मत-विमत

हाम्रो नियति ः आजको यथार्थ !

सौर्य अनलाइन २०७५ साउन ४ गते ९:०८ मा प्रकाशित

डा.शरणकुमार पाण्डे
सरकार ! बन्द गर, उद्घाटन र समापन कार्यक्रम । न बोल्नेलाई जाँगर छ न सुन्नेलाई उत्साह नै । समयको बर्बादीमा रमाउँदै कार्यक्रम सकिएको कागजी खोस्टोका लागि अब कति नाटक मञ्चन गर्ने कमसेकम परिवर्तन व्यवस्थामा होइन व्यवहारमा गर्न सिक । पूmलका माला र अबिरले सजिएर भाषण गर्दै खेतमा काम गर्ने कृषक र गरिखाने मान्छेलाई बोलाएर आफ्नो कार्यक्रमको साक्षी राखी कागजी विकासको कुरा गर्ने काम अब बन्द गरी नयाँ ढंगबाट सोच्नुपर्ने वेला आएको छ । काम गरिसकेपछि कम्तिमा गरिएको कामको प्रभाव र सोको परिणाम के आयो भन्ने देखाउन नसक्ने गरी गरिएको प्रचारबाजीले हामी विकासका लागि भाषणमा मात्र सीमित भइरहेको आभाष मिल्छ ।

हाम्रो नियति
अचम्म लाग्छ एउटै व्यक्ति फरकफरक कार्यक्रममा प्रमुखको भूमिकामा उपस्थिति हुन्छ । हुन पनि प¥यो किनकी जनमतबाट दिव्य शक्ति प्राप्त गरी पदमा आसिन भएपछि । गजब त के देखिन्छ भने जुनसुकै कार्यालयले सञ्चालन गरेको कार्यक्रममा किन नहोस् (कृषि सिँचाइ स्वास्थ्य शिक्षा वन सडक) विकाससम्बन्धी भाषण सुन्न पाइन्छ फरक स्थान तर भाषण गर्ने पात्र एउटै । यसरी गरे विकास सम्भव छ उसरी गरे सम्भव छ मानौँ सबै विधामा विकासको दिव्य ज्ञान आर्जन गरेको व्यक्तित्व हुनुहुन्छ र सहभागीहरूले मनलागे पनि नलागे पनि भाषण सुन्नै पर्ने र ताली बजाउनै पर्ने होइन यो कस्तो परम्परा स्थापित भइरहेको छ । हुन त मलाई भने कार्यक्रमले कम्तिमा सामाजिक सञ्जालमा कार्यक्रम सफल भएको भन्दै फोटो प्रेषण गर्ने अवसर चाहिँ जुटाइदिएकोमा खुसी लाग्छ र कार्यक्रममा सहभागिताको प्रमाण स्वरुप माइनुटमा हस्ताक्षर गरी आफ्नो गन्तव्यतर्फ लाग्ने गरेको छु गुनगुनाउँदै, कठै ! हाम्रो विकास ।

आचरणमा शुद्धताको कमी
मद्यपान गर्न हुँदैन भन्दै भाषण गर्ने आदरणीय व्यक्तिबाट मद्यपान सेवन हुनु, धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्दै जनचेतनको नाममा प्रचार गर्दै हिँडने व्यक्तित्ववाट धूमपान गर्नु, भष्ट्राचार देश विकासको ठूलो शत्रु हो यसलाई जराबाटै उखल्नुपर्छ भन्दै गोष्ठी गर्दै ताली र भत्ता खाने र भोलिपल्ट सोही व्यक्ति भष्ट्रचारी ठहरिने हाम्रो समाजको यो कस्तो नियति हो । जब व्यक्तिमा नै शुद्धता छैन भने उसले दिने हरेक शब्द कसरी विश्वासयोग्य हुन्छ सबैले एकपल्ट सोच्न जरुरी छ ।

अहिलेको अवस्था र व्यवस्थामा धेरै सकारात्मक कुरा गर्नु र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स्वच्छ तरिकावाट समाजमा परिवर्तन गर्न खोज्नु भनेको सम्भवतः आफ्नो भविष्यलाई अन्धकारमा धकेल्नु र पीडाको अन्तहीन चक्करमा फस्नुजस्तो देखिन्छ । जवाफदेहिता, सशुासनको ज्ञान व्यवहारमा होइन परीक्षामा लेखी लोकसेवा पास गर्नका लागि मात्र काम लागेको छ । जापानमा एउटा कार्यालयको कर्मचारी तोकिएको समयभन्दा तीन मिनेट अगावै खाजा खान जाँदा कार्यालय प्रमुख लगायतले पत्रकार सम्मेलन गरी माफी माग्नुपरेको घटनाबाट प्रेरणा लिन सक्ने कि नसक्ने ।

मेरो अनुभूति :
मलाई एउटा कुनै कार्यक्रममा सहभागीको लागि बिहान आठ बजेको समय तोकी निमन्त्रणा गरिएको थियो र सो कार्यक्रमको उद्घाटन प्रदेशस्तरीय मन्त्रीबाट हुने कुराको जानकारी प्राप्त भएको थियो । धेरै सोचेँ आफ्नो उपस्थिति सो कार्यक्रममा गर्ने कि नगर्ने भनेर फेरि आफ्नो कार्यालयको सेवाग्राहीको समस्या पनि बुझ्नै प¥यो तर मन्त्री नै आउने भएपछि जान तयार भएर ठीक आठ बजे तोकिएको स्थानमा आफ्नो उपस्थिति गराए । सहभागीहरूको आउने क्रम थियो चिनजानेको सँग भेटघाट चिया बिहानको ब्रेकफास्टमा केही समय आपूmलाई भुलाए ।

झन्डै एक घण्टा भुलेछु र हतारहतार कार्यक्रम सुरु भयो मन्त्रीज्यू आउनुभयो कि ढिला भइयो भनेर सभाहलतिर लागेँ तर विडम्वना सभाहलमा म पहिलो भएछु र एउटा कुनामा कुर्ची तानेर बसेँ कार्यक्रमको उदघाटनको प्रतिक्षामा । केही समयमा सहभागी आउने क्रम सुरु भयो तर पानसमा बत्ती बालेर उद्घाटन गर्ने मन्त्रीज्यू आउन ढिला गर्नुभयो । आठ बजे भनेर बोलाइएको कार्यक्रम १० बजे पनि सुरु भएन कारण थियो मन्त्रीज्यूको व्यस्थता । जब ढिला गरी आउनुभयो अनि मन्त्रीज्यूको ठूलै जयजयकार भयो सबै उठेर स्वागत गरियो तर कार्यक्रम ढिला भएकोमा कसैलाई पश्चात्तापसम्म भएन मानाँै हामी सबै काम नभएका हरूको एउटा भिड त्यहाँ जम्मा भएको थियो ।

ढिला आउनेलाई सम्मान र चाँडै आउँदा अपमान भएको महसुस भयो आपूmलाई र सम्झेँ यो प्रवृत्ति व्यवस्थाले परिवर्तन गर्न सकेको रहेनछ । अनि विकास र सुशासनको लयबद्ध तरिकाबाट मन्त्रीज्यूले भाषण सुनाउन थाल्नुभयो र मनमनै सम्झेँ ओहो ! हाम्रो विकास र लोकतन्त्र ।

आजको यथार्थ
घर बिग्रियो कि नारीमाथि दोष, देश बिग्रियो कि कर्मचारीमाथि दोष, अनि धर्म बिग्रियो भने बम्रचारीमाथि दोष । यो मनोवृत्तिमा हुर्किएको हामी नेपालीमा नकारात्मक सोचको गलत संस्कृति मौलाउँदै झांगिँदै गइरहेको पाइन्छ । देश बिग्रियो खत्तम भयो भन्ने कुराले हामी सबै यति धेरै चिन्तित छौँ कि सबै काम छोडेर देशको चिन्तामा बिहानदेखि बेलुकासम्म समय व्यतित गर्छौं । एकअर्कालाई गालीगलौच गर्छांै र भन्छौँ देशमा कहिल्यै समृद्धि नआउने भयो । कसैले राजनीतिज्ञलाई दोष दिन्छन् त, कसैले कर्मचारीलाई तर देशको परिवर्तनको हिस्सेदार आपूm स्वयं हो र आफ्नो क्रियाकलापले देशको समृद्धिमा थोरै भए पनि प्रभाव परिरहेको हुन्छ भन्ने कुराको हेक्का कसैले राखेको पाइँदैन ।
म कर्मचारी देश सेवाका लागि आपूmलाई समर्पित गरिरहेको एउटा राज्यको प्रतिनिधि ।

देशमा भएका राम्रा र नराम्रा परिणामहरूको हिस्सेदारी बोक्न कहिल्यै पनि पछि पर्दिनँ । किनकी, थोरै धेरै जे भए पनि राज्यले जनताबाट उठाइएको करको सानो अंश महिनै पिच्छे बुझ्ने गरेको छु । इमानदार कर्तव्यनिष्ठ र आफ्नो समाज परिवारभन्दा पनि बढी महत्व दिएर जनताको सेवामा लागिरहेको कर्मचारीमाथि बारम्बार लागिरहने भष्ट्राचारको आरोपले भने कहिलेकाहीँ खिन्न तुल्याउँछ । तथापि, आपूmलाई विचलित हुनबाट रोक्न हरपल प्रयास गरिरहेको छु । कर्मचारीलाई गाली गर्ने जमात धेरै नै भइसकेको छ जसलाई सजिलो तुल्याइदिएको छ सामाजिक सञ्जालले । खुसी लाग्छ एउटा कर्मचारी हुनुमा भनिन्छ नि राम्रो फल मीठो फलमाथि नै त प्रहार गरिन्छ काँचो अमिलो फलमाथि न कसैको नजर जान्छ र न प्रहार नै सहनुपर्छ ।

थोरै जमातले ठूलो स्वरमा कुनै कुरा लगातार बोल्यो भन्दैमा त्यो नै आधिकारिक हो भन्न पनि मिल्दैन । कसैको व्यक्तिगत विचारमाथि टीकाटिप्पणी गरी समयको तेजोवध गर्नुभन्दा समग्र विषयवस्तुको ज्ञान हासिल गरी आपूmलाई अब्बल सावित गर्नुमा नै सबैको हित हुनेछ । इमानदारीपूर्वक सकारात्मक सोचका साथ हरेक व्यक्तिले आपूmलाई उभ्याउन सके मात्र विकास सम्भव छ, अन्यथा भाषणको जगमा उभिएको यो विकासले अन्ततोगत्वा विनासतर्फ हामीलाई डो¥याएर लैजानेछ ।
(लेखक जिल्ला पशु सेवा कार्यालय प्युठानका प्रमुख हुन्)

प्रतिक्रिया