गर्मीमा छालाको समस्या र समाधान

मा प्रकाशित

प्राडा. भाष्कर मोहन कायस्थ

काठमाडौं । गर्मीमा छालाको समस्या एकदम धेरै हुन्छ । त्यसो त काठमाडौंको धुलो र धुवाँ काठमाडौं उपत्यकामा बस्ने जोकोहीलाई पनि छालाको समस्या भइरहेको हुन्छ ।

गर्मी समयमा काखिमुनि र यौनाङ्ग वरिपरि पास्ने हुन्छ । त्यसको लागि सँधै बिहान लगाएको भित्रि वस्त्र बेलुकी खोलेर सुत्नुपर्छ । सकेसम्म पानी छ भने दिनहुँ नुहाउनुपर्छ ।

अनुहारको छाला जोगाउनको लागि घाममा हिँड्नु हुँदैन यदि हिँड्नुपरे पनि छाता ओडेर हिड्नुपर्छ । घामबाट जोगाउने (सन क्रिम) हुन्छ, त्यो लगाएर हिँड्दा पनि छालाको समस्याबाट बच्न सकिन्छ ।

मौसमले गर्दा, तातो र गर्मीसँगसँगै धुलो आउँछ, अनि वायु प्रदुषण हुन्छ त्यसले गर्दा छालामा समस्या हुन्छ । गर्मीमा पसिना बढी आउने हुँदा पनि छालामा समस्या आउँछ ।

गर्मीको कारण छालामा हुने समस्या

घमौरा आउने, पसिना बढी आउने, अनुहारमा चिल्लोपन बढी देखिने हुन्छ । त्यस्तो वेलामा हामीले मुख धोइराखेनौँ भने धुलो अनुहारमा नै चिल्लोसँग टाँसिन्छ, पसिना पनि त्यही बस्छ त्यसले गर्दा अनुहारमा डण्डिफोर बढी आउँछ ।

डण्डीफोर कस्तो व्यक्तिलाई हुन्छ ?

डण्डीफोर विभिन्न कारणले आउँछ तर मुख्य कारण भनेको हर्मोन हो । कुनै मानिस बढी रिसाउने स्वभावका पनि हुन्छन् । नरिसाउने मानिसमा भन्दा रिसाउने मानिसको हर्मोन बढी सक्रिय हुन्छ त्यसैले पनि डण्डीफोर आउने सम्भावना बढी हुन्छ ।

निन्द्रा अपुग, तनाव बढी लिनु पनि डण्डीफोर आउने कारण हो । विभिन्न खालका कस्मेटिक क्रिमले पनि डण्डीफोर आउँछ । सबैलाई सबैखालको क्रिम उपयुक्त हुँदैन ।

त्यसैले छाला राम्रो बनाउँदा बनाउँदै पनि डण्डीफोर आउँछ । छालामा डण्डीफोरको समस्या भएका व्यक्तिहरू गुलियो चिज खानबाट जोगिनुपर्छ ।

घामको कारण

घामको असरले गर्दा चायापोतोे आउने, घामको एलर्जी हुने र एलर्जी हुँदा चिलाउँने, राता–राता दाना (घाउ) हरू निस्किने हुन्छ । जहाँ–जहाँ घाम परेको ठाउँ छ त्यो ठाउँ जस्तैः (अनुहार, छातीको बीच भाग, कपडा छोटो लगाएको छ भने पाखुराको साइड) मा एलर्जी हुन्छ ।

प्रदुषणको कारण

पानी कम घाम बढी छ भने हावाहुरी नलागेको समयमा वायुप्रदुषण हुन्छ । प्रदुषणका कारण धुलो अनुहारको देखिने भागमा परेपछि एलर्जी गर्छ । एलर्जी भएपछि धुलोले इन्फेक्सन हुने खतरा धेरै हुन्छ ।

धुलो सँगसँगै किटाणु आउँछ, त्यो किटाणुको कारण पिम्पल्सहरू (व्वायल्स), पिलो आउने, घाउखटिराको संक्रमण बढी हुन्छ । गर्मीमा पसिनाले गर्दा काछ लाग्ने अर्को समस्या हो । दिनभरी जुत्ता लाउनेहरूको गोडाको औलाको काप कापमा समस्या देखिन्छ ।

त्यसलाई हिलोले खाएको भन्छौँ तर त्यो हिलोले खाएको होइन पसिनाको समस्या हो । ढुसीको किटाणु फंगसको कारण गोडामा समस्या भएको हो । काछ लाग्दा रातो–रातो हुने, चिलाउने ढुसीले गर्दा हुन्छ ।

बच्ने उपाय

गर्मीबाटै बच्नको लागि त एसी (अल्टरनेटिङ करेन्ट) मा बस्ने हो । तर एसीमा बस्न सबैलाई सम्भव पनि छैन । यो व्यवहारिक होइन, थेउरेटिकल हो, त्यसैले हाम्रो देश नेपालमा सम्भव छैन ।

बाटो सबै धुलैधुलो छ, बाहिर ननिक्लिभित्रै बस्ने वातावरण पनि छैन । छालाको समस्याबाट बच्न धुलोमा हिँडिसकेपछि घर पुगेर फेसवास गर्न बिर्सनु हुँदैन ।

अनुहार मात्र नभएर शरीर पुरै नुहाउन जरुरी छ । एक बाल्टिन मात्रै पानी भए पनि शरीरलाई सफा राख्न नुहाउनुपर्छ । ३ दिनमा एक बाल्टिन पानी आउने ठाउँ छ भने त्यो त सम्भव हुँदैन ।

यदि छ भने नुहाउन जरुरी छ, गाउँघरमा पानी टन्न पाइन्छ, सबैले गर्मीमा छालालाई जोगाऔँ । काठमाडौंका विभिन्न बस्तीमा पानीको अभाव छ । त्यसकारण पनि समय-समयमा नुहाइरहन सकिँदैन, तर जोगिन र छालालाई जोगाउन जरुरी छ ।

सकेसम्म गर्मीमा खुकुलो कपडा लगाउने गर्नुपर्छ । यस्तो हुँदा पसिना आउने सम्भावना कम हुन्छ र आएपछि गुम्सिन पाउँदैन । भित्री वस्त्र पनि सूति वा कटनको लगाउनुपर्छ ।

कमिज त कटनकै हुन्छ तर अन्डरवेयर लगाउँदा नाइलन र पोलिस्टरको लगाउनु हुँदैन । सूतिको लगाउनुपर्छ र केटा हो भने बक्स खालको खुकुलोे अन्डरवेयर लगाउनुपर्छ ।

राती सुत्ने बेलामा नबिर्सिकन दिउँसो लगाएको सबै भित्री वस्त्र खोलेर अर्को लगाएर मात्रै सुत्नुपर्छ । बरु बिहान अघिल्लो दिनमा लगाएको भित्री वस्त्र लगाउन मिल्छ तर दिउँसो लगाएको बेलुकी लगाएरै सुत्न मिल्दैन ।

किनभने दिनभरी हिँडेर पसिना आएको हुन्छ, धुलो आएर टाँसिएको हुन्छ, त्यसमा किटाणु हुन्छ त्यसले गर्दा राती इन्फेक्सन हुन्छ । अनुहारमा साबुन प्रयोग गरे पनि विशेषगरी काछमा, काखीमा साबुन बढी प्रयोग गर्नु हुँदैन ।

छालामा बढी साबुन प्रयोग नै नगर्दा राम्रो हुन्छ । हाम्रो शरीरको पसिनामा ढुसीको किटाणु, (फंगस) लाई मार्ने शक्ति (एन्टिफंगल केमिकल) हुन्छ त्यसलाई साबुनले नुहाउँदा त्यो पखालिन्छ । त्यसकारण साबुन प्रयोग गर्नु उचित हुँदैन ।

जाडो सकिएर गर्मी सुरु हुन लाग्दाको समय माघ, फागुन महिना वा वसन्त ऋतुमा ठेउलाको बढी संक्रमण हुन्छ । गर्मी सकेर जाडो सुरु हुने वेलामा पनि ठेउलाको संक्रमण हुन्छ । वीर अस्पतालमा दैनिक छाला तथा यौनरोगका बिरामी २ सयभन्दा बढी नै आउने गरेका छन् ।

अस्पतालमा सकेसम्म छालाको राम्रो उपचार गर्छौँ, यदि औषधि नभए पनि अन्य देशबाट औषधि मगाएर पनि उपचार दिने गरेका छौँ । तर कुनै समयमा त्यस्तो हुँदैन, बिरामीलाई नै अन्य देशमा पठाउनुपर्ने अवस्था आउँछ त्यो अवस्थामा हामी रिफर गर्छौँ ।

कुनै व्यक्तिमा छालाको जन्मजातै समस्या हुन्छ । मानिसको पूरै छाला सेतो हुने तर कसैको पछि गएर शरीरको आधा भाग मात्रै सेतो हुने हुन्छ, यस्तो समस्याको उपचार गर्न गाह्रो हुन्छ ।

यसलाई भिटिलिगो भनिन्छ, ओठ, अनुहार पनि सेतो, हुन्छ तर एकपट्टि मात्रै सेतो हुने चाँहि जन्मजात हो । जन्मजात आएको भिटिलिगोको उपचार गाह्रो हुन्छ ।

अर्को एल्विनिजम भन्ने हुन्छ, जीउ सेतो, आँखा रातो हुने, आँखाको परेला सेतो र नानी निलो हुने खालको समस्या हुन्छ त्यसको उपचार छैन । यस्ता समस्या भएका व्यक्तिहरूले छाला समस्या नभएका व्यक्तिभन्दा अझै बढी घामबाट बच्नुपर्छ ।

काछ लाग्यो, चिलायो भनेर पसलमा गई औषधि किनेर प्रयोग गर्नुहुँदैन । चिलायो भनेपछि पसलबाट नचिलाउने औषधि दिन्छ तर त्यसले छालाको अर्को समस्या ल्याउँछ ।

जथाभावी औषधि प्रयोग गरेर (फंगस) किटाणुले सबै औषधि पचाइसक्यो, छालारोग भएका मानिसलाई कुनै पनि महँगो औषधिले समेत काम गर्न छोडेको छ, यसको प्रमुख कारण जथाभावी औषधि किनेर प्रयोग गर्नु नै हो ।

दाद आउनेबित्तिकै छालाकै डाक्टरकोमा गएर सल्लाह लिएर मात्रै औषधि प्रयोग गर्नुपर्छ । जुन पायो त्यही औषधि प्रयोग गर्यो भने छाला नै बिग्रिन्छ । छाला कै रोग हो भने छाला डाक्टरलाई जै जचाउन आग्रह गर्दछु ।

यौनरोग गर्मी र जाडो समयमा लाग्ने भन्ने हुँदैन । जुनसुकै समयमा पनि लाग्न सक्छ । पहिलेको तुलनामा आजभोलि यौनरोगका बिरामीहरू बढ्दो छन् ।

रगतमा ब्याक्टेरियाले गर्दा हुने यौनरोग सिफ्लिस (भिरिङ्गि) को उपचार गर्न गाह्रो हुन्छ । यसको उपचार गर्न अन्य अस्पतालले पनि गाह्रो मान्दछन् । त्यसको उपचार हामीले सहज रूपमा दिन्छौँ र दिँदै आएका पनि छौँ ।

श्रमको लागि विदेशमा जाने युवापुस्तामा रगत जाँच गर्दा विभिन्न समस्या देखिन्छ । समस्या भएपछि उनीहरू विदेश जानबाट बञ्चित हुन्छन् । त्यस्तो समस्याको उपचार गर्न गर्न पनि वीर अस्पतालमा नै आउने गरेका छन् ।

विभाग प्रमुख कायस्थसँग सौर्य दैकिककी यसिमा महतले गरेको कुराकानीको अंश वीर अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ ।

तपाइको प्रतिक्रिया