अन्तर्वार्ता

‘छिट्टै महालक्ष्मीले नयाँ उचाइ लिनेछ’

सौर्य अनलाइन २०७५ असार १० गते १०:४२ मा प्रकाशित


एक वर्षको कार्यकाललाई कसरी मूल्यांकन गर्नु भएको छ ?
एक वर्षको कार्यकालमा व्यवहारिक र सैद्धान्तिक रूपमा सिक्दै बित्यो । एक वर्षको दाैरानमा केन्द्र र संघले बनाउनु पर्ने कानुन प्रर्याप्त रूपमा बनाई सकेको छैन् । स्थानीय तहले संविधानले बनाएको कानुनलाई पालना गरेर जानुपर्ने भएकाले त्यसको मातहतमा रही कानुन निर्माण गरिरहेका छाैँ ।

नगरपालिकाले निर्माण गर्ने कानुन संघ वा प्रदेशसँग बाझ्ला भन्ने जनप्रतिनिधिलाई डर छ । महालक्ष्मी नगरपालिकाले अहिलेसम्म १९ वटा कानुन निर्माण गरिसक्यो ।केही नयाँ कानुन निर्माण गर्दै छाैँ । एक वर्षको लागि निर्माण गर्नुपर्ने कानुन नगरपालिकले प्राय सकिनै सक्यो ।

महालक्ष्मी नगरपालिकाले पुर्वाधार विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल, पर्यटनलगायत आधारभूत प्रगति गरि नै रहेका छाैँ । नगरपालिकाले आर्थिक संकलन गर्नुपर्ने हुँदा आर्थिक संकलनका लागि सहकारी, शिक्षा, स्वास्थ्य र प्रशासन सम्बन्धी कानुन निर्माण हुँदैछ ।

महालक्ष्मी नगरपालिकामा १ वर्षमा के कस्ता काम भए ?
आधारभूत रूपमा महालक्ष्मी नगरपालिकाको मुख्य समस्या पानी हो । पानीको समस्या समाधान गर्न पहल भइरहेको छ । महालक्ष्मी नगरपालिकाभित्र एउटा पनि निजी पानीका धारा छैनन् । निजी धारा निर्माणका लागि पहल भइरहेको छ । नगरपालिकामा पानीको समस्या समाधान गर्न ६ वटा डिप बोरिङको काम सम्पन्न भएको छ ।

बाँकी अन्य स्थानमा डिप बोरिङ राख्ने पहल भइरहेको छ । नगरपालिकाभित्र रहेको पानीको समस्या समाधान गर्न स्थायी र दिगो समाधानलाई योजनामा अघि बढाइएको छ । पानीको समस्या समाधान गर्न नगरपालिका भित्रको दुई वटा सम्भाव्यता क्षेत्रबारे अध्ययन गरी ठूला सह लगानीका पानीहरू ल्याउने भएको छ ।

डाँडाखोला खानेपानी र इमाडोल खानेपानी आयोजनालाई नगरपालिकाले अघि बढाएको छ। लामाटारको लाकुरी भञ्ज्याङ डाँडामा पानीको जलाशय बनाउने, परीक्षण गर्ने अनि नगरपालिकामा जनतालाई खुवाउने सम्भाव्यता अध्ययन भइसकेको छ । नगरपालिकाले खानेपानीको समस्या समाधान गर्न डिपिआरको काम अघि बढाएको छ ।

रोसिखोलाको पानी नगरपालिकामा ल्याउन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन समितिसँग सहकार्य भएको छ । नगरपालिमा भएको पानीको स्रोत संरक्षण गरि खानेपानी समस्याको दिगो समाधान गराउने तयारी अघि बढेको छ । स्थानीय मुहानलाई एकीकृत गरी पानीको समस्या समाधान गर्ने योजना छ । सडक विस्तारको लागि सीमांकन, नामांकन, र स्तरोन्नति गर्न वडाहरू लागि परेका छन् ।

ढल हाल्नको लागि वडा नं ५ देखि ९ सम्म डिपिआरको काम तयार भइसकेको छ । वडा नं ४ मा १२ करोड टेन्डरको आवहानमा काम भइरहेको छ । निर्वाचन अघि यातायातलाई व्यवस्थित गर्ने कुरामा निकै पहल भएको थियो । विद्यालय शिक्षामा गुणस्तरीयता हुनुपर्छ भन्ने नीतिलाई निर्देशनको रूपमा अघि बढाउन नगरपालिका भित्रको विद्यालयमा सुुझाव दिइसकेका छौ ।

यस वर्षदेखि विद्यार्थी महालक्ष्मी नगरपालिकामा विद्यार्थी भर्ना दर कायम गराएका छौँ । कम विद्यार्थी भएका विद्यालयलाई एउटै बनाउने काम सकियो। विद्यालय शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन प्रधानाध्यापक सँग सम्झौता पनि नगरपालिकाले गरि सक्यो । नमुना विद्यालय बनाउने गृहकार्य अघि बढेको छ । स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिकाले निःशुल्क दिने सबै औषधिको व्यवस्था भईसक्यो ।

४ वटा स्वास्थ्य चौकी र एउटा पियसी क्लिनिकको स्तरउन्नति गरिसकेको छ । नगरपालिकाले बर्थिङ सेन्टरको सञ्चालन गरेपछि १५ देखि १६ जना दिदीबहिनीले त्यहाँ बच्चा जन्माइसकेका छन् । नगरपालिकामा अक्सिजन सहितको एम्बुलेनस सञ्चालन गराइसकेका छौँ । आगामी वर्ष २५ सैयाको अस्पताल बनाउने योजना छ ।

पर्यटन विस्तारको लागि लाकुरी डाडाँलाई पर्यटकीय स्थल बनाउने तयारीमा नगरपालिका लागि परेको छ । पर्यटन विस्तारको लागि विभिन्न गुरूयोजना बनाएका छाैँ । वन कानुन परिधिले गर्दा पर्यटन विस्तारको काममा रोकिएको छ । वन कानुनको सहयोगमार्फत नगरपालिकाको नाममा जग्गा ल्याउने तयारी अघि बढेको छ । नगरपालिका गठन भएपछि प्राविधिक शिक्षामा जोड दिएका छौँ ।

रोजगारी र उद्यमशीलता विकासको लागि प्राविधिक शिक्षा अनिवार्य हो भन्दै १२ कक्षामा विज्ञान विषय ल्याइसकेका छाैँ।  दुई वटा सामुदायिक विद्यालयलाई हामीले ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ कोर्सका लागि स्वीकृति दियौँ । कृषि, शिक्षा र पशुसेवामा आधारभूत शिक्षा प्रदान गरी त्यसलाई कार्यान्वयन तहमा लैजाने काम भने बाँकी छ ।

यो नगरपालिकाको मुख्य समस्या के हो ?
नगरपालिकाको मुख्य पहिलो समस्या बजेट हो । दोस्रो समस्या भनेको दक्ष जनशक्ति अभाव हो । तेस्रो समस्या भनेको जनसंख्या हो । २०६८ सालको जनगणनाअनुसार महालक्ष्मी नगरपालिकाको जनसंख्या ६२ हजार १ सय ७२ थियो । तर, अहिले नगरपालिकामा साढे दुईदेखि ३ लाख जनसंख्या बस्ने हुँदा तिनीहरूका लागि पानी, ढल र बिजुली पु¥याउन गाह्रो भइरहेको छ ।

नगरपालिकामा ६२ हजार जनताका लागि विकासको बजेट आउँछ तर साँढे दुई लाखदेखि तीन लाख जनसंख्यालाई पु¥याउनुपर्ने समस्या छ । सीमित साधन र स्रोतलाई अधिकतम रूपमा उपयोग गरि जनताको विशेष आवश्यकतामा जोड दिने छौँ । नगरपालिकामा सुशासन कायाम गर्न विद्युतीय हाजिरी प्रणाली र ‘ल बुक’ अपनाएका छाैँ ।

यस वर्षदेखि अन्य वडा कार्यालयमा पनि विद्युुतिय हाजिरी प्रक्रिया विस्तार गर्न गइरहेका छौँ । नगरपालिकाले सुशासन, पारदर्शिता, विश्वसनियता कायम गराउँदै जनतालाई सेवा दिने प्रतिबद्धता अपनाएका छौँ ।

महालक्ष्मी नगरपालिकाको मुख्य अवसर के हो ?
लाकुरी भञ्ज्याङ महालक्ष्मी नगरपालिकाको मुख्य अवसर हो । यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्छ । यसले आन्तरिक तथा बाह्य पर्यटनमा जोड दिन्छ । लाकुरी भञ्ज्याङलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न सक्याँै भने यहाँ धेरै अवसर छन् । लाकुरी भञ्ज्याङको मुख्य टावर बाट उपत्यकाका सबै दृश्य एकै साथै लगभग ८ वटा हिमाल छर्लङ्ग देखिन्छन् ।

लाकुरी भञ्ज्याङबाट उपत्यका बाहिरको सहर बनेपा र पनौती देखिन्छ । लाकुरी भञ्ज्याङबाट स्वच्छ हावा चल्छ । लाकुरी भञ्ज्याङमा ठूला ठूला होटल र रिसोर्ट खुलाउनुपर्नेछ । लाकुरी भञ्ज्याङ घुम्न र तालिम सञ्चालन गराउन निकै रोचक स्थान हुनेछ । आर्थिक उपाजन सिर्जना गराउन साइकिलिङ, हाइकिङ र पैदल यात्राको बाटो बनाउन नगरपालिका लागि परेको छ ।

महालक्ष्मी नगरपालिकाको दोस्रो अवसर भनेको लुभु र सिद्धिपुरका नेवारी बस्ती विकास गर्नु हो । लुभु र सिद्धिपुरका मानिसले अलग अलग प्रकृतिका व्यवसाय सञ्चालन गर्दै आएका छन् । एक क्षेत्रको व्यवसाय सुकुल बुनाई हो भने अर्काे क्षेत्रको व्यवसाय कपडाको हाते तान बनाउनु हो । लुभु र सिद्धिपुरको कला संस्कृतिलाई प्रवद्र्धन गर्न सकियो भने त्यहाँ पर्यटनमा बढवा हुनेछ ।

लुभु र सिद्धिपुर क्षेत्रमा लगभग १२ –१३ हजार हाराहारीको जनसंख्या बसोवास गर्छन् । नगरपालिकामा सञ्चालन भइरहेका उद्योग धन्दाबाट करहरू उठाई स्रोतको विकास गर्ने तयारी अघि बढेको छ ।

नगरपालिकाका मुख्य आवश्यकता के के हुन् ?
महालक्ष्मी नगरपालिकाको मुख्य आवश्यकता भनेको खानेपानी र सडक हो । वडा नं ९ मा ढल छैन् । ५ वटा गाविस मिलाएर एउटा नगरपालिका बनाएपछि थुप्रै आवश्यकता बढेका छन् । सरकारले नगरपालिका घोषणा गरि जनतालाई सहरीकरणको प्रभाव पर्याे तर त्यहाँ पुर्वाधार पुर्याउन आवश्यक छ ।

नयाँ नगरपालिका भएकाले यहाँ धेरै अवरोध र चुनौतिहरू पनि छन् त्यसलाई अवसरको रूपमा परिणत गरि राम्रो बनाउने पहल गरेका छाैँ । इमाडोलमा प्रख्यात बौद्ध स्तुपा छ । यसले पर्यटक भित्राउन निकै सहयोग गर्ने अनुमान गरेका छौ । बौद्ध स्तुपामा पर्यटकको ध्यान पुर्याउन निकै आवश्यक देखिन्छ । हरेक ठाँउमा मन्दिर तथा पोखरी निर्माण गर्ने काम अघि बढेको छ ।

कृषिको सम्भावना महालक्ष्मी नगरपालिकामा कमै छ । गलत भौगोलिक नीतिले गर्दा जताततै घरहरू बनि रहेका छन् त्यसलाई न्यूनीकरण गराउनुपर्नेछ । बस्ती विकास गरेर महालक्ष्मीमा आम्दानीको स्रोत बढाउन सक्छौँ । सानो उद्योग ग्रामको रूपमा नगरपालिकालाई विकास गर्नुपर्छ भनी विभिन्न योगना ल्याउने तयारीमा छौँ । महालक्ष्मी नगरपालिकामा उद्योग ग्राम निकै सम्भावना छ ।

अबको ४ वर्षमा के के गर्ने योजना छ ?
पाँचै वर्षको ८० प्रतिशत बजेट पुर्वाधार विकासमा प्रयोग गर्नेछाैँ। नगरपालिकामा सिमित बजेट र असीमित आवश्यकता छन् । सीमित बजेटबाट असिमित आवश्यकता पूरा गर्न मानव संसाधनको कमी हुनुपर्छ । सिमित साधन र स्रोतलाई अधिकतम प्रयोग गरेर विकासको लागि हामी निरन्तर लागि परेका छौ ।

हामीले आधारभूत तहमा ‘रेन वाटर हार्भेस्टिङ’ को काम सक्याैँ । यो वर्ष डिपिआरको काम सकियो । अर्काे वर्ष टेन्डर आह्वानको काम हुनेछ । वडा नं ४ मा लगभग १२ करोडको योजनामा ढल हाल्ने काम भइरहेको छ । ५ देखि ९ नम्वर वडासम्म लगभग १ करोड कामको डिपिआर सकिएको छ । यातायात व्यवस्थालाई सहज बनाउन ३ वटा काम गरिसक्यौँ ।

२ वटा यातायात थप गर्ने योजना अघि बढेको छ । सडकको स्तर उन्नतिमा कालोपत्रे गर्न नसके पनि विस्तार, सिमानकन, नामांकन र ग्राबेलिङ गर्ने काम हुने नै छ । चलिरहेका योजनालाई जति सक्दो चाँडो पूरा गर्न पहल गर्नेछाैँ। बाँकी रहेका ४ वर्षमा देखिने काम गरी म पदबाट अलग हुनेछु ।

महालक्ष्मी नगरपालिकाको मुख्य चुनौती के के हुन् ?
पहिलो चुनौती भनेको पूर्वाधार नै हो । खानेपानी देखि सडकसम्म सबै निर्माण गराउन पहल गर्नेछु । नगरपालिकाको आफ्नोे भवन छैन् । महालक्ष्मी नगरपालिकामा ६ प्रतिशतको अनुपात बस्ती बढी देखिन्छ । ०७८ सालमा ३ लाखभन्दा बढी जनसंख्याले महालक्ष्मी नगरपालिका भरिने अनुमान गरियो ।

बसाइँसराइको नामांकन गर्न कम जनता आउने तर बजेट भने धेरैलाई बाँड्नुपर्ने हुँदा यो एउटा मुख्य चुनौती हो । पर्याप्त कानुनको अभावमा महालक्ष्मी नगरपालिका गुज्रिएको छ । प्रदेशले कानुन बनाउन नसकेको अवस्थामा हामीले बनाएका कानुन माथिल्लो निकायसँग बाझिएला भन्ने डर पनि छ । नगरपालिकाले निर्माण गरेको कानुन प्रदेशसँग बाझियो भने त्यो बदर हुन्छ।

महालक्ष्मीमा जनशक्तिको अभाव छ । नगरपालिकामा एकजना पनि योजनाविद् छैनन् । नगरपालिकामा विकासका पूर्वाधार बन्न नसक्नु एउटा चुनौती हो । पर्याप्त मात्रामा इन्जिनियर, ओभरसियर छैनन् । हरेक वडामा नासु कार्यालय सचिव हुन्छ त्यस्ता कर्मचारी महालक्ष्मी नगरपालिकामा छैनन् ।

नगरपालिकाको पहिलो आवश्यकता के हो ?
हाम्रो नगरपालिकामा सबैभन्दा बढी आवश्यकता पानी नै हो । पानीविना कोही मानिस बाँच्न सक्दैनन् । अहिले डब्लु यच ओले एक जना मानिसलाई दैनिक एक सय लिटर पानी चाहिन्छ भनि रहेको छ । नगरपालिकामा लगभग ३ लाखको हाराहारीमा जनसंख्या छ । ६२ हजार तथ्यांकमा भए पनि वर्षको तिन लाखलाई एक सय लिटरको हिसाबले पानी नगरपालिकाले दिनुपर्ने भएको छ । महालक्ष्मी नगरपालिकामा पानीको परिपूर्ति नै हाम्रो समस्या समाधान हो ।

नगरपालिकाले हरेक व्यवसायमा कर तोक्न सुरु गरेको छ । नगरपालिकाले तोकेको करबाट व्यवसायीहरू कति सन्तुष्ट छन् ?
हामी चुनाव जितेर आएको १ वर्ष केही महिना मात्र हुँदै छ । यो भन्दा पहिले नगरपालिकाले कुनै कर लगाएको थिएन् । गाविस छँदा व्यक्तिले केवल मालपोत कर तिरे पग्थ्यो । पहिलो कर प्रणाली लागू गराउन खोज्दा निकै विरोध भयो । जनतालाई हामीले समाधान, सल्लाह र सुझाव दिई बुझायाैँ । यस आर्थिक वर्षबाट हामीले व्यवसायिक कर र भाडा कर लगाउने गृहकार्य गर्दै छौँ ।

नगरपालिका विकासको लागि कर संकलन गर्नुपर्ने हुन्छ । हामीले कर नीतिलाई लचकता साथ अघि बढाएका छौँ । हरेक व्यवसायीले थोरै कर तिर्दा त्यो धेरै हुन्छ । सडक पानी र ढल निर्माणको लागि पैसा चाहिन्छ । व्यवसायीसँग करको दायरा फराकिलो पार्छौं ।

अधिकांश नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच समन्वय छैन भनिन्छ, तपार्इंको नगरपालिकाको अवस्था के छ ?
हाम्रो नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच समन्वय छ । त्यस्तो किसिमको असमझदारी र असमन्वय छैन । कर्मचारीको तर्फबाट जनप्रतिनिधि र जनप्रतिनिधिको तर्फबाट कर्मचारीलाई कुनै पनि असर पार्ने काम भएको छैन । स्थानीय र जनप्रतिनिधिबीच निरन्तर सहकार्य गर्दा मैले साझा उम्मेदवारको रूपमा जितेको हुँ ।

निर्वाचित भएपछि हाम्रो नगरपालिकाभित्र रहेका सबै राजनीति दलहरूले साझा रूपमा बजेट तथा नीति र कार्यक्रम मागे । यो वर्ष पनि मैले लिखित रूपमा सबै राजनीतिक दललाई सम्बोधन गरी विकासका योजना माग गरे । जनप्रतिनिधिको दायित्व नगरविकासको काम गर्न हो । त्यसैले मिलेर काम गर्नेछौँ ।

तपाईंको नगरपालिकाको व्यवस्थापन कस्तो छ ?
नगरपालिकामा पारदर्शीता कायम गराउन विद्युतीय हाजिर प्रणाली सुरु गरेका छाँै । गुनासो सुन्नका लागि उजुरी पेटीकाको व्यवस्थाको साथै सार्वजनिक सुनुवाई सुरु भएको छ । नगरपालिकाका जनप्रतिनिधि र स्थानीय जनताबीच सार्वजनिक सुनुवाइ आवश्यक छ ।

नगरपालिकाको कमलपोखरी क्षेत्रमा डिप बोरिङको शिलान्यास गर्दा तपाई जानुभएन भन्ने गुनासो छ । नगर प्रमुखको हैसियतमा जनताको निमन्त्रणालाई किन अस्वीकार गर्नुभएको ?
नगरपालिका भित्रको कमलपोखरी एक ऐतिहासिक क्षेत्र हो । म पुरातात्विक क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने पक्षमा लागेको मान्छे हुँ । कमलपोखरीको सार्वजनिक जग्गालाई उपभोग गर्न दिने हाम्रो अधिकार छैन । हिजो म नगरप्रमुख भएर आउनुभन्दा पहिला यहाँका कर्मचारी साथीले त्यहाँ सिफारिस गर्नुभएको रहेछ । पानी जीवन मरणको आधार हो ।

पहिला पानीको लागि वैकल्पिक योजना सोचौँ र वैकल्पिक योजना भएन भने एक छेउमा हामीले डिप बोरिङ गरौँ भन्ने मेरो विचार हो । डिप बोरिङको काम अघि बढाउँदा जनताले मलाई सम्झनुभएन । निमन्त्रण दिन बिर्सनुभयो, त्यसैले यस्तो कुरा उठेको होला । नगरपालिकाको कार्यालय बन्द हुने समयमा पत्र आएको भन्ने सुनेको छु ।

शनिबारको दिन कमलपोखरी क्षेत्र उद्घाटन भयो भन्ने कुरा सुने । पक्कै मलाई उद्घाटनको बारेमा केही थाहा थिएन । मलाई थाहा भएको भए म व्यस्तताको बाबजुत पनि कार्यक्रममा जाने थिए । आयोजक साथीले के कस्तो कारणले आएन भन्नुभयो । तर, मलाई एक कल फोन सम्म नगरी कार्यक्रम गर्दा त्यस्तो आरोप लगाउन मिल्दैन ।  भोलिपल्ट फेसबुकमा उद्घाटनको फोटो देखेपछि मात्र मैले थाहा पाएको थिए ।

नगरपालिकाभित्र काम भएको छ, म यहाँको नगरप्रमुख, तर मलाई कुनै जानकारी नहुनु एउटा अनौठो चर्चाको विषय लाग्छ । म त्यस क्षेत्रमा डिप बोरिङ् नगर्न अन्य सल्लाह र सुझाव पनि दिन्थे । म साथीहरू कसैसँग पनि आग्रह र पूर्वाग्रह राख्दिन । यो सरासर झुट कुरो हो । माननीय ज्युले पनि प्रश्न गर्नुभएको थियो । जनतालाई खानेपानी दिलाउन मेरो क्षेत्रबाट भरपुर सहयोग हुनेछ ।

म फेरी पनि सहयोग गर्छु । नगरपालिकाको कुनै पनि विकास निर्माणको काममा मेरो तर्फबाट सक्रिय सहयोग हुने नै छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक खानेपानी लगायत कुनै पनि कुराको विकास गर्न सहयोग गर्नेछु । त्यस क्षेत्रमा कुनै पनि राजनीतिकरण हुन दिन्न र सबैलाई समेटेर लैजाने मेरो प्रयास रहन्छ ।

तपाईंको पहलमा लामाटारमा निर्माण भएको डिप बोरिङले पुरातात्विक महत्वको ढुंगेधारा सुक्यो भन्ने चर्चा छ । वास्तविकता के हो ?
ढुंगेधारा र डिप बोरिङ गरेको स्थान निकै पर्छ । डिप बोरिङबाट अर्काे डिप बोरिङको दुरी ५ सय मिटर पर हुनुपर्छ भन्ने मान्यता छ । माथि डिप बोरिङ र ढुंगेधारा निकै तल छ । डिप बोरिङ गरेपछि पानी सुकेको होइन बरू पानीको बहाव घटेको हो । ऐतिहासिक ढुंगेधारा मास्न दिने छैनाैँ। धाराको संरक्षण गर्नुपर्छ भनि हामीले नीति बनाएका छौँ ।

लामाटारको डिप बोरिङको पानी आधा लुभुमा ल्याउने र आधा लामाटारमा खुवाउने हो । मैले नै सहकार्य गरी डिप बोरिङको काम अघि बढाएको हुँ । त्यो ढुंगेधारा सुक्यो भने वैकल्पिक योजना अघि बढाउने छाैँ। कुनै पनि धार्मिक तथा ऐतिहासिक महत्व बोकेका चिजलाई संरक्षण गर्नुपर्छ भन्ने नगरपालिकाको पहल हो । ढुंगेधारामा पानी सानो आएको कुरा सही हो, तर ठयाक्कै सुकेको भने होइन ।

जनताबाट कस्तो गर्नुभएको छ ?
महालक्ष्मी नगरपालिकाका दाजुभाई तथा दिदीबहिनीले मलाई विश्वासको मत दिएर नगरप्रमुख बनाउनुभएको छ । म सबै मेरा जनतालाई धन्यवाद अर्पण गर्न चाहान्छु । जनताप्रति म आभारी र कृतज्ञ छु । जनताको विश्वास र सम्मानमा म कहिल्यै ठेस पुग्न दिन्न । म निरन्तर रूपमा जनताको लागि काम गर्नेछु । म जनताबाट सधैँभरि सकारात्मक सहयोग र साथको लागि अपेक्षा गर्छु ।

हरेक मानिसबाट गल्ती र कमजोरी हुन्छ । मेरा तर्फबाट गल्ती र कमजोरी भए भने मलाई सदैव माफ गर्नुहोस् । म नगरपालिका प्रमुखको हिसाबले जानीजानी कुनै पनि गल्ती र कमजोरी गर्दिन । यदि राम्रो काम गर्न सकिन भने नराम्रो काम पनि कहिल्यै गर्दिन भनि वचनबद्ध हुन्छु । –प्रस्तुती:सुभानु अाचार्य

प्रतिक्रिया