खोजखबर

मलमास अर्थात मच्छेनारायण मेला

सौर्य अनलाइन २०७४ चैत २६ गते ९:२२ मा प्रकाशित


सुभानु आचार्य काठमाडौै । चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा मत्स्यनारायणको मन्दिर छ । बाक्लो बस्ती रहेको यस गाउँमा पुरुषोत्तम महिनामा मत्स्यनारायणको मन्दिरमा एक महिना लामो मेला लाग्दछ । यो नेपालको एक मात्र मत्स्यअवतार धारण रूपी नारायणको मन्दिर हो । वरिपरि पोखरी र बीचमा मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मन्दिरको महिमा विशेषगरी मलमास वा पुरुषोत्तम महिनामा झल्कने गर्दछ ।

त्रिभुवन राजपथबाट चार किलोमिटर पर रहेको यस मन्दिरमा दर्शन गर्न भक्तजनले उपत्यका बाहिर जानुपर्ने छैन । उपत्यकाको सुन्दर र मनोरम क्षेत्रमा यस मन्दिरको दर्शन गर्ने अवसर पाउन सकिन्छ । वरपर अन्य देवीदेवतासहित बीचमा यो मन्दिर अवस्थित रहेको छ । मत्स्यनारायण मन्दिर वरपरको सेरोफेरो सुरुमा लगभग ४० रोपनीमा फैलिएको थियो । हाल विविन्न कारणले ३० रोपनी जमिन व्यक्तिगत प्रयोजनका लागि अधिकरण भइसकेकाले हाल १० रोपनी मात्र बाँकी रहेको छ ।

यसतर्फ सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीय बासिन्दा बताउँछन् । भगवान विष्णुले धारण गरेको १० वटा अवतार मध्ये मत्स्यनारायण अवतारलाई पहिलो रूप मानिन्छ । सदियौँ वर्षदेखि मत्स्यनारायण मन्दिरमा दैनिक बिहान पूजापाठको साथै बेलुका आरती हुँदै आएको छ । आउने ०७५ सालको जेठ महिनामा मलमास परेको छ । यस अवधिमा यहाँ मेला लाग्दै छ । अब हुने मत्स्यनारायण मेलामा दर्शन गर्न इच्छुक भक्तजन बल्खुको टियु गेट हुँदै अथवा नैकापबाट जान सक्नेछन् । मत्स्यनारायण मन्दिरको वरपर नेवारी समुदायको बाक्लो वस्ती रहेको छ ।

मत्स्यनारायण मन्दिरमा दैनिक रूपमा भजनकिर्तन गरी नाचगान गर्ने चलन पनि सँगै रहेको छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । सुरुमा मत्स्यनारायण मन्दिरको निर्माण कसले गरे भन्ने आधिकारिक प्रमाण भने भेटिएको छैन ।

भगवान् कृष्णसँगै आएका गोपाल वंशले मन्दिर निर्माण भएको हुन सक्ने कुरा स्थानीय बुढापाका बताउँछन् । स्थानीय बासिन्दाको भनाईअनुसार नेपाल सम्वत ८३५ मा उक्त मन्दिरको जिर्णोद्दार भएको मान्दछन् । र, जिर्णाेद्धार गर्ने काम तत्कालीन समयका कीर्तिपुर गुठीका अध्यक्ष रामकृष्ण श्रेष्ठले गरेका हुन् भन्ने बुझाइ रहेको भेटिन्छ । मत्स्यनारायणको मन्दिर विगतमा भरिभराउ पोखरीको बीचमा अवस्थित थियो । हाल केही वर्ष अघिदेखि सुख्खा पोखरीको बीचमा मात्रै सीमित रहन पुगेको छ ।

मत्स्यनारायणको दैनिक पूजापाठ र आरती गर्ने जिम्मा मच्छेनारायण क्षेत्रमा स्थानीय आचार्य थरका मानिसलाई दिइएको छ । हालका दिनहरूमा शैलेश आचार्यले मन्दिरको पूजापाठ र आरतीको जिम्मा सम्हाल्दै आएका छन् । आचार्य भन्छन, ‘हाम्रो पूर्खाले मात्रै सदियौँ वर्षदेखि यस मन्दिरको सेवा गर्ने मौका पाएका छौँ । भावी दिनमा पनि पाउनेछौँ भन्ने विश्वास गरेका छौँ । भगवान् नारायणले मलाई सेवा गर्ने अवसर प्रधान गरेकोमा म आफूलाई निकै भाग्यमानी ठान्दछु, ।’

मत्स्यनारायण मन्दिर सरसफाइमा संलग्न कुचिकार र पुजारीको तलव भत्ता दिने जिम्मा गुठी संस्थानले विगतदेखि हालसम्म गर्दै आएको छ । ‘तलब त राम्रो छैन तैपनि म खुसी छु,’ शैलेशले भन्छन् । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडीपछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर देखिन्छ ।

यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात मलमासका रूपमा रहने गरेको छ । अन्य समयमा १२ महिनाको अधिपति विभिन्न नामका सूर्य रहने गरेका छन् । तर, यस मलमासको अधिपतिहुन सूर्यले अस्वीकार गरेकाले स्वयं भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यस महिनालाई पुरुषोत्तम महिनाको नामले पनि चिनिन्छ । प्रा. चेतोनाथ आचार्यका अनुसार मल भनेको फोहोरमैला र मास भनेको महिना हो ।

अरू महिनाभन्दा आफू फरक महिना भएकाले अपहेलित भएको ठानी मलमासले विष्णु भगवान्समक्ष गएर अपहेलित भएर बाँच्नुभन्दा मर्नु नै जाति भनेर दीनहिन भई रोएछ । विष्णुले सान्त्वना दिँदै मलमासलाई गोलोकमा कृष्णसमक्ष लगेछन् । मलमासले आफ्नो सबै दुःख सुनाएपछि कृष्णले मलमासको सबै दुःख समन गर्दै उनलाई आफ्नै पुरुषोत्तम नाम दिएछन् । यसरी मलमासले पुरुषोत्तम नाम पाएपछि खुसी भएछ । त्यसैले यस महिनामा नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने चलन रहेको छ ।

मलमासमा शुभकार्यका कुनै साइत हुँदैनन् । त्यसैले यस महिनामा विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन तर नित्य कर्ममा गरिने जप, तप, पूजा, ध्यान आदिलाई पनि बार्नु पर्दैन । यसरी नारायणको महिमा बोकेको पुरुषोत्तम मेला विशेष गरी कीर्तिपुरको मच्छेनारायणमा मात्र लाग्ने गर्छ । यस समयमा हिन्दू धर्मावलम्बीले नारायणको विभिन्न मठमन्दिरमा गएर दर्शन गर्दछन् । ३२ महिना १६ दिन ४ घडीपछि लाग्ने यस मलमास महिना गन्तीको आधारमा ३३ वटा मालुपुवा दान गर्ने चलन रहेको छ ।

मलमासमा नारायणको नाममा पूजापाठ र मालुपुवा दान गर्दा निकै धर्म हुन्छ भन्ने पुरानो विश्वास रहेको छ । त्यसैले होला मत्स्यनारायण मेलामा दान लिनेदिनेको ठूलो भिड लाग्ने गरेको मच्छेनारायण क्षेत्र विकास कोषका अध्यक्ष सुरेन्द्र केसी बताउँछन् । ‘अब ०७५ सालको जेठ महिनाभर लाग्ने मत्स्यनारायणको मेलाभर्न आउने इच्छुक भक्तजनका लागि पानीको समस्या नहोस् भनेर डिप बोरिङको काम गरिरहेका छौँ । यो कार्य ८÷१० दिनभित्रमा सम्पन्न हुनेछ ।

यसका लागि चन्द्रगिरि नगरपालिकाले ‘यस वर्ष ३४ लाख बजेट छुट्टाएको छ,’ केसीले जानकारी दिए । विगत ०६३ सालदेखि मेलालाई भव्य र सभ्य बनाउन मच्छेनारायण विकास कोष लागिपरेको छ । तर, विभिन्न अभाव र त्रुटिका कारण केही कामलाई पूर्ण रूपमा सफल बनाउन नसकेको केसीले भने, ‘अब आसन्न मेलामा अनियन्त्रित रूपमा चल्ने बजारको नियन्त्रण हुनेछ ।’ मेलामा उपस्थित भक्तजनको यातायात व्यवस्थित तरिकाले राख्न पार्किङको छुट्टै स्थान निर्माण कार्य अघि बढेको छ ।

सडक आवतजावतमा भएको समस्या हल गर्न कोषले ढुंगा बिच्छाउने काम अघि बढाएको छ । अपुग रहने शौचालय थपको लागि केसी र उनको टोली जुटेका छन् । मत्स्यनारायण मेला भर्न आउने चालकले सवारी साधनको आवागमन आफ्नै हिसावमा यताउति नगरुन् भनी कोषले भिडमा पर्ने असर रोकथामका लागि यसवर्ष ट्राफिकको कडा व्यवस्था गरिएको छ । मत्स्यनारायण मन्दिर रङरोगन र सरसफाइका लागि दुई लाख र अन्य वरपरका मन्दिर निर्माणलाई सात लाख रुपैयाँ गरी कोषले नौ लाख रकम छुट्याएको छ ।

मच्छेनारायणका स्थानीय ७५ वर्षीय वृद्ध विष्णुप्रसाद सिग्देल भन्छन्, ‘विगतमा मन्दिरको हेरचाह, रेखदेख र संरक्षण गर्ने पुजारीलगायत जोगी र माछालाई वर्षमा २८ मुरी धान पारिश्रमिक स्वरूप दिने भनी नियम बनेको थियो । यो नियम कति वर्ष भइसक्यो उल्लंघन मात्र भएको छ, पूर्ण हुने देखिँदैन । हाल न त अन्न दिने चलन छ, न त जोगी मन्दिरको हाताभित्र बसेको नै छ ।’ उनले थप्छन्, ‘किन गुठी संस्थानले सम्पूर्ण सेवा सुविधाको कटौती गर्दै लगेको हो थाहा भएन ।’ हाल मत्स्यनारायणको पोखरी रित्तो छ ।

वेलावेलामा यहाँभित्र पानी किनेर हाल्ने गरिन्छ । पानीको अभावमा हाल कुनै पनि प्रजातिका माछा मत्स्यनारायणमा देख्न सकिँदैन । विगतमा मन्दिरको पूजापाठ र आरती आरम्भ गर्दा कुशलेले नगराका साथै अन्य बाजा बजाउने चलन थियो । तर, त्यो व्यवस्था हाल पूर्ण रूपमा निर्मुल भएको देखिन्छ । नाम नखुलाउने आधारमा एक स्थानीयवासीले भने, जंगबहादुर राणाको समयमा एक किसिमको नियम बन्धित लालमोहोर बनेको थियो । तर, त्यो लालमोहोर कसले र किन लुकायो भन्ने प्रमाण फेला पर्न आजसम्म सकिएको छैन ।

लालमोहोरमा भनिएको थियो कि, ‘मन्दिर वरपर आउने चराचुरुंगीलाई हत्या गर्न पाउने कोही कसैले पाउने छैन । मन्दिर हाताको काठ र स्याउला कटान गर्न पाउने छैन, वनक्षेत्र हाताभित्र चौपाया छिराउन पाउने छैन ।’ यस्तो किसिमको नियम उल्लिखित लालमोहोर लोप गराउनुमा निकै ठूलो षड्यन्त्र भएको हुनसक्ने उनी जिकिर गर्छन् । यसभन्दा अगाडिको मलमासमा मत्स्यनारायण मन्दिरको मेला भर्न आउने भक्तजनको संख्या करिब एक लाख थियो । यसवर्ष पनि यसैका हाराहारीमा हुन्छन् होला भन्ने आँकलन गरिएको छ ।

मन्दिरमा उपस्थित हुने भक्तजनको आशमा व्यापारी देवलाल श्रेष्ठले आफ्नो पसललाई भरिभराउ गर्ने भएका छन् । अघिल्लो मलमासमा भएको नाफाको स्वाद देवलालले यसवर्ष पनि लिने तयारीमा छन् । पसलमार्पmत ठूलो रकम हासिल गर्न सफल भएका देवलालले पसलमा यसवर्ष नयाँ सामान थप्ने सुनाए ।

मत्स्यावतार वर्णन

हिन्दू धर्मग्रन्थअनुसार प्राचीन कालमा सत्यव्रत नामका एक राजा थिए । उनी ठूला उद्धारवान र भगवान्का परमभक्त थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै वेला उनको हातमा एक सानो माछा आयो । माछाले राजालाई भने, ‘हे ! महाराज यी नदीका जीव तथा ठूला माछाहरूले मलाई खान्छन् अतः तपाईं मेरो रक्षा गर्नुहोस् ।’ माछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माछालाई आफ्नो कमण्डलुमा राखे । केही छिनमै मत्स्य बढेर कमण्डलुमा नअटाउने भए । यो देखेर उदारवादी सत्यव्रतले मत्स्यलाई एक भाँडोमा राखे । केही छिनपछि मत्स्य बढेर भाँडोमा पनि नअटाउने भए ।

यो देखेर राजाले पुनः मत्स्यलाई एक तलाउमा राखे । केही छिनमै मत्स्य तलाउमा पनि नअटाउने भए । अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे । यो देखेर मत्स्यले ‘महाराज ! समुद्रमा त झनै ठूला जलीय जीवहरू छन् तिनले मलाई खाइदिन्छन् मलाई समुद्रमा नछोड्नुहोस्’, भनी विन्ती गरे । मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवान्को लीला हो भन्ने थाह पाए । राजाले हात जोरेर भगवान् मत्यको प्रार्थना गर्न लागे ।

मत्स्य भगवान् सत्यव्रतको प्रार्थनाबाट खुसी हुँदै भने, ‘भक्त ! आजको सातौँ दिनमा तिनै लोक प्रलयकालको जलराशिमा डुब्नेछ । त्यसवेला मेरो प्रेरणाले तपाईंसामु एक ठूलो डुंगा आउनेछ । तपाईंले सबै जीवहरू र अन्नहरूको बीज लिएर त्यसै डुंगामा सप्तर्षिहरूका साथमा बसेर घुम्नु आँधी र हुरीका कारण डुंगा डगमगाउनेछ । त्यसैवेला म यसै मत्स्यको रूपमा रक्षा गरौँला ।’ यति भनेर भगवान् अन्तध्र्यान भए । न भन्दै सातौँ दिनमा सत्यव्रतसामु सबै पृथ्वी जलमा डुब्न लाग्यो । राजालाई भगवान्को कुरा याद आयो उनले एक डुंगा देखे ।

उनी बीउहरू लिएर सप्तर्षिहरूका साथ त्यसै डुंगामा बसे । केही छिनपछि समुद्रमा भयंकर आँधी आयो आँधीका कारण डुंगा डगमगाउन थाल्यो । सप्तर्षिलगायत राजा सत्यव्रतले भगवान् मस्त्यको ध्यान गरे । त्यसैबेला समुद्रको बीचमा विशाल मत्स्य रूपमा भगवान् प्रगट भए नौका सवार आठै जनाले आफ्नो नाउ माछाको सिङमा बाँधे । त्यसपछि भगवान्ले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेशहरू दिएका थिए । यिनै सत्यव्रत राजा वैवस्वत मनुका नामले विख्यात भए ।

प्रतिक्रिया