अन्तर्वार्ता

सूर्योदय देशकै नमुना नगरपालिका बन्नेछ

सौर्य अनलाइन २०७५ साउन ११ गते १०:१९ मा प्रकाशित

१४ असार ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेम चाम्लिङलाई पराजित गर्दै रणबहादुर राई नगरप्रमुखमा निर्वाचित भएका हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि राई आफ्नो नगरलाई देशकै एक नमुना नगर बनाउने उद्घोषका साथ विभिन्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छन् । प्रस्तुत छ, प्रमुख राईसँग सौर्यकर्मी राम योङहाङले गरेको कुराकानीको सम्पादित अंश ः

भर्खरै तेस्रो नगरसभा सम्पन्न गर्नुभयो । कस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुभएको छ ?
हामीले यसवर्ष आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेका छौँ । खासगरी पूर्वाधार विकासअन्तर्गत सडकलाई विशेष प्राथमिकतामा राखेका छौँ । केही दीर्घकालीन र धेरैजसो अल्पकालीन योजनाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ ।

त्यसपछि कृषि विकास, पर्यटन विकास, शैक्षिक क्षेत्रको सुधार, स्वास्थ्य सेवा तथा सुविधाको व्यवस्था, विद्युतीकरण, खानेपानी तथा सरसफाईजस्ता विषयलाई पनि क्रमशः प्राथमिकतामा राखेका छौँ । सूर्योदय नगरपालिकामा १४ वडा छन् । त्यहाँ धेरै सडक छन् । यसवर्ष ‘एक वडा, एक अलवेदर रोड’ बनाउँदै छौँ । कृषिमा प्रशस्त बजेट विनियोजन गरेका छौँ ।

शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, विद्युत्लाई प्राथमिकतामा राखेका छौँ । चार वर्षभित्र यहाँका सबै काठका पोल विस्थापित गरी फलामे पोल राख्ने तयारीमा छौँ । जेष्ठ नागरिक, युवा, महिला, आदिवासी जनजाति, दलित, अल्पसंख्यक, लोपोन्मुख लगायतलाई विशेष जोड दिई नीति तथा कार्यक्रम बनाएका छौँ ।

सूर्योदय नगरपालिकालाई समृद्ध बनाउन के कस्ता दीर्घकालीन र अल्पकालीन योजना बनाउनुभएको छ ?
समग्रमा भन्दा यसवर्ष हामीले पूर्वाधारलाई विशेष जोड दिएका छौँ । त्यसमा पनि दीर्घकालीन र अल्पकालीन गरेर दुई भागमा विभाजन गरेका छौँ । फिक्कल बजारमा बाक्लो सहरीकरणका कारण राजमार्ग साँघुरिँदै गएको छ । तसर्थ विकल्पको बाटोका निम्ति यसवर्षदेखि सहर विकास मन्त्रालयसँग साझेदार गरी काम अगाडि बढाउँदै छौँ ।

त्यसैगरी सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर बनाउनका निम्ति छब्बिसेदेखि छिरुवा पक्की सडक बनाउनका निम्ति बजेट विनियोजन गरिएको छ। त्यो पनि सहरी विकास मन्त्रालयसँग साझेदारीमा सञ्चालन गर्दै छौँ । अर्को दीर्घकालीन योजनामा पशुपतिनगर बसपार्कलाई राखेका छौँ । त्यसको तत्काल टेन्डर आह्वान हुँदै छ ।

त्यसैगरी सेनेटरी ल्यान्ड फिल्ड साइड झन् नगरपालिकलाका लागि अति आवश्यक हो । त्यसका लागि पनि बजेट विनियोजन गरेका छौँ । अर्को तीनघरेदेखि लक्ष्मीपुरसम्म वडा नम्बर १३ र १४ जोड्ने सडक छ । त्यसलाई पनि दीर्घकालीन योजनाको सूचीमा राखेर अगाडि बढेका छौँ । मुख्यगरी यी पाँच वटा ठूला खालका आयोजनाहरू यसैवर्षदेखि सञ्चालन हुँदै छन् भने अल्पकालीन योजनाअन्तर्गत ससाना योजनाहरू त सयौँ सञ्चालन भइरहेका छन् ।

सूर्योदय नगरवासी अधिकांश कृषिमा आत्मनिर्भर छन् । कृषि र पशुका क्षेत्रमा केकस्ता योजना बनाउनुभयो ?
कृषि र पशुका क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको छ । पशुका क्षेत्रमा गोठ सुधार कार्यक्रमदेखि नश्ल सुधारसम्मका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । कृषकहरूका निम्ति माटोको परीक्षण गरेर कुन माटोमा कुन प्रकारका बाली लगाउँदा राम्रो हुन्छ ? चियालाई कसरी गुणस्तरीय बनाई विश्वमा पु¥याउन सकिन्छ ? त्यसको अध्ययन, अनुसन्धान गर्न, प्राविधिक उत्पादन गर्न र त्योसँग टेस्टिङ गर्नका निम्ति हामीले बजेट निर्माण गरेका छौँ ।

तपाईंको नगरपालिकालाई धार्मिक र पर्यटनसँग कसरी जोड्नुभएको छ ?
सूर्योदय नगरपालिका पर्यटकीय नगरपालिका हो । प्रदेश–१ को आव ०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट भाषणमा ४४ नगरपालिकामध्ये सूर्योदय नगरपालिका एक्लो नगरपालिका हो जसलाई पर्यटकीय नगरी भनेर घोषणा गरिएको छ । हामी भाग्यमानी नगरपालिकाभित्र परेका छौँ ।

नगरलाई एक पर्यटकीय क्षेत्र बनाउन एकीकृत गुरुयोजना निर्माण गरी अगाडि बढ्दै छौँ । पर्यटकीय नगरी बनाउनका लागि पर्यटकीय क्षेत्रहरूको पहिचान गरी विभिन्न कार्यक्रम तर्जुमा गरेका छौँ । यहाँ १ नम्बर वडामा चित्रे भन्ने ठाउँ छ । जुन निकै पुरानो गुम्बा हो । तर, यहाँबाट धेरै टाढा भएका हुनाले धेरै मान्छेहरू पहुँचमा थिएनन् ।

त्यसलाई चिनाउने र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न हामी लागिपरेका छौँ । यस नगरभित्र धेरै मठमन्दिरहरू छन् । त्यसलाई चिनाउने धेरै कार्यक्रमहरू ल्याएका छौँ । त्यसैगरी आदिवासी जनजातिहरूले मान्ने विभिन्न मन्दिरहरू छन् । त्यसलाई संरक्षणका लागि कार्यक्रम बनाएका छौँ ।

विश्वकै अतिलोपोन्मुख लेप्चाहरूको धार्मिक स्थान, ऐतिहासिक बसोवासका क्षेत्र, उनीहरूका राजारानी बस्ने ठाउँ भनेर चिनिने धेरै ऐतिहासिक धार्मिक क्षेत्रहरू छन् । तिनीहरूको संरक्षण मात्र होइन, धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिपरेका छौँ ।
यहाँको कन्याम नेपालकै पर्यटकीय क्षेत्रहरूमध्ये एक हो । जहाँ स्वदेश तथा विदेशका गरी बर्सेनि हजारौँ पर्यटकहरू आउने गर्दछन् । यसलाई अझ बढी पर्यटनको आकर्षणको रूपमा विकास गर्न कुनै योजना बनाउनुभएको छ ?
हामी जब निर्वाचित भएर आयौँ । यस क्षेत्रलाई अझ बढी पर्यटकहरूको आकर्षणको केन्द्र बनाउनका लागि बाटोघाटो फराकिलो बनाउनुपर्छ भन्ने सोच्यौ । जसअन्तर्गत कन्याम र आसपासका बाटोको चौडा बढाउनुपर्छ भनेर १५÷१५ मिटरे बाटोको अवधारणा अगाडि बढायौँ । अघिल्लो वर्ष हामीले १५÷१५ मिटरको सीमा कोर्ने कामसम्म गर्न सक्यौँ । केही ठाउँमा त १५÷१५ मिटर सडक बनाइसकेका पनि छौँ । १५÷१५ मिटर भत्काउने र सीमा निर्धारण गर्ने कामचाहिँ सकेका छौँ ।

तर, अब केही दिनपछि त्यसलाई पूरा गर्न काम सुरु गर्नेछौँ । त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको छ । साथै कन्याम क्षेत्रमा मानिसहरू पैदल हिँड्ने ट्रयाक बनाउने, चौतारा बनाउने, सार्वजनिक शौचालय बनाउने तथा कन्यामलाई थप व्यवस्थित गर्ने तथा अझ सुन्दर बनाउने कामका लागि गुरुयोजना बनिसकेको छ । त्यसैको मातहतमा रहेर काम अगाडि बढाउनेछौँ ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत लक्षित वर्गका लागि केकस्ता नीति तथा कार्यक्रम बनाउनुभयो ?
लक्षित वर्गलाई शिक्षित बनाउने र समाजमा व्याप्त असमानता अन्त्य गर्ने तथा उनीहरूलाई सामाजिक मूलप्रवाहीकरणमा ल्याउन विभिन्न कार्यक्रम ल्याएका छौँ । जस्तै: आर्थिक अवस्थाका कारण कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न नसकेका यहाँका महिला, दलित, आदिवासी जनजाति, अपांग तथा उत्पीडितहरूलाई लक्षित गरी कम्तीमा २५ जनालाई उच्च शिक्षा (स्नातक तह) अध्ययनका लागि नगरपालिकाकाले छात्रवृत्तिको कार्यक्रम ल्याएको छ ।

त्यसका लागि बजेटको व्यवस्था गरिएको छ । यो कार्यक्रमका लागि नजिकै करफोक बहुमुखी क्याम्पस छनोट गरिएको छ । यो वर्ष २५ जना, अर्को वर्ष २५ थपेर ५० जना हुँदै ४ वर्षमा सय जनालाई छात्रवृत्तिको व्यवस्था गरिनेछ । त्यसैगरी लक्षित समूहको सशक्तीकरणका अन्य कार्यक्रमका लागिसमेत बजेट विनियोजन गरिएको छ ।

यहाँ लक्षित समूहका थुप्रै संस्थाहरू छन् । उहाँहरूसँग नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि नै छलफल गरेर उहाँहरूको आवश्यकता, माग र सुझावलाई समेटेर नीति तथा कार्यक्रम र बजेट बनाएको हुनाले सबैलाई समेटेका छौँ ।

सञ्चार क्षेत्रको प्रवद्र्धनका कस्तो नीति बनाउनुभएको छ ?
सञ्चार राज्यको चौथो आँखा हो । तसर्थ, हामीले गरेको कार्यक्रमलाई देशव्यापी बनाउने र सरकारको काम जनतासम्म पु¥याउने तथा जनताको पहुँच सरकारसम्म ल्याउने, हाम्रो पहुँच प्रदेश र संघीय सरकारसम्म पु¥याउने माध्यम भएको हुनाले हामीले सञ्चार क्षेत्रसँग मिलेर जाने नीति लिएका छौँ । सञ्चार क्षेत्र प्रवद्र्धनका लागि बजेटको समेत व्यवस्था गरेका छौँ ।
तपार्इं नगरप्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पूरा भयो । यो अवधिमा के के उपलब्धि हासिल गर्नुभयो ?
एक वर्षमा हामीले विकासको प्लेटफर्म अथवा ट्रयाक बनाउने काम गरेका छौँ । हामी जनप्रतिनिधि भएर आउँदा यहाँ कार्यालयहरू थिएनन् । १४ वटा वडा त थिए तर कार्यालय थिएनन् । त्यसलाई स्थापित गर्ने काम गर्यौ । त्यसपछि कर्मचारीको व्यवस्थापन केही हदसम्म गरियो । हामी समृद्ध सूर्योदय नगरपालिका र भ्रष्टाचारमा शून्य शहनशीलताका कुरा हामी गर्दथ्यौँ ।

त्यसैका मुख्य आधार भनेको विद्युतीय सरकारमार्फत अगाडि बढ्नुपर्छ भनेर १४ वटै वडामा इन्टरनेटको पहँच पुर्यायौँ । कामकाज कम्प्युटराइज्ड प्रविधिमा सुरु गरेका छौँ । विद्युतीकरण त्यति भरपर्दो थिएन । सबै कार्यालयमा ब्याकअपसहित सोलार सिस्टम जडान गरी चौविसै घण्टा इन्टरनेट र कम्प्युटर सञ्चालन हुनसक्ने व्यवस्थापन गर्यौँ ।

स्थानीय तहलाई कानुन बनाउन दिने संविधान प्रदत्त अधिकारलाई प्रयोग गरी कानुनको निर्माण गरेका छौँ । हालसम्म विभिन्न ऐन, विनियम, कार्यविधि तथा नियमावली गरी ११ वटा ऐन तथा विभिन्न कार्यविधिसमेत गरी ४७ वटा कानुन बनाइसकेका छौँ। अर्को हामीले नेपालमै पहिलोपटक बायोमेट्रिक हाजिरीको सुरुआत गर्याैं । गतवर्ष चार वटा सामुदायिक विद्यालयमा परीक्षणका रूपमा सुरु गरेका थियो ।

यो साल २६ वटा विद्यालयमा सुरु हुँदै छ । त्यसका लागि शैक्षिक सुधार भनेर बजेट विनियोजन गरिएको छ । गतवर्षको अनुभवले हामीलाई निकै हौसला दिएको छ । यो प्रणाली लागू भएपछि शिक्षकहरूको नियमितता, पढाइमा नियमितता भएपछि विद्यार्थी संख्यामा वृद्धि, खेताला शिक्षकको अन्त्य भएको छ । समग्रमा शैक्षिक स्थितिमा नै सुधार भएको पाइएको छ ।
त्यसैगरी यो सूर्योदय नगरपालिका चियाको पनि राजधानी हो । ६० प्रतिशत किसान चियामा संलग्न छन् । त्यसैले चियामा सुधार गर्नुपर्ने थियो । चिया किसानले सही चियाको मूल्य पाउनु पर्दथ्यो । रातारात चियाको मूल्यमा गिरावट आउने गर्दथ्यो । अघिल्लो दिन ८० रुपैयाँ प्रतिकिलो चिया बिक्री भएको चियो भोलिपल्ट २०÷२५ रुपैयाँमा झर्दथ्यो । त्यहाँ पनि एउटा सिन्टिकेट थियो । त्यसलाई तोड्ने काम गरेका छौँ ।

हरियो चियापत्तीको न्यूनतम मूल्य निर्धारण गरेका छौँ । गुणस्तरीय चियाको मूल्य निर्धारण भएपछि किसानले उत्पादन गर्ने चियाको गुणस्तरमासमेत वृद्धि भयो । गुणस्तरीय भएपछि मूल्य पनि बढी नै पाउने भयो । यसले समग्र चिया किसानलाई उत्साहित बनाएको छ । त्यस्तै नगरपालिकाको पाश्र्वचित्र निर्माणको काम अन्तिम चरणमा पुर्याएका छौँ । २ सय ५६ वटा प्रश्नसहित घुरधुरी सर्वेक्षण गरेर नगर प्रोफाइल बन्दै छ ।

नगर प्रोफाइल बनिसेपछि थप हामीलाई आगामी नीति तथा कार्यक्रम बनाउन र बजेटिङ गर्नमा सहजता आउनेछ ।  त्यसैगरी भर्खरै मात्र निषेधित विषादीमुक्त नगर घोषणा गरिएको छ । यसमा जनता सडकमा उत्रिएर साथ दिनुभयो । सार्वजनिक शपथ ग्रहण गर्नुभयो । अबदेखि कहीँ पनि निषेधित विषादी प्रयोग गरिनेछैन ।

यो एक वर्षे अवधिका काम गर्दा चुनौती पनि देखियो होला ? केकस्तो चुनौती झेल्नुभयो ?
मैले कुनै पनि काम गर्नुअगाडि साथीहरूसँग छलफल गरेर, विज्ञहरूसँग छलफल गरेर, त्यसको इतिहास हेरेर, त्यरालाई अध्ययन गरेर मात्र काम गर्ने हुनाले त्यस्तो धेरै ठूलो चुनौती खेप्नु परेन । एउटाचाहिँ कन्याममा सडक विस्तारको चुनौती थियो । त्यो पनि हल भयो । अदालतबाट नै दायाँबायाँ १५ मिटरभन्दा नबढ्ने गरी काम गर्नु भन्ने आदेश जारी भएपछि त्यहाँ पनि सफल भइयो ।

यो अवधिमा चुनावमा गरेका प्रतिवद्धताहरू चाहिँ कति पूरा गर्नुभयो ?
हामी निर्वाचित भइसेकपछि ‘गुनासो चौतारी’ नामको कार्यक्रम लिएर मतदातामाझ पुग्यौँ । हामी जहाँजहाँ भोट माग्न गएका थियौँ, त्यहाँ त्यहाँ गुनासो सुन्दै गयौँ । जनताको माग के थियो, अहिलेसम्म केके पूरा भए र के बाँकी छ भनेर जनताबीचमा छलफल गर्यौँ । उहाँहरू खुसी हुनुहुन्थ्यो । हाम्रो यति हल भयो, यति बाँकी छ कार्यकालभरी पूरा गर्नुहोला भन्नुभयो ।
यसरी हेर्दा र उहाँहरूको कुरा सुन्दा धेरै आधारभूत आवश्यकता पूरा गरिएछ । जस्तै, विद्युत्, खानेपानीका समस्या समाधान गरेका छौँ । त्यसैगरी दैनिक जनजीविकासँग सम्बन्धित समस्याहरू हल गरिसकेका छौँ । अब केही दीर्घकालीन खालका योजनाहरू सञ्चालनका क्रममा छौँ । मेरो कार्यकालभरीमा मेरा सबै प्रतिवद्धताहरू पूरा गर्नेछु ।

जनप्रतिनिधि र कर्मचारी स्थानीय सरकारका दुई महत्वपूर्ण खम्बा हुन् । ती दुवै पक्षबीच कस्तो सम्बन्ध रह्यो त ?
सूर्योदय नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध एकदम राम्रो रह्यो । र, अहिले पनि राम्रो छ । हामी एक ढिक्का भएर काम अगाडि बढाइरहेका छौँ । कर्मचारीबाट सहयोग एकदम राम्रो छ ।

प्रतिपक्षी दलहरूसँगको समन्वय र सहयोग कस्तो छ ?
प्रतिपक्षीसँग कुरा गरिन्छ थोरै । आवश्यकता पर्दा कुरा गर्ने हो, नत्र मेरोचाहिँ धेरै कुरा हुँदैनन् । उहाँहरूले पनि सहयोग नै गरिरहनुभएको छ । बजेटिङ अगाडि डेलिकेसनमा आउनुभएको थियो । उहाँहरूले तपार्इंलाइै साथ दिन्छौ राम्ररी काम गर्नुहोला भन्नुभयो । मैले उहाँहरूलाई धन्यवाद दिए ।

तपार्इंहरूले राजनीतिक पूर्वाग्रह गरेर मात्र काम गर्नुहुन्छ भन्ने गुनासो छ नि ?
खोई थाहा छैन । त्यस्तो मलाई भन्नुहुन्न । मसँग चार जना वडाध्यक्षहरू भिन्न दलबाट निर्वाचित हुनुहुन्छ । उहाँहरूले सञ्चारमाध्यमबाटै भनिसक्नुभएको छ कि हामीलाई यो पार्टी वा ऊ पार्टी भनेर थाहा पनि हुँदैन । सबैलाई समान व्यवहार छ । मेरो काम गराइमा कसैलाई तलमाथि पार्ने बानी छैन । सबै कुरा समानताका आधारमा गर्दछु । त्यसैले कसैले कुनै गुनासो राख्नुभएको छैन ।

न्यायिक समितिको अवस्था कस्तो छ ?
न्यायिक समिति क्रियाशील छ । कानुनअनुसार हाम्रो उपप्रमुखको संयोजकत्वमा न्यायिक समति गठन भएको छ । तर, त्यसका लागि आवश्यक कर्मचारी तथा सामग्रीको व्यवस्थापन भने हुन बाँकी नै छ । व्यवस्थापन गर्न सकिरहेका छैनौँ । त्यसकारण मेलमिलापमार्फत विवादहरू समाधान भइरहेका छन् ।

अब नयाँ भवन निर्माण भइसकेपछि कानुनसम्बन्धी कर्मचारीको व्यवस्थापन गरिनेछ । जसरी अदालतमा जुन प्रक्रिया छन्, त्यस्तै प्रक्रियामार्फत जानुपर्ने भएका हुनाले व्यवस्थित नभएसम्म मेलमिलापको माध्यमबाट समस्याहरू समाधान भइरहेको छ । पछि व्यवस्थित गरिसेपछिचाहिँ स्थानीय अदालतकै माध्यमबाट विवादहरू निरुपण हुनेछन् ।

तपार्इंको नगरपालिकामा विपन्न तथा घरबारविहीन मानिसहरू पनि छन् । उनीहरूलाई व्यवस्थापनका लागि कस्ता नीति बनाउनुभएको छ ?
फुस्कोको छानो भएका घर र प्लास्टिकका छानो भएका घर भएका मानिसहरूलाई नगरपालिकाले जस्तापातासहितको घर बनाइदिनेछ । यही वर्षभित्र त्यस्ता घरहरू पूर्ण रूपमा विस्थापित भई नयाँ जस्तापाताको छानो भएको घर नगरपालिकाले नै निर्माण गरिदिनेछ ।

अब बाँकी चार वर्षमा सूर्योदय नगरपालिकालाई समृद्ध बनाउन तपाईंले गर्ने के कस्ता योजना छन् ?
पर्यटन विकासमार्फत हामी धेरै कुरा गर्छाैं । हामीले एकीकृत गुरुयोजना निर्माण गर्दैछौं । जब एकीकृत गुरुयोजना बनिसक्छ, एकीकृत गुरुयोजना बनिसकेपछि हामी त्यो एकीकृत गुरुयोजनामा जेजे कायक्रम आउँछ, त्यसमा मात्र बजेटिङ गर्छौं । बाहिर गर्दैनौँ ।

कसैलाई, कुनै एक व्यक्ति वा पार्टीलाई खुसी पार्नका निम्ति हामी बजेट विनियोजन गर्दनौँ । हाम्रो एकीकृत गुरुयोजनाले जे मार्गनिर्देश गर्छ त्यसअनुसार जान्छाैँ । यसरी गर्न सकेको खण्डमा सूर्योदय नगरपालिका देशकै एक नमुना नगरपालिका बन्छ । सम्भावना नै सम्भावना भएको नगरपालिका हो, सूर्योदय । सूर्योदय नगरपालिका नेपालको नमुना नगरपालिका बनाउनुपर्छ भनेर लागेका छौँ ।

त्यसका लागि सबैभन्दा पहिले आधारभूत आवश्यकताहरू पूर्ति गर्ने, सुशासन प्रवद्र्धनमा जोड दिने, शिक्षा र सास्थ्यमा ध्यान दिने र जनताले स्थानीय सरकारमार्फत पाएका अधिकारहरू वास्तविक रूपमा जनतामा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै सुुसूचित गर्ने योजनामा छौँ ।

तपाईंको कार्यकालमा सूर्योदय नगरपालिका कस्तो बन्ने सपना देख्नुभएको छ ?
सूर्योदय नगरपालिकाले विकासको चरण पूरा गरेको हुनेछ । जनताका सबै आधारभूत आवश्यकताहरू पूरा हुनेछन् । जनताको मुहार हँसिलोपन भएको नगर बन्नेछ । सूर्योदय नगरवासीले गर्वका साथ म सूर्योदय नगरपालिकाको नागरिक हुँ भन्ने महसुस गर्नेछन् । सूर्योदय नगरपालिका नेपालकै एक नमुना नगरपालिका बन्नेछ । यसका लागि मलगायत सिंगो टिम लागिरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय