अन्तर्वार्ता

भीमदत्तलाई नमुना सहर बनाउँछुः सुरेन्द्र विष्ट, मेयर भीमदत्त नपा

सौर्य अनलाइन २०७५ साउन ७ गते ९:१५ मा प्रकाशित

– तपाईं निर्वाचित भएर आएको एक वर्ष पुगेको छ, यो एक वर्षमा के उपलब्धि हासिल गर्नुभयो ?
एक वर्षमा हामीले कानुन निर्माण गर्ने कुरालाई प्राथमिकता राख्याैँ । हाम्रो एक वर्ष कानुन निर्माण गर्नेमा नै बित्यो । हामीले स्थानीय सरकार सञ्चालन ऐन ६ महिनापछि प्राप्त गर्यौँ । त्यो वेलासम्म कानुनी अस्पष्टता नै थियो । दोस्रो आवश्यक कर्मचारीको समस्या अहिले पनि छ । कार्यालयमा कर्मचारी अपुग नै छन् ।

स्थानीय तहमा समायोजन हुने कार्यालयका सम्पत्ति अझै हस्तान्तरण हुन सकेको छैन । यो कुरालाई कहिले हुन्छ भन्ने पखाईमा छु । हिजो स्थानीय निकायको रूपमा कामकाज गरियो, अहिले स्थानीय सरकारको रूपमा रहेको छ । भिन्नभिन्न काम गर्ने तरिका छन् । आजको दायित्व पूरा गर्नका लागि कर्मचारी र जनप्रतिनिधिलाई एकताबद्ध बनाउँदै लैजान जरुरी रहेको छ ।

जनताको सहयोग र अपेक्षाअनुसार हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँँ । आगामी दिनमा नगरको विकास र समृद्धिका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएका छौँँ । त्यसैलाई टेकेर नगरको विकासमा लागि रहनेछौँँ ।

– यो अवधिमा चुनावमा गरिएका प्रतिबद्धताचाहिँ कतिको पूरा गर्नुभयो ?
चुनावी प्रतिबद्धताअनुसार नै हामीले काम गरेका छौँँ । चुनावी प्रतिबद्धतामा उल्लेख गरिएका अधिकांश योजना पूरा गरेका छौँँ । प्रतिबद्धतामा जनाइएका काम कतिपय हामीबाट त कतिपय प्रदेशबाट सम्पादन गर्नुपर्ने हुन्छ । कतिपय संघ सरकारबाट सम्पादन गर्नुपर्दछ । संघ सरकारका कार्यालय अहिले पनि रहेका छन् । प्रदेशको सरकारको संयन्त्र अझै तयार भएको छैन । स्थानीय तहबाट गर्नुपर्ने काम हामीले अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि सारेका छाैँ।

कतिपय विषय पर्याप्त मात्रामा बजेट पाएका छैनाैँ। प्रदेशले भर्खर बजेट ल्याएको छ । त्यो कार्यान्वयन भएको छैन । त्यसकारण हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धता अनुसारको काम प्रदेश र संघ सरकारले गर्नुपर्ने भएकोेले राष्ट्रिय एजेन्डाको रूपमा राखेका छौँँ । संघ र प्रदेश सरकारसित साझेदारी गरी गर्नुपर्ने कामको हकमा ती दुवैलाई दबाब दिने गरिएको छ । दबाब दिने कार्यलाई निरन्तर रूपमा गर्नेछौँँ ।

– भीमदत्त नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन के–कस्ता अल्पकालीन र दीर्घकालीन योजना छन् ?
भर्खर तेस्रो नगर सभा सम्पन्न भएको छ । हामीले कृषि पर्यटनको आधार समृद्धको आधार भनेर नारा नै बनाएका छौँँ । त्यसका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढेका छौँ । एक वर्ष, दुई वर्षदेखि पाँच वर्षसम्म विकासको हामीले के गर्दछौँँ भनेर हामी अगाडि बढेका छौँँ ।

विकाससँग पूर्वाधार सामाजिक क्षेत्रमा विकासका लागि हामीले बजेट सन्तुलित ढंगले विनियोजन गरेका छौँ । र हामीले पूर्वाधारको विकास नभई दिगो विकास गर्दछौँ । वातावरण, प्राकृतिक प्रकोपबाट जनतालाई सुविधा दिने, स्वास्थ्य, शिक्षा, खेलकुद र सहकारीबाट जनतालाई परिचालन गर्ने कुरा छ । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि हामीले १ अर्ब १० करोडको बजेट विनियोजन गरेका छौँ ।

धार्मिक पर्यटन जैविक मार्ग जुन १८ मिटर चौडा बाटो खालेर सम्पन्न गरेका छौँ । दोस्रो हामीले शुक्लाफाँटा राष्टिय निकुञ्जको १३ देखि १९ फारकिलो बाटो बनाउँदैछौँ । भीमदत्तभित्र रहेका तमाम धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पनि हामीले पूर्वाधार निर्माणदेखि प्रचारप्रसारका काम काम अघि बढाएका छौँ ।  हामीले के भनेका छौँ भने पर्यटन नै समृद्धको आधार हो ।

कृषिलाई व्यवसायिक र शिक्षालाई जीवन उपयोगी बनाउने काम गरिरहेका छौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्तरोन्नति गर्ने काम गरिरहेका छौँ । भीमदत्त त्रिदेशीय नाकाको रूपमा विकास हुने ठाउँ हो । जहाँ भारतको प्रत्यक्ष व्यापार सम्बन्ध छ । प्रमुख पश्चिम नाकाको रूपमा विकास गर्न सकिन्छ । पञ्चेश्वर परियोजना अगाडि बढेको छ । महाकाली सिँचाइ आयोजना अगाडि बढेको छ । पुरानो शारदा ब्यारेजबाट प्राप्त पानी हामीले पाइरहेका छौँ ।

भीमदत्तलाई चीनसँग जोड्नका लागि महाकाली करिडोरको काम अघि बढेको छ । गुरू योजना (मास्टरप्लान) बाट काम गरिरहका छौँ । छोटो समयमा सय किलोमिटरको बाटोको ट्रयाक खोलिएको छ । भ्यु–टावर बनाउँदैछौँ । स्थानीय जनताको सरकार भएकोले सरकारले काम गर्ने सबै दायित्व हामीेले अहिले गरिरहेका छौँ ।

– यो एक वर्षे अवधिमा काम गर्न चुनौँती पनि देखियो होला, के–कस्ता चुनौँती झेल्नुपर्यो ।
चुनौँती धेरै नै पर्यो । संविधानले दिएको एकल अधिकारका २२ सूची हाम्रो अधिकारको थियो । साझा सूचीमा हामीले प्रवेश नै गर्न पाएनौँ । ६ महिनासम्म हामी विनाकानुन सञ्चालन गर्नुपर्यो । नयाँ सिप क्षमता भएका कर्मचारीको आवश्यकता खट्किरह्यो । एक वर्ष बिचमा प्रतिज्ञा र निर्वाचनको वर्षको रूपमा रह्यो ।

कार्यपालिका जिल्ला समन्वय समिति, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्यो । तर पनि जनताका साथले कतिपय हामीले आफैँले कानुन निर्माण पनि गर्यौँ । सिंहदरबारको अधिकार गाउँमा आइसकेको भन्ने आभाष दिलाउन सबै वडा कार्यालय सञ्चालन गरी सेवा दिएका छौँ । तर, सिंहदरबार अझै आएका छैन ।

कतिपय विषयगत कार्यालय अझै आइसकेका छैन । संघ र प्रदेशले सञ्चालन गरेका कुरा अझै नआइसकेको छ । हाम्रै सरकार भएकोले यी कुरा सुन्नुपर्ने भयो । जनअपेक्षा व्यापक र स्रोत साधन कमी र संघ र प्रदेशको निर्वाचनको कतिपय परिवेशले गर्दा केन्द्रित भएर काम गर्न सकेनौँ । तर, उपलब्धि जनप्रतिनिधि साथीहरूमा एकता र कर्मचारीको एकताले हामीले भीमदत्त नगरलाई प्रदेश–७ को उत्कृष्ट नगरपालिको रूपमा विकास गरेका छौँ ।

– जनप्रतिनिधि र कर्मचारी स्थानीय सरकारका दुई महत्वपूर्ण खम्बा हुन्, ती दुवै पक्षबीच के कस्तो सम्बन्ध रह्यो त ?
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई स्थानीय सरकारले गर्नुपर्ने कामको अभाव खटकिएको पाएको छु । खासगरी क्षमता भए पनि आइडिया नभएर काम गर्न सकिरहेका छैनन् ।

अहिलेको स्पिडलाई समात्नका लागि केही समस्या देखेको छु । कर्मचारीको क्षमता विकासको लागि तालिम आवश्यक रहेको छ । अझ पनि कर तिर्नुपर्दछ भनेर धेरैले बुझ्दैनन् । हाम्रो नगरपालिका हामीले बनाउनुपर्दछ भन्ने भावना छैन ।

करको क्षेत्र व्यापक छ तर परिचालन हुन सकेको छैन । आयस्रोतको ठाउँ धेरै नै तर पहिचान हुन सकेको छैन । आयका स्रोत पहिचान गरी नगरपालिकाको राजस्व वृद्धि गर्न जनप्रतिनिधिका लागि विभिन्न किसिमका तालिम दिइएका छन् । सीमित वडाबाट कर संकलन हुने गरेकोमा अहिले लगभग सबै वडामा पुगेर संकलन गर्ने लक्ष्य लिएर अघि बढेका छौँ ।

जनप्रतिनिधि र कर्मचारीबीच आपसी सम्बन्ध बलियो बनाउन समय समयमा कार्यक्रम राखेका छौँ । ती कार्यक्रमबाट जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध बलियो हुन पुगेको छ ।

– भीमदत्त नगरपालिकामा नगरको समृद्धका लागि के–कस्ता ठूला आयोजना छन् ?
भीमदत्त नगरपालिका महाकाली नदीलाई बहुउपयोग गरी अगाडि बढ्दैछौँ । आफ्नो क्षेत्रको लागि नभएर महाकालीको सिँचाइले कैलालीसम्म पनि पुर्याउँछ । टनकपुरबाट उत्पादन भएको विद्युत् मुलुकलाई नै योगदान दिइरहेको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना रहेको छ । भारत र नेपालको समझदारीअनुसार केन्द्रीय कार्यालय भिमदत्त नगरपालिकामा राख्ने कुरा रहेको छ ।

त्यसको लागि जग्गा प्राप्त गर्न दिशामा हामी अगाडि बढेका छौँ । त्यसबाट उत्पादन हुने विद्युत्ले मुलुक नै समृद्ध बनाउँछ । महाकाली नदीलाई बहुउपयोगी लैजान सक्यो भने भीमदत्त मात्र नभएर प्रदेश–७ लाई पनि समृद्ध बनाउन सकिन्छ । सुदूरपश्चिम विश्वविद्यालय विकास गर्ने योजना हाम्रो रहेको छ । जुन गतिमा हुनुपर्ने हो त्यो भइसकेको छैन । आजको आवश्यकता दक्ष जनशक्तिका लागि प्राविधिक शिक्षा दिन आवश्यक रहेको छ ।

कञ्चनपुर अन्न भण्डार रहेको क्षेत्र हो । माटोको परीक्षण गरेर के उत्पादन हुन्छ भन्नेमा हामी लागेको छौँ । अब माटो सुहाउँदो कृषि उत्पादन गर्नुपर्नेछ । हामीले एक वडा एक पहिचान र उत्पादन भन्ने नाराका साथ काम अगाडि बढाएका छौँ । खास गरी व्यवसायिक कृषि अगाडि बढाउन खोजेका छौँ । पर्यटनको पनि आधार रहेको छ । महाकाली नदीमा पक्की पुल बन्नेबित्तिकै पश्चिमको मुख्य नाका हुन्छ नै ।

धार्मिक दृष्टिकोणले मानसरोवरमा जानका लागि पनि त्यो बाटो प्रयोग गर्नुछ । पूर्णागिरि दर्शन गर्नका लागि लाखौँ लाख भक्तजन आउँछन्, दर्शनार्थीहरूले सिद्धनाथको दर्शन नगरी नजाने भन्ने धार्मिक विश्वास छ । यी कुराको मात्र व्यवस्थापन गर्न सक्ने हो भने पनि पर्यटनमा धेरै काम गर्न सकिने छ । बाह्य, आन्तरिक पर्यटकलाई भित्र्याउन सकिन्छ । नैनताल हरिद्वार सहरसँग हामीले सम्बन्ध विस्तार गरी पर्यटक ल्याउन सक्दछौँ ।  शुक्लाफाँटा राष्टिय निकुञ्जमा एसियाको ठूलो घाँसे मैदान छ ।

जहाँ बाह्रसिंगे देखिन्छ । त्यहाँ आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । सुख्खा बन्दरगाह भीमदत्त नगरपालिकामा राख्ने भनेको छ । त्यसैगरी, वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्रको विकास गर्न सकिन्छ । मैले सबै स्थानीय तहलाई साझेदारीमा ठूला योजनाको काम गर्न लागि अनुरोध गरेको छु । कञ्चनपुरकै विकास लागि सहकार्य गर्नका लागि पब्लिक प्राइभेट पार्टनरसिप गर्नका लागि आग्रहसमेत गरेको छु ।

– तीन वर्षको विश्वबैंकबाट पूर्वाधार विकास कार्यक्रम अगाडि बढाउनुभएको छ । त्यो कार्यक्रम कहाँसम्म पुगेको छ ?
परामर्शदाता छनौट गरिएको छ । जसमा हामीले ३६ किलोमिटर बाटो बनाउनेछौँ । ढल, फोहरमैला व्यवस्थापन गर्दछौँ । एकीकृत बस्ती निर्माण गर्दछौँ । पछाडि पारिएका वर्ग, लिंग, समुदायलाई माथि ल्याउन लागि हामीले काम गर्दैछौँ । परामर्शदाताले रिपोर्ट बुझाएपछि २० वर्षमा भीमदत्त नगरपालिका कहाँ पुग्दछ भन्ने पनि थाहा हुन्छ । पाँच वर्षमा हामी प्रतिबद्धता अनुसारको काम पूरा गर्दछौँ ।

यो कार्यक्रमका लागि विभिन्न चरणमा छलफल गरिएका छन् । फोहरमैला व्यवस्थापनका लागि निर्माण हुने अन्तिम विसर्जन केन्द्रका अनुभव आदानप्रदानका लागि स्थानीय समुदायसहित भ्रमण गरिएको छ । यसबाट उपलब्धि हुने आशा राखिएको छ । यो आयोजनाका कार्यान्वयन इकाई कार्यालय स्थापना गरी काम अघि बढाइएको छ ।

– भीमदत्तलाई धार्मिक र पर्यटनसँग कसरी जोड्नु भएको छ ?
नेपालकै चौथो धाम भम्केनीमा धाममा ७५ फिटको नेपाल माताको मूर्ति बन्दैछ । नपाको उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग निर्माणको योजना अघि सारेका छौँ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि ब्रम्हदेवमा सिद्धनाथ बाबाको दर्शन गर्न आउने दर्शनार्थीमा ५ हजार जनालाई रौटेला पुर्याउने योजना छ ।

रैटेलामा वैजनाथ मन्दिर, बाह्राकुण्डाका १२ कुण्ड र त्यसमा जल भर्ने काम गरिएको छ । त्यो बीचमा पिकनिक बनाउँछौँ । त्यसपछि हामी खन्याखोलामा लान्छौँ । त्यहाँबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । भम्केनी धामदेखि ताराकोटसम्म पदयात्राको रूपमा विकास गर्न गइरहेका छौँ । झिलमिला तालसम्म पुग्नका लागि लागि पदमार्ग बनाउँछौँ । खल्ला मुसेट्टीमा रहेको प्राचीन मन्दिरमा दर्शन गराउँछौँ ।

त्रिशुली र कौवानीको छेउमा महाकाली नदी बग्ने गर्छ । त्यहाँ कुनै पनि आवाज आउँदैन । महाकाली शान्त भएर बग्छ । यो मनोरम दृष्य अलौकिक लाग्छ । यहाँसम्म पर्यटक पुर्याउन पहल गरिरहेका छौँ । महाकाली नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ) का लागि सम्भाव्यता अध्ययन गरेका छौँ । दुई देशको सीमा नदी भएकाले भारतसित यसबारे कुराकानी गरी अघि बढाउने सोच बनाएका छौँ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा हात्ती सवार गराएर पर्यटकलाई राना होमस्टे लैजाने योजना बनाएका छौँ । झोलुंगे पुल नजिक पिकनिक स्थल र उद्यान बनाउन गुरूयोजना बनाएर बजेट विनियोजन गरिएको छ । यस वर्ष यसको काम सुरु हुन्छ । पर्यटनका निम्ति तमाम सम्भावना रहेका छन् । पर्यटन प्रचारप्रसार र भौतिक निर्माणको काम पनि अगाडि बढाएका छौँ । यसलाई निरन्तरता दिएर जान्छौँ ।

– भीमदत्तमा अव्यवस्थित बसोवासी र सुकुम्वासीका पनि समस्या छन्, त्यस्ता समस्या समाधानका लागि के कस्ता कार्य गरिएका छन् ?
हामी निर्वाचनमा जाँदा स्थानीय, प्रदेश, संघ र अन्तर्राष्ट्रिय एजेन्डा बोकेका थियौँ । नेपालीलाई जमिनको मालिक बनाउने कुरा रहेको छ । प्रदेश सरकारले कानुन बनाउनुपर्यो । त्यो कानुनअनुसार आयोग बनाउने हो भने स्थानीय सरकारले काम अगाडि बढाउँछ ।

– सरकारले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा यहाँको नगरपालिकाले कस्तो भूमिका खेल्न सक्छ ?
त्रिदेशीय नाका, महाकाली करिडोर खोलेर चाइनासँग सम्बन्ध बढाउने हो भने त्यसले स्वभाविक रूपमा नेपाललाई समृद्ध नेपाल बनाउँछ । सुख्खा बन्दरगाह बनाएर भारतसँग जोड्ने हो भने पनि मुलुक बन्दछ । महाकाली नदीको पक्की पुलको रूपमा निर्माण गरेपछि यसले देशको विकासमा महत्वपूर्ण हुन्छ ।

पूर्व–पश्चिम रेलमार्गका लागि छिटो समयमा पूरा गर्यो भने विश्वविद्यालयमा प्राविधिक शिक्षा, महाकाली अञ्चल अस्पतालको स्तरोन्नति, भूमिहीनलाई लालपुर्जा दिएर, भू–उपयोग नीतिका लागि बस्तीको विकास भई समृद्ध र सुखी नेपाल बन्छ । बजेटले मात्र होइन । संघ र प्रदेश सरकारले सहयोग गर्यो भने समृद्ध बनाउन हामी तयार छौँ ।

कतिपय राष्ट्रिय योजना र परियोजनालाई समयमा सम्पन्न गर्नका लागि प्रयाप्त बजेट दिनुपर्दछ । अर्को कुरा सिंहदरबारको अधिकार गाउँ–गाउँमा आयो भन्याैँ तर कुनै न कुनै हिसाबमा सिंहदरबारको अधिकार त्यही नै रहेको छ । त्यसैले यो अभियानमा कहीँ न कहीँ बाधा रहेको छ ।

– त्रिदेशीय जक्सन बनाउन कतिको सम्भव छ ?
यो सम्भव छ । महाकाली करिडोर राष्ट्रिय परियोजना हो । महाकाली लोकमार्ग निर्माण तीव्र गतिमा बढेको छ । ब्रह्मदेव टिंकरसम्म बन्ने यो मार्ग निर्माण भए त्रिदेशीय नाका बन्छ । चुरे वन क्षेत्र भएकोले काममा बाधा भएको हो । तीन वर्षअघि ठेक्कापट्टा भएको थियो । तर, काम नभएकोले पुनः बजेट हालिएन ।

हिन्दू धर्म मान्ने सबैको एकपटक मानसरोवर पुग्ने इच्छा हुन्छ । भारतका पर्यटक नेपालगञ्जमा लामबद्ध भएर बसेका हुन्छन् । त्यसैले, मैले त्यो नाकाको विकास देख्दैछु । भारतसँग पक्की पुल र बाटो जोड्नेबित्तिकै त्रिदेशीय नाका हुन्छ । दिल्ली, देहरादुन, नैनताल हरिद्वार जाने बाटो नै महाकाली पुलबाट भएकोले भारतसँगको सम्बन्ध जोड्नलाई सजिलो हुन्छ ।

–अब बाँकी ४ वर्षमा के–कस्ता योजान छन् ?
सबै काम योजनाबद्ध रूपमा गरिरहेका छौँ । कतिपय काम एक वर्ष, २ देखि ५ वर्षसम्म सकाउँछौँ । र कतिपय कामको आधार तयार गरेर जान्छौँ । २० वर्षको आधार तयार गर्दछौँ । त्रिदेशीय नाकाको रूपमा विकास गर्नका लागि प्रदेश र संघ सरकारलाई आग्रह गरिरहेका छौँ । आफ्नो स्रोत र साधन र जनताको सहभागिताले हामी सबै क्षेत्रमा काम गरेर अगाडि बढ्छौँ । भीमदत्त नगरपालिकालाई नमुना नगरपालिका बन्दछ ।

आर्थिक समृद्धको सहर बनाउनेमा हामी अगाडि बढ्दछौँ । सबै क्षेत्रको सन्तुलित विकास गर्दछौँ । यो नगरपालिका बन्यो भने नै ७ नम्बर प्रदेशको विकास हुन्छ । ७ नम्बर बलियो भयो भने नेपाल बलियो हुन्छ । त्यस कारण हामीसँग भएको प्राकृतिक स्रोत साधन प्रयोग गरेर नगरपालिकालाई नमुना नगरपालिका बनाउछौँ ।  प्रस्तुत  शरद शर्मा

प्रतिक्रिया