खोजखबर

सबैभन्दा पुरानो नेपाली गीत कहाँ छ ?

सौर्य अनलाइन २०७५ वैशाख १ गते २२:३८ मा प्रकाशित

लेखक: सीताराम बडाल

सीताराम बडाल २००१ सालको कुरा हो, संसारमा दोस्रो विश्वयुद्ध चलिरहेको थियो । नेपालमा पनि त्यसको प्रभाव नपर्ने कुरै भएन । सो समयमा गोरखपुरबाट गल्लाहरू आउँथे र नेपालीहरूलाई (विशेषगरी यहाँका १५–१६ वर्षदेखि ४०–४५ वर्षभन्दा उँधोका सारालाई) पेन्सन, एमसी, भिसी, तक्मा पाउने लोभ देखाएर लिएर जान्थे ।

गोरखपुरमा लगेर ३–४ महिना तालिम दिएपश्चात् जहाँ–जहाँ लडाइँ चलिराखेको हुन्थ्यो, त्यहाँको युद्धमैदानमा नेपालीहरूलाई पठाइन्थ्यो । गाउँघरमा जाँदाखेरि कुनै–कुनै यस्तो गाउँ पनि फेला पर्थे कि, १५–१६ वर्षदेखि माथिका र ४०–४५ वर्षभन्दा उँधोका मान्छे नै भेटिन्नथे । भेटिन्थे त केबल केटाकेटी, महिला तथा बूढाबूढीहरू मात्र ।

आफ्नो छोरा, लोग्ने युद्ध मैदानमा गइरहँदा गाउँघरमा बस्ने ती आफन्तको मन कस्तो भयो होला ? कति वैराग लाग्यो होला ? यस्तो परेको वेला विरहका भावनाहरू मनमा आउनु स्वाभाविक थियो । अनि यहीवेला उनीहरूले गाए,  ‘नकरा वनका न्याउली, तिमीभन्दा म छु नि वैरागी ।’ न्याउलीको विरहको आवाज सुन्दाभन्दा आफूहरूको अवस्थाप्रति उनीहरू दुःखी थिए र यस्ता गीत गाउँघरमा आफसेआफ निस्किए । तिनै गीतपछि आएर मौलिक लोकगीतको रूपमा चिनिए । २०७४ साल जेठ ११ गते बिहीबार दिउँसो १२ बजेतिर संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो घरमा मलाई नेपाली गीतसंगीतको विगत यसरी बताइरहेका थिए ।

जोशीलाई धेरैले संस्कृतिविद्को रूपमा चिनेको भए पनि उनको गीतसंगीत क्षेत्रप्रतिको खोज–अनुसन्धान मात्र नभई आफ्नो मौलिक गीतसंगीतप्रतिको लगावको बारेमा भने थोरैलाई जानकारी छ । उनी गीत गाउने र गीत संकलन पनि गर्थे, यो पनि त विगतकै कुरा हो । आफ्ना कापी तथा डायरीमा उनले सात दशकभन्दा अघिदेखि संकलन गरेका गीतहरू आज एउटा इतिहास बनेर बसिरहेका छन् । जेठ महिनाको चर्को घाममा म त्यहाँ पुग्दा जोशीका घरमा स्वयंसेवकका रूपमा काम गर्न आएका भाइबहिनीहरू उनका विभिन्न पुस्तक, तस्बिर तथा अन्य कृतिहरूलाई सफा गरेर व्यवस्थित गर्न तल्लिन देखिन्थे ।

व्यवस्थापन गर्न तयार गरिएका तिनै कृतिहरूको माझबाट एउटा कापी झिकेर जोशीले मलाई केही गीतहरू गाएर पनि सुनाए । नेपाली गीतसंगीतको इतिहासको कुरा गरिरहँदा उनको हातमा भएको कापीले पनि संरक्षणको आग्रह गरिरहेको भान हुन्थ्यो । सो विषयमा कुरा गर्दा उनले त्यस कापीमा आफूले संकलन गरेका करिब दुई सय गीतलाई पुस्तकको रूपमा प्रकाशित गर्न चाहेको कुरा गरे ।

यतिका समयपछि यी पंक्तिहरू लेखिरहँदा, मैले बुझे अनुसार, उनका ती चाहनाहरू अझै पूरा भएका छैनन् ।‘त्योवेला संगीतै भनेर, गीतै भनेर अथवा गायनै भनेर लागिपर्ने मान्छे पनि थोरै, बुझ्न पनि गाह्रो, कसैले कसैलाई वास्ता गरेको नि होइन । छन त थियो, तर उपेक्षित रूपमा, नेग्लेक्टेड लाइक एनि थिङ । त्यसको (गीतसंगीतको) रहस्य, त्यसको प्रचारप्रसार गर्नुपर्छ र त्यसको यति महत्वपूर्ण स्थान छ भन्ने कुरा थिएन ।’

जोशीले यसरी नेपाली गीतसंगीतको सो समयको स्थितिको बारेमा चर्चा गर्दै गए । आफ्नो घरनजिकै रहेको गणेशस्थानमा होस्, वा पाटन कृष्ण मन्दिर तथा भीमसेनस्थानमा बिहान–बेलुका हुने भजन, त्यहाँ भजन गीतहरू मज्जाले गाएको जोशीले देखेका थिए र सो परम्परा अहिलेसम्म पनि जारी छ । त्योवेला भाषामा चाहिँ उदारपना, उदारपना भनेको संस्कृतमा लेखिएको पनि गीतको रूपमा गाइथ्यो ।

जस्तै : जयदेवको गीत, विद्यापतिका कविता गीतको रूपमा गाइन्थ्यो । हिन्दी भाषा मिसिएका, मैथली भाषा मिसिएका गीतहरू र स्थानीय नेपाल भाषामा लेखिएका गीतहरूसमेत गाउने प्रचलन थियो । आजभन्दा चार सय वर्षअघि कृष्णमन्दिर (कृष्णमन्दिर स्थापना गर्ने राजा सिद्धिनरसिंह मल्ल, जसलाई हामी भक्त कविको रूपमा समेत चिन्छौँ) स्थापना भएपछि त्योवेला उनको नाम चलेका ३२ वटा गीत (ललितपुरका नेवार समुदायले दाफा भजनको रूपमा गाउँदै आएकामा केहीअघि मात्र संस्कृतिविद् छत्रबहादुर कायस्थको खोज–अनुसन्धानमा आधारित भई भेटिएका ३६ गीतलाई संगीतकार जुगल डंगोलले नोटेसनसहित दाफा भजनको रूपमा रेकर्ड गरेका छन् ।

श्रुति परम्पराबाटै पुस्तान्तरण हुँदै आए तापनि लोपोन्मुख अवस्थामा पुगेका यी गीतहरूले एउटा जीवन पाएका छन् ।) गाउने परम्परा नै थियो र अहिले पनि छ । त्यस्तै, गाईजात्राका वेला मरेको मान्छेको आत्माले शान्ति पाओस् भनेर त्योवेला रामायणको रचना (रचना भनेको गीतको सिर्जना) गरेर, उसको गुनगान गरेर रामायण गाउने परम्परा पनि संगीतको रूपमा जान्छ ।

चाडवाडमा गाउने, ऋतुमा गाउने (फागुमा फागुगीत, दशैँमा मालश्री, तिहारमा धनाश्री, वैशाखमा घाटु गाउने इत्यादि) चलन पनि नभएको चाहिँ होइन । यी कुराहरूको पृष्ठभूमिमा नेपाली संगीतको एउटा विकसित क्रम देखापर्छ, त्यो पनि विशेष गरी लोकगीतबाट (जस्तैः राजमति) । त्यतिवेला चाहे नेवारको होस्, गुरुङको होस्, मगरको होस्, राईको होस्, थारूको होस्, जे भए पनि सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सम्पदा भयो ।

संगीतलाई त्यो रूपले हेर्न सकिन्छ । विगतमा मान्छेले कुनै पनि ठाउँमा बसोवास गरेर, बस्ती बसालेर, सबैकुरा जान्दै बुझ्दै आएपछि संगीत पनि सभ्यता र संस्कृतिसँगै जोडिएर आयो । जोशीले आफू विद्यार्थी हुँदा मोर्डन इन्डियामा प्रकाशित भारतका एक जना ठूला विद्वान देवेन्द्र सत्यार्थीका तीन वटा लेख पढेका थिए ।

‘त्यो लेखको हेडलाइन नै ‘नेपाल : अ ल्यान्ड अफ फोल्क सङ्स’ यति राम्रो, अहिले पो झल्झल्ती सम्झिएँ । कति विद्वतापूर्ण, कति दूरदर्शी भावनाले उनले त्यो आफ्नो लेखलाई नाम दिएका रहेछन्,’ उनले यसरी विगत सम्झिए । लोकगीतको देश भनेपछि कति लोकगीत रहेछ त हाम्रो देशमा ? हुन पनि नेपालमा नेपाली भाषामा मात्र बोल्ने लोकगीत मात्र भएको भए त कुरा अर्कै थियो ।

यहाँ थारूको आफ्नै लोकगीत छ, डोटेलीहरूको आफ्नै किसिमको परम्परा छ । स्थान हेरेर राईको, गुरुङको, लिम्बूको, मैथलीको, नेवारको, धिमाललगायत अन्यको सबैको आ–आफ्नो भाषा छ । आफ्नो भाषासँग सम्बन्धित थितिरीति छ, जात्रा छ, मेला महोत्सव लगायतका विभिन्न उत्सवहरू छन् । मेला महोत्सव, उत्सव र चाडवाडमा ठाउँठाउँमा गाउने गीत, भजनहरू छन् । यो नै हाम्रो विशेषता हो ।

यस्तो विशेषताको आधारमा यतिवेला यदि सम्बन्धित निकायले, एकेडेमीले, मन्त्रालयले हाम्रो अमूर्त संस्कृतिमा अध्ययन, अनुसन्धान गर्न विद्वानलाई लगाइदिएको भए धेरै राम्रो हुन्थ्यो । हाम्रो संस्कृति संसारको ज्यादै पुरानो संस्कृतिमध्ये एक हो । युनेस्कोको परिभाषाअनुसार त यो संस्कृति विश्वसम्पदा सूचीमा रहने संस्कृति हो । मेचीदेखि महाकालीमा बस्ने नेपालीका मात्र गीत होइनन्, ती गीत त सम्पूर्ण विश्वकै मानव मात्रको एउटा साझा सम्पत्ति हो ।

यदि यो कुरा भएन भने त हामी अगाडि मात्र बढ्छौँ, हाम्रो संस्कृति, सम्पदा, इतिहास लोप हुँदै जान्छ । युनेस्कोले यस्ता किसिमका संगीतहरू, विभिन्न लय, तालमा बजाउने बाजाहरू, गीतहरू कुन सन्दर्भमा कहाँ गाउँछन्, सबै रेकर्ड गरेर यसलाई सुरक्षा गर भन्छ तर . . . । यदि हामीले संरक्षण गरेनौँ भने ठूलो नोक्सानी हुनेछ । २००१ सालमा जोशी सरकारी कामका सिलसिलामा तनहुँ र लमजुङमा थिए ।

उनले यस्तो समयमा गीत संकलन गरेका थिए, जुनवेला कविले अथवा रचनाकारले सिर्जना गरेको लोकगीत नै थिएन (र ती गीतलाई लोकगीत भनेर कसैले नभनेर ग्रामे गीत, झ्याउरे गीत, पाखे गीत, गाउँले गीत इत्यादि भन्थे) ।  फुर्सदका वेला देउरालीतिर गयो, गीत गाएको सुन्यो, वनजंगलतिर घुम्न जाँदा दाउरा, घाँस बोकेर आउनेले गीत गाइरहेको सुन्यो, अनि बेलुकी चुड्का भजनमा चरित्र नाच नचाइराखेको हेर्यो, यसैगरी उनले गीत संकलन गरे ।

ललितपुरको सहरी इलाकाको मान्छे जोशीलाई गाउँघरमा बस्न, खान, यताउति गर्न साथी भएन । फर्किन पनि भएन, बस्न पनि अप्ठ्यारो भयो । दिक्दारी लागेर यताउति गर्दा एक ठाउँमा गीत सुन्दा–सुन्दा पहिलो गीत यही आयो ः

‘के खायो रेली माई के लायो होला,

मेरो माया रेली माई वनको जुरेली चरीले’

यही जुरेली चरीले उनको जीवनमा यस्तो प्रभाव पार्यो कि, जुरेली त फिलोसफी अफ स्याटिस्फेक्सनको श्रोत बन्यो । त्यसपछि, उनले यही गीत सबैभन्दा पहिला सुरक्षित गरे भने यस्तै किसिमका पाएजति त्यस्ता राम्रा–राम्रा उपदेशमूलक गीतहरू टिप्नुपर्छ भनेर लागे । सो वेलादेखि हालसम्म पनि उनको जीवनमा यो नियम लागू छ । ‘त्यसैले, मैले चाहिँ मेरो घर भएन, मलाई एउटा मोटर चाहियो, (ललितपुर महानगरपालिकाले हालै उनलाई एउटा मोटर, एक सुरक्षाकर्मी उपलब्ध गराएको छ, त्यसका लागि उनीहरूलाई धन्यवाद) यस्तो पुगेन, त्यस्तो भए हुन्थ्यो, त्यो गुनासो आउँदैन ।

भोलिको चिन्तै छैन । चिन्तन मनन गर्ने हो, तर  चिन्ताचाहिँ नगर्ने,’ उनले भने । मुख्यतः श्रुति परम्परामा नै हाम्रा गीतसंगीत तथा संस्कृति बाँचेको छ । जान्ने मान्छे हरायो भने वा मर्यो भने अरू सबै खत्तम । जस्तो हामी अहिले सेतुरामको मेलवादेवीको कुरा गर्छाैं, उनीहरू त धेरैअघिका होइनन् नि ? उनीहरूभन्दा अगाडि पनि त धेरै थिए गीतसंगीतको क्षेत्रमा केही गर्नेहरू । तर, श्रुति परम्परा मात्र भएकाले उनीहरूको नामोनिसान केही छैन, तर पनि कहिँकतै इतिहास बाँचिराखेको छ ।

तराईका फाँटका आफ्ना पहिचान र संस्कृतिका कुरा जोडतोडले उठिरहँदा उनीहरूले महाकवि मानेको विद्यापतिको तथा उनको गीत र गायनको बारेमा भने उनीहरूलाई नै थाहा छैन । अहिले पनि पाटनको कृष्णमन्दिरमा विद्यापति नगाई त भजन नै हुँदैन । जागरण गीत पनि आउँदैन, आरती गीत पनि । हामीअघि बढिरहेको भनिरहँदा हामीले कहिल्यै पछि फर्केर हेरेनौँ । सायद, इतिहासको कुरा गर्दा विगतलाई नहेरी होला त ?

विद्यापतिको बारेमा खोज–अनुसन्धान गरे त चार–पाँच सय वर्षको इतिहास त त्यत्तिकै जोडिन्छ । यही नै वेला गोविन्दको गीत आउँछ, जयदेवको । कहिलेकाहीँ आक्कलझुक्कल मात्र गीत सुन्ने जोशी नेपाली संगीतमा के–कस्ता परिवर्तन आइरहेको छ, भनेर कहिलेकाहीँ यसो गीत सुनिहाल्छन् । ‘सेतुराम, त्यसपछि मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाश उनीहरूले मोर्डन टाइपमा अलिकति लोकभाकामा गीत गाएर नेपाली गीतसंगीतलाई अगाडि ल्याए ।

त्यो जेनुइनचाहिँ होइन, बनाएका हुन् । भाका मात्रै हो, जेनुइन त गाउँघरकै हो,’  जोशीले भने । यी कुराहरू गरिरहँदा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा ‘विदेशी गीतसंगीत सुन्नुभन्दा त नेवारी गीतसंगीत सुन्नू’ भनेर उल्लेख गरेको कुरा अहिले मनन गर्न जरुरी भइसकेको छ । त्योवेला आफ्नो कल्चर पोलिसीअन्तर्गत शाहले विदेशी गीतहरूले पार्ने प्रभावको बारेमा सोचेरै सो कुरा गरेका थिए ।

त्यसपछिका राजाहरूले दरबारमा आफ्नो मनमौजी हिसाबले मात्र गीतसंगीतलाई केही गरेको जस्तो मात्र देखिन्छ । राजा महेन्द्रले समेत सबैभन्दा पहिला गोरखा दक्षिणबाहु त बिसमल्ल खाँलाई दिए, त्यसपछि पाकिस्तानको मुहम्मदलाई, त्यसपछि बल्ल नेपालीको पालो आयो, नातिकाजीले गोरखा दक्षिणबाहु पाए । नातिकाजीले पनि महारानीलाई कति रिझाएर पाए । नत्र भने त पाँचौँ दिन्थे ।

हालसम्म प्रज्ञा–प्रतिष्ठानमा त्यत्तिका प्राज्ञहरू आए, तर ती कहीँकतै बाहिर गएर अध्ययन अनुसन्धान गर्ने एउटा प्रपोजल गएन । अहिले त झन् संगीतको छुट्टै, ललितकलाको छुट्टै, साहित्यको छुट्टै प्रतिष्ठान स्थापना भइसकेका छन्, तर त्यहाँका प्राज्ञहरूको काम कार्यालयमा गयो, आफूले गर्नुपर्ने काम गर्यो, हिँड्यो । प्राज्ञको रूपमा इज्जत त भयो होला, तर उनीहरू गाउँघरमा अथवा सम्बन्धित क्षेत्रमा खोज–अनुसन्धान गर्न कहिल्यै गएनन् (व्यक्तिगत तथा निजी तबरबाट केहीले भने अहिले पनि यस्ता कार्यहरू गरिरहेका छन्) ।

तर, उनी प्रज्ञा–प्रतिष्ठानमा सह–प्राज्ञ हुँदा एउटा प्रपोजल बनाएर नेपाली भाषाको व्युत्पत्ति थलो सिँजा खोला उपत्यकाको दुर्गम क्षेत्रमा गए । त्यहाँ जाँदाखेरी टोलीमा कल्चरल एन्थ्रोपोलोजिस्ट विहारी कृष्ण श्रेष्ठ,  भूगोलशास्त्री स्थिरजंगबहादुर शाह, भाषाशास्त्री डा. चूडामणि बन्धु र फोल्कलोरिस्ट प्रदीप रिमाल थिए । पाँचै जना गएर सो ठाउँमा महिनौँ महिना बसेर पाँच जनाले फरकफरक विषयमा पाँच भोल्युम तयार गरे र सोही वर्ष उनीहरू पाँचै जनालाई मदन  पुरस्कार ( २०१३) दिइयो । व्यक्तिलाई होइन, कृतिलाई पुरस्कृत गरिएको थियो त्योवेला ।

त्यस तरिकाले हिजोआज कामै भएका छैनन् र सम्बन्धित निकायलाई यस कुरामा मतलबै छैन । २०६७ सालमा सरकारले सांस्कृतिक नीतिअन्तर्गत सरकारी स्तरबाट ऐन कानुन बनाई पास गरेर ल्याइसकेको छ । गीतसंगीतलगायतका सबै कुरा यसभित्र पर्छन् । त्यसबमोजिम काम भए पनि केही आशा हुन्थ्यो, त्यो पनि भएन । खालि ऐन कानुन बनाएर जतिसुकै उत्कृष्ट बन्न खोजे पनि कार्यान्वयन भएन भने त्यसको के अर्थ रहन्छ र ?

नेपाली गीतको इतिहास खोज्न र त्यसलाई जोगाउन त कहाँकहाँ नेपाली मूलका मानिसहरू बसेका छन्, त्यो ठाउँ जानुपर्छ ।भारत, म्यानमार लगायतका देशमा नेपाली मूलका मानिसहरू भएका देहरादुन, दार्जिलिङ, कालिङपोङ, बर्मालगायतका स्थानमा गएर उनीहरू त्यहाँ कसरी आए ? कसरी उनीहरूले लोकगीतलाई बचाइराखेका छन् ? त्यसको निम्ति खोज–अनुसन्धान गराउन सकिन्छ, एकाधबाहेक यस्तो कुरामा कसैको ध्यान जान सकेन् ।

यस्तै, नेपाली बाजाहरूको अवस्था पनि उस्तै छ, बाजा भए पनि बजाउने मान्छे नै छैनन्, अर्थात् ती बाजा कसरी बजाउने भन्ने ज्ञान नै छैन । यस्ता काम गर्नेलाई  कहिल्यै प्रोत्साहन दिइएन । खालि देशको गहना भनेको भरमा मात्र हुन्छ र ? जोशी नेपाली संगीतको भविष्यप्रति आशावादी छन्, तर उनको प्रश्न छ, ‘अहिले म आफैँ भन्छु, खोज्दै जाँदाखेरि सबैभन्दा पुरानो गीत कहाँ छ त ?’कोहीसँग छ यस प्रश्नको उत्तर ? कुनै पनि देशलाई सिध्याउनु छ भने त्यो देशको गीतसंगीत तथा संस्कृतिमाथि प्रहार गर्नुपर्छ भन्ने पश्चिमा देशको भित्री मनोविज्ञानले नेपालमा साथ पाइरहेको देखिन्छ ।

कोरियामाथि जापानले विजय प्राप्त गरेपछि सो समयमा प्रत्येक कोरियनको नाम जापनिज राखिनु र उनीहरूको संस्कृति लादिनु पनि एउटा उदाहरणको रूपमा हेर्न सकिन्छ । के नेपालमा पनि अरूको गीतसंगीत तथा संस्कृतिको प्रभाव बढ्दै गयो भने त्यस्तो नहोला भन्न सकिन्छ ?सरकार ! नेपाली गीतसंगीत तथा इतिहासको संरक्षण गर्न खोज–अनुसन्धान यसको इतिहास संरक्षण गर्न विज्ञलाई समेटेर कहिले यस कार्यको थालनी गर्छौ ?

कि इतिहास नाश भएरै जाओस् ? यस्ता विविध प्रसंगहरूको कुरा गरिरहँदा बीचमा जोशीले ‘म सय वर्ष त जसरी नि बाँच्नुपर्छ । मलाई पाँच नम्बर ग्रेस दिएर ९५ वर्षकै उमेरमा शताब्दी पुरुषको घोषणा (सरकारले घोषणा गर्नुभन्दा अघि नै त्रिमूर्ति निकेतन र नइले यसको पहल गरेका थिए ) गरिएको थियो । अब त कति बाँकी छ र ?’ उनको चाहना पूरा होस् । शताब्दी पुरुषप्रति हार्दिक नमन् ।

प्रतिक्रिया