अन्तर्वार्ता

चियाको बजार र मजदूर अभाव मुख्य समस्या

सौर्य अनलाइन २०७५ वैशाख ३० गते ११:३१ मा प्रकाशित

‘भारतमा मात्र निर्भर रहेको बजार आफैँमा जोखिममा रहेको छ । कुनै वेला सानो समस्या देखिए पनि बजार प्रभावित हुन सक्छ । बजार विस्तार तथा नेपाली ब्रान्ड स्थापनाको चुनौती देखिन्छ’

शेषकान्त गौतम, काइकारी निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास वोर्ड

नेपालमा चियाको करिब १ सय ५० वर्ष लामो इतिहाँस छ । तत्कालीन अवस्थामा झापा, इलाम, पाँचथर, तेह्रथुम र धनकुटा गरी ५ ओटा जिल्लालाइ चिया क्षेत्र भनेर घोषणा गरीएको थियो । ती जिल्लामा हाल पनि निकै राम्रो मात्रा र उच्च गुणस्तरमा चिया उत्पादन भइरहेको छ । सरकारले पनि तत्कालीन अवस्था देखि हाल सम्म जग्गाको हदबन्दी लगायतका कुरामा सहयोग गर्दै आएको छ ।

त्यो बाहेकका हाल आएर ललितपुर, भोजपुर, संखुवासभा, सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लाहरूमा समेत चिया उत्पादन भइरहेको छ । समग्रमा हेर्दा नेपालमा करिब २८ हजार हेक्टर क्षेत्रफल जमिनमा चिया खेती भइरहेको छ । त्यसैगरी, वार्षिक २ करोड ४० लाख प्रसोधित चिया उत्पादन हुन्छ ।  नेपालमा हाल अर्थोडक्स र सिटिसी गरी दुईखालका चिया उत्पादन हुन्छन ।

सामान्यरूपले बजारमा चिया खाने गरिएको सिटिसी चिया हो । नेपालमा सवबभन्दा ठूलो उत्पादन सिटिसी चियाको हो । जुन वार्षिक २ करोड केजी उत्पादन हुन्छ । र नेपालमा उत्पादन भएको सिटिसी चियाको ५० प्रतिशत नेपालमा नै खपत हुन्छ भने बाँकी ५० प्रतिशत भारत लगायतका देशमा निर्यात हुन्छ । नेपालका पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चिया वार्षिक ५० लाख केजी उतपादन हुन्छ ।

जसमा कुल उत्पादनको १० देखि १५ प्रतिशत चिया मात्र नेपालमा खपत हुन्छ भने बाँकी सबै भारत लगायतका अन्य मुलुकहरूमा निर्यात हुने गर्दछ । अहिले हामीले प्रयोग गर्ने गरेका धेरैजसो सामग्रीहरू बाहिरबाट आयात गरिरहेको अवस्थामा चियामा भने आत्मनिर्भर छौँ । साथै, वार्षिक रूपमा करिव ३ अर्ब रकम बराबरको चिया बाहिर निर्यात गरिरहेका छौँ । हाल सिटिसी तथा अर्थोडक्समा एक सयको हाराहारीमा उद्योगहरू सञ्चालनमा छन् ।

चियाको वर्तमान बजार
नेपाली चियाको सबैभन्दा ठूलो बजार भनेको भारत हो । त्यसमा पनि भारतको सिलगुडि र कलकत्तामा नेपाली चियाको माग बढी छ । त्यो बाहेक जर्मन, क्यानाडा, अमेरिका, जापान, अष्ट्रेलिया र ताइवान लगायतका देशहरूमा नेपालको अर्थोडक्स चिया निर्यात भइरहेको छ । माग अनुसारको मात्रा र खाजेको गुण्स्तर भएका चिया तेस्रो देशहरूमा बढी निर्यात भइरहेका छ । जसलाइ उपयुक्त गुणस्तरको मापदण्डभित्र पार्न सकेका छैनौँ त्यस्तो चिया भारमा नै बिक्री हुन्छ ।

समग्रमा हेनुपर्दा नेपाली चियाको ठूलो बजार रहेको भारतका व्यवसायीहरूले प्रश्न उठाउँछन, विभिन्न बहाना वनाएर नेपाली चियालाइ रोक्ने काम हुने गर्छन् । हाल पनि नेपालको चियालाई सौन्ट्रल फुड ल्याब ( सिएफएल) गर्ने भनेर बहानामा भारतीय सरकारले नेपाली चिया भारत भित्र्याउनमा केही झन्झटिला कानुनहरू कार्यान्वयनमा ल्याएको छ ।

केहि दिन अगाडि मात्र नेपालमा ‘चिया महोत्सव २०१८’ सम्पन्न भएको थियो । जसमा १३ देशका २२ जना ठूला व्यवसायीहरू सहभागी भएका थिए । उनीहरूको धारणा बुझ्दा उनीहरू नेपालको चिया आफ्नो देश भित्र्याउन सकारात्मक देखिए । जसको लागि गुणस्तरीय र उचित मात्रा उत्पादन गनुपर्ने हुन्छ । गुणस्तरीय उत्पादन गर्ने हो भने नेपाली चियालाई बजारको कुनै समस्या पर्दैन ।

नेपालमा चियाको इतिहास
नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्कदा चिनियाँ जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाइ भएपछि १९२० सालमा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको सुरूवात भएको देखिन्छ ।

त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो । त्यसवेलाको राजितिक अस्थिरताको रूपमा रहेको राणा शासनको अगाडि नेपालमा सुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । २००७ सालपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गएकोले चियाको क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । फलस्वरूप ०१६ सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भयो ।

त्यस्तै, सरकारी स्तरमा पनि ०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाइ हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो । सो कुरालाइ ध्यानमा राखी ०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलोपटक प्रशोधन कारखाना स्थापना गरीएको थियो ।

०३५ सालदेखि ०४५ को एक दशकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रमहरू गरेपछि विस्तारै चिया उद्योगले गति लिएको देखिन्छ । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाइ कदर गर्दै ०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले पूर्वाञ्चलका ५ वटा जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाइ चिया क्षेत्र घोषणा गरेका थिए ।

चिया क्षेत्रको थप विस्तार एवं विकासका लागि सरकारीस्तरकै गैरनाफामूलक संस्थाको आवश्यकता महसुस गरी ०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन ०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएको हो ।  हाल आएर नेपालमा ३ प्रजातिको चिया खेती गरीन्छ । आसामी र कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।

चिया खेती प्रवद्र्धन र बोर्ड
नेपाल चिया तथा कफी विकास बोर्डले चियाको प्रशोधन, उत्पादन, बजारीकरणमा सहजीकरण गर्ने काम गर्दछ । जस अन्र्तगत बोर्डले माटो परीक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने, चिया प्रशोधन तथा खेती वारे तालिम दिने कामहरू गर्दै आएको छ । चियाको प्रवद्र्धनको लागि चियाका विरूवा वितरण गर्ने, बजारको खोजी गर्ने र प्राविधिक सहयोग गर्ने लगायतका काम बोर्ड गर्दछ । बोर्डले नियमनका काम बढी गर्छ भने अनुदान वितरणका काम कम मात्रामा गर्छ ।

अनुदानको हिसाबमा भन्नुपर्दा विभिन्न विदेशी संस्थाहरू तथा अन्य निकायले कृषकलाई सहयोग गरिरहेका छन । बीउ बिरूवा र प्रशोधन तथा प्याकिङमा सरकार, निजी क्षेत्र र सहकारी मिलेर ५० प्रतिशत अनुदान प्रदान गर्दै आएका छन । जस अन्तर्गत पछिल्ला दिनहरूमा सहकारी संघ संस्थाहरूले प्रशोधन मेसिन खरिद गरेर संकलन केन्द्रसमेत सञ्चालन गरिरहेका छन् ।

चालु आवमा बिरूवा नर्सरी निर्माण र चिया टिप्न प्रयोग गरीने अत्याधुनिक प्रविधियुक्त प्लकिङ मेसिनहरू खरिद गर्नको लागि बोर्डमार्फत सरकारले ३० लाख रकम विनियोजन गरेको थियो ।  हाल बोर्डमार्फत चिया सम्बन्धि विभिन्न तालिमहरू सञ्चालन हुँदै आएका छन् ।

बोर्डले झापाको क्षेत्रीय कार्यालय र इलाम, पाँचथर र धनकुटामा रहेका विस्तार कार्यालयहरू मार्फत विरूवा रोप्ने, चिया टिप्ने, पुनर्ताजकी तालिमहरू, अर्गानिक चिया उत्पादन गर्ने तरिकाहरूका विषयमा तालिमहरू सञ्चालन गर्दै आएको छ । यस वर्ष करिब ३५ ओटा तालिम सम्पन्न गरिएका छन् ।

नेपाली चियाको बजार विश्वव्यापीकरण गर्न नेपालको औपचारिक हिमाली लोगो निर्माण तथा विस्तारको काममा बोर्ड लागेको छ । उक्त ब्रान्डिङ लोगोमा दुइवटा हिमालको आकारसहित अंग्रेजीमा नेपाल चिया लेखिएको र त्यसमुनि ‘क्वालिटी फ्रम द हिमालयज’ उल्लेख गरिएको छ ।

चिया खेतीमा विद्यमान समस्या र चुनौतीहरू
नेपालमा चिया क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि विभिन्न समस्याका र चुनौतीहरू रहेका छन् । जसमा नेपाली उत्पादनको गुणस्तर सुधार गर्नुपर्ने चुनौती रहेको छ । किनकि हामीले जथाभावी रसायनिक मलको सही प्रयोग नसक्दा तथा मलको उचित मात्रा तथा विषादि प्रयोगमा ध्यान नपुर्याउँदा गुणस्तर खस्किने समस्या रहेको छ । भारतमा मात्र निर्भर रहेको बजार आफैँमा जोखिममा रहेको छ ।

कुनै वेला सानो समस्या देखिए पनि बजार प्रभावित हुन सक्छ । बजार विस्तार तथा नेपाली ब्रान्ड स्थापनाको चुनौती देखिन्छ । नेपालमा चिया आयात गर्दा ३० प्रतिशत कर लगाइएको छ । यो सकारात्मक कुरा भए पनि नेपाली अर्थोडक्स चियाको प्रचार प्रसार एवं प्रयोग हुन नसकेको अवस्था नै समस्याको रूपमा रहेको छ । त्यस्तै, चिया व्यवसायका लागि सुलभ ऋणको व्यवस्था छैन ।

चिया प्रयोगशालाको व्यवस्था भएको छैन । चिया क्षेत्रमा काम गर्ने विभिन्न निकाय बीचमा समन्वयको अभाव रहेको छ ।अर्को समस्या भनेको किसानले चियाको उचित मूल्य पाइरहेका छैनन । उत्पादन भएको चिया टिपेर कारखाना सम्म पुर्याउने मजदुरको अभाव छ । किसानले हरियो पत्ती र प्रसोधित चियाले बराबर मूल्य नपाएका कारण पनि समस्या छ ।

अर्गानिक रिङभित्र परेका किसान र अर्गानिक रिङभित्र नपरेका किसानले पाउने मुल्यबीच ठिक दोब्बर फरक छ । सबैको गुणस्तर सुधार गरी एउटै रिङभित्र राख्नु पनि चुनौतिपूर्ण छ । अर्गानिक उत्पादनको लागि ठूला ठूला मल कारखाना खोल्नुपर्ने हुन्छ । मल किनेर किसानले चिया खेति गर्न सक्ने अवस्था सबैसँग छैन । किसानहरूलाइ खुसी राखिराख्न सबैले लाग्नु जरूरी छ ।

चियाको फाइदा तथ सम्भावना
स्वास्थ्यका दृष्टिकोणले पनि चिया राम्रो पेय पदार्थ मानिन्छ । सुत्केरी आमा वा अपरेसन गरेका बिरामीलाइ सबैभन्दा पहिला चिया नै दिइन्छ । चियाको सेवन मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको तथ्य विज्ञानले प्रमाणित गरिसकेको छ । मानव शरीरमा सृजित हुने खराब कोलेस्ट्रोललाई घटाउन, ट्युमरको अनावश्यक वृद्धिलाइ रोक्न वा घटाउन, हृदयघातको खतरालाई न्यूनीकरण गर्न, क्यान्सरको रोकथाममा सहयोग गर्न र डायबेटिज रोगको उपचारमा चियाको महत्वपूर्ण स्थान रहेको छ ।

त्यसैगरी, छालालाई स्वस्थ्य र सुन्दर राखिराख्न पनि चिया सेवन लाभदायी रहेको छ । नेपालमा चियाको सम्भावना एकदमै राम्रो छ । नेपाली चिया संसारभरि पुर्याउन सकिन्छ । नेपालको भू–धरातलमा चिया बगान, चिया उद्योगको लागि एकदमै उपयुक्त छन् । चिया उत्पादान हुने ठाउँ आफैँमा पर्यटकीय ठाउँ पनि हो । जसको लागि निजी ठूला क्षेत्रको पनि लगानी हुनु जरूरी छ ।

चिया उद्योग सञ्चालन गरे सो ठाउँमा भौतिक विकास पनि हुन्छ । लगानीकर्ताहरूलाई सबैको पहलमा आकर्षित गर्नुपर्दछ । नेपालका पहाडी जिल्लामा अर्थोडक्स चियाको सम्भावना एकदम राम्रो छ । (सौर्यकर्मी केशव भट्टसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय