सम्पादकीय

समाधान होला त फुटपाथ समस्या ?

सौर्य अनलाइन २०७५ वैशाख २५ गते १०:२२ मा प्रकाशित

फुटपाथ ओगटेर गरि“दै आएको व्यापारलाई निषेध गर्ने अभियान काठमाडौं महानगरपालिकाले सुरु गरेको छ । काठमाडौंको व्यस्त सहरी क्षेत्रमा सर्वसाधारण बटुवाले खेप्नुपरेको सबैभन्दा ठूलो सास्ती भनेकै फुटपाथको व्यापार हो । पिच सडकका सवारी साधनका कारण खुट्टा राख्ने ठाउँ हुँदैन, पैदल हिँड्नका लागि बनाइएको फुटपाथ व्यापारीका सामानले ओगटिएको हुन्छ । आफ्नै सवारी साधन हुनेहरूलाई त खासै ठूलो समस्या नहोला तर पैदल यात्रीका लागि भने निकै सकस देखिएको छ । निर्वाचन सम्पन्न भएको एक वर्ष बितिसकेको अवसरमा काठमाडौं महानगरपालिकाले गरेको यो प्रयास सकारात्मक छ । तर, यो प्रयासले कत्तिको निरन्तरता पाउने हो ? भन्ने कुरामा भने शंका यथावत छ । किनकी काठमाडौं महानगरपालिकाको यो प्रयास पहिलो भने होइन । पटकपटक सुरु हुँदै तुहिँदै गरेको प्रयास हो यो । फुटपाथको व्यापार हटाउने पहिलो प्रयास ०४९ सालको स्थानीय निर्वाचन लगत्तै तत्कालीन मेयर पियल सिंहले गरेका थिए । यसका लागि नगरप्रहरीको व्यवस्था समेत गरिएको थियो । दुई÷चार महिना समस्या समाधान भए पनि नगर प्रहरीकै मिलोमतोमा फुटपाथको व्यापार फस्टायो । ०५४ सालमा केशव स्थापित मेयर बनेपछि फुटपाथको व्यापार हटाउने प्रयास फेरी सुरु भयो । तर, निरन्तरता पाएन । यतिवेला सुरु भएको प्रयासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सेरोफेरोसम्म मात्रै निरन्तरता पाउने हो कि ? समस्याको स्थायी समाधानतर्फ महानगरपालिका उन्मुख छ ? भन्ने प्रश्नको उत्तर आउन केही महिना पर्खनै पर्ने हुन्छ ।
काठमाडौं महानगरपालिकाभित्र फुटपाथको व्यापारमा संलग्नहरूको संख्या कति छ ? भन्ने यकिन तथ्यांक छैन । विभिन्न संघ संस्थाहरूले १० हजारको हाराहारीमा रहेको अनुमान गरेका छन् । देशभरिमा करिब चार लाख रहेको अनुमान गरिएको छ । यो संख्या सानो होइन । यो ठूलो संख्यालाई स्थायीरूपमा चिढ्याउने जोखिम लिन कुनै पनि जनप्रतिनिधिहरू तयार नभएकै कारण समस्या समाधानका प्रयासहरू ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने गरेका हुन् । सानो लगानीमा सजिलै परिवारको आवश्यकता पूरा गर्न सकिने भएकाले काठमाडौंमा फुटपाथ व्यवसायीहरू दिनानुदिन बढिरहेका छन् । सडकमा व्यापार गर्दा भाडा तिर्नुनपर्ने र सरकारलाई कर पनि तिर्नुनपर्ने भएकाले अधिकांश निम्नवर्गीय नागरिकहरू फुटपाथको व्यापारमा आकर्षित भएका हुन् । सानो पुँजीबाट पनि सडक व्यापार गर्न सकिने र पारिवारिक आवश्यकता त्यसैबाट पूरा गर्न सकिने भएपछि निम्न आय भएका मानिसहरू यस व्यवसायमा संलग्न हुन स्वभाविकै हो । खासगरी काठमाडौंको सुन्धारा, नयाँबानेश्वर, रत्नपार्क, कालिमाटी, पाटन, लगनखेल, गोंगबु, नयाँ बसपार्क, गौशाला, चाबहिल, कोटेश्वर लगायतका व्यस्त सडक छेउछाउमा फुटपाथको व्यापार हुने गरेको छ । अरू पसलहरूको भन्दा फुटपाथमा केही सस्तोमा सामानहरू पाइने भएकाले निम्न आय भएका र विशेष गरी काठमाडौं बाहिरका मानिसहरू नै फुटपाथ व्यावसायीहरूका नियमित ग्राहक बन्ने गरेका छन् ।
खासगरी, महानगरप्रहरीका निम्ति पनि फुटपाथको व्यापार अतिरिक्त आम्दानीको मुख्य स्रोत बनेको छ । फुटपाथ व्यापारी मिलेर एक जना अगुवा बनाएका हुन्छन् । ती अगुवाले सबै फुटपाथ व्यापारीसँग हैसियत हेरेर रकम संकलन गर्छन् । संकलित रकममध्येबाटै महानगरप्रहरीसँग ‘डिल’ हुन्छ।अर्थात् संकलित रकममध्ये दैनिक केही रकम नगरप्रहरीलाई बुझाइन्छ । त्यसरी रकम बुझाएबापत् नगरप्रहरीले फुटपाथको व्यापारप्रति आँखा चिम्लने गर्छन् । लखेटेर गरिने समाधान स्थायी हुँदो रहेनछ भन्ने कुरा पुष्टि भइसकेको छ । यसका लागि महानगरपालिकाको प्रयास पर्याप्त हुँदैन । विस्थापित भएका फुटपाथ व्यापारीको पुनःस्थापनाका लागि दीर्घकालीन योजना संघीय सरकारले नै अघि सार्नुपर्छ । फुटपाथको व्यापार रहर नभएर बाध्यता हो । रोजगारीका स्रोतहरू बढ्न नसककेको हाम्रोजस्तो मुलुकमा फुटपाथको व्यापारले धेरैको रोजीरोटी चलेको छ भन्ने यर्थाथता बिर्सनु हुँदैन । उनीहरूलाई फुटपाथको सट्टा कुनै निश्चित ठाउँ तोक्न सकिन्छ ।

प्रतिक्रिया