सम्पादकीय

बिपी कोइराला र समाजवाद

सौर्य अनलाइन २०७५ साउन ६ गते ९:२६ मा प्रकाशित

राजनीतिकर्मीहरू निश्चित समय अवधिसम्म मात्रै सान्दर्भिक हुन्छन् तर राजनेताहरूको सान्दर्भिकता समय जति बित्दै जान्छ त्यति नै बढ्दै जान्छ । बिपी कोइरालाले दिएको मार्गदर्शनको सान्दर्भिकता आज पनि उत्तिकै छ । त्यसैले उनलाई दूरदर्शी राजनेता भन्ने गरिएको हो । २४ भदौ १९७१ सालमा जन्मेका बिपी कोइरालाको निधन ०३९ सालमा आजकै मितिमा भएको थियो । कर्मकाण्डकै रूपमा किन नहोस् नेपाली कांग्रेसले हरेक ६ साउनमा बिपी स्मृति दिवस मनाउँदै आएको छ । यसपटक ३६औँ स्मृति दिवस पनि विभिन्न कार्यक्रम गरी मनाउन नेपाली कांग्रेसले आफ्ना सबै संगठनहरूमा सर्कुलर जारी गरिसकेको छ । बिपी कोइराला नेपाली कांग्रेसका संस्थापक सभापति हुन् तर आजको मितिमा संविधानबाहिर रहेका कम्युनिस्टबाहेक मुलुकका प्रायः सबै राजनीतिक दल तथा शक्तिहरूले उनको मार्गदर्शनलाई स्वीकारिसकेका छन् । वर्तमान शासन व्यवस्था बिपीकै मार्गदर्शनअनुसार स्थापित गरिएको हो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीदेखि राप्रपा सम्मका नेताहरूले बिपी कोइरालाका सच्चा अनुयायी हामी हौँ भनेर दाबी गरेको अवस्था छ । गत आमनिर्वाचनमा पनि कांग्रेसले भन्दा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले नै बिपी कोइरलाको नाम बढी जपेका थिए । ‘बिपी जीवित भएको भए अहिले कांग्रेससँग होइन हामीसँग हुनुहुन्थ्यो’ भन्नसम्म उनीहरूले भ्याए । एमाले–माआवोदी एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार छ अहिले तर सरकारी स्तरबाट बिपीको स्मृतिमा कुनै कार्यक्रम गरिएको छैन ।

बिपी कोइरालाको उचाइ कहाँसम्म हो ? भन्ने सन्दर्भमा धेरैका धेरै विश्लेषण छन् । बिपी जीवित हुँदासम्म धेरैजसो खिलापमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निष्कर्ष छ, ‘गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइराला नेपाली माटोका चीरस्मरणीय सपूत हुन्, यिनीहरूबीच भिन्नता के हो भने गौतमबुद्ध र पृथ्वीनारयण शाह राजकुमारका रूपमा जन्मे, बिपी कोइराला सर्वसाधारण जनताका रूपमा जन्मे ।’ राष्ट्रनिर्माण हुनलाई निश्चित भूगोल र त्यो भूगोलभित्रका जनताको सहभागितामूलक शासन व्यवस्था चाहिन्छ । भूगोल निर्माणको नेतृत्व पृथ्वीनारायण शाहले गरे भने बिपी कोइरालाले जनसहभागिता मुलुक शासन व्यवस्था निर्माणको नेतृत्व गरे । त्यसैले बिपी कोइरालालाई राष्ट्रनिर्माताको सम्मान दिन कन्जुस्याइँ गर्न नहुने तर्क धेरैको छ ।

‘राजनेता मात्रै नभएर बिपी कोइराला बहुआयमिक व्यक्तित्वका धनी शिखर पुरुष हुन् । बिपीको योगदानलाई अलग राख्दा नेपाली कथा सहित्यको इतिहास अधुरो हुन्छ । धर्मसंस्कृतिका नाममा समाजमा जरो गाडेर बसेका विकृति अन्त्यका लागि पनि उनको निकै ठूलो योगदान छ । बिपी कोइरालाको राजनीतिक मार्गदर्शनका वास्तविक अनुयायी हामी हौँ’ भन्ने प्रतिस्पर्धामा मुलुकका राजनीतिक शक्ति तथा दलहरू छन् । तर, व्यवहारमा भने त्यस्तो देखिएको छैन । बिपीले राष्ट्रियता र लोकतन्त्रलाई जति महत्व दिएका छन् समाजवादलाई पनि त्यति नै महत्व दिएका छन् । समाजवाद विनाको राष्ट्रियता र लोकतन्त्र फासीवादमा परिणत हुने राजनीतिक व्याख्या बिपी कोइरालाले गरेका छन् । वर्तमान संविधानमा नेपाल समाजवाद उन्मुख राष्ट्र हो भनेर लेखिएको पनि छ । तर, व्यवहारमा त्यस्तो देखिएको छैन । चरम आर्थिक उदारीकरण समाजवादको मर्म होइन, पुँजीवाद हो । नेपाली कांग्रेसले त ०४८ सालमै पँुजीवादीबाटो अवलम्बन गरिसकेको हो । तर, त्यसपछिका दिनमा कम्युनिस्टहरूले पनि यही बाटोलाई निरन्तरता दिए । बहुमतको सत्ता प्राप्त गर्न नसकेका कारण नेपाली कांग्रेसले आरम्भ गरेको पुँजीवादी बाटोलाई निरन्तरता दिन कम्युनिस्टहरू बाध्य भएका हुन् कि ? भन्ने अनुमान पनि गरियो । तर, त्यो अनुमान यतिवेला झुठो सावित भएको छ । मुलुकमा दुईतिहाइ बहुमतका साथ नेपाल कम्युनिस्ट पार्टीले शासनसत्ता सम्हाल्ने अवसर पाएको छ । तर, समाजवाद उन्मुख संकेत कत्ति पनि देखिएको छैन । यतिवेला स्वास्थ्य र शिक्षामा अन्धाधुन्ध निजीकरण गर्न हुन्छ कि हुन्न ? पक्ष र विपक्षमा संघर्ष सुरु भएको छ । यो संघर्षका क्रममा कम्युनिस्ट सरकार कुन कित्तामा उभिएको छ ? यो प्रश्नको उत्तर खोज्ने हो भने सबै कुरा छर्लंग हुन्छ ।

प्रतिक्रिया