (तल) मा झरे । त्यसपछि उनी कुवेरकोभन्दा सुन्दर भनिएको ती वृद्धाको आश्रममा पुग्छन् । त्यहाँ उनलाई साह्रै सुन्दर सात कन्याले स्वागत गरेर भित्र लगेर आसनमा बसाउँछन् । त्यसपछि ती कन्या निस्केर बाहिर जान्छन् ।

अष्टावक्र र ती वृद्धा त्यस सुवर्णजडित सुविधासम्पन्न आश्रममा बस्छन् । वृद्धाले मुनीको सेवा गर्छिन् । चीसो ठाउँ भएकाले अष्टावक्रको ओच्छ्यानमा सुत्न जान्छिन् । पतिव्रता र पत्नीव्रताको दर्शनबारे छलफल हुनुका साथै, परस्त्री गमन गर्न हुने वा नहुने बारेमा वहस हुन्छ । त्यसवेला यौन क्रियाकलापका लागि लोभ, लालचमा तान्न प्रयास गर्छिन् तर उनी मान्दैनन् । परीक्षणमा सफल भएकाले वृद्धाले अष्टावक्र गुणवान भएको र वदान्यकी कन्याका लागि सुयोग्य भएको कुरा बताउँछिन् । अष्टावक्र फर्केर वदान्य ऋषिकी छोरीसँग बिहे गर्छन् । सहधर्मको प्रसंगमा यो कथा आएको छ ।

मैले यहाँ यो कथा उक्काउनुको एक मात्र उद्देश्य के हो भने महाभारतमा उल्लेख भएको त्यो कुवेर, महादेव शंकर र ती महिलाको सुवर्णमय, रत्नजडित महल हाम्रो अहिलेको डोल्पा र मुस्ताङको नजिक थियो । यसलाई यसरी पुष्टि गर्न सकिन्छ । पहिलो, तिब्बतमा सुन पाइएको छ । नेपालको त्यो क्षेत्रमा नुनका खानी प्रत्यक्ष आँखाले देख्न सकिन्छ जुन मैले देखेको छु । र तिब्बतको जस्तै भौगोलिक अवस्था भएकाले सुन हाम्रोमा पनि पाउन सकिन्छ । त्यसैले वैदिककालमा त्यो क्षेत्रमा सुन जडित आश्रम, भवन, द्वार थिएनन् भन्न सकिन्न, तर पुष्टि गर्न त्यसबारेमा अध्ययनको जरुरी छ ।

नेपालका विभिन्न ठाउँमा फलाम खानी भएको र कालीगण्डकीको किनारमा बालुवा चालेर सुन निकाल्ने गरेको त देखिएकै छ । दोस्रो, नेपालका हिमाली र हिमालभन्दा उत्तरका गाउँमा महिला नै घरब्यवहारमा प्रमुख हुन्छन् । हिमालभन्दा उत्तरमा रहेका नेपाल, तिब्बत, भुटानका गाउँमा केहिसमय पहिलेसम्म वहुपति प्रथा थियो जुन कुनै–कुनै ठाउँमा अहिले पनि अवशेषका रूपमा पाइन्छ । त्यसैले ती वृद्धाले अष्टावक्रसँग यौन सम्बन्धमा पनि खुला बहस गरेकी थिइन् । त्यसले समय र ठाउँको प्रतिनिधित्व गरेको भन्न सकिन्छ । त्यसैले अष्टावक्रलाई ती महिलाले प्रेमको प्रस्ताव राख्नु सामान्य थियो । त्यसकारण पूर्ववैदिक र वैदिककालमा हाम्रा धर्मग्रन्थमा उल्लेखभएका स्थान विशेषलाई ध्यान दिँदा ती भूमी नेपालमा थिए भन्ने प्रसंग उल्लेख गर्न मैले अष्टावक्रको कथा जोडेको हुँ ।

फ्रेन्च धुरीमा जोडले हावा चल्ने र ११ बजे पछि त्यसको गति र शक्ति पनि उत्तिकै बढने भएकाले हामी त्यहाँ धेरै बेर उभिएनौँ । क्यामरा वाल्टरसँग मात्र थियो । उनले धवलागिरि प्रथम र अन्य हिमालको विभिन्न कोणबाट तस्बिर लिएका थिए । फ्रेन्च धुरी पार गरेपछि ओरालो बाटो हिँडदै लुकेको उपत्यका (हिडन भ्याली) तिर लाग्यौँ । भन्ज्याङको धार नाघेर केही उत्तरतिर हावा कम चल्ने ठाउँमा पुगेर मात्र विश्राम ग¥यौँ र आफूले बोकेको खाजा खायौँ । त्यसदिनको कठिनतम खण्ड पार गरेका थियौँ ।

भौगोलिक स्वरूपतर्फ ध्यान दिँदा हामी हिँडेको नजिकको भूभागबाट कालीगण्डकी र भेरी नदीको पानीढाल पनि छुट्टिन्थ्यो । धवलागिरि प्रथम र त्यसको पूर्वी भाग, पश्चिमकाख र छोङ्वर्धन हिमनदी, टुकुचे, थापा पिक क्षेत्रका खोलाहरू कालीगण्डकीमा मिसिन्छन् । म्याग्दी खोला धवलागिरिको सबैभन्दा ठूलो र काली गण्डकीको मुख्य शाखा हो । त्यसैगरि फ्रेन्चधुरीभन्दा पश्चिमतिरका धवलागिरिका अन्य शिखर, चुरे, मुकुट हिमालक्षेत्रका खोला र नदीहरू सानी र ठूली भेरीका शिर हुन् । त्यसैले हामी वैदिककालमा स्वर्ग र पृथ्वी भनिएको क्षेत्र हेर्दै दुई महान नदीको पानीढालको धार भएर हिँडेका थियौँ ।

हिउँमाथिको चर्को घाम, पग्लेको हिउँको हिलो, घामले पग्लेर पल्टेका आइसका डल्ला, वारीपारी ठूलो आवाजकासाथ झरेका हिम पहिरो, एकाध हिम काग, टुकुचे र धम्पुस चुचुरातिरबाट हुइकिँदै आएको आइसजस्तै चिसो हावासँग पौठेजोरी खेल्दै हामी ५ हजार १ सय ५० मिटरमा रहेको हिडन भ्यालीको एक चेपमा पुग्यौँ । त्यसको वरपर उपयुक्त ठाउँ हेरेर वास बस्नुपर्ने थियो । त्यस्तो ठाउँमा पाल टाँग्दा हावाले पालका किला उखेलेर अर्को उपत्यकामा नपु¥याओस् भन्ने कुरालाई ध्यान दिनुपर्छ । हावाबाट जोगिनका लागि हिम चुचुराको काख ठीक हुन्छ तर राती हिउँको पहिरो गएर पाल पुरिएर सबै एक चिहान हुन पनि सकिन्थ्यो । यस्ता सबै कुरालाई ख्यालगर्दै सुरक्षित ठाउँको निख्र्यौल गरेर त्यो रात लुकेको उपत्यकामा पाल टाँगेर बस्यौँ ।

०१७ वैशाख २३ मा धवलागिरि आरोहणका सदस्यको सामान लिएर गएको यति नाम दिइएको पिलाटस पोर्टर जहाज हिडन भ्यालीमा दुर्घटना भएको थियो । पूर्व र पश्चिममा अग्ला हिमालहरू र उत्तर दक्षिणमा धम्पुस र फ्रेन्च भन्ज्याङ बीच लमतन्न सुतेको उपत्यका भएर नै होला शायद त्यसलाई हिडन भ्याली (लुकेको उपत्यका) भनेको । त्यो रात उचाइको कारणले वाल्टरलाई पनि निद्रा लागेनछ, उनले रातमा निद्रालाग्ने औषधि पनि खाने गर्दथे । रातभर चीसो हावा चलि नै रह्यो । सुदूर उत्तर कैलासको आँगनबाट आएको चिसो सिरेटोले हाम्रा पालका ढोकाहरू फ्यारफ्यार पारेको आवाज रातभर आइ नै रह्यो । चकमन्न रातमा हिमालको काखमा हाम्रो पालको सुरक्षाभने तिनै टिलपिल–टिलपिल गरेका तारगणले गरेका थिए ।  bishnu.nmdc@gmail.com

तपाइको प्रतिक्रिया