खोजखबर

लोप हुँदै मौलिक गीत–संगीत

सौर्य अनलाइन २०७५ वैशाख ३ गते १०:२२ मा प्रकाशित

बाबुराम बास्तोला
सङखुवासभा । जिल्लामा विभिन्न क्लब तथा संघसस्थाहरू छन् । कतिपय दर्ता भएर ससञ्चालन भएका छन् भने कतिपय दर्ताविना नै सञ्चालनमा छन् । जसरी सञ्चालन भए पनि अधिकांशले कम्तीमा वार्षिक एउटा/एउटा कार्यक्रम गर्ने गर्छन् । अझ व्यावसायिक रूपमा नै सञ्चालन भएकाले त गायन तथा नृत्य आइडल तथा अवार्ड नै गर्ने गरेका छन् ।

तर, उनीहरूको रोजाइमा पर्ने गर्छ, ट्र्याक गायन वा ट्र्याक नृत्य । सयौँ सहभागी हुने यस्ता गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गर्न क्लब तथा संस्थाले एकै संस्करणका लागि लाखौँ खर्चिन्छन् । अझ अवार्ड वा आइडल नै हो भने विभिन्न चरणको छनोट हँुदै महिनौँ चल्ने प्रतियोगताका लागि अझ धेरै खर्चिनुपर्ने हुन्छ । यस्ता कार्यक्रमका सबैजसो सहभागीले रिमिक्स शैलीका ट्र्याक नै रोज्ने गर्छन् ।

हरेक चाडपर्वका अवसरमा विभिन्न संघसंस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । बजार तथा गाउँ–गाउँमा हुने त्यस्ता कार्यक्रममा पनि प्रस्तुति फरक हुँदैन । ‘साउन्ड सिस्टम’ को भरमा स्थानीय कालाकारले आधुनिक, पप तथा चलचित्रका गीत गाउँछन् । त्यस्तै गितमा नाच्छन् । मेलापात र घाँस दाउरा गर्दा होस् वा हाट बजारमा गुनगुनाउने गीत यिनै हुन्छन् ।

सञ्चार, प्रविधिको विकाससँगै यस्ता नयाँ सिर्जनाहरू हरेकको पहुँचमा पुग्छ । नयाँ मात्रै के, पुरानो पुस्ता पनि यसैमा रमाउँछ । चर्चा, मनोरञ्जन, प्रतियोगिता र प्रस्तुति यसैको हुन्छ । यसरी, लोकगीतका नाममा उच्छृंखल शब्द भरिएका तथा पप र रिमिक्सका गीतमा समाज रमाइरहँदा स्थानीय मौलिक संस्कृति भने ओझेलमा छन् ।

विभिन्न जातजातिका मौलिक गीत तथा नृत्यको जगेर्ना र उजागरणका लागि न कोही लागिपरेका छन्, न कसैले चासो दिएका छन् । यस्ता मौलिक संस्कृति संरक्षण र संवद्र्धनमा कसैको ध्यान नगएको संगीतकर्मी उमंग लामा स्विकार्छन् । समाजको पुरानो पाटो फर्केर हेर्न कसैले चासो नदिएको उनको भनाइ छ । ‘जातजातिका नृत्यमा पनि प्रतियोगिता गर्न नसकिने होइन, भाषाभाषीका गीतको बेग्लै प्रस्तुति हुन सक्छ,’ लामा भन्छन्, ‘तर, न हामीले हे¥यौँ, न कसैले हेर्नेवाला छ ।’

बालन, भजन, धाननाच, संगीनी, सेलोजस्ता समाजका साझा सम्पत्ति बेवास्तामा परेकोप्रति चैनपुरका पुराना संगीत तथा संस्कृतिकर्मी माधव कर्मचार्यले दुःख व्यक्त गरे । ‘लिम्बूको धान नाच अरू जातिले पनि बुझ्थे, रमाइलो मान्थे, सबै मिलेर रातभर भजन गाउँथ,े’ कर्माचार्यले विगत सम्झिए, ‘तर अचेल लाखे नाच्न नेवारको छोरो अल्छि मान्छ, लिम्बू जातिकै कतिपयलाई पालामभन्दा आधुनिक गीत मनपर्छ ।’ मौलिक संस्कृति बचाउन हरेक जातिका सामाजिक संस्थाको पनि ध्यान जानु जरुरी रहेको उनको धारणा छ ।

‘यसो नभए कसरी संस्कृति बाँच्छ ?’ कर्माचार्य भन्छन्, ‘बाटो हिँड्दा र एकान्तमा टोलाउँदा पनि यस्ता गीत गुनगुनाउनुुपर्छ ।’ यसअघि स्थानीय सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका निर्वाह नगरेको सञ्चारकर्मी ध्यान कुलुङको विश्लेषण छ । स्थानीय सञ्चारमाध्यममा कुलङ लोक संस्कृतिमा आधारित भएर कार्यक्रम सञ्चालन गर्न जनशक्तिको पनि अभाव रहेको बताउँछन् ।

पुराना संस्कृतिहरू समाजका साझा सम्पत्ति भएकाले यसको जर्गेनाका लागि सबै लाग्नुपर्ने जिल्लाका पर्यटन व्यवसायी मनबहादुर लिम्बूको धारणा छ । मौलिक नृत्य र गीतहरूको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित गर्न सकिने लिम्बू बताउँछन् । ‘गायन र नृत्य प्रतियोगिताका नाममा लाखौँ लगानी हुन्छ, तर यस्ता संस्कृति बचाउन लगानी खोइ ?’ लिम्बूको प्रश्न छ ।

यस्ता लोक संस्कृति र मौलिक संस्कारले सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने साहित्यकार ताराबहादुर बुढाथोकी धारणा राख्छन् । भन्छन्, ‘यो समाजको गहना हो, यसले समाज सजाउनुपर्छ ।’ यस्ता कतिपय सुन्दर लोक संस्कृति लोप हुन लागिसकेको बताउँदै उनले संरक्षणका लागि समयमै ध्यान दिनु जरुरी रहेको औँल्याए ।

प्रतिक्रिया