प्रधानमन्त्रीले अघि सारे ३१ बुँदे याेजना :

मा प्रकाशित

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

१. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. नयाँ वर्षको पहिलो बिहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरूलाई सम्बोधन गर्न पाउँदा निकै खुसी लागेको छ । रारा आफैँमा प्रतीक हो – हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको । अपरिमित प्राकृतिक र सांस्कृतिक सम्पदा, अनेकौँ सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता –समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् ।

तर, अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ – नानीहरूका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरूलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संसाधन छैनन् । कर्णालीलगायत नदी अविरल बगिरहेका छन् । तर, गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार सम्भावना बोकेर पनि मानव सूचकांकको पुछारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रूपान्तरणको पर्खाइमा छ ।

३. नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौँ, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।

४. दोस्रो कार्यकाल प्रधानमन्त्रीका रूपमा यहाँहरूसमक्ष उभिन पाउँदा म असाध्यै गौरवान्वित छु । जिम्मेवारी बोधले उत्तिकै गम्भीर पनि भएको छु । तेह्रथुम जिल्लाको एउटा निम्नमध्यम परिवारमा जन्मेर जीवनका अनेकौँ मोड पार गरेर यस विन्दुसम्म आइपुगेको आफ्नो जीवनयात्रालाई मैले परिवर्तनका संवाहक जनताको अदम्य इच्छाशक्तिको परिणाम ठानेको छु । एउटा सामान्य नागरिकलाई मुलुकको कार्यकारी प्रमुख बनाउन सक्ने लोकतान्त्रिक प्रणालीको सामथ्र्यका रूपमा मानेको छु ।

यसलाई मैले जस्तासुकै प्रतिकूलताको सामना गरेर आफ्नो स्वाभिमान र स्वाधीनता कायम राख्न सफल हाम्रो राष्ट्रको विवेकपूर्ण फैसलाका रूपमा बुझेको छु । यसैले, म सार्वभौमसत्तासम्पन्न नेपाली जनता, सधैँ स्वतन्त्र नेपाल राष्ट्रको माटो एवं लोकतन्त्रप्रति आफ्नो उच्च सम्मान र अविचलित प्रतिबद्धता पुनः प्रकट गर्न चाहन्छु । आदरणीय अग्रजहरू र प्रातःस्मरणीय शहीदहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

आदरणीय जनसमुदाय !
५. अन्योल र अनिश्चयका बीचमा, हिंसा र अस्थिरताका प्रयासलाई छिचोल्दै गतः मंसिरमा सम्पन्न निर्वाचनमा यहाँहरूले हाम्रो पार्टी र वामपन्थी–लोकतान्त्रिक चुनावी तालमेलका पक्षमा अपूर्व विश्वास प्रकट गर्नुभएको छ । यस विश्वासलाई मैले हाम्रो आगामी यात्राको मार्गदर्शन र अग्रगतिका लागि ऊर्जाका रूपमा लिएको छु । यसका लागि म सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु ।

मलाई प्रधानमन्त्रीका रूपमा प्रस्तावित गर्ने हाम्रो पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), विश्वासको मत दिने सबै दल र सांसदहरू तथा बधाई एवं शुभकामना व्यक्त गर्ने स्वदेशी–विदेशी मित्रप्रति धन्यवाद ज्ञापन गर्दछु ।

६ गत निर्वाचनमा कतै कठ्यांग्रिँदो चिसो सहँदै त कतै हिंसाको सामना गर्दै, कतै काखमा नानीहरू च्याप्दै त कतै लौरो टेक्दै, अनि कतै स्ट्रेचरमा बोकिँदै त कतै आफन्तको वियोगलाई समेत आफूभित्रै दबाउँदै यहाँहरूले गर्नुभएको मतदान अहिले पनि मेरो आँखामा जीवन्त छ । यसरी तपाईंंहरूले मतपेटिकामा खसाउनुभएको मतपत्र सामान्य कागज मात्र थिएन, त्यो निर्वाचन नयाँ युगको प्रवेशद्वार थियो र तपाईंंहरूले खसाउनुभएको मत त्यही प्रवेशद्वारको ताला खोल्ने साँचो थियो ।

यस्तो युग, जहाँ स्वाधीन देशका सार्वभौम नागरिकबीच कुनै विभेद र असमानता हुने छैन । यस्तो युग, जहाँ सामाजिक न्याय र लोकतन्त्र हुनेछ । यस्तो युग, जहाँ सबैलाई बराबरी सम्मान र सुरक्षा, बराबरी अधिकार र अवसर प्राप्त हुनेछ । यस्तो युग, जहाँ सुशासन र समृद्धि हुनेछ । यस्तो युग, जहाँ जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध हुनेछ । निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै म संकल्प गर्दछु – यहाँहरूका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिइने छैन ।

७. विसं २०७४, उथलपुथल र घटनापूर्ण सालका रूपमा रह्यो । विसं २०७४ महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रह्यो । विसं २०७४ मै राजनीतिक संक्रमणकालको अन्त्य भयो र जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पायो । तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो । देशमा स्थायित्वको नयाँ चरण आरम्भ भयो ।

यसरी निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुष्प्रयास विफल भएका छन् । निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ । हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो ।

अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् । विगतमा जनताको चाहना र संसद्को अंकगणितको बीचमा रहेको खाडल यसपटक पुरिएको छ । समृद्धिको आधारशिला खडा गर्ने यस युगीन दायित्व सुम्पनुहुने यहाँहरूप्रति पुनः एकचोटी कृतज्ञता जाहेर गर्दछु ।

आदरणीय दाजुभाइ दिदीबहिनीहरू !
८. के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरूमा मैले पटक–पटक भन्दै आएको छु – नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर, इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।
९. झन्डै तीन वर्षअघि प्रधानमन्त्रीका रूपमा व्यवस्थापिका–संसद्लाई अन्तिम सम्बोधन गरिरहँदा मैले भनेको थिएँ – यो समयको अन्त्य होइन, प्रक्रिया चालु छ र हामी यहीँ छौँ !’ त्यतिबेला हामीले रोपेका विरुवा हुर्काउने, देखेका सपनालाई मूर्त रूप दिने र परिकल्पनालाई व्यवहारमा लागू गर्ने समय पुनः हाम्रा सामु आएको छ । हामी एकताबद्ध भएका छौँ । जनताको भरपर्दो साथ छ ।

स्थानीय, प्रदेश र संघीय तहसम्मै जनताको विश्वासप्राप्त प्रतिनिधिहरू नयाँ ऊर्जाका साथ काम गर्न तत्पर हुनुहुन्छ । नेपाललाई सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय मित्रहरू पर्खाइमा छन् । हामी, विनाकुनै बहाना र विलम्ब तीव्र वेगमा अगाडि बढ्नेछौँ ।

१०. राष्ट्र निर्माणका लागि बलियो आत्मविश्वास चाहिन्छ । भविष्य उज्ज्वल छ भन्ने दृढ विश्वासविना, आफ्नो देश आफैँ बनाउन सक्छौँ भन्ने उच्च मनोबलविना र जस्तासुकै अवरोधका पहाड पनि नाघ्न सकिन्छ भन्ने अदम्य साहसविना राष्ट्रले सफलता हासिल गर्न सक्दैन । मनोवैज्ञानिक रूपमै कमजोर बनेको राष्ट्रले चुनौती सामना गर्न सक्दैन । हामीभित्रै लघुताभाष हुर्काउने, आफ्नै सामथ्र्यप्रति अविश्वास जगाइदिने र भविष्यप्रति निराशा पैदा गर्ने प्रयासहरू यदाकदा हुने गरेका छन् । तसर्थ, हाम्रो सर्वोपरि प्रयास राष्ट्रमा भरपर्दो आत्मविश्वास जगाउने कुरामा केन्द्रित हुनेछ ।

११. नेपाल संसारकै प्राचीनतम राष्ट्रमध्ये एक हो । हाम्रै भूमिमा जन्मेका गौतम बुद्धले हजारौँ वर्ष पहिले नै विश्वमा शान्ति, करुणा र अहिंसाको शाश्वत् सन्देश छरेका थिए । सयौँ वर्षअगाडि नै सभ्यता, संस्कृति र कलामा नेपालको प्रसिद्धि फैलिइसकेको थियो । काठमाडौं उपत्यका भारत र चीनबीचको व्यापारिक केन्द्र र सांस्कृतिक सेतु थियो । विश्वव्यापी औपनिवेशिक साम्राज्यका बीच पनि नेपाल सधैँभरि स्वतन्त्र रहेको थियो । विगतमा हामीले गरेका संघर्ष एवं प्राप्त गरेका राजनीतिक उपलब्धिले पनि विश्वकै ध्यान आकर्षित गरेको छ । यस्तो गौरवपूर्ण इतिहास बोकेको राष्ट्र कसरी पछाडि परिरहन मिल्छ ?

१२. नेपालको भविष्य सुदृढ र उज्ज्वल छ । नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको छ । पराधीन बनाउने सोचहरू कमजोर भएका छन्। विभाजित गर्ने शक्तिहरू किनारा लागेका छन् । राजनीतिलाई सत्तारोहण र जिम्मेवारीलाई निजी या संकीर्ण समूहगत स्वार्थपूर्तिको भर्याङ ठान्ने चिन्तन पराजित भएको छ ।

अब विकास या समृद्धिको विषय कुनै अमूर्त वैचारिक मन्थन या सुदूर भविष्यको काल्पनिक कथा रहेन । किनभने, युग बदलिएको छ, तदनुरूप हाम्रो जिम्मेवारी पनि बदलिएको छ । निरंकुशतन्त्र र अधिनायकवादविरुद्ध अब्बल साबित हाम्रा पौरखहरू अब गरिबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित हुनेछन् ।

आदरणीय दाजुभाइ दिदीबहिनीहरू !

१३. सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं संवद्र्धन सरकारको सर्वोपरी कत्र्तव्य हुनेछ । राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर हाम्रा छिमेकीहरू, सबै मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरिनेछ । सार्वभौमिक समानता, अहस्तक्षेप र पारस्परिक हित, आपसी सम्मान र विश्वास हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको आधार हुनेछ ।

देशप्रेम र न्यायोचित राष्ट्रिय हितलाई खोक्रो राष्ट्रवाद ठान्ने हिनग्रन्थी कसैले पाल्न हुँदैन भन्ने म ठान्दछु । राष्ट्रहरूबीचको सम्बन्धलाई आकार, जनसंख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्छ । सरकारले राष्ट्रियतालाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा, स्वाभिमान र पहिचानलाई उँचो बनाउनेछ ।

१४. लोकतन्त्र, शासन प्रणालीको मात्रै नाम होइन । लोकतन्त्र प्राप्तिका लागि अनेकौँ दशक बलिदानी आन्दोलनमा होमिएका हाम्रा लागि लोकतन्त्र जीवनपद्धति हो, जीवनमूल्यसमेत हो । पाँच दशकभन्दा बढी लोकतन्त्र प्राप्तिको आन्दोलनमा खर्चेको आफ्नो ऊर्जाशील समय र डेढ दशकको मेरो कारावास म यहाँ चर्चा गर्न चाहन्न ।

तर, दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अंगिकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको भने यहाँ स्मरण गर्न चाहन्छु । लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर जीवनपद्दति नै रहेको प्रसंगमा मैले अक्सर शाक्य गणतन्त्र र लिगलिगकोटको दौडबाट राजा छान्ने उदाहरण दिने गरेको छु । पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नेलाई नेता छान्ने सांगठनिक विधि म अध्यक्ष रहेको पार्टीले सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले अपनाउँदै आएको जगजाहेरै छ ।

१५. यस सरकारका कामहरू लोकतन्त्र मानव अधिकार र खुला समाजको अवधारणाबाट निर्देशित हुनेछन् । सरकारका कार्यक्रमहरू, संघीय लोकतान्त्रिक गणतन्त्रलाई जरैसम्म सुदृढ गर्ने दिशामा परिलक्षित हुनेछन् । प्रदेश र स्थानीय तहहरूलाई सक्षम, सुदृढ र आत्मनिर्भर बनाउन विशेष भूमिका खेलिनेछ ।

सहकारिता, समन्वय र एकताको आधारमा संघ, प्रदेश र स्थानीय तहको सर्वाङ्गीण विकास गरिनेछ । राज्यका नीति निर्माणमा जनताको भूमिका अझ प्रभावकारी होस्, कानुनी हिसाबले मात्र होइन, राज्य यथार्थमै जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित होस् भन्ने कुरा सुनिश्चित गरिनेछ ।

१६. मैले पटक–पटक भन्दै आएको छु – हामीले चाहेको लोकतन्त्र, ‘दल खोल्ने, चुनावमा भाग लिने र बोल्ने–लेख्ने अधिकार भएको लोकतन्त्र मात्रै हैन, कम्प्रिहेन्सीभ (समग्र) लोकतन्त्र हो । आर्थिक अधिकार र सामाजिक न्यायविनाको लोकतन्त्र, औपचारिक र अधुरो हुन्छ । तसर्थ, संविधानले प्रत्याभूत गरेका सामाजिक न्यायका प्रबन्धहरूको कार्यान्वयनका लागि निर्धारित समयभित्रै आवश्यक कानुनी, संरचनागत र साधन स्रोतको व्यवस्था गर्नुपर्छ र गरिनेछ ।

धनी र गरिबबीच रहेको खाडल बढाउँदै जाने होइन, घटाउनुपर्छ । तसर्थ, समन्यायिक विकासलाई मार्गदर्शक नीतिका रूपमा अवलम्बन गरिनेछ । हाम्रो संविधानले निर्देश गरेको ‘समाजवादउन्मुख राज्य’ निर्माणका लागि सामाजिक उत्पीडन र आर्थिक शोषणका कारण समाप्त पार्ने दिशातर्फ हाम्रा कार्यक्रमहरू परिलक्षित हुनेछन् ।

निरपेक्ष गरिबी, निरक्षरता, आधारभूत स्वास्थ्य सेवा–यातायात–विद्युत्–खानेपानीजस्ता न्यूनतम सुविधाबाट वञ्चित रहनुपर्ने बाध्यता र पूर्ण बेरोजगारी अब हाम्रा कामका मुख्य निशाना हुनेछन् । निश्चित समयावधिभित्र सबै नागरिकलाई यस्तो अवस्थाबाट मुक्त गर्न सशक्त राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । सबै बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न आजैबाट हामी सबैले सहजकर्ताको भूमिकामा विद्यार्थी भर्ना अभियान सुरु गर्नुपर्छ ।

१७. बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदासमेत हो । विविधता, बहुलता, सामाजिक सद्भाव र सांस्कृतिक सहचार्य हाम्रो समाजको विशेष पहिचान हो । यसैमाथि अडेको छ हाम्रो बलियो राष्ट्रिय एकता ।

तर, यसलाई खल्बल्याउने, गरिबी, बेरोजगारी र अविकासजस्ता मुख्य मुद्दाबाट ध्यान बर्गेल्ने र त्यस अप्रिय परिस्थितिलाई दुरुपयोग गर्दै सामुदायिक सद्भावका ठाउँमा अविश्वास, सामाजिक द्वेष र घृणा फैलाउने प्रयास पनि यदाकदा देखापर्ने गरेका छन् । यस्तो कुरा नेपाल र नेपालीलाई स्वीकार्य हुनेछैन । सामाजिक सद्भावमाथि आधारित बलियो राष्ट्रिय एकता निर्माण गर्न र शान्ति, सुव्यवस्था कायम गर्नका लागि सरकार दृढ संकल्पित रूपमा प्रस्तुत हुनेछ ।

१८. निर्भयतापूर्वक बाँच्न र पेसा व्यवसाय गर्न पाउनु नागरिकको संविधानप्रदत्त मौलिक हक हो । जनतामा निहित सार्वभौमसत्ता प्रत्याभूत भएको, संविधानले सबैखाले अधिकार संस्थागत गरिसकेको र आफूले चाहेको परिवर्तन जनताको अभिमत कानुनी र शान्तिपूर्ण बाटोबाट प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि हिंसाको पैरवी गर्नु, आफ्ना आपराधिक या स्वार्थप्रेरित गतिविधिलाई राजनीतिक आवरण दिनु र जनताको जीवनलाई त्रसित पार्ने एवं मुलुकको व्यावसायिक वातावरणलाई दुष्प्रभावित पार्ने कार्य अब स्वीकार्य हुन सक्दैन ।

१९. भ्रष्टाचारले समाजलाई बर्बाद बनाउँछ । वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुनेछ । यसका लागि आवश्यक कानुनी ढ र संरचनागत सुधार गरिनेछ । कुनै बहानाबाजी स्वीकार्य हुने छैन । कतैबाट पनि भ्रष्टहरूलाई संरक्षण गर्न दिइने छैन ।

भ्रष्टाचार कुनै परियोजना, सार्वजनिक खरिद प्रक्रिया या सेवाग्राहीसँग लिइने रकमको अपचलन मात्रै होइन । त्यसरी भएको आर्थिक क्षति त कुनै हिसाबले पूर्ति पनि हुन सक्ला । तर भ्रष्टाचारले सिर्जना गर्ने सामाजिक मूल्यहरूको क्षयीकरण, लोकतन्त्रप्रति अविश्वास र व्यक्ति एवं संस्थाको नैतिक चरित्रमा ल्याउने स्खलनको भने कुनै क्षतिपूर्ति सम्भव छैन ।

२०. अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि हो । विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइनेछ । हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नुछ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्नु छ ।

कतिपयलाई यो उद्घोष महत्वाकांक्षी लाग्न सक्छ । तर, उच्च आकांक्षा नलिइकन, त्यसका लागि जोखिम नमोलिकन र त्यस निम्ति नयाँ नीति, संरचना र शैलीको अवलम्बन नगरिकन कुनै पनि राष्ट्रले फड्को मार्न सक्दैन । यसलाई हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारामा अभिव्यक्त गरेका छौँ । सरकार विकासका गतिलाई योजनाबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध छ । त्यसका निम्ति देशभित्रको प्राकृतिक र मानव स्रोत, पुँजी र सीप परिचालन गर्न सबै सामथ्र्यका साथ सरकार केन्द्रित हुनेछ ।

राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रूपमा निजी क्षेत्रलाई सहभागी बनाउँदै लगानीमैत्री वातावरण, अनुकूल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ । ज्ञ अबका सहकारीहरूले उत्पादनको ढाँचा र उत्पादन सम्बन्धको परिवर्तन र आधुनिकीकरणको वाहकको भूमिका खेल्नु पर्नेछ । तसर्थ, सहकारीहरू समाजवादउन्मुख अर्थतन्त्रका महत्वपूर्ण आधार हुनेछन् । सार्वजनिक–निजी–साझेदारीलाई महत्वका साथ अघि बढाइनेछ ।

यस प्रसंगमा हामी एक्लैकाफी छौँ भन्दैनौँ, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरू, वैदेशिक लगानीकर्ताहरू तथा वित्तिय संस्थाहरूसँग हातेमालो गरिनेछ । त्यसैले म यहीँबाट आह्वान गर्दछु, स्वदेशी तथा विदेशी लगानीकर्ताहरू ढुक्कसँग लगानी गर्नुहोस् । पारदर्शी कर, श्रमिकहरूको हित र वातावरणीय पक्षप्रति संवेदनशील हँुदै समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदानका लागि सरिक बन्नुहोस् । तपाईंको लगानी र मुनाफाको सुरक्षाप्रति सरकार सजग छ, अनावश्यक कानुनी र प्रशासनिक झन्झट अब तपाईंहरूले सामना गर्नुपर्ने छैन ।

कुनैअतिरिक्त सेवा सुविधा र कमिशन दिन नसकेका कारण लगानीको अवसर प्राप्त नहुने या लगानी फिर्ता लैजानेजस्ता विगतका वाध्यता सामना गर्नुपर्ने छैन । आन्तरिक र बाह्य लगानीमा सन्तुलनको नीति सहित लगानीको सुरक्षा, लगानी मैत्री वातावरण निर्माण तथा मुनाफाको व्यवस्थापन लगायतमा प्रचलित व्यवस्थाहरूलाई सहज र छरितो बनाइनेछ । औद्योगिक विकासका लागि आवश्यक विशेष आर्थिक क्षेत्र र विशेष औद्योगिक क्षेत्र निर्माणमा हाम्रो जोड रहनेछ ।

२१. कतिपयलाई लाग्छ – उपरोक्त लक्ष्य हासिल गर्न हामीसँग साधन स्रोतको अभाव छ । मैले भन्दै आएको छु– पैसा भएर, धन भएर कसैले विकास गरेको हैन । विकास गरेर मात्र देशहरू धनी भएका छन् । यति उर्बर जमिन र यति विघ्न जैविक विविधता भएको मुलुक, माटोमुनि खनिज र माटोमाथि जीवन र जडीबुटीले भरिएको देश, जलस्रोत र नवीकरणीय ऊर्जाका दृष्टिले अपार सम्भावना भएको राष्ट्र, सांस्कृतिक वैभवयुक्त हाम्रो मातृभूमि विकास नहुनुपर्ने कारण छैन ।

स्रोतको अभाव छ भन्नेहरूलाई तथ्य आफैँले जवाफ दिइरहेको छ भन्ने म ठान्दछु । १६ वर्षदेखि ५९ वर्षसम्मको क्रियाशील श्रमशक्तिको बाहुल्य भएका हामी संसाधनविहीन हुन सक्छौँ र ? हो, आजसम्म व्यवस्थापकीय मामिलामा समस्या छन् । दृष्टिकोणमा कमजोरी छन् । आत्मविश्वासमा कमी छ । अलिकति बेथिति छ । तर, यी कुनै पनि समस्या असाध्य छैनन् । विधिको शासन अब कडाइका साथ लागू हुन्छ ।

लोकतन्त्रको आवरणमा हुने अराजकता र ‘साहेब’ को छायाँमा लुकेर शासन सत्तामा हैकम जमाउन खोज्ने नक्कली शासकहरूको रजगज अन्त्य हुन्छ । अब ‘लाइन’मा उभिने हरेक व्यक्तिले ‘मेरो पालो पक्कै आउँछ’ भन्ने विश्वास जगाउने गरी यो सरकारले लोकतान्त्रिक ‘प्रणाली’प्रति जनताको विश्वास जगाउन हदैसम्मको प्रयास गर्छ ।

नियन्त्रण तथा सन्तुलनका मान्यताहरूलाई मूर्त रूप दिन शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, कानुनी राज र कानुनका नजरमा सबै बराबर छन् भन्ने मान्यता स्थापित गरिनेछ । मर्यादित संस्था र निकायहरूमा देखिएको विचलन र मर्यादामा आएको न्यूनता एवं इमानमा जनताले औँला ठड्याउने स्थिति उपयुक्त हैन । यस्ता संस्थाहरूको गरिमा अभिवृद्धिमा सरकारले ध्यान दिन्छ ।

२२. आर्थिक रूपमा परनिर्भर हुनु पर्दा कसरी राष्ट्रिय स्वाभीमानमा आँच पुग्दो रहेछ र राष्ट्रियता नै जोखिममा पर्दो रहेछ भन्ने पाठ इतिहासले हामीलाई कहिल्यै नबिर्सने सिकाएको छ । त्यसैले योजनाबद्ध आर्थिक विकास, पारस्परिक अन्तरनिर्भरता र व्यापारको विविधीकरणमार्फत मुलुकलाई आर्थिकरूपले आत्मनिर्भर बनाउन सरकार केन्द्रित हुनेछ ।

सामन्ती शोषणका सबै अवशेषको अन्त्य, उत्पादक शक्ति, उत्पादकत्व एवं उत्पादनमा वृद्धि, सामाजिक न्याय एवं न्यायोचित वितरणसहितको आर्थिक समृद्धि, गरिबी, बेरोजगारी, असमानता एवं परनिर्भरताको अन्त्य र समाजवादउन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिका नीतिले हामीलाई मार्गदर्शन गर्नेछन् ।

सारमा, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिलाई हामीले आफ्नो कामको पाँच आधारका रूपमा अपनाउनुपर्छ ।

२३. दुई तिहाइ जनताको जीवन जिउने आधारका रूपमा रहेको कृषि अझै पनि निर्वाहमुखी, अव्यवसायिक, परम्परागत तथा अनुत्पादक रहनुलाई मैले ठूलो चुनौतीका रूपमा लिएको छु । यसै त टुक्रिएको जमिन, आधुनिकीकरण एवं उत्पादन र उत्पादकत्वको वृद्धिमा समस्याका रूपमा छँदै छ, त्यसमाथि बजार प्रबन्धमा समस्या, उर्वर जमिनको अतिक्रमण र जलवायु परिवर्तन आदिका प्रभावले कृषि क्षेत्रको संकट बढाइदिएको छ ।

कृषि प्रधान देशबाट, कृषि सबल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सीमित गर्ने, कृषि उत्पादकत्व पाँच वर्षभित्र चार गुण वृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाइबाट झारेर २० देखि २५ प्रतिशतमा सीमित गर्ने गरी हाम्रा कामहरू अघि बढाइनेछ ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेशा र किसानहरूलाई सम्मानित नागरिकका रूपमा अगाडि बढाउने कार्यक्रमहरू सरकारको नीति तथा कार्यक्रममा विस्तृत रूपमा चर्चा गरिनेछ । आगामी नीति कार्यक्रममा जलस्रोत तथा ऊर्जाको विकास, रेल तथा जलमार्ग सहितकोआधुनिक यातायात र पूर्वाधारको विकासको विस्तृत खाका प्रस्तुत गरिनेछ ।

२४. आज हामी कर्णाली प्रदेशको लागि पर्यटन वर्षको शुभारम्भ केही समय पछि नै गर्दैछौँ । पर्यटन उद्योग एउटा प्रदेशको मात्र नभई हाम्रो विकास र समृद्धिको मुख्य आधार पनि हो । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण, नेपालका पर्यटकीय सम्पदा र गन्तव्यहरूको प्रचार–प्रसार, बजार प्रवद्र्धन र पर्यटकीय सम्पदाको संरक्षण र सौन्दर्यमा विशेष ध्यान दिइनेछ ।

२५. शिक्षालाई मुलुकको आर्थिक विकास र समृद्धिसँग आबद्ध गर्दै यसका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न तथा युवाहरूलाई आत्मनिर्भर तथा प्रतिस्पर्धी क्षमतायुक्त बनाउन पुनसंरचना गरिने छ । मैले पद बहाल गरेकै क्षण सबै पालिका तहमा एक÷एक वटा प्राविधिक तथा व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना गर्ने निर्णय गरिसकेको छु । हाम्रो शिक्षालाई काम र रोजगारीसँग आबद्ध गर्न प्राविधिक र साधारण शिक्षामा ‘सत्तरी–तीस’को अनुपातमा व्यवस्थित गर्ने नीति हामीले लिनेछौँ ।

जतिबेला बाँकी दुनियाँ अन्धकारमा थियो, अक्षर हुन्छ भन्ने जान्दैन थियो, त्यतिबेला पनि हाम्रा पुर्खा जीवजन्तु, वनस्पती, प्रकृति, भूगोल र खगोलको अध्ययन गर्थे । कला, संस्कृति र साहित्यको सिर्जना गर्थे । ज्ञानको उत्पादन संग्रह र विस्तार गर्थे । ती ज्ञानी, ती ध्यानी, ती विद्वान् ऋषि र मुनिका सन्तान आज निरक्षर र अनपढ हुने, स्कुल जान नपाउने ? विद्यालय भन्ने शब्द, भाव र व्यवहारको सिर्जना जहाँ भयो, तिनका सन्तान विद्यालयमा जान नपाउने ? अब यो चल्न सक्दैन ।

म कवि महानन्द सापकोटालाई स्मरण गर्छु, ‘विधिको यदि त्यही विधान छ भने अब त्यो विधिको पनि आयु पुग्यो पुनः एकपटक जोड दिन चाहन्छु – अब हाम्रा बालबालिका स्कुल जान्छन् । ऋषिमुनिका सन्तान अब स्कुल जान्छन्, जान्छन् १ अबदेखि कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहने र आर्थिक अभावका कारण बीचैमा पढाइ छाड्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । शिक्षालाई प्रतिस्पर्धी, गुणस्तरीय र जीवनपयोगी एवं समाज उपयोगी बनाइने छ । यस्तो शिक्षा प्राप्त गर्ने व्यक्तिका लागि आफ्नो जीवन सहज र सरल हुने अवस्था सिर्जना गरिनेछ ।

त्यस्तो व्यक्ति समाजका लागि गुणवान् र उपयोगी हुनेछ । त्यसैले त्यस्तो शिक्षा सुलभ र सबैको पहुँचभित्र हुनुपर्छ । शिक्षा, विकासको लागि हो, विकासको लागि कस्ता र कति जनशक्ति चाहिने हो, त्यसको योजनाबद्ध मानव स्रोतको प्रबन्ध व्यवस्थितरूपमा गरिनेछ । समयले देशको विकासका लागि माग गरेको जनशक्ति उपलव्ध गराउनु शिक्षाको उद्देश्य हो । निकट भविष्यमा शिक्षासम्बन्धी विस्तृत विवरण र कार्यक्रम तयार गरी सोही बमोजिमकाे शिक्षा नीति लागू गरिने छ ।

२६. प्रदूषण र दूषित खाद्यका कारण अहिले संक्रामक सरुवा रोगबाट मात्रै हैन, नसर्ने रोगको महामारीबाट समेत हाम्रा जनता पीडित छन् । उनीहरूको स्वास्थ्यका बारेमा चासो राख्नु राज्यको दायित्व हो । स्वास्थ्य भनेको अस्पताल र ट्याब्लेट मात्रै हैन, स्वच्छ हावापानी, स्वच्छ वातावरण, स्वच्छ खानपान, उचित आनिबानी र दिनचर्या पनि हो । एकचोटी सोचौँ – हिउँ पग्लिएर हामी कहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ । औषधि पखाल्दैपखाल्दै बगेको पानी खनिजसँग मिसिँदै मिनरल पानी हुँदै आउँछ ।

हाम्रो हावा र पानी यसरी औषधि छन् । जहाँको खानेकुरा स्वस्थकर र पवित्र छ, प्रदूषित छैन, त्यहाँका मानिस आज रोगी ? यो कसरी हुन्छ ? अब यो स्थितिको अन्त्य गर्नै पर्छ । तसर्थ, स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही वर्षभित्र अर्गानिक नेपाल बनाइनेछ । नेपालको हावा–सही अर्थमा प्राण वायू नेपालको पानी–जीवन जल । हाम्रो नीति उपचार केन्द्रित हैन–आरोग्यता केन्द्रित १ मौलिक अधिकारका रूपमा प्रत्याभूत आधारभूत स्वास्थ्यमा लगानी वृद्धि गरिनेछ ।

स्थानीय सरकार र समुदायसँग मिलेर प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा यो अधिकारको व्यावहारिक कार्यान्वयन गरिनेछ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ । गरिबीको रेखामुनि रहेका जनता, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिनेछ ।

२७. भूकम्पपीडित, बाढी र पहिरो प्रभावित तथा घरबारविहीनहरूको पीडाका बारेमा म जानकार छु । तसर्थ, उनीहरूको आवासको हक सुनिश्चित गर्दै क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणलाई तीव्रता दिइनेछ ।

२८. कर्णाली प्रदेशको यो सुन्दर स्थानबाट सम्बोधन गरिरहँदा प्रथा र प्रचलनका नाममा हुने गरेका महिलाविरुद्धका केही घटनाहरू स्मरण गरिरहेको छु । जेसुकै तर्क वा कारणबाट होस्, अब महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिनेछ ।

बालविवाह, बहुविवाहलाई पूर्णतः निषेध गरिनेछ । जातीय भेदभाव तथा छुवाछूत पूर्ण रूपमा उन्मूलन गरिनेछ । कर्णालीलगायतका दुर्गम प्रदेशका जनतालाई विकासको औसत राष्ट्रिय स्तरसम्म पु¥याउन राज्यबाट विशेष कार्यक्रम लागूगरिनेछ । तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गरिनेछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

२९. हामीलाई थाहा छ – समाजमा दृष्टान्त कायम गर्ने माथिबाटै हो । नैतिक स्वच्छता कायम गर्न सरकारले आफैँबाट सुरु गर्ने छ । प्रधानमन्त्रीका रूपमा मैले यसको अगुवाइ गर्नेछु । म मेरा सबै मन्त्रीहरू, सांसदहरू र राष्ट्रसेवकहरूलाई आह्वान गर्छु– हामीले प्रकृतिको सुन्दर वरदानका रूपमा यो जीवन प्राप्त गरेका छौँ । संयोगवश नेपालमा जन्मिन पाएका छौँ र यसको राजनीतिक र प्रशासनिक क्षेत्रको नेतृत्वदायी स्थानमा आइपुग्न पाएका छौँ । विरलै मान्छेलाई प्राप्त हुने यो अवसरको अधिकतम सदुपयोग गरौँ ।

कुनै महत्वपूर्ण नीति तर्जुमा गरिरहेकाबेला या कुनै निर्णय गर्न लागिरहेका बेला हामीले गाउँमा तर्तरी पसिना बगाइरहेका जनताको पीडालाई हेक्का राखौँ, विदेशमा कष्टसाध्य परिश्रम गरिरहेका दाजुभाइ दिदीबहिनीहरूको आँखामा झल्किरहेका आशालाई याद गरौँ– गलत निर्णय गर्न हात काँप्नेछन् । क्षणिक स्वार्थका लागि गरिने भ्रष्टाचार र अनियमितापछि खेप्नुपर्ने कानुनी र नैतिक दण्डका तुलनामा त्यसबाट आर्जित सुखसुविधाहरू क्षणिक हुन्छन् भन्ने कुरालाई सधैँभरि मनन् गरौँ ।

३०. अनेकौँ आरोहअवरोह, सफलता विफलता र एकता–विभाजनका शृङ्खला पार गर्दै नेपाली राजनीति आज यस महत्वपूर्ण विन्दुमा आइपुगेको छ । सामन्ती राज्यप्रणाली, निरंकुश शासन व्यवस्था, द्वन्द्व, अस्थिरता, संक्रमणकाल र भ्रष्टाचारलगायत अनेकौँ कारक तत्वहरूले गर्दा मुलुकले आजसम्म विभिन्न पीडा भोग्न बाध्य भयो । अब इतिहासको पाना बदल्ने बेला भएको छ । संयोगवश, नयाँ इतिहास निर्माणको यस ऐतिहासिक विन्दुको नेतृत्व गर्ने अवसर तपाईंहरूको अपार माया पाएर व्यक्तिगतरूपमा म, हाम्रो सरकार र वामपन्थी गठबन्धनलाई प्राप्त भएको छ । तीव्र रूपमा परिवर्तन भइरहेको विश्व, हाम्रै भू–राजनीति र समग्र परिवेशले हामीलाई स्थायित्व र समृद्धिका दिशामा बेगका साथ अगाडि बढ्न आह्वान गरिरहेका छन् ।

३१. निर्वाचनमा प्रतिस्पर्धा लोकतान्त्रिक प्रणालीको अपरिहार्य विशेषता हो । यस्तो प्रतिस्पर्धा राज्य सञ्चालनका लागि जनताबाट वैध आदेश प्राप्त गर्नका लागि हो । एकचोटी त्यस्तो जनादेश प्राप्त भएसँगै निर्वाचनकालीन प्रतिस्पर्धाको ठाउँ निर्माणमा सहकार्यले लिन्छ, लिनुपर्छ । निर्वाचनमा प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै, प्रतिपक्षीको स्थान पनि अन्त्यहीन विरोध, असहयोग या कटुताका लागि होइन ।

म विनम्रताका साथ मुलुकमा क्रियाशील सबै राजनीतिक दलहरूलाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका वृहत्तर विषयहरूमा समझदारीका साथ अगाडि बढ्न आह्वान गर्द छु ।

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू !

म तपाईंहरूलाई आत्मविश्वासका साथ भन्न चाहन्छु – पाँच वर्षपछि नयाँ निर्वाचनमा तपाईंहरूका अगाडि आइपुग्दा हाम्रा काम र उपलब्धिहरूले तपाईंहरूलाई आफ्नो अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने विश्वास दिलाउने छन् । पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा । यसमा आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पुर्याउनुहुन अनुरोध गर्दछु ।

हामी सबै एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सकौँ, यही चाहनासहित आजैबाट प्रारम्भ भएको विसं २०७५ स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि सु–स्वास्थ र सफलताको वर्ष हुन सकोस्, मेरो हार्दिक शुभकामना । धन्यवाद !

तपाइको प्रतिक्रिया