रोचक

कसरी फैलियो हिटलरको मृत्युको खबर ?

सौर्य अनलाइन २०७५ जेठ ९ गते ९:५९ मा प्रकाशित


लन्डन । मे १, १९४५ मा साँझ अबेरसम्म कार्ल लेमन लण्डनदेखि ६५ किलोमिटर पश्चिम टाढा पर्ने रेडिङ नगरको बाहिरी क्षेत्रमा रहेको कार्यालयमा काम गरिरहेका थिए । सोभियत सेना बर्लिन नजिक पुग्दै थियो र जर्मनीसँगको युद्ध अन्त्यतिर आइपुगेको थियो । चौबीस वर्षीय कार्लले जर्मनीको सरकारी रेडियो सुनिरहेका बेला अचानक एउटा घोषणा गरियो ।

रेडियोले स्रोताहरूलाई एउटा विशेष खबर सुन्नका लागि तयार रहन भन्यो । त्यो क्षणलाई सम्झिँदै कार्ल भन्छन्, ‘उनीहरूले एउटा दुःखद र गम्भीर संगीत बजाउँदै हिटलरको मृत्यु भएको सुनाए ।’ कार्लले थपे, ‘साम्यवादविरूद्ध लड्दै हिटलर मारिएको सुनाइयो र यो कुरा निकै उदास भएर सुनाइयो ।’

कार्ल र उनका सानो भाइ जर्जलाई उनीहरूका आमाबुवाले यहुदीहरूमाथि नाजीहरूको बढ्दो दमनबाट जोगाउन नौ वर्ष पहिले जर्मनीबाट ब्रिटेन पठाएका थिए । उनीहरूका बुवा जर्मन यहुदी थिए । कार्लले भने, ‘मलाई निकै राहत महसुस भयो किनकि हिटलरले मेरो जिन्दगी बर्बाद गरेका थिए ।’ कार्ल लेमन बिबिसीको मोनिटरिङ सेवाका लागि कार्यरत थिए, जुन दोस्रो विश्वयुद्धअघि सुरू भएको थियो ।

जर्मनी तथा उसका साझेदार अरू मुलुकहरूको रेडियो प्रसारण सुन्नु र त्यसबाट पाएका जानकारी ब्रिटिस सरकारलाई उपलब्ध गराउनु त्यसको उद्देश्य थियो । कार्लले भने, ‘ब्रिटेनमा हिटलरको मृत्युको घोषणा सुन्ने हामी पहिलो थियौँ ।’ ‘हिटलरको मृत्युको खबर सुनेर हाम्रो तलाका सबैजना उत्साहित भए । यो सूचनाको महत्व हामीलाई थाहा थियो । त्यसको अर्थ थियो जर्मनीविरूद्धको युद्ध अब सकियो ।’

तर त्यसको ६ दिनसम्म जर्मनीले आधिकारिक रूपमा आत्मसमर्पणको घोषणा गरेन । हुन त हिटलरको मृत्यु भएको कुरामा कुनै शंका थिएन, तर पछि मात्रै उनले आत्महत्या गरेको थाहा भयो । कार्ल भन्छन्, ‘लडाइँ गर्दागर्दै उनी मारिएको भनेर झुटो खबर सुनाइएको थियो ।’

‘उनीहरूले हिटलरले आत्महत्या गरेको कुरा स्वीकारेनन् किनकि त्यसो गरेको भए तत्काल युद्ध रोकिन्थ्यो । हिटलरको मृत्युसम्बन्धी खबर जर्मन रेडियोबाटै प्रसारण गरिएको थियो ।’हिटलरले कार्ल डोनित्जलाई आफ्नो उत्तराधिकारी नियुक्त गरेको पनि समाचारवाचकले सुनाए ।

अप्रिल १५/१६ : सोभियत संघको सेनाले बर्लिन सहरको पूर्वी हिस्सामा जर्मन सेनामाथि बमबारी गरेपछि बर्लिनमाथि निर्णायक हमला सुरू
अप्रिल २१ : सोभियत संघको रेड आर्मीद्वारा बर्लिनको बाहिरी क्षेत्रमा प्रवेश गरी वरपरका नगरमाथि कब्जा
अप्रिल २७ : सोभियत र अमेरिकी सेनाको भेट जर्मनीको एल्ब नदीमा पुगेर भयो, र उनीहरूले जर्मन सेनालाई दुई तिर विभाजित पारिदिए
अप्रिल २९ः  हिटलर र इभा ब्राउनबीच राइख चान्सलेरी मुख्यालयस्थित बंकरभित्र विवाह
अप्रिल ३०ः हिटलर र उनकी नवदुलहीद्वारा आत्महत्या । उनीहरूको शव जलाइयो
मे १ः जर्मन रेडियोबाट हिटलरको मृत्यु भएको घोषणा
मे ७ः जर्मनीद्वारा निःशर्त आत्मसमर्पणमा हस्ताक्षर र युरोपमा ६ वर्षदेखि चलिरहेको युद्ध सकिएको घोषणा

जर्मन भाषामा आएको हिटलरको मृत्युको खबरलाई जर्मन मोनिटरिङ टिमका सुपरिवेक्षक एर्नस्ट गोम्ब्रिखले फटाफट अनुवाद गरे । पछि गोम्ब्रिख एक प्रसिद्ध कला इतिहासकारका रूपमा स्थापित भए । उनका एक पूर्वसहकर्मी भन्छन्, ‘गोम्ब्रिखले हिटलरको मृत्युसम्बन्धी खबरको उल्था कागजको एउटा टुक्रामा गरेका थिए जुन कुरा ठिक थिएन किनकि त्यो यताउति पर्न सक्थ्यो ।’ ‘छिट्टै उल्था गर्नुपर्ने भएर उनले त्यसरी लेखेको हुन सक्छ ।

नभए उनले एकदम चिटिक्क परेको लेख्थे ।’ त्यसपछि गोम्ब्रिखले हिटलरको मृत्युबारे जानकारी दिन लण्डनस्थित मन्त्रिपरिषद्को कार्यालयमा फोन गरे । बिबिसी न्युजरुमलाई पनि त्यसबारे सूचित गरियो ताकि उसले त्यो खबर देश–विदेशभरि प्रसारण गर्न सकोस् । हाल ९७ वर्ष पुगिसकेका कार्ल भन्छन्, मलाई स्मरण छ हिटलरको मृत्युको खबर सुनेर सिंगो देशले खुसियाली मनाएको थियो ।

व्यक्तिगत रूपमा उनका लागि त्यो खबरको अर्थ थियो–अब उनी आफ्ना आमाबुवालाई फेरि हेर्न पाउनेछन् । कार्लका बुवा वाल्टर जर्मनीको कोलोन सहरमा महिलाहरूले लगाउने टोपीको थोक व्यापारी थिए । नाजीहरूले वाल्टरलाई कम मूल्यमा टोपी बेच्न बाध्य पारे । त्यसपछि उनकी श्रीमती जर्मनीबाट भागेर अमेरिका पुगिन् । हिटलरको मृत्युका बेला बिबिसीका विभिन्न मोनिटरिङ टिममा हजारौँ मानिस कार्यरत थिए ।

उनीहरूमध्ये इटालियन मोनिटरिङ टिममा कार्यरत एक महिलासँग पछि कार्लको बिहे भयो । जर्मन मोनिटरिङ सेवामा ४० जना कार्यरत थिए। जसमा यहुदी, समाजसेवी र श्रमिक संघका नेता पनि थिए, जो नाजीहरूको दमनका कारण भागेर त्यहाँ पुगेका थिए । कार्ल भन्छन्, ‘उनीहरू हिटलरको मृत्युबाट खुसी थिए किनकि हिटलरका कारण उनीहरू पलायन हुन बाध्य भएका थिए ।’

जर्मन मोनिटरिङ सेवामा काम गर्नेहरूका लागि हिटलरको मृत्युको खबर एउटा सुखद समाचार थियो । कार्ल सम्झन्छन्, ‘हिटलरले लेखेको कुरालाई अनुवाद गर्न निकै कठिन थियो । उनी एक खराब लेखक थिए ।’ ‘उनका भाषणहरू पढ्दा खासै प्रभावशाली लाग्दैनथे । तर उनी बोल्दा त्यसको ठिक विपरीत हुन्थ्यो । आफ्नो भाषण कलाप्रति हिटलरलाई विश्वास थियो ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय