अन्तर्वार्ता

संयुक्त अक्षर भत्काएर लेख्दा देवनागरी लिपि समाप्त हुन्छ

सौर्य अनलाइन २०७५ जेठ २९ गते १०:१३ मा प्रकाशित

नेपाली भाषा नेपाली सभ्यता र संस्कृतिको पहिचान हो । समाजलाई असल वा खराब बाटोमा डोर्याउने भन्ने भाषामा निर्भर हुन्छ । भनिन्छ, कसैलाई कमजोर बनाउनु छ भने उसको भाषामाथिको आक्रमण सबैभन्दा प्रभावकारी हुन्छ । हाम्रो पूर्वीय दर्शन, संस्कृति र भाषामाथि अहिले चारैतिरबाट प्रहार भइरहेको अवस्था छ ।

पश्चिमा प्रभावले नेपाली भाषा दिनप्रतिदिन कमजोर बन्दै गएको अहिलेको अवस्थामा नेपालको पहिचान र मेरुदण्ड मानिएको नेपाली भाषामाथि पटकपटक आक्रमणको प्रयास भइरहेको छ । नेपाली भाषामा एकरूपता ल्याउने प्रयास गरे पनि त्यसमा स्थिरता आउन सकेको छैन । विभिन्न बहानामा नेपाली भाषामाथि पटकपटक आक्रमण हुँदै गइरहेको छ ।

कहिले व्याकरणका नाममा भाषालाई कमजोर बनाउन खोजिएको छ भने कहिले सरलताका नाममा नेपाली भाषामाथि आक्रमण भइरहेको छ । पछिल्लोे समय माध्यमिक तहमा परिमार्जन गरिएको कक्षा ११ र १२ मा रहेको अनिवार्य नेपाली विषयको पूर्णांक घटाएर ५० मा झार्ने हल्ला मच्चिएको थियो ।

पूर्णांकलाई नघटाइए पनि यो प्रसंगले नेपाली भाषामाथिको आक्रमणको प्रयासलाई स्पष्ट पारेको छ । प्रस्तुत छ, नेपाली भाषा माथिको आक्रमण, पछिल्ला समयमा देखिएका विवाद र समाधानका विषयमा भाषाविद् शरदचन्द्र वस्तीसँग सौर्यकर्मी अप्सरा गौतमले गरेको कुराकानीको सम्पादित अंश

‘हाम्रो देवनागरी अक्षरात्मक लिपि हो, रोमनचाहिँ वर्णात्मक हो । संयुक्त अक्षर छुट्याउने नियमले नेपाली भाषालाई अक्षरात्मकताबाट वर्णात्मकतातिर लैजान्छ । यो लागू भएपछि स्वर र व्यञ्जन पनि किन जोडेर लेख्ने त भन्ने तर्क आउन सक्छ । त्यसरी लेख्दा त झन् पढ्न नसकिने हुन्छ । त्यसपछि देवनागिरी लिपिमा लेख्नुभन्दा त रोमनमै लेखौँ, लिपि फरक भएर के भो, भाषा त केही बिग्रिँदैन भनेर मान्छेहरूले तर्क गर्छन् । अन्ततः देवनागरी लिपि सिद्धिन्छ । त्यसपछि पढ्न नसकेर देवनागरीमा आजसम्म लेखिएको साहित्यसँग यसपछिको पुस्ताको सम्बन्ध विच्छेद हुन्छ । हेर्दाखेरि अहिले सानोजस्तो देखिए पनि हामी त्यतै उन्मुख छौँ । संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्न थालेपछि नेपाली भाषा समाप्त हुन्छ ’

नेपाली भाषामाथि पटकपटक आक्रमण भइरहेको छ । नेपाली भाषालाई किन सधैँ विवादास्पद बनाइन्छ ?
नेपाली भाषामाथि यसको महत्व नबुझेर वा बुझेर पनि महत्व कम गर्न पटकपटक आक्रमण भइरहेको छ । आक्रमण कुन स्तरमा कुन तरिका र उद्देश्यले भएको छ भन्ने मुख्य कुरा हो । राजनीतिक उद्देश्यबाट, नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्व विद्यालयबाट पनि भाषामाथि आक्रमण भइरहेको छ ।

नेपाली भाषालाई स्थिर हुन नदिने थुप्रै खेलहरू भइरहेका छन् । आफ्नै बाटो हिँडिरहेको नेपाली भाषालाई छिर्के लाउने, धक्का दिएर लड्खडाउने काम पनि भइरहेको छ । चारैतिरबाट विवाद सिर्जना भइरहेको अवस्थामा भाषा अगाडि बढ्न सक्ने कुरा पनि भएन । अर्काेतिर शैक्षिक क्षेत्र विशेषतः प्लस टु, विद्यालय तहमा नेपाली भाषालाई हेपिएको अवस्था छ ।

पहिला पनि आन्तरिक तथा बाह्य रूपमा नेपाली भाषालाई कमजोर बनाउन निक्कै प्रयासहरू भएका थिए । अहिले, माध्यमिक तहमा रूपान्तरण गरिएको कक्षा ११ र १२ को नेपाली विषयलाई सय पूर्णांकबाट हटाएर ५० मा झार्ने हल्ला चल्यो । त्यसका लागि निकै ठूलो कसरत पनि गरियो । चौतर्फी विरोध भएपछि त्यसो गर्न खोजिएको होइन भन्दै टारियो ।

तर, आन्तरिक रूपमा कुनै निर्णय नभइकन यो कुरा बाहिरिएको होइन । पटकपटक प्रयास भए पनि गर्न नसकिने हो कि भनेर मात्र रोकिएको हो । विशेषतः, अंग्रेजी माध्यमका विद्यालयमा नेपाली भाषालाई अपहेलित गरिन्छ । नेपाली भाषा बोलेमा दन्डित गर्ने, नेपाली भाषा बोल्ने विद्यार्थीलाई लाजमर्दाे बनाउँदै हत्सोत्साही गर्ने काम गरिन्छ ।

यी सम्पूर्ण पक्ष भाषा माथिका आक्रमणका प्रयास हुन् । जुन देशमा जन्मिएको हो र जहाँ बसिन्छ, त्यो मातृभूमी र मातृ भाषा बोल्न हाम्रा निजी विद्यालयका सञ्चालकहरूलाई लाज लाग्छ । विदेशी भाषालाई उहाँहरूले मातृभाषालाई जस्तै गरी माया गर्नुहुन्छ र नेपाली भाषालाई घृणा गर्नुहुन्छ।

भाषालाई कमजोर बनाउनुको उद्देश्य र कारण के होला ? विद्यालयस्तरबाटै पनि नेपाली भाषालाई कमजोर बनाउने प्रयास भइरहेको भनिन्छ नि ?
भाषामाथि विभिन्न पक्षबाट फरक उद्देश्य र कारणले आक्रमण भइरहेको छ । अंग्रेजीप्रतिको मोहका कारण मानिसमा अन्ध दृष्टिकोण पलाएको छ । विद्यालयस्तरका बालबालिकालाई अंग्रेजीबाहेक अन्य भाषा बोल्न दिएको खण्डमा अंग्रेजी कमजोर हुन्छ भन्ने भावना छ । नेपाली मात्र होइन, विद्यालयमा मातृभाषासमेत बोल्न दिइँदैन । यसलाई मैले विद्यालय सञ्चालकको अज्ञानता र अस्पष्टताको रूपमा लिन्छु ।

बालबालिकाले एकैपटक विभिन्न भाषा सिक्न सक्छन् । उसलाई सिकाउने तरिका नभएका कारण भाषामा समस्या आएको हुनसक्छ । नेपाली भाषाका अक्षर चिन्न सकिएन भन्दै बालबालिकालाई संयुक्त अक्षरको खुट्टा काटेर लेख्न सिकाइयो ।

यस्तो पद्धतीको सुरु नेपाली भाषाका प्राध्यापक, विश्वविद्यालयका कुलपति उपकुलपतिले ल्याएका हुन् । विद्यालयको बच्चाले संयुक्त अक्षर सिक्न सक्दैन भनेर खुट्टा काटेर सिकाउन थालियो । जटिल र अप्ठ्यारा शब्द, संरचना बालबालिकाले सिक्दैनन् भन्ने अनावश्यक कुरा हो । सिकाउने मान्छेमा क्षमता कति छ, सोही आधारमा बालबालिकाले सिक्छ ।

तर, विद्यालय तहमा नै यस्ता प्रवृत्ति हुने गर्छन् । जसले, नेपाली भाषालाई नै कमजोर बनाएको छ । आफ्नो असक्षमता बालबालिकामाथि लाद्ने र त्यसको सिकार नेपाली भाषालाई बनाउने कार्य भइरहेको छ । प्राज्ञिक तहको अज्ञानता र असक्षमताको असर बालबालिका हुँदै नेपाली भाषासम्म पुगेको छ ।

विशेषतः निजी विद्यालयमा चाइनिज, जापानिज, अंग्रेजी भाषाका कक्षाहरू सञ्चालन भइरहेका हुन्छ्न् । तर, सोही विद्यालयको विद्यार्थी नेपाली बोल्दा दण्डित हुन्छ । नेपाली भाषालाई किन यति हेपिएको होला ?
विद्यालय सञ्चालक तथा शिक्षकहरूमा भएको रुग्ण मनस्थितिका कारण यस्ता काम भइरहेका छन् । नेपाली भाषालाई अनिवार्य बनाइए पनि यसको अवस्था उकास्सिएको छैन । विद्यालयमा अध्यापन गराउने नेपाली विषयका गुरु स्वयंले समेत नेपाली विषयलाई ध्यान दिएर लगावका साथ पढाएको देखिँदैन ।

राम्रो नलेख्दा पनि उत्तीर्ण गर्ने राम्रो लेख्दा उचित नम्बर नदिने प्रवृत्ति छ । यसले गर्दा पनि उपेक्षा बढेको हो । प्राज्ञिक तहमा अहंकार देखिएको छ । नेपाली भाषामा विवादास्पद कुरा सिर्जना भएका छन् । शुद्ध अशुद्ध छुट्याउन नसक्ने अवस्था सिर्जना भएको छ । विवादास्पद विषयका कारण नेपाली भाषा कमजोर भएको हो ।

त्यहीँ कमजोरीका कारण अंग्रेजीकरण प्यारो ठान्ने विद्यालयमा नेपाली भाषा हेपिएको छ । विश्वविद्यालय र एकेडेमीले आफ्ना आफ्ना शब्दकोष निर्माण गरिरहेका छन् । सही गलत शब्द छु्ट्याउन नसक्ने अवस्थामा नेपाली भाषा पुगेको छ । अन्योलग्रस्त भएकै कुरा वास्तवमा हेपाइमा पर्ने हो । त्यसकारण, सबै तहमा नेपाली भाषा अन्धकारमा परेको हो ।

नेपाली भाषा कमजोर बनाउन बाह्य तत्वको कस्तो खेल होला ?
नेपाली भाषा, संस्कृति सभ्यता बिगार्न खोज्ने बाह्य तत्वको कमी छैन । यसमा कुनै विवाद छैन । तर, नेपाली आफैँले हेपेको हेला गरेको नेपाली भाषालाई बाह्य तत्वले नेहेप्ने कुरै भएन । हामी आफैँ हेपिन गएका छौँ ।

अनि, बाह्य तत्वले नहेप्ने अवस्था रहँदैन नी । यदि, हामीले हाम्रो भाषालाई माया गर्यौँ, भाषाको शुद्ध प्रयोग गर्यौ भने अन्य आक्रमणले ठूलो प्रभाव पार्दैन । तर, अहिले हामीले नै अपहेलित गर्ने भएपछि अरूले आक्रमण नगर्ने कुरै हुँदैन । आन्तरिक कमजोरीको फाइदा अरूले उठाएको अवस्था हो ।

पछिल्लो समय वर्णविन्यास तथा संयुक्त अक्षरको विषयमा निक्कै चर्काचर्की भए । वास्तवमा संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्दा यसले भाषालाई के बिगार गर्छ ?
नेपाली साहित्य भाषामा भइरहेका चलनचल्तीमा रहेको संयुक्त शब्दको खुट्टा काटेर लेख्दा सबै शब्दको रूप बिग्रन्छ । एक त, संयुक्त अक्षर खुट्टा काटेर लेख्ने भनेपछि संयुक्त अक्षरको अवधारणा र त्यो सिंगै विभागको एकैचोटि विनाश हुन्छ । त्यसपछि आजसम्मको हाम्रो साहित्यमा लेखिएका कुरा मान्छेले बुझ्दैनन् । यसपछिको लेख्य नेपाली भाषा पढ्नै नसक्ने गरी विकृत भएर जान्छ ।

नेपाली भाषाको खुट्टा काट्दै जाँदा सम्पूर्ण अक्षर रोमनमा लेखिन थाल्छ । त्यसपछि कहाँ बच्छ, नेपाली भाषा, साहित्य ।  हाम्रो देवनागरी अक्षरात्मक लिपि हो, रोमनचाहिँ वर्णात्मक हो । संयुक्त अक्षर छुट्याउने नियमले नेपाली भाषालाई अक्षरात्मकताबाट वर्णात्मकतातिर लैजान्छ ।

यो लागू भएपछि स्वर र व्यञ्जन पनि किन जोडेर लेख्ने त भन्ने तर्क आउन सक्छ । त्यसरी लेख्दा त झन् पढ्न नसकिने हुन्छ ।त्यसपछि देवनागिरी लिपिमा लेख्नुभन्दा त रोमनमै लेखौँ, लिपि फरक भएर के भो, भाषा त केही बिग्रिँदैन भनेर मान्छेहरूले तर्क गर्छन् । अन्ततः देवनागरी लिपि सिद्धिन्छ ।

त्यसपछि पढ्न नसकेर देवनागरीमा आजसम्म लेखिएको साहित्यसँग यसपछिको पुस्ताको सम्बन्ध विच्छेद हुन्छ । हेर्दाखेरि अहिले सानोजस्तो देखिए पनि हामी त्यतै उन्मुख छौँ । संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्न थालेपछि नेपाली भाषा समाप्त हुन्छ ।

संयुक्त अक्षरको खुट्टा काट्दा भाषाको अन्त्य कसरि हुन्छ ?
संयुक्त अक्षरलाई खुट्टा काट्ने विवेकहीन कार्यले देवनागरी लिपिलाई घात मात्रै पुर्याउँदैन । अन्ततः भाषाको जरा नै काटिन्छ । विद्यालयमा लेख्न सिकाइएका विद्या र वुद्धिको उद्देश्य द्वेष वा द्वन्द्वको वृद्धि होइन । यी शब्दलाई खुट्टा काटेर लेख्दा ‘विद्या र बुद्धिको उद्देश्य द्वेष वा द्वन्द्वको व्रिद्धि होइन्’ हुनेछ । संयुक्त अक्षरलाइ असंयुक्त बनाउने करामत हो यो ।

त्यति मात्रै होइन, पाठ्यपुस्तकमा श्रष्टा र साहित्यकार लेखनाथ, सम र देवकोटाका रचनामा लेखिएका शब्दसमेत भत्काइनेछ । वास्तवमा संयुक्त अक्षरलाई भत्काएर लेख्दा देवनागरी लिपी नै समाप्त हुन्छ । हामी सबैलाई थाहा भएकै कुरा हो । व्यञ्जन वर्ण ‘अर्धमात्रक’ अर्थात आधा अक्षर मात्र हुन् । वर्णमालामा क, ख ,ग, घ त लेखिन्छ । वास्तवमा क्, ख्, ग् ,घ् हुन् । यी पनि संयुक्त अक्षर हुन् ।

यिनको खुट्टा पनि काट्नुपर्छ भन्ने तर्क अवश्य आउँछ । वर्ण मिलेको शब्दमा शक्ति हुन्छ । त्यो चल्न सक्छ । गति लिन सक्छ । तर, खुट्टा काटिएका स्वरसँग नजोडिएका एक्ला शब्द व्यञ्जनमा आफ्नो भरमा उभिन त असंभव छ, हिँड्न सक्ने कुराको कल्पनासमेत गर्न सकिँदैन् । अन्ततः यो करामतले संयुक्त अक्षरलाई ध्वस्त बनाउँछ ।

जस्तै, श्रेष्ठलाई श्रेष्ठ, कम्प्युटरलाई कम्प्युटर, रिसर्च सेन्टरलाई रिसर्च सेन्टर लेखिन्छ । यति मात्रैले पुग्दैन्, प्राज्ञिक वर्गले अझै फरक तर्क ल्याउँछन् । क, ख, ग, घ लाई समेत टुक्राएर श्रेष्ठलाई श्र्एष्ठ्अ, कम्प्युटरलाई क्अम्प्य्उट्अर्अ, रिसर्च सेन्टरलाई र्इस्अर्च्अ स्एन्ट्अर्अ लेख्न सुरु गरिन्छ । यो चलन सुरु हुन नपाउँदै घोर विरोध हुन थाल्छ ।

लिपी बदलिएर के भयो त, भाषा त जस्ताको तस्तै रहन्छ । भन्दै सहजता खोज्नेले नयाँ तर्क ल्याउँछन् । त्यतिवेला हामीसमक्ष कुनै विकल्प रहने छैन । अनि, ‘सजिलोवादी’ र ‘संयुक्ताक्षर उन्मुलनवादीहरूले’ नेपाली भाषाको अन्त्य भएको खुसीयाली मनाउनेछन् ।

अनि हाम्रो देवनागरि लिपी यसरि लेखिनेछ । Ma Nepalma basxu. Nepal mero Janma bhumi ho. Hami Nepali hamro bhasa mathi garba garxau. यो कुरा अतिरञ्जित पनि लाग्न सक्छ । तर, भाषामाथि भएका आक्रमण, संयुक्त अक्षरको खुट्टा काट्ने होडबाजीले हाम्रो नेपाली भाषा डुब्छ । हाम्रो भाषाको अन्त्य हुन्छ ।

विद्यार्थीले सहज रूपमा सिक्न सक्छन् भन्ने उद्देश्यले संयुक्त शब्दको खुट्टा काटेर लेख्ने सिकाइएको हो कि ?
बालबालिकाको दिमाग यति तेज हुन्छ कि जुनसुकै भाषा सहजै सिक्न सक्छन् । जापान अमेरिका, चिनमा हजारौँ शब्द छन् । खोइ, बालबालिकाले सिकेकै छन् त । भाषाका प्रयोगकर्तालाई साह्रै मूर्ख ठानेर झुक्याउने जुक्ति गरिएको हो यो । चंख दिमाग भएका बालबालिकालाई सिकाउन सकिँदैन भन्ने कुरा साह्रै कुतर्क हो ।

म त यसलाई सिकाउने मान्छेको कमजोरी ठान्छु । हामी सबैलाई नसिकुञ्जेल त ‘क’ लेख्न पनि अप्ठेरो लाग्छ । एकचोटि सिकेपछि जिन्दगीभरि अप्ठेरो पर्दैन । समस्या त यस्तो पनि छ, प्राथमिक कक्षादेखि निरन्तर नेपाली पढाएर, गुरुहरूले नम्बर दिएर पास गराएको मान्छेले बिए पास गरिसक्दा दुई अनुच्छेद पनि नेपाली शुद्धसँग लेख्न सक्दैन ।

त्यसो भए अप्ठेरो भो भनेर नेपाली भाषा नै बन्द गर्ने हो कि ? यस्ता खालका तर्कले त्यही स्थानमा पुयाउने हो । बालबालबालिकाले सिक्न सक्दैनन् । त्यहीँ कारण नै संयुक्त अक्षर, वर्णविन्यासलाई बिगारेको तर्क गरिएको हो । देवनागरी लिपीको विशेषता नै यहि हो । हामीले सुरुमा बाह्रखरी सिक्यौँ भने त्यो शब्द जीवनभरि उच्चारण गर्न सकिन्छ ।

नेपाली भाषाको प्रतिष्ठा कायम राख्न अबका दिनमा के गर्नुपर्ला ? नेपाली भाषालाई व्यवस्थित र व्यावहारिक बनाउनका लागि अब के को खाँचो देख्नुहुन्छ ?
नेपाली भाषा व्याकरण बचाउन कुनै व्यक्ति तथा संस्थाले आफ्नो पण्डित्याइँ अथवा घमण्ड वा शासन सत्ताको तुजुक देखाउनका लागि अनेक कुरा थोपर्नु हुँदैन । जुनक्रम अहिले चलिरहेको छ, त्यो तुरुन्त रोकिनुपर्छ र थोपरिएका कुुराहरू फिर्ता हुनुपर्छ ।

त्यसो भयो भने भाषा सहज, स्वभाविक र प्राकृतिक गतिमा अघि बढ्दै जान्छ नियम भन्दै जबर्जस्ती लादिएको समस्याबाट मुक्त गरिदिएर नेपाली भाषालाई आफ्नो गतिमा बग्न दिनुपर्छ । प्राज्ञिक, कुलपति विज्ञहरूले आपूmलाई सर्वश्रेष्ठ ठान्दै भाषालाई बङ्ग्याउने काम गर्नुभएन ।

विद्यालय स्तरमा संयुक्त शब्दलाई छुट्याएर लेख्न सिकाउनु भएन । सबैभन्दा ठूलो कुरा, हाम्रो पहिचान र आदर्श नेपाली भाषा बोल्न धक मान्नु भएन । सम्मानका साथ गर्वका साथ बोल्नुप¥यो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय