नेपाली चित्रमा स्वदेशी बिम्व

मा प्रकाशित

देवेन्द्र थुम्केली
कला मानव हृदयको स्पन्दन हो । कलाविनाको मानव जीवन र सभ्यता पूर्ण हुन सक्दैन । सुसंस्कृत र सभ्य समाज निर्माणका लागि कलाको महत्वपूर्ण भूमिका हुन्छ । कला र संस्कृतिको विकाससँगै विश्वका ठूला र प्रसिद्ध सभ्यताहरू बाहिर आएका छन् । मेसोपोटामिया, मिश्र, सिन्धुघाँटी, ग्रिक, रोमन, आदि सभ्यताको पहिचान कलामार्फत भएको हो । त्यसपछि विश्वका विकास भएका थुप्रै सभ्यता कलाबाट नै चिनिएका छन् । तसर्थ कला सभ्य समाजको ऐना हो । साथै समृद्धताको मापन पनि हो ।

कला र संस्कृतिमा खास ठाउँ र स्थानको पहिचान खुल्ने गर्दछ । आफ्नै रहनसहन, भेषभूषा, भाषा, संस्कृति, भूगोल, प्रकृति तथा पुरातात्विक सम्पदा आदि कलामा भिन्नभिन्न रूपबाट आएको हुन्छ । सबै ठाउँमा एकै किसिमका कला र संस्कृति छैनन् । भिन्न ठाउँमा भिन्न कला र संस्कृतिको विकास भएको पाइन्छ ।

कलामा स्वदेशी विम्ब प्रयोग कलाकारले जानेर वा नजानेर गरिरहेकै हुन्छन् । हुन त कलाकारलाई आफ्नो भूगोल, रहनसहन, संस्कृति, भेषभूषा, भाषा, प्रकृति तथा पुरातात्विक सम्पदाले प्रभाव पारिरहेकै हुन्छ । कुनै न कुनै रूपमा त्यसको प्रभाव कलामा आउँछ । तसर्थ स्वदेशी भन्नाले एउटा निश्चित सिमानाभित्र बसोबास गर्ने मानिस, त्यसको भूगोल, प्रकृति, रहनसहन भेषभूषा, संस्कृति, भाषा, पुरातत्व तथा धर्म आदिलाई जनाउँदछ ।

लामो समयदेखि अर्थात् पुर्खौंदेखि बसोबास गर्दै आएको भूमि अथवा जन्मदेश, मातृभूमिलाई स्वदेश भनिन्छ । यो निश्चित सिमानाभित्र बाँधिएको हुन्छ र त्योभित्र बसोवास गर्ने मानिसको रहनसहन, भाषा संस्कृति, धर्म, संस्कार तथा प्राकृतिक तथा पुरातात्विक सम्पदा नै स्वदेशी पहिचान हुन् ।

विम्ब भनेको कुनै चीजको झझल्को गराउने प्रतीकलाई बुझिन्छ । यसमा विभिन्न परिचय खुल्ने विषयहरू आउन सक्छन् । विम्बको प्रयोगविना कला, साहित्य निरस हुन पुग्छ । तसर्थ, कला र साहित्यमा विम्बको प्रयोग अत्यधिक गरिएको हुन्छ । ‘विम्बले निश्चित दर्शक र पाठकलाई कला–साहित्यमा केन्द्रित गर्दछ । कला र साहित्यमा विम्ब भिन्नभिन्न रूपमा आएको हुन्छ ।

कला एक दर्शन हो । हुन त दर्शनलाई पूर्वीय र पश्चिमी भनेर छुट्टाइएको छ । पूर्वीय दर्शनानुसार कलामा पृथक विषयहरू आएका हुन्छन् भने पश्चिमी दर्शनानुसार पनि कलामा उनीहरूका मूल्य र मान्यताहरू प्रतिविम्बित भएका हुन्छन् । नेपाली कलामा प्रयोग गरिएका विम्बमा धर्म, संस्कृति, संस्कार, सामाजिक जनजीवन, भूगोल र प्राकृतिक लगायतका विषय पर्दछन् ।

स्वदेशी विम्ब प्रयोग गरिएका कलाकृतिको संस्कृति र सभ्यता निर्माण, राष्ट्र–राष्ट्रियताप्रतिको जागरण, सामाजिक चेतनाको विकास, मानवता र भाइचाराको सम्बन्ध बनाउनु, सभ्य र विशिष्ट रूपमा चिनिनु आदि उद्देश्यका साथ बनाइएको हुन्छ ।

नेपाली कलामा स्वदेशी विम्ब प्रयोगको ऐतिहासिक विकासक्रम
नेपालमा आधुनिक, समसामयिक कलामा स्वदेशी विम्ब प्रयोग हुन थालेको कलागत १ सय ८० वर्ष हुन थाल्यो । १८७७ सालपछि नेपालमा पश्चिमी शैलीमा कला अभ्यास हुन थालेको हो । त्यसभन्दा अगाडि नेपालमा परम्परागत एवं संस्कारजन्य धार्मिक चित्रहरू बन्थे । विरलै मात्रामा मुगल, राजस्थानी शैलीमा केही कला बनेका छन् । त्यसबाहेक नयाँ शैलीमा काम भएको पाइँदैन । १८७३ को सुगौली सन्धि पछाडि नेपालमा अंग्रेजको प्रवेश भयो । नेपालमा बेलायती रेजिडेन्ट खुल्यो । उनीहरूले नेपालको बारेमा अध्ययन गर्न थाले ।

नेपालमा अंग्रेजको प्रभाव बढ्दै जाँदा कलामा पनि परिवर्तन हुन थाल्यो । तत्कालीन बेलायती रेजिटेन्ट ब्रायन हड्सनको हिमालयन अध्ययनका लागि चित्र बनाउने मानिसको आवश्यकता भएपछि कलाकार राजमानसिंह चित्रकारले हडसनसँग काम गर्ने मौका पाए । त्यसवेलादेखि नै नेपालमा कलामा नयाँ अध्यायको थालनी भयो ।

१९०७ सालमा भाजुमान चित्रकार जंगबहादुरसँग बेलायत यात्रा जान्छन् । उनले युरोपका कला म्युजियमको अवलोकन गर्ने अवसर प्राप्त गर्दछन् । उनले पछि नयाँ शैलीामा काम गरे । तर, १८८० सम्मको नेपाली कला क्षेत्रले खासै प्रगति गर्न सक्दैन । थोरै नयाँ र आधुनिक शैलीमा काम भए भने धेरै परम्परागत कला बने । चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारको औपचारिक कला शिक्षा ग्रहणपछाडि नेपालमा पश्चिमी शैलीमा कलाकर्म सुरु भएको हो । त्यसपछि हालसम्म नेपाली कलामा नयाँ–नयाँ अभ्यास भइसकेका र भइरहेका छन् । नेपाली कलामा यस कालखण्डमा राजनीतिक, आर्थिक, सामाजिक,स ांस्कृतिक तथा धार्मिक विषयले प्रभाव पारेको देखिन्छ ।

स्वदेशी विम्बसम्बन्धी सोच, मान्यता र आन्दोलन
नेपालमा स्वदेशी विम्बसम्बन्धी सोच र मान्यता राखी कला आन्दोलन भएको छैन । ०२४ सालमा राजा महेन्द्रको ‘गाउँफर्क’ अभियानअन्तर्गत केही कलाकारले नेपाली कलामा स्वदेशी विम्बको अभियानका रूपमा काम गरेका थिए । त्यसपछि लामो समयसम्म त्यस्तो आन्दोलन हुन सकेन । ०६० सालमा नेपाल कलाकार समाजले चलचित्र विकास बोर्डसँग मिलेर राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयमा कला प्रतियोगिता तथा प्रदर्शनी गरेको थियो ।

०६५ सालमै अखिल नेपाल ललितकला संघको आयोजनामा बबरमहलस्थित आर्ट काउन्सिलमा राष्ट्र, राष्ट्रियताको विषयलाई समेत जोड दिएको कला प्रदर्शनी भएको थियो । त्यसबाहेक आन्दोलनकै रूपमा नेपालमा हालसम्म राष्ट्रियताका विषयमा कलाकृति बनेको पाइँदैन । व्यक्तिगत रूपमा विचार, विषय र विम्बहरू नेपाली नै प्रयोग गरेका प्रशस्तै उदाहरण छन् ।

नेपाली कलामा स्वदेशी विम्ब प्रयोगको काल विभाजन
१. १८७७ साल अघिको समय (पहिलो चरण)
२. १८७७ देखि १८८६ सम्म (दोस्रो चरण)
३. १८८६ देखि १९०७ साल सम्म (तेस्रो चरण)
४. १८८७ देखि १९८० सालसम्म (चौथो चरण)
५. १८८० देखि २००७ सालसम्म (पाँचौँ चरण)
६. २००७ देखि २०१२ सालसम्म (छैटौँ चरण)
७. २०१२ देखि २०१८ सालसम्म सातौ चरण
८. २०१८ देखि २०३० सालसम्म आठौँ चरण
९. २०३० देखि २०४६ सालसम्म नवौँ चरण
१०. २०४६ देखि २०६५ सालसम्म दशौँ चरण

कलामा देखिएका शैलीहरू
नेपालमा १९८० सालअघि थोरै पश्चिमा वस्तुवादी शैली र धेरै परम्परागत कला बन्थे । चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले औपचारिक रूपमा कलाको अध्ययन कलकत्तामा गरेपछि यो दशकमा नेपालमा विधिवत कलाशिक्षा भित्रिएको हो । यही समयदेखि नेपालमा कलामा नयाँ धारको प्रयोग र अभ्यास सुरु हुन गएको मान्नुपर्दछ ।

सुरुमा यथार्थवादी कला, सांस्कृतिक यथार्थवादी कला बने । यो क्रम २०१० सालसम्म रहिरह्यो । १० सालपछि कलामा केही नयाँ अभ्यासहरू हुन थाले । जगदीशशमशेर राणा, गेहेन्द्रमान अमात्य लगायतका केही कलाकारले नयाँ शिल्प र शैलीमा काम गर्न थाले । तर, त्यसको दीगो र स्थायीपना हुन सकेन । अर्थात, एउटा आन्दोलनको रूपमा त्यो अभ्यास अगाडि बढ्न सकेन । २०१२ सालपछि २०१८ सालसम्म केही गतिविधि भए । यो बीचमा आधुनिक शैलीका कलाकृतिहरूको प्रदर्शनी हुन पुग्यो । तर, उल्लेख्य प्रगति हुन सकेन ।

०१८ सालपछि नेपालमा कला गतिविधि ह्वात्तै बढे । ०३० सालमा धेरै कलाकारले भारतलगायत विश्वका थुप्रै देशबाट कलाको शिक्षा ग्रहण गरेर फर्किए । ०२२ सालमा नाफाको गठन भयो । यसले पनि राष्ट्रिय कला प्रदर्शनी तथा कलासम्बन्धी गतिविधि थाल्यो ।

०१८ सालदेखि ०३० सालसम्म नेपालमा विभिन्न शैली र सीपमा कला बने । यथार्थवादी कला, नवयथार्थवादी कला, अमूर्त, अर्धमूर्त, घनवादी, अतियथार्थवादी, आदि शैलीमा कलाकारहरूले चित्र बनाउँदै गए । ०३० सालदेखि ०४६ सालसम्म नेपाली कला क्षेत्रले खासै उल्लेख गर्नुपर्ने कार्यहरू हुन सकेनन् । कला संघसंस्था खुले पनि कलामा नयाँ शैलीमा खासै गतिविधि हुन सकेन ।

०४६ पछि ०६५ सम्मको समयलाई भने नेपाली कलामा बोल्ने रूपमा हेरिनुपर्दछ । यो बीचमा थुप्रै नयाँ कलागतिविधि, प्रदर्शनी भए । नयाँ–नयाँ कलाकारले आफ्नै शैली र विशेषता बोकेका कला प्रदर्शनी गरे भने काममा पनि नयाँपन, सोच र दर्शनको निर्माण गर्दै आए । उत्तर–आधुनिक शैलीमा पनि नेपालमा अहिले निक्कै कलागतिविधि भइरहेका छन् । विश्वका अन्य कला धारसँग टक्कर लिने कला अभ्यास यस पिरियडमा भइरहेका छन् ।

उपसंहार
नेपाली कलामा स्वदेशी विम्बको प्रयोग प्रचुर मात्रमा भएको पाइन्छ । आधुनिक नेपाली कलामा यहाँका विम्ब अर्थात देश चिनाउने चीजको कलामा नेपाली कलाकारले प्रयोग गरेका छन् । स्वदेश अर्थात स्थानीय मानिसको पहिचान खुल्ने भेषभूषा, भाषा, धर्म, संस्कृति, संस्कार तथा प्राकृतिक सम्पदा, पुरातात्विक सम्पदा लगायतका चीजको कलामा प्रयोग हुनु नै कलामा स्वदेशी विम्बको प्रयोग हो । ती चीजको कलामा भएको प्रयोग नै विम्बको प्रयोग हो ।

आधुनिक नेपाली कलामा स्वदेशी विम्बको प्रयोग भएको लगभग १ सय ८० वर्ष हुन लाग्यो । १८७७ सालमा कलाकार राजमानसिंहले तत्कालीन बेलायती रेजिडेन्ट ब्रायन हड्सनको अनुसन्धानका लागि बनाएका विहार, मठमन्दिर, चैत्य, स्तूपा, आदिका स्केचबाट आधुनिक कलामा स्वदेशी विम्बलाई लिन थालिएको मान्नुपर्ने हुन्छ । उनले १० वर्ष जति यस्ता चित्र बनाउन समय बिताएका थिए ।

१८८६ सालपछि नेपाली कलामा यहीँका स्थानीय विम्बको प्रयोग अधिक मात्रामा हुन थाल्यो । नेपालका विभिन्न जातजातिका भेषभूषा झल्कने चित्रकृति बन्न थाले । त्यसवेला राजमानसिंह चित्रकारको समूहमा १० जना कलाकारले चित्र कार्य गर्दथे । १९०५ सालपछि भाजुमान चित्रकार जंगबहादुर राणाको बेलायत भ्रमणमा सँगै गएका थिए ।

उनको बेलायत यात्रापछाडि नेपालमा केही नयाँ काम भएको पाइन्छ । तर, पश्चिमा शैलीमा औपचारिक ढंगले कलाकर्म १९८० को दशकपछि मात्रै सम्भव भएको हो । कलाकार चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले नेपालमै पहिलोपटक कलाशिक्षाको औपचारिक अध्ययन लिएका थिए । उनीहरूको प्रवेशसँगै नेपालमा आधुनिक कलाशिक्षाको अध्ययन अध्यापन सुरु भएको हो ।

०७ सालपछिको राजनीतिक परिवर्तनले कलाकारमा स्वतन्त्रताको अनुभूति त गरायो तर खासै परिवर्तनका लक्षण देखापर्न सकेनन् । यसकालमा यथार्थवादी कला रचना भने भइरहे । ती रचनामा प्रायः नेपालकै विम्बलाई प्रयोग गरियो । ०१८ सालसम्म खासै उल्लेख गर्नुपर्ने कलाकृतिको रचना हुन सकेनन् । हुन त ०१२ सालमा कलाकार गेहेन्द्रमान अमात्यले अमूर्त, अर्धमूर्त कला रचना गरेर एकल प्रदर्शनीसमेत गरे । त्यस प्रदर्शनीले आधुनिक नेपाली कलामा अपेक्षा गरे अनुरूप परिवर्तन ल्याउन सकेन ।

जगदीशशमशेर राणाले पनि नयाँ शैलीमा काम गरेका थिए । उनका कामबाट पनि नेपाली कला क्षेत्रले अपेक्षा गरे अनुरूप कलाकृति पाउन सकेन । तर, यी दुई कलाकारले गरेको साहसले केही नयाँपन भने ल्याउन सफल भएकै हो । ०१२ सालमा कलाकार गेहेन्द्रमान अमात्यले गरेको कला प्रदर्शनीले केही आशा त जगाएको थियो तर उनले त्यस कार्यलाई अगाडि बढाउन सकेनन् । उनले कलामा भने नेपाली बिम्बलाई प्रयोग प्रतीकात्मक रूपमा गरेका थिए । यसवेला नेपाली कला नयाँ मोडबाट अगाडि बढ्ने क्रममा थियो ।

०१५ मा लखनउबाट कला शिक्षा अध्ययन गरेर उर्मिला उपाध्याय काठमाडौं फर्केपछि उनले ०१६ सालमा एकल कला प्रदर्शन गरिन् । बिस्तारैबिस्तारै नेपालमा आधुनिक कलाको प्रवेश हुँदै गयो । ०१८ सालमा दुई जना कलाकार उत्तम नेपाली र लैंनसिह बाङ्देलको आगमन काठमाडौंमा हुन्छ । सोही वर्ष दुई जना कलाकारका छुट्टाछुट्टै एकल प्रदर्शनी भए । यही समयबाट नेपाली कला क्षेत्रमा कला गतिविधि बढ्न थाल्यो ।
०१८ पछाडि भने नेपाली समसामयिक कलामा नवप्रवृत्ति र शैली देखापरेको हो । अधिकांश कलाकार भारत तथा विश्वका अन्य मुलुकबाट कलाशिक्षा अध्ययन गरी नेपाल फर्किए । उनीहरूले नेपाली विम्बहरूलाई मूर्त, अमूर्त, अर्धमूर्त शैलीमा चित्रका विषय बनाए । ०१८ देखि ०३० सालसम्म नेपालमा आधुनिक कलाको जग बलियो र सुदृढ बन्न पुग्यो । दृष्यचित्रण, मुहारचित्रण, सांस्कृतिक चित्र, जनजीवनसम्बन्धी चित्र, पुरातात्विक तथा प्राकृतिक सम्पदासम्बन्धी चित्रण भएका कलाकृति थुप्रै बने ।

०३० सालदेखि ०४६ सम्म नेपाली कला इतिहासमा खासै उपलब्धिमुलक कार्य केही हुन सकेनन् । नयाँ शैली र सीपको विकास हुनसकेन । तर, ०४६ पछाडि नेपाली कलामा पुनर्जागरण भएको छ । विश्वका अधिकांश मुलुकका कलासँग प्रतिस्पर्धी गर्न सक्ने कलाकृति ३० को दशकपछि यस समयमा नेपालमा बनेका छन् । यसरी नेपाली कलामा स्वदेशी विम्बहरूको प्रयोग गरी नेपाली कलालाई समृद्ध बनाउन उहाँहरूको पनि उल्लेखनीय भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया