सम्पादकीय

नयाँ युगमा कम्युनिस्ट आन्दोलन

सौर्य अनलाइन २०७५ जेठ ४ गते १०:०६ मा प्रकाशित

करिब सात महिनाको गृहकार्य तथा प्रतिक्षापछि मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको छ । दूरदर्शी राजनेता मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर बिहीबार पार्टी एकीकरणको घोषणा गरिएको हो । पार्टी एकीकरणको घोषणासँगै मुलुकको कम्युनिस्ट आन्दोलन एउटा युगबाट अर्को युगमा प्रवेश गरेको छ । पहिलो कुरा त २०१९ सालदेखि सुरु भएको कम्युनिस्ट आन्दोलनको विभाजन एकतामा परिणत भएको छ । दोस्रो कुरा कम्युनिस्ट आन्दोलनको लक्षलाई युगसापेक्ष सुधार गर्दै लैजाने दूरदर्शी राजनेता मदन भण्डारीको सपना साकार भएको छ । एकीकरणको घोषणा भोलि वा पर्सी हुन्छ भनिरहँदारहँदै पनि सात महिनाको समय गुज्रनु र मदन भण्डारीको स्मृति दिवसको अवसरमा एकीकरणको घोषणा हुनुलाई संयोग मात्रै मानिएको छैन । यो दिनमा पार्टी एकीकरण घोषणा गर्ने प्रस्ताव आफूले राखेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । प्रचण्डको यो भनाइ निकै अर्थपूर्ण छ । मदन भण्डारीले देखाएको मार्गचित्रलाई नै अघि बढाउने गरी पार्टी एकीकरण गरिएको संकेत माओवादीका अध्यक्ष प्रचण्डले गरेका छन् । पार्टी एकीकरणको घोषणा नै मदन भण्डारीका लागि सबैभन्दा ठूलो सम्मान भएको प्रचण्डले बताएका छन् ।
एमाले र माओवादीका नेताहरूले गत १७ असोजमा चुनावी तालमेल तथा पार्टी एकताको घोषणा गर्दै मुलुकको राजनीति परिपक्वताको दिशातिर जाँदै छ भन्ने संकेत गरेका थिए । आपसी प्रतिस्पर्धी तथा मार्गचित्रसमेत फरक रहेका यी दुई कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल होला भन्ने कुरासमेत त्यतिबेला कसैले विश्वास गरेका थिएनन् । चुनावी तालमेल तथा एकताको गृहकार्य नेताहरूले भित्रभित्रै धेरै अगाडि पुर्याइसकेका रहेछन् भन्ने रहस्य गत १७ असोजमा खुलेको हो । एउटै घोषणापत्र तथा तालमेलका साथ चुनावी मैदानमा उत्रिए पनि पार्टी एकीकरण भइहाल्ला भन्ने कुरामा चाहिँ अन्योलता यथावत थियो । चुनाव सम्पन्न भएपछि केही समय अन्योलता यथावत रह्यो । तर, एकीकरण चाँडो होस् भन्ने पक्षमा मतदाता स्तरबाट नै दबाव आउन थालेपछि गत ३ फागुनमा यी दुई पार्टीबीच सात बुँदे सहमति भयो । उक्त सहमतिले लगभग सबै विषय टुंग्याएको थियो । यति हुँदाहुँदै पनि एकीकरण घोषणाको मिति सर्दै जाने क्रम रोकिएन । यस बीचमा एकीकरणका लागि केन्द्रीय नेतृत्वलाई दबाब दिन तल्लो तहका कतिपय कमिटीहरूले एकीकरण भएको घोषणा गरे ।
जननिर्वाचित सरकार तथा संसद् विघटन गरी शासन सत्ता आफ्नो हातमा लिने राजा महेन्द्र शाहको ०१७ साल पुस १ को कदमलाई तत्कालीन महासचिव डा. केशरजंग रायमझीले साथ दिएपछि ०१९ सालदेखि कम्युनिस्ट पार्टीमा विभाजन सुरु भएको हो । ०३५ सालसम्ममा मुलुकमा कम्युनिस्ट पार्टीहरूको संख्या करिब दुई दर्जन पुगिसकेको थियो । ती दुई दर्जन कम्युनिस्ट पार्टीहरूमा पनि एउटाधार समयसापेक्ष अघि बढ्नुपर्ने अभियानमा थियो भने अर्को धार जडसूत्रवादी अभियानमा थियो । समयसापेक्ष रूपमा अघि बढ्नुपर्ने धारमा रहेका कम्युनिस्ट पार्टीहरूलाई मदन भण्डारीले ध्रुवीकरण गरेका थिए भने जडसूत्रवादी धारका कम्युनिस्ट पार्टीहरूलाई प्रचण्डले धु्रवीकरण गर्दै अघि बढाएका थिए । ०५२ सालपछि मुलुकको कम्युनिस्ट आन्दोलन यिनै दुई वटा धारमा अघि बढेको थियो । एमाले माओवादीको एकीकरण स“गै मुलुकको कम्युनिस्ट आन्दोलन एउटैधारमा अघि बढ्नेछ । बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थामार्फत नै समृद्धि हासिल गर्ने लक्ष माओवादीले समेत अपनाएका कारण एकीकरण प्रक्रिया सहज भएको हो । मुलुकमा अब राजनीतिक मुद्दा सकिएको र विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको मुद्दा सुरु भएको निष्कर्षमा दुवै पार्टी पुगेका थिए । तर, एउटै नाम र एउटै झण्डाका दुई वटा कम्युनिस्ट पार्टी आपसमा प्रतिस्पर्धा गरी अघि बढ्दा विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको मुद्दा ओझेलमा पर्नु स्वभाविक थियो । यो अवस्थालाई नेताहरूले समयमा नै मध्यनजर गरे । एकीकरण साध्य नभएर साधन हो भन्ने कुरामा अब नेताहरूले ध्यान दिनुपर्छ । संघीय संसद्मा मात्रै होइन सात मध्ये ६ वटा प्रदेशका संसद्मा एउटै पार्टीको करिब दुईतिहाइ बहुमत हुनु भनेको सामान्य उपलव्धि होइन । यो त लक्ष्य प्राप्तिका लागि ज्यादै ठूलो साधन हो । अब यो साधनको भरपुर सदुपयोग हुनुपर्छ । दुईतिहाइ बहुमत भएका कारण घोषणापत्र कार्यान्वयनमा कुनै पनि ताकतले अवरोध गर्ने अवस्था छैन । आगामी पाँच वर्षभित्र जे जे गर्ने भनेर घोषणापत्रमा लक्ष राखिएको छ त्यसमध्ये २५ प्रतिशत लक्ष पूरा भयो भने पनि मुलुकले आर्थिक समृद्धिमा ठूलो फड्को मार्नेछ । नेपालको कम्युनिस्ट आन्दोलनले विश्वमै उचाइ प्राप्त गर्नेछ ।

प्रतिक्रिया