अन्तर्वार्ता

‘आधारभूत आवश्यकता पूरा भएका हुनेछन्

सौर्य अनलाइन २०७५ जेठ ३० गते १०:२६ मा प्रकाशित

माईजोगमाई गाउँपालिका इलामको उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ । १ सय ७२ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको माईजोगमाईमा २१ हजार ४४ जनसंख्या छ । यस क्षेत्रमा वर्षा लाग्नासाथ सदरमुकामबाट यातायातको सम्बन्ध विच्छेद हुन्छ । गाउँपालिका भने आगामी चार वर्षभित्र सबै आधारभूत आवश्यकता परिपूर्ति गर्ने रणनीतिका साथ अघि बढेको छ । यसको नेतृत्व गाउँपालिका अध्यक्षका रूपमा जीतबहादुर राईले गरिरहेका छन् । तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई अध्यक्ष निर्वाचित राईसँग सौर्यकर्मी राम योङहाङले गरेको कुराकानीको सम्पादित अंश :

कत्तिको व्यस्त हुनुहुन्छ ?

सामान्यतया व्यस्त नै रहन्छु । विकास निर्माणको कार्य, त्यसको अनुगमन र नयाँ योजना निर्माणको काममा व्यस्त छु ।

तपाईं अध्यक्षमा निर्वाचित भएको ११ महिना बित्यो । यतिका समय कसरी बिताउनुभयो ?
यतिका समय गाउँको समग्र विकास निर्माणमा नै बिताएका छौं । विशेष गरी पूर्वाधार निर्माणमा बढी समय खर्चियौँ । अहिले सुरुआती चरण भएका कारण हामीले पूर्वाधारलाई प्राथमितामा राखेर काम अगाडि बढायौँ । जुनजुन पूर्वाधार विकास निर्माणका काम अगाडि बढाएका छौँ, सही ढंगले अगाडि बढिरहेको आभास मिलेको छ । जसमध्ये हामीले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

सडकको कुरा गर्नुभयो । यतिवेला गाउँपालिकाको केन्द्रमा नै यातायात अवरुद्ध रहेछ । यो हेर्दा त जनताले अनुभूति गर्ने खालको काम त भएको देखिएन नि ?
अहिले सडकहरू कच्ची भएका कारण स्तरोन्नति गर्ने काम गरिरहेका छौँ । फिक्कल– नयाँबजार, नयाँबजार–दुधाङ–इलाम नगरपालिका जोड्ने सडकहरू हामी निर्वाचित हुनुभन्दा पहिला नै ठेक्का प्रक्रियामा अगाडि बढिसकेको थियो । अहिले हामीले ती सडकहरूलाई अनुगमन गर्ने, निगरानी गर्ने काम गरिरहेका छौँ । साथै स्थायी रूपमा विकास गर्ने रणनीति र योजनामा छौँ ।

विकास चामत्कारिक ढंगले नहुँदो रहेछ । विकास जादुको छडी पनि होइन । त्यसकारण यसलाई हामी आगामी दिनमा स्थायी सडकको रूपमा विकास गर्न लागिरहेका छौँ । हाम्रो माईजोगमाई गाउँपालिकामा ६ वटा वडाहरू छन् । ती ६ वटै वडा कार्यालयहरू र सदरमुकाम जोड्ने स्थायी सडकहरूमा हामीले लगानी गरिरहेका छौँ ।

अहिले पनि गाउँपालिकाको केन्द्र र वडा कार्यालयबीचमा सवारी आवतजावत ठप्प छ । यतातिर ध्यान किन जान सकेन ?
अहिलेचाहिँ वर्षाका कारण सडक अवरुद्ध भएको हो । वडा कार्यालयसँग सम्पर्क राख्ने कच्ची सडकहरू मात्र छन् । कालोपत्रे गर्न बाँकी नै छ । कच्ची सडक भएका कारण वर्षामा केही समस्या देखिनु स्वभाविक हो । तर, यसलाई स्थायी बनाउने योजनामा हामी अगाडि बढिरहेका छौँ ।

निर्वाचनका वेला धेरै प्रतिवद्धताहरू जनताबीच लैजानुभयो । कार्यान्वयन गर्न कत्तिको सहज हुँदो रहेछ ?
हामीले निर्वाचनमा मत माग्दै गर्दा सक्ने मात्र प्रतिवद्धता राखेका थियौँ । माईजोगमाई गाउँपालिकाको जनताको स्तर तथा समृद्धिसँग जोडिएका विषयमा प्रतिवद्धता जनाएका थियौं । जस्तो बाटोघाटो, बिजुली, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषि, भाषा, संस्कृति, विभिन्न जाति समुदायको कुराहरू उठाएका थियौँ । ती कुराहरू पूरा गर्ने प्रयासमा छौँ र त्यसको सुरुआत गरिसकेका छौँ । त्यसको नतिजाचाहिँ आउन बाँकी छ ।

नजिता आउन कति समय लाग्छ ?
हाम्रो कार्यकालभरीमा हामीले निर्वाचनका वेला जनताबीच राखेका सबै प्रतिवद्धताहरू पूरा हुनेछन् ।

तपाईंको गाउँपालिकाको प्रमुख प्राथमिकता के हो ?
पहिलो प्राथमिकता स्थायी सडक नै हो । यहाँबाट सदरमुकाम र राजमार्ग जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यसपछि शिक्षा क्षेत्रको सुधार तथा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएका छौँ । तेस्रोमा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने कुरालाई प्राथमिकतामा राखेका छौँ ।

सुविधासम्पन्न हस्पिटलको कुरा गरेका छौँ । चौथोमा पर्यटन प्रवद्र्धन, पाँचौँमा कृषि क्षेत्रलाई बढी प्राथमिकता राखेर अगाडि बढिरहेका छौँ । त्यस्तै यहाँका बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ ।

गाउँ विकासका लागि सबैभन्दा बढी सम्भावना केमा देख्नुहुन्छ ?
सबै क्षेत्रमा सम्भावना नै सम्भावना छ । विशेष गरी कृषि र पर्यटनको सम्भावना बढी देखिन्छ । माईजोगमाई गाउँपालिका अधिकांश जनताहरू कृषिमा निर्भर छन् । त्यसकाराण उहाँहरूको जीवनस्तर उकास्न लगानी गर्न सक्यौँ भने कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न सक्ने सम्भावना छ ।

त्यस्तै यहाँ पर्यटन पनि सम्भावनाको अर्को क्षेत्र हो । यहाँका विभिन्न पर्यटकीय स्थलहरूको उचित संरक्षण तथा प्रचारप्रसार गरी बाह्य पर्यटकहरूलाई भित्र्याउन सक्यौँ भने पनि गाउँपालिका समृद्ध बन्नमा कसैले रोक्न सक्दैन । त्यस्तै यहाँका विभिन्न जातजातिको भाषा र संस्कृतिहरू पनि सम्भावनाका क्षेत्रहरू हुन् ।

चुनौतीचाहिँ के छ ?
प्रमुख चुनौती जनशक्तिको अभाव हो । अहिले पनि हाम्रो कार्यालयमा कर्मचारीको अभाव छ । दोस्रो भनेको प्रदेश सरकारबाट आवश्यक निर्देशित कानुनको अभाव । कतिपय अवस्थामा प्रदेश कानुन र प्रदेश सरकारको निर्देशनअनुसार स्थानीय तहले काम गर्नुपर्ने हुन्छ । तर, त्यसका लागि पर्याप्त ऐन कानुनको अभाव छ ।

प्रदेश र स्थानीय तहबीच कानुनमा तालमेल नमिलेको हो ?
यसलाई स्वभाविक रूपमा लिएको छु । किनकी अहिले राज्य संक्रमणकालबाटै अगाडि बढिरहेको छ । अहिले राज्य नयाँ संरचनामा नयाँ व्यवस्था, नयाँ परिवेश र परिस्थितिमा अगाडि बढिरहेको छ । त्यसकारण कतिपय कानुनी जटिलताहरू छन् । त्यसलाई व्यवस्थापन गर्न, मिलाउन, सहजतामा ल्याउन प्रदेश सरकारसँगसमेत आवश्यक समन्वय गरिरहेका छौँ । वेलावेलामा प्रदेश सरकारसँग कुराकानी भइरहेको छ ।

गाउँपालिका कायमै रहन एक करोड आन्तरिक आम्दानी हुनुपर्ने प्रावधान छ । यहाँको अवस्था के छ ?
आशालाग्दो अवस्था छ । माईजोगमाई गाउँपालिका साविकका पाँच वटा गाविसहरू मिलेर बनेको गाउँपालिका हो । त्यसबेला पाँच गाविसको आन्तरिक आम्दानी करिब सात लाखको हाराहारीमा मात्र थियो । तर, हामी आइसकेपछि वार्षिक २४ लाख राजस्व संकलन गर्ने लक्ष्य थियो ।

त्यो क्रस भइसकेको छ ।  अहिले ३० लाखको हाराहारीमा राजस्व संकलन हुने स्थितिमा छ । आगामी आर्थिक वर्षदेखि स्थानीय तहले लगाउन पाउने विभिन्न प्रकारका कर तथा गैरकरबाट तोकिएको राजस्व संकलन हुन माईजोगमाई गाउँपालिकालाई कुनै समस्या हुने छैन ।

एक करोड आन्तरिक आम्दानी पुर्याउने र माईजोगमाई गाउँपालिका टिकाउने कुरामा ढुक्क हुनुहुन्छ ?
एकदम ढुक्क छु । राज्यले तोकेको मापदण्ड सहजै रूपमा पूरा गर्छौं ।

आम्दानीको स्रोत के के हुन सक्लान् ?
स्थानीय तहले लागाउन पाउने विभिन्न कर तथा गैरकर नै आम्दानीका स्रोतहरू हुनेछन् । सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, भूमि कर (मालपोत), मनोरञ्जन कर, व्यवसाय कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्कलगायत आम्दानीका स्रोत हुनेछन् । हामी आउँदो १ साउनदेखि करको दायरा फराकिलो बनाएर अगाडि बढ्नेछौँ ।

जनतालाई अहिलेसम्म कर तिर्ने बानी परेको छैन । सुरुआती चरणमा निकै कठिन होला । त्यसका लागि वस्ती तथा वडा स्तरसम्म करसम्बन्धी कुनै अभिमुखीकरण लैजानुभएको छ ?
अहिलेसम्म लगेको छैन । लाने चरणमा छौँ । अब हामी लान्छौँ । करका सम्बन्धमा नागरिकलाई कसरी सुसूचित गर्ने, कसरी व्यवस्थापन गर्ने, यो विषयमा नागरिकलाई कसरी कन्मिन्स गर्ने, करको दायरा र पद्धती के हुने भन्ने विषयमा छलफल भइरहेको छ । हामी यस विषयलाई तलतल जनस्तरसम्म पुर्याउनेछौँ ।

चालु आर्थिक वर्ष पूरा हुन करिब एक महिना छ । बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?
करिब करिब कार्यान्वयन भइसकेको छ । केही योजनाचाहिँ कार्यान्वयन गर्न नसक्ने अवस्थामा छौँ । तैपनि सधैँजस्तो बजेट फ्रिज नहुने भएको कारणले हामी साउनदेखि त्यो कामलाई पनि अगाडि बढाउँछौँ । अहिले ८० प्रतिशतको हाराहारीकामा काम सम्पन्न भइसकेको छ ।

के कारणले कार्यान्वयन गर्न सक्नुभएन ?
ठूला योजना । जस्तो माईजोगमाईको सदरमुकाम नयाँबजारमा कालोपत्रे गर्ने भन्ने थियो । त्यसका लागि एक करोड विनियोजन गरेको थियौँ । त्यसको डिपिआर बनाउनका लागि मात्र करिब ६ महिना लाग्यो । त्यसपछि लागत अनुमान तयार भयो । लागत अनुमानमा २३ करोड ५९ लाख निस्कियो । अर्को टेन्डर आह्वान गर्ने समय पनि पुगेन । त्यस्तै अघि नै कुरा आइसकेको छ, जनशक्ति अभाव । इन्जिनियर र प्राविधिकहरूको अभावका कारण कामको चाप बढी हुने भएका कारण काम गर्न सकेनौँ ।

अहिलेसम्म कतिवटा कानुन बनाइसक्नुभयो ?
स्थानीय सरकारलाई २२ वटा कानुन बनाउने अधिकार छ । अहिले हामीले प्रदेश कानुनको पखाईमा छौँ । कतिपय कानुनहरू प्रदेश कानुनको आधारमा निर्माण गर्नुपर्ने भएकाले त्यति हतारोमा छैनौँ । कानुनहरू बन्ने क्रममा छ । प्रदेशसँग साझेदारीमा समेत कानुनहरू बनाउनुपर्ने भएकाले प्रदेश कानुन पर्खेका हौँ । हामीले भर्खरै शिक्षा नियमावली पास गरेका छौँ । यसअघि नै गाउँसभा सञ्चालन सम्बन्धीका विभिन्न ऐन तथा कार्यविधिहरू बनाइसकेका छौँ ।

न्यायिक समितिले कसरी काम गरिरहेको छ ?
उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएरका काम गरिहरेका अवस्था छ । स्थानीय स्तरबाटै न्याय दिलाउने काम सुरु भएको छ । सामान्य विवाददेखि बलत्कार र कर्तव्य ज्यानसम्मका मुद्दाहरू आउँछन् । तर, आएका सबै प्रकृतिका मुद्दाहरू हेर्दैनौँ । संविधानले दिएको अधिकार भित्रको मुद्दाहरू मात्र यहाँबाट हेरिन्छ । बाँकी सम्बन्धित ठाउँमा निकायमा पठाउने गरिएको छ ।

पछिल्लो समय विद्युतीय सरकारको अवधारणा आएको छ । विद्युतीय सरकारलाई व्यवस्थित गर्न के भइरहेको छ ?
व्यवस्थित गर्न हामी गइरहेका छौँ । हाम्रो वेबसाइट निर्माण गरी नियमित अपडेट गरिरहेका छौँ । घटना दर्ता अनलाइन प्रद्धतिमा लगिसकेका छौँ । सबै काम हस्तलिखितभन्दा पनि कम्प्युटराइज्ड प्रविधिबाट अगाडि बढाइएको छ ।

माईजोगमाईको ३ नम्बर वडाबाहेक सबै वडामा कम्प्युटर र इन्टरनेट जोडेका छौँ । ३ नम्बरमा विद्युत् नभएका कारण कम्प्युटर र इन्टरनेट प्रयोग हुन सकेको छैन । त्यसलाई व्यवस्थापनका लागि काम अगाडि बढेको छ । तत्काल त्यस वडामासमेत कम्प्युटर र इन्टरनेट जडान गरी काम सुरु गरिनेछ ।

तपाईं अध्यक्ष भएर काम गर्दै गर्दा माईजोगमाईवासीको सहयोग कस्तो पाइराख्नुभएको छ ?
एकदम धेरै सहयोग पाइरहेको छु । यहाँका जनताले मलाई अध्यक्ष बनाउनुभएको हो । मेरो कार्यकाल सफल बनाउनमा पनि उहाँहरूको सहयोग एकदमै धेरै छ । र, आगामी दिनमा पनि सहयोग जारी रहने अपेक्षा गर्दछु ।
कर्मचारीको चाहिँ ? कर्मचारीबाट पनि भरपुर सहयोग पाएको छु ।

प्रतिपक्षी दलसँगको समन्वय र सहयोग कस्तो छ ?
चुनावको समयमा एउटा निश्चित विधि प्रक्रियामा हामीले प्रतिष्पर्धा गर्यौ । अहिले माईजोगमाई गाउँपालिकाका सबै राजनीतिक दलबाट असल ढंगले सहयोग पाइरहेको छु । मैले पनि उहाँहरूसँग सहमति, सहकार्य गरेर समझदारीका साथ अगाडि बढिरहेको छु ।

तपार्इंको कार्यकालमा माईजोगमाई गाउँपालिका कस्तो हुनेछ भन्ने सपना देख्नुभएको छ ?
मेरो कार्यकालमा माईजोगमाई गाउँपालिकाको काँचुली फेरिनेछ । समृद्ध माईजोगमाई गाउँपालिका बन्नेछ । माईजोगमाईवासी जनताको आधारभूत आवश्यकताको पूर्ण रूपमा परिपूर्ति भएको हुनेछ । स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, खानेपानी, कृषि, पर्यटन लगायतको क्षेत्रमा जनताले अपेक्षा गरेअनुसार परिवर्तन आएको हुनेछ । साथै यहाँका सबै नागरिक आत्मनिर्भरको बाटोमा अगाडि बढेको हुनेछ ।

प्रतिक्रिया