अन्तर्वार्ता

कृषि र सडक प्राथमिकतामा

सौर्य अनलाइन २०७५ साउन १६ गते ११:११ मा प्रकाशित

गोरखबहादुर चन्दको ०२५ सालमा साविकको कुलाउँ गाविस र हालको पञ्चेश्वर गाउँपालिका–२ मा जन्मेका हुन् । शिक्षा शास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरिसकेका उनले ०४६ सालदेखि ०७३ शिक्षण पेसा गरेका थिए । दुई वर्ष शिक्षक संगठनको जिल्ला अध्यक्ष एक वर्ष शिक्षक संगठनकै केन्द्रीय सदस्य र एक कार्यकाल शिक्षक युनियन बैतडीका अध्यक्षसमेत रहे । ०६२÷६३ को जनआन्दोलनको नेतृत्व गरेबापत केही दिन थुनामा बसेका उनले शिक्षा क्षेत्रमा उत्कृष्ट गरेबापत् राष्ट्रिय शिक्षा पुरस्कार पाएका उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पञ्चेश्वर गाउँपालिकामा बहुमतले अध्यक्षमा विजयी भएका हुन् ।

एक वर्षको कार्यकालमा के–के गर्नुभयो ?
हिजो निर्वाचनको समयमा जे बोलेँ र घोषणा पत्रमा जे लेखेको थिएँ र जो रोडम्याप बनाएका थियौँ त्यसैअनुसार काम गरिरहेका छौँँ भने केही नयाँ काम पनि गरेका छाैँ ।

पञ्चेश्वर गाउँपालिका जिल्ला केन्द्रबाट दुर्गम रहेको गाउँपालिका हो सडक विद्युत्बाट टाढा रहेको गाउँपालिका हो । त्यसैले, हामीले योजना बनाएर पहिलो प्राथमिकता सडकलाई दियौँ दोस्रो कृषि शिक्षा स्वास्थ्यलाई दिएका थियौँ ।

त्यस अनुरूप नै एक वर्षको कार्यकालमा लगभग ८० देखि ९० किमि सडक बनाएका छाैँ र साविकका ६ गाविस मिलेर बनेको गापामा केही छुट वडाबाहेक सबै वडामा सडक पुर्याएका छौँँ । र, बाँकी यसवर्ष पुर्याउँछाैँ ।

युवा स्वरोजगारमा पनि हामीले ८० देखि ९० जना युवालाई व्यावसायिक तालिम दिई बाख्रापालन, तरकारी खेती, कुखुरापालन, मौरीपालनमा अनुदान दिएका छौँँ । यसबाट केही बेरोजगारी हटाएका छाैँ भने दुई वटा प्राविधिक स्कुललाई प्राथमिकता दिएका थियौँ । एक वर्षको दौरानमा गर्न नसकेका काम यसवर्ष गर्नेछौँँ र यसवर्ष केही नयाँ कुराको पनि थालनी गर्नेछाैँ ।

के युवाहरूले तपाईंले दिएको अनुदानको सही सदुपयोग गर्लान् र ?
हो, हामीले विगतबाट पनि केही पाठ सिकेका छाैँ, विगतका दिनमा तालिम मात्रै दिइन्थ्यो हामीले त्यसलाई कार्यान्वयन गर्नको लागि अनुदान पनि दिएका छौँ । अनुदान पनि दुई किस्तामा दिएका छौँ भने पहिलो किस्ता दिइसकेका छौँ र यसबाट उनीहरूले सुरुआत गरिसकेका छन् ।

दोस्रो किस्ता हामीले उनीहरूको कामको अनुगमन गरिसकेपछि भुक्तानी गर्छौं यसमा हामीले केही सर्त राखेका छौँ त्यस सर्तलाई पूरा गर्नेले मात्र दोस्रो किस्ताको भुक्तानी पाउँछ, हामीले अनुगमनको पाटोलाई विशेष जोड दिएका छौँ । काम नगर्नेलाई कारबाही गर्छौं र असुल उपर गर्छौं । हिजोको जस्तै बेवारिसे छोड्दैनाैँ यसबाट हामीलाई सही सदुपयोग हुन्छ भन्ने पूर्ण विश्वास छ ।

निर्वाचनको समयमा बोलेका कुरा र घोषणा पत्रमा उल्लेख गरेका कुरा एक वर्षको दौरानमा कति पूरा गर्नुभयो ?
धेरै पूरा गरेका छौँ । मैले निर्वाचनको वेला जनतासँग भनेको छु एकप्रति घोषणा पत्र राखिराख्नु र मैले जितेपछि पूरा गरेका कुराहरू टिक लगाउँदै जानु भनेर, अहिले पनि त्यहि भनिरहेको छु । एक वर्ष अगाडि प्रचारमा हिँडेर जान्थे र जनतालाई भनेको थिएँ अर्कोपटक सडक पुग्छ र गाडीमा आउँछु भनेको थिएँ अहिले सबै ठाउँमा सडक पुगेको छ र नपुगेको ठाउँमा पुग्ने क्रममा छ ।

खानेपानी पुगेको छ । स्वास्थ्यको कुरा गरेको थिएँ यहाँका धेरैजसो जनता ठूला अस्पताल जान सक्दैनन् त्यसको लागि मैले निःशुल्क दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेँ । त्यसमा नेपालगञ्ज मेडिकल कलेजसँग समन्वय गरेर एमबिबिएस डाक्टरमार्फत निःशुल्क चेकजाँच गराई औषधि उपचारको व्यवस्था मिलाएँ, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नागरिकता, अपांग परिचयपत्रजस्ता शिविर सञ्चालन गरेँ र एक वर्षको दौरानमा आफ्नो लक्ष्यअनुसार हिँडिरहेको छु ।

सडकलाई नै बढी महत्व दिनुको कारण के हो ?
किनकी सडक भनेको विकासको महत्वपूर्ण पूर्वाधार हो । सडकको पहुँचविना जनतालाई कति दुःख हुन्छ हामीले भोगिसकेका छौँ । र सडकविना अन्य विकासका पूर्वाधारहरू पनि गर्न समस्या हुने भएकाले हामीले सडकलाई पहिलो प्राथमिकता दिएका हौँ ।

गाउँपालिकाको जनता महाकाली नदीमा जोखिमपूर्ण यात्रा गरी भारत गई सामान ल्याउँछन्, त्यो जोखिमपूर्ण यात्रा हटाउन के गरिरहनुभएको छ ?
यसका लागि मेरो घोषणापत्रमा महाकाली नदीमा झोलुंगे पुल बन्नेछ भनेको छु । त्यसअनुरूप गतवर्ष ठेक्का पनि भइसकेको थियो । धेरै समस्या कहाँनेर छ भने दुई देशको सिमाना भएर पनि हामीले भनेअनुसार तुरुन्तै हुँदैन यसमा भारतको पनि सहमति चाहिन्छ । हामीले तोकेको ठाउँ पञ्चेश्वर परियोजनाको डुबानमा पर्ने हुँदा भारतले त्यो अस्वीकार गरेको थियो ।

त्यसपछि म आफैँ परराष्ट्र मन्त्रालय र डोलीडारको कार्यालयमा गएर त्यसलाई सच्याउनु भनेँ र कार्यालयबाट इन्जिनियर आई डुबानभन्दा पाँच सय मिटर जति तल सर्वेक्षण गरेर गएका छन् र प्रस्ताव अघि बढिसकेको छ । एक वर्षभित्र झोलुंगे पुल बन्छ ।

तपार्इंले लामो समयसम्म शिक्षण पेसा गर्नुभयो, पछिल्लो समय शिक्षा रोजगारमूलक भएन भन्ने छ तपाईंले रोजगारमूलक शिक्षा बनाउन के पहल गरिरहनुभएको छ ?
पछिल्लो समयमा बेरोजगारीको संख्या बढी नै रहेको छ । सरकारी स्कुलका शिक्षकले पढाउँदैनन्, राजनीति गर्छन् भन्ने आमसमुदायको आरोप हो म पनि लामो समयसम्म शिक्षण पेसा गरेको मान्छे हुँ । अहिलेसम्म व्यवहारमा देखिएका कुरा पनि त्यही हो हामीले पढाएका विद्यार्थीहरू हातमा डिग्रीको सर्टिफिकेट छ कोरा ज्ञान छ सीप छैन ज्ञान पनि नबेचिने किसिमको छ, खाडीमुलुक र भारतमा सर्टिफिकेट हातमा बोकेर भौतारिनुपरेको छ ।

त्यसकारण मैले एउटा अभियान चलाएको छु । हिजोको जस्तो कोरा शिक्षाले केही हुँदैन त्यसैले शिक्षालाई प्रविधिसँग जोडौँ, र प्रविधिमैत्री शिक्षा बनाउनका लागि हिजोको जस्तो शिक्षा पढाएर हुँदैन शिक्षालाई ई–लर्निङका कुराहरू इन्टरनेटका कुराहरू र सीपयुक्त ज्ञानका लागि अभियान सुरुआत गरिसकेको छु ।

यसवर्ष मात्रै मैले शिक्षामा १ करोड ७० लाख बजेट छुट्याएको छु । शिक्षालाई प्रविधिसँग जोडेको छु । दसैँ अगाडि मावि, उमावि र क्याम्पसमा इन्टरनेट जोड्नेछु । ऐनकानुन बनाएर पनि शिक्षामा परिवर्तन ल्याउँछौँ ।

हरेक स्थानीय तहमा कर्मचारीको अभाव छ तपाईंको गाउँपालिका वडाहरूमा पनि होला । यसका बाबजुद पनि जनतालाई कसरी सेवा दिइरहनुभएको छ ?
विकास निर्माणका कुरामा त हामीले जसरी पनि धकेलियौँ तर, कर्मचारीको अभाव हामीलाई वेला–वेलामा खट्क्यो संघीय सरकारले न त हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार दियो न त कर्मचारी नै पठायो । विगतमा जे भयो भयो त्यसबाट विकासमा समस्या भएन तर सुशासनको पाटोमा समस्या आयो ।

जनताले आएको समयमा सेवा पाएनन् किनकी कर्मचारीको अभावले हाम्रो पनि नयाँ अभ्यास भयो तर यसवर्ष कर्मचारी आए भने ठीक छ नभए म ऐनकानुन बनाएर एक महिनापछि कर्मचारी भर्ना गर्छु । र, जनतालाई कागजमा मात्र सिंहदरबार आएको भन्ने भान हुन दिने छैन साँच्चिकै सिंहदरबार आएको अनुभूति गराउनेछु ।

दोस्रो गाउँसभा सम्पन्न गरिसक्नुभयो यसबाट के–के नयाँ योजना बनाउनुभयो ?
मैले अगाडि पनि चर्चा गरिसकेँ, शिक्षामा गुणस्तर ल्याउनको लागि शिक्षालाई प्रनिधिमैत्री बनाउनका लागि ठूलो रकम छुटयाएका छौँ यसबाट गाउँपालिका भित्रका विद्यालयहरूले शिक्षामा ठूलो फड्को मार्छन् हामी यसमा कडाइ गर्छौं अनुगमन गर्छौं । दोस्रो सडकको कुरा छ ।

सडक पुगेका ठाउँमा बनेका सडकको गुणस्तर सुधार गर्छौं र नपुगेका ठाउँमा सडक पुर्याउछौँ तेस्रो नम्बरमा कृषिलाई जोड दिएको छु, एक बृहत् कृषि पाठशाला खोल्ने परिकल्पना गरेको छु यसमा हाम्रो कृषि परम्परागत छ वैज्ञानिक छैन, व्यावसायिक छैन, पुरानै तरिकाले कृषि गर्ने तौरतरिका छ त्यसमा आमूल परिवर्तन ल्याउनको लागि कृषि पाठशालाको सुरुआत गरेका छौँ ।

जसबाट नयाँ तरिकाबाट कृषि गरिन्छ र हामी वरिपरिका किसानहरूलाई पनि त्यहाँ लगेर सिकाउँछौँ र कृषिमा आमूल परिर्वतन ल्याउन खोजिरहेका छौँ ।

कृषिलाई बढी प्राथमिकता दिनुभयो नि किन ?
मैले राम्रोसँग बुझेको छु यहाँ प्रशस्त मात्रामा कृषियोग्य जमिन छ यहाँ कृषि गर्ने जनसंख्या बढी छ तर हामी कृषिलाई व्यवसायसँग जोड्छौँ रोजगारसँग जोड्छौँ, त्यसका लागि बजारीकरण गर्छौं यसबाट धेरै रोजगारीको सम्भावना छ । र, कृषकहरूको जीवनस्तर माथि उठछ ।

यहाँ बिजुली सडक मात्र बनाएर र विद्यालयका ठूला–ठूला भवन बनाएर मात्र विकास छैन त्यहाँका जनताको जीवनस्तर पनि माथि उठनुपर्छ हाम्रो देश नै कृषिप्रधान देश हो यहाँका अधिकांश जनता कृषिमा आबद्ध छन्, जबसम्म कृषिलाई रोजगारमूलक आयआर्जनमुखी बनाई जनताको जीवनस्तर माथि उठ्दैन तबसम्म समृद्ध नेपाल समृद्ध बैतडी र समृद्ध पञ्चेश्वर गाउँपालिका बन्दैन ।

सडक खनेर मात्रै विकास सम्भव छैन त्यहाँको जनता केसँग जोडिएको छ त्यसमा ध्यान दिनुपर्छ समृद्धिसँग जोड्नका लागि पनि कृषिलाई जोड दिएका हौँ ।

शिक्षा क्षेत्रमा ठूलो लगानी छुट्याउनुभएको छ यसमा प्राविधिक शिक्षालाई कसरी जोडनुभएको छ ?
मेरो गाउँपालिकाको रन्तोलीमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त एक स्कुलमा १८ महिने कृषि जेटिए र भेटनरी पढाइ भइरहेको छ र यसै वर्षदेखि कुलाउँमा पनि आइसिएजीको पढाइ हुँदै छ ।

त्यसलाई किन खोलियो भने मेरो गाउँपालिकामा ९० प्रतिशत जनता कृषिसँग जोडिएका छन् तिनीहरूसँग परम्परागतै कृषिप्रणाली छ व्यवसायीमुखी छैन तिनीहरूलाई कृषिसँग जोडी कृषिमा आधुनिकीकरण गर्न खोजिएको हो । र, अरू विद्यालयमा पनि प्राविधिक शिक्षाको पढाइलाई जोड दिने प्रयास गरेका छौँ ।

यी दुई विद्यालयमा बजेट हालिदिएको छु र अरू विद्यालयले खोले पनि उत्तिकै प्राथमिकता दिनेछु । योभन्दा पनि बाहिरको विधामा पनि कोही गाउँपालिकाका गरिब दलित जेहेन्दार विद्यार्थी पढ्न जान्छन् भने छात्रवृत्तिको लागि १० लाख छुट्याएको छु । अर्को वर्षदेखि प्रत्येक वडाबाट २÷३ जना प्राविधिक शिक्षाको पढ्नका लागि व्यवस्था गरिनेछ ।

पञ्चेश्वर गाउँपालिकाको विकासका लागि भावी योजना के बनाउनुभएको छ ?
समृद्ध पञ्चेश्वर सम्मुन्नत पञ्चेश्वरको नारा दिएको छु । मैले अघि पनि भने जबसम्म जनताको आर्यआर्जन र रोजगारी दिन सकिँदैन तबसम्म विकास असम्भव छ । त्यसलाई दुई÷तीन कुरासँग जोड्न सकिन्छ, एउटा कृषिमा परिवर्तन नगरी सम्भव छैन यसले गर्दा ठूलो जनशक्ति रोजगारी पाउँछ त्यो अर्को युवा स्वरोजगारको कुरा छ युवा स्वरोजगारका लागि ६० लाखको व्यवस्था गरेको छु।

कुनै युवाले मसँग पैसा भए म यस्तो तालिम गरेर काम सुरु गर्ने थिए भन्ने सोच भएका युवाहरूलाई कुनै साहु महाजनसँग ऋण निकाल्नु पर्दैन, योजना ल्याउनुहोस् हामी तालिम दिन्छौँ अनुदान दिन्छौँ व्यवसाय सुरु गर्न भन्छौँ मेरो कार्यकालमा कुनै त्यस्ता युवा छन् भने म भन्छु विदेश र भारतको गल्लीमा नजानुहोस् आउनुहोस् यतै कहीँ सीप सिकी व्यवसाय सुरु गराैँ ।

यसका लागि म सक्दो सहयोग गर्छु । तेस्रो कुरा प्राविधिक शिक्षाको विषय छ यहाँ पढ्नेका लागि यहीँ व्यवस्था छ भने बाहिर पढ्नेका लागि अनुदानको व्यवस्था छ प्राविधिक शिक्षाले पनि बेरोजगारीको संख्या घटाउँछ ।

अन्त्यमा गाउँपालिकावासीलाई के भन्न चाहनुहुन्छ ?
मैले वेलावेलामा पनि जनताहरूलाई आह्वान गरेको छु र भेटघाटको क्रममा पनि भन्ने गरेको छु अब हाम्रो दिनचर्या सामान्य र परम्परागत तरिकाले चल्नेवाला छैन यसमा हाम्रो व्यवहार सोच र गराइमा परिर्वतन गर्नुपर्छ यसका लागि म नेतृत्व गर्छु यसका लागि सबै विकासका निर्माणका कार्यमा परिर्वतन ल्याउन चाहान्छौँ ।

हामी हिजोको जस्तै जनप्रतिनिधिभन्दा फरक तरिकाले समृद्ध गाउँपालिका बनाउन चाहान्छौँ यसमा सबैको सहयोग चाहिन्छ । मैले समृद्ध पञ्चेश्वर गाउँपालिकाको लागि सम्पूर्ण गाउँपालिकावासीको सहयोगको अपेक्षासमेत राखेको छु ।

प्रतिक्रिया