रोचक

के २०१६ हालसम्मकै उत्कृष्ट वर्ष

सौर्य अनलाइन २०७५ जेठ १० गते ९:५० मा प्रकाशित


–ब्योन लम्बर्ग सरसरती हेर्ने हो भने सन् २०१६ एउटा त्रासदीको वर्ष थियो । भयानक आतंकवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली संकटले १०औँ हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो ।

७० भन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा गिरावट आयो तथा ब्रेक्जिट र अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले राजनीतिमा सनसनी मच्चाए, किनभने यी दुवैको आँकलन न मिडियाले गरेका थिए न राजनीतिका दिग्गजले नै गर्न सकेका थिए । अन्तर्राष्ट्रिय जनस्वास्थ्य क्षेत्रमा जिका समस्यालाई लिएर आपतकाल घोषणा गरियो ।

वास्तवमा यो साल हालसम्मकै विषममध्येमा रह्यो । अखबारका विचार पृष्ठ पढ्दा यस्तो अनुभव हुन्छ मानौँ सारा विश्व संक्रमणमा छ तथा मानिसका सोच पनि कहालीलाग्दो रूपमा विभाजित छन् । तर, एककदम पछाडि सरेर हेर्यौ भने आशावादी बनाउने धेरै कारण पनि प्रष्ट छन् । साँच्चै नै हामी इतिहासको सुन्दर समयमा बाँचिरहेका छौँ ।

अझ महत्वपूर्ण त के भने २४ घन्टे न्युज च्यानल र सामाजिक सञ्जालले बताए जस्तो कतिपय मुद्दा आत्तिनुपर्ने र निद्रा भगाउने खालका पनि होइनन् । यो सालको अत्यधिक सम्बोधित समस्या ‘बढ्दो असमानता’ लाई नै हेरौँ न । यो अवश्य हो कि पछिल्ला दुई शताब्दीमा उच्च र न्यून आय भएकाको बीच विभेदको खाडल बढेको छ ।

तर, त्यसो हुनुको कारण के हो भने १८२० ताका लगभग सारा विश्वका मानिस अत्यन्त गरिब थिए । ९० प्रतिशतभन्दा बढी मानव पूर्णगरीबीमा बाँचेको थियो । तत्पश्चात् औद्योगिक क्रान्ति द्रुत आय वृद्धि लिएर आयो सन् १९७८ पछि चीनमा र सन् १९९० पछि भारतमा उच्च वृद्धि देखियो । यसको समग्र असर पोहोर साल देखियो ।

हाल विश्वको १० प्रतिशत जनसंख्या मात्र अति विपन्नतामा बाँचेको छ । अझ हाल आएर त विकासशील देशहरूले विश्वभर नै मध्य आय वर्गको वृद्धिमा ठूलो भूमिका खेल्दै आएका छन् र मध्य आय वर्गको विश्व जनसंख्या १९८५ को एक अर्बबाट दुई गुणाबाट बढेर अहिले २०१५ मा २ दशमलव तीन अर्ब भएको छ ।

गरिबीमा आएको यस्तो गिरावटले विगत तीन दशकदेखिको आयको असमानतालाई पनि थेगेर राख्न सकेको छ । असमानता अरू दृष्टिकोणबाट पनि घटेको छ । १९९२ पश्चात् संसारमा भोका र खान नपाएका मानिसको संख्यामा २० करोडले कमी आएको छ, यद्यपि विश्व जनसंख्या यही समयमा दुई अर्बले बढेको छ । भोकमरीले सन्तप्तको संख्या पनि १९ प्रतिशतदेखि ११ मा आएर झन्डै आधा भएको छ ।

 सन् १८७० मा तीनचौथाइ संसार निरक्षर थियो र आयमा भन्दा त्यसबेला शिक्षामा बढी असमानता थियो । अहिले हरेक पाँचमा चार जना पढ्न सक्छन् र विद्यालयमा युवाको अकल्पनीय पहुँच छ । अहिले देखिएको अशिक्षित संख्याको ठूलो भाग पनि पुरानो पुस्ता नै हो । स्वास्थ्य क्षेत्रको कथा पनि उस्तै छ । सन् १९९० मा १ करोड ३० लाख बालबालिका पाँच वर्ष पुग्नुअघि नै मर्थे । हाल खोप, पोषक खानेकुरा तथा स्वास्थ्य सेवाको कारणले यो संख्या ६० लाखभन्दा तल आएको छ ।

अझ महत्वपूर्ण कुरा त आज संसारभर सरदर उमेरको असमानतामा पनि कमी आएको छ किनभने औषधोपचारको क्षेत्रमा आएको परिवर्तनले एक शताब्दी अघि जुन उपचार सेवा कुलिन वर्गका लागि मात्र सम्भव थियो, अहिले धेरैको पहुँचमा पुगेको छ । छोटकरीमा भन्दा संसार रसातलोन्मुख भएको होइन ।

हो, धेरै समस्याको सम्बोधन हुन बाँकी छ तर ती भन्दा कम महत्वका कुराले हाम्रा विचार र सार्वजनिक बहसमा ठाउँँ पाइरहेका छन् । ट्रम्पको चुनावी विजय र उनले लत्याएको पेरिस जलवायु सम्झौतालाई लिएर कतिले यसले मानव सभ्यतालाई अन्त्यको संघारमा ल्याउन सक्ने भन्नेसम्म उद्घोष गरे ।

तर, पेरिस सम्झौताले कहिल्यै पनि ग्लोबल वार्मिङको समस्यालाई सुल्झाउन सक्ने सामथ्र्य राख्दैनथ्यो । संयुक्त राष्ट्रसंघकैअनुसार पनि औद्योगीकरणअघिको तापक्रमभन्दा दुई डिग्री माथिसम्म मात्रै ल्याउन कार्बनडाइअक्साइड उत्सर्जनमा गरिने कटौतीले एक प्रतिशत मात्र सहयोग पुर्याउने थियो ।

अर्कोतिर ट्रम्पको व्यापार खारेज गर्ने निर्णयलाई पनि विरोध कम छ र बरु न्युयोर्क, बर्लिन र पेरिसजस्ता मुख्य सहरमा समर्थन मिलेको छ । लागत–नाफा विश्लेषणले पनि के भन्छ भने संसारका अति विपन्न जनतालाई पनि सहयोग पुर्याउने एक मात्र शक्तिशाली उपाय स्वतन्त्र व्यापार नै हो ।

मेरो आफ्नै ‘थिंक ट्यांक’ कोपेनहेगन कन्सेन्सस् सेन्टरले गरेको अनुसन्धानअनुसार पनि लगभग सुशुप्त रहेको विश्व स्वतन्त्र व्यापारसम्बन्धी ‘दोहा डेभलप्मेन्ट राउन्ड’ लाई जगाउन सके मात्र पनि यसले संसारभरका अर्बाैं मानिसहरूको आयस्तर बढाउनेछ र १५ वर्षभित्र गरिबीको संख्या १४ करोड ५० लाखले घटाउनेछ ।

स्वास्थ्यसम्बन्धी हाम्रा धारणा पनि यसरी नै दिग्भ्रमित छन् । विशेषतः अमेरिकामा जिका भाइरस प्रवेश पछि हामी त्यसैमा रुमल्लिएर बस्यौँ जबकि ब्राजिल वा अन्य विकासशील देशमा मात्र बालबालिकाको स्वास्थ्यमा जघन्य असार पु¥याउने जिका भाइरस चासोको विषय हुनु सही हो ।

क्षयरोगलाई कसैले चासोको विषय बनाएको छैन तर संसारभर यो जस्तो ज्यानमारा अर्को सरुवा रोग छैन । हामीलाई क्षयरोगको निदान थाहा छ अनि बाल मृत्युदर घटाउन र कुपोषणमा कमी ल्याउन पनि आउँछ, तर हाम्रो ध्यान अरू समस्याहरूमा छ । तसर्थ, हामी २०१७ मा अझ राम्रो गर्ने संकल्प गरौँ ।

हामीले गलत विषयहरूमा तथा समस्या समाधानका असफल प्रयास समय खेर फाल्न छोड्नुपर्छ । उदाहरणका लागि जलवायु समस्यासँग जुध्न हामीले हरित ऊर्जा सस्तो र सुलभ बनाउन तिनको अनुसन्धान र विकासमा जोड दिनुपर्छ जसले गर्दा तिनीहरू पेट्रोलियम पदार्थका पर्याय बन्न सकुन् । हामीले स्वतन्त्र व्यापार नै गरिबी निवारणका लागि सबैभन्दा उपयुक्त नीति हो भनी आवाज बुलन्द पार्न पनि सक्नुपर्छ ।

साथसाथै के पनि सम्झनुपर्छ भने महत्वपूर्ण सूचकले जीवन विगतभन्दा वर्तमानमा सुन्दर छ भनेर देखाएका छन् । हामीले रोग, अकाल तथा गरिबीविरुद्ध गरेका प्रगतिमा खुसीयाली मनाउनुपर्छ तथा विश्वले सामना गर्नुपरेका वास्तविक समस्याको समाधान गर्न सही र सटिक विकास पद्दति लगानी गरी अझ अघि लम्कनुपर्छ । (ब्योन लम्बर्ग कोपेनहेगन कन्सेन्सस सेन्टरका निर्देशक तथा कोपेनहेगन बिजिनेस स्कुलका भिजिटिङ प्रोफेसर हुन् ।)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय