साहित्य

कविता : मेरा गणितका गुरू !

सौर्य अनलाइन २०७४ चैत २४ गते १०:४० मा प्रकाशित


शरद पोख्रेल

मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितिहरू
अनि ती बीजगणितका डरलाग्दा
‘ए’ र ‘बी’ का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउँदा कैयौँ चोट पाएका थिए यी हातले
कैयौँ मुर्गा बनाइएका थिए चौरमा
कैयौँपटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई,
मानौँ कि मेरो जिन्दगी अब
फलिफापको बाटोमा अगाडि लाग्यो
तर, अचेल मलाई हजारबार
जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरू कुन सूत्र प्रयोग गरूँ म ?
बाको रसिला आँखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउने ?
माइनस् माइनस् प्लस हुने सूत्रमा
‘दुःख दुःख’ सुख हुन नसकेर
फेरि दुःख नै हुनुपर्ने
‘आँसु आँसु’ हाँसो नभएर
पुनः आँसु नै हुनुपर्ने
यो कुन नियम हो
जो मलाई सिकाउँदै सिकाइएन ।
ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
डिग्री डिग्रीमा नापियो
एंगल एंगलमा नापियो
तर, जिन्दगी त हजारौ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहस्य र जालझेलका करोडौँ कोण हुँदा रैछन्
घात र प्रतिघातका अनगिन्ती एंगल हुँदा रैछन्
जसलाई नजरअन्दाजसम्म गराइएन कि
तैले यसरी पनि बाँच्नु पर्छ भनी ।
सिंगो परिबार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिँडेको
लाहुरेको गह्रुँगो पाइलाको ओएट(भार) कुन ग्रामले नाप्छ
त्यो बिछोडिँदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आँसु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराई कुन एकाइले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन् ?
मेरा गणितका गुरू !
मलाई माफ गर्नुहोस् है
तपार्इंको गणितमा जसोतसो े ‘उत्तीर्ण’ भएको म
तर, जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले ‘उत्तारित’ पनि हुन नसकेर
‘लत्तारित’ भइरहेको छु ।
गुरू !
मिल्छ भने भाइबहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है !

प्रतिक्रिया