अन्तर्वार्ता

बाबुरामको राजनीतिक गुरु बन्न पाएकोमा भाग्यमानी ठान्छु

सौर्य अनलाइन २०७५ साउन २० गते १०:२४ मा प्रकाशित

भक्तिप्रसाद आचार्य (राजु नेपाली)  महाअधिवेशन आयोजक समिति सदस्य, नयाँ शक्ति नेपाल

राजनीतिक जीवनको सुरुआत
गाउँकै विद्यालयमा कक्षा ६ पढ्दै गर्दा कम्युनिस्ट पार्टीप्रति प्रभावित भएको हुँ । त्यतिवेला पञ्चायतविरुद्ध खुविराम आचार्य र मेरा बुबाको निकै सक्रियता रहेछ ।

राति–राति हाम्रो घरमा मिटिङ हुन्थ्यो । बुबाको विस्तारामुनि सर्वहारा केहो ? मजदुर माला लगायतका थुप्रै कम्युनिस्ट विचारका माक्र्सवादी पुस्तकहरू हुन्थे । मैले पनि ती के रहेछन् भनेर पढ्न थाले । पढ्दै गर्दा पञ्चायतविरुद्ध बोल्न थालियो ।

सन्धिखर्क भन्ने ठाउँमा एकचोटि टोपबहादुर रायमाझी, म, गोविन्द केसीलगायतका साथिहरू भएर पञ्चायतविरुद्ध जुलुस गरियो । पञ्चायतविरुद्ध पर्चा छरियो । टोपबहादुर रायमाझीले ड्रममाथि चढेर भाषण गरे । त्यसपछि प्रहरीले लखेट्यो । टोपबहादुर कराते पनि खेलेका अलि चर्चित नेता पनि थिए ।

प्रहरी उनी भएको तिर गयो र उनले लड्ने भए आओ भनेपछि प्रहरी फर्कियो र हामीलाई लखेटन थाल्यो, हामी अर्को बाटोबाट भागेर प्युठान गएर बस्यौँ । यहि घटनाबाट मेरो राजनीति यात्रा सुरु भयो ।

भारत प्रवेश र कम्युनिस्ट संगठन निर्माण
त्यसपछि टोपबहादुर लगायतका साथीहरू आर्थिक हिसाबले बलिया थिए र पढाइ अगाडि बढाए । म चाँहि ९ कक्षा र १० कक्षा प्युठानमा पढेपछि बाँकि पढाउन गरिबीले नसक्ने अवस्था रहेकोले भारत लागे । भारत जादा मसँग दुईवटा इच्छा थिए एउटा पढाइ अगाडि बढाउने अर्को जागिर खोज्ने ।

भारत त छिरेँ तर भारतमा गएर पढाइ अगाडि बढाउन सम्भव भएर बाँच्नुपर्यो भनेर होटेलमा भाँडा धुने जागिर पाइयो जसमा महिनाको ३० भारतीय रुपैयाँ मेरो तलब थियो । बिहानदेखि रातको १ बजेसम्म त्यो होटेलमा भाँडा माझ्नुपर्यो । त्यहाँ काम गर्दा मेरा दुइटै हात कुहिएका थिए । एकमहिनामै काम छाडेर विभिन्न ठाउँमा अन्य अन्य ठाउँमा जागिर गर्दै हिँडियो । म भारतमै थिए । काम गर्दै थिए ।

त्यहि क्रममा मलाई खोज्दै मोहनविक्रम सिंह भारत नै पुग्नुभयो । मोहनविक्रम सिंहले मलाई खोज्नुको कारण थियो एउटा उहाँको घर र मेरो मामाघर नजिकै थियो । मोहनविक्रम म भएको ठाउँमा पुग्दा अब फेरि राजनितिमा जोडिन्छु जस्तो त लाग्यो । त्यसको केहि समयपछि भारतको योजना आयोगको उपाध्यक्ष धर्मवेद आनन्दको घरमा भाँडा धुने काम पाएँ । त्यतिवेला मोहनविक्रमजी ले पार्टी खोल्नुपर्छ भनेर भन्नुभो ।

त्यसलगतै सन १९७७ मा ‘नेपाल कम्युनिस्ट पार्टी भारत शाखा’ खोलियो । हालका नेकपाका नेता तिलक परियार, नृप शर्मा, नेत्रबहादुर खत्री, म, मानबहादुर बोगटीलगायत साथीहरू मिलेर स–साना कमिटी बनाइयो त्यो नै भारतमा खुलेको पहिलो कमिटी थियो । नेपालमा पञ्चायतको शासन भएकाले भारतमा पनि त्यसविरुद बोल्न सजिलो थिएन । त्यतिखेर चित्रबहादुर केसी लगायतका नेताहरूसँग पनि भेटघाट हुन्थ्यो ।

नेपालबाट जति पनि कम्युनिस्ट नेताहरू जान्थे म कहाँ नै पुग्थे । त्यतिखेरसम्म निकै ठूलो जमघट हुने स्थिति देखिएको थियो मोहनविक्रमजीको सल्लाहमा दिल्लीमा नेपाली भन्ने पत्रिकासमेत प्रकाशन गर्यौ । त्यसको तीन महिनामै विदेशमा नेपाली भन्ने पत्रिका निकालियो जताततै वितरण गरियो । भारतमा रहेका ६० लाख नेपालीहरूलाई कन्भिन्स गरेर नेपालको पञ्चायत समाप्त गर्नुपर्छ भनेर निकै नै लागियो ।

भारतका अन्य कलकत्ता, बम्बई, पञ्जाब लगायतका क्षेत्रहरूमा पनि संगठन भएका जानकारीहरू पाइयो । त्यतिखेर सबैलाई समेटेर सन १९७९ मा बनारसमा भेला बोलाइयो । त्यो भेलामा मोहनविक्रम सिहं, चित्रबहादुर केसी, गोविन्द सिहं थापा निर्मल लामा, खम्पासिंह लगायतको टिम जम्मा भएर सिंगो भारतमा रहेका संगठनहरूको प्रतिनिधित्व हुनेगरी नाम चयन गर्ने काम भयो ।

प्रवासमा भएका नेपालीहरूलाई समेटने गरी ‘अखिल भारत नेपाली एकता समाज’ नामक संगठन बनाइयो । जसको संस्थापक अध्यक्ष गोविन्द सिंह थापा थिए । त्यसपछि फेरि पत्रिका निकालियो प्रचारप्रसारमा लागियो विभिन्न काम हुन थाले पञ्चायतविरुद्ध सशक्त हुन थालियो । त्यहि दौरानमा बाबुराम भट्टराईसँग पनि भेट भयो ।

बाबुराम भट्टराईसँगको भेट र सदस्यता प्रदान
बाबुरामसँग भारतको चन्द्रिगढमा भेट भएको हो । उनीसँग भेट हुनुअगाडि मोहनविक्रमले पनि विद्यार्थीको त्यहाँ कार्यक्रम हुँदैछ, गएर भेट्नुस र सम्बन्ध बढाउनुस् भने त्यतिवेला बाबुराम निकै सफाचट भएर हिँड्थे । जुत्ता पनि टल्केको निकै हिरो ।

मैले बाबुरामलाई चन्द्रीगढदेखि जवाहरलाल नेहरू विश्वविद्यालयसम्म पछ्याएँ । माक्र्सवादी किताब थुप्रै किनेर दिएँ। ती माक्र्सवादी पुस्तक पढ्नु भएपछि र मोहनविक्रमसँग पनि छलफल भएपछि मात्र बाबुराम कन्भिन्स भए ।

त्यतिखेर राजदूतबाट उद्घाटन गराइएको विद्यार्थी संघको बाबुराम अध्यक्ष भएका थिए । मोहनविक्रमले यो गोर्खाबाट आएको बोर्डफस्ट पनि भएको मान्छे छ । जसरी पनि हाम्रो संगठनमा ल्याउनुपर्छ भनेर मलाई भन्नुभयो र त्यसको जिम्मा मलाई दिए।

त्यसपछि मैले बाबुरामलाई कम्युनिस्ट पार्टीमा नआउञ्जेल निरन्तर पछ्याइरहेँ । बाबुरामलाई सदस्यताचाहिँ त्यो वेला मोहनविक्रम सिंहले दिएका हुन्, तर पहलचाहिँ मेरै थियो । अहिले पनि गर्व लाग्छ किनकि, भट्टराई नेपालको राजनीतिमा निष्ठावान, त्यागी र भिजिनरी नेता हुन् ।

डा. ऋषिकेश शाहसँगको एक भेट
विदेशमन्त्रीसमेत भइसकेका डा. ऋषिकेश शाह मलाई भेट्न जाँदा मैले भाँडाख धुने घरको साहु भारतको योजना आयोगको उपाध्यक्ष अच्चमित पर्नुभएको थियो । म भाँडा धुने मान्छे तर हातबाट पानी चुहिएको अवस्थामा ऋषिकेश शाहसँग हात मिलाउँदा मेरो काम गर्ने घरका साहु अचम्मित भएका थिए ।

उनीहरूको पहिलै नै चिनजान रहेछ । त्यहाँ नेपालका नेताहरू को भेटघाट गर्ने हब नै बनेको थियो । त्यो दिन मेरो कोठामा नेताहरूको भीड थियो । त्यो दिन त जसोतसो वार्ता गराइयो । तर, त्यसको भोलिपल्ट साहुले बेस्सरी थर्कायो ।

कम्युनिस्ट आन्दोलनमा सहभागिता र समूहको गाली
म एउटा घरमा भाँडा माझ्न बसे पनि मेरो लगाव त नेपालको समाज परिवर्तनको आन्दोलनमा थियो । एक दिन भारतमा पढ्ने नेपाली विद्यार्थीहरूले जुलुस निकाले सारा नेपालीलाई सहभागी गराइयो । त्यो जागिरमा बिदा लिएर म पनि अगुवा नै भएकोले सबैभन्दा अगाडि झण्डा समातेर जुलुसमा लागेँ ।

त्यसको भोलिपल्ट भारतीय पत्रपत्रिकाहरूमा पहिलो पेजमै मैले झण्डा समातेको नारा लाउँदै गरेको फोटो छापियो । जसका कारण साहुले ‘कि जागिर खाऊ, कि नारा जुलुस नै गर’ भनेर गाली गरे । जागिर त गयो गयो तर, पार्टी पनि गयो भनेर निकै डर लाग्यो ।

बेलुका साहुले निकै समय लाएर मलाई सम्झाइ बुझाइ गरे । तर, मैले राजनीतिक अभियान पनि छोडिनँ । फेरि, साहुले थर्काउँदै गएपछि मैले जागिर गए पनि जाला भनेर साहुसँग कुरा गरे हप्ताको एकदिन छुट्टी पाउने भए गर्छु नत्र गर्दिन । त्यो चाहिँ ०३५÷३६ तिरको कुरो हो ।

अखिल भारत नेपाली संघको सम्मेलन र बाबुरामको दुर्घटना
सन् १९८२ मा अखिल भारत नेपाली संघको सम्मेलन हुने भयो । जसको तयारीसमेत मैले आफ्नै काम गर्ने साहुको घरमा भेटघाट गर्ने वातावरण बन्यो । मैले धेरै कम्युनिस्ट नेताहरूलाई लुकाइ–लुकाइ खाना खुवाएको छु । त्यो खाना मैले साहुको घरबाट चोरेर ल्याउँथे । मेरो कोठा नै पार्टी कार्यालय बनेको थियो । जसमा गर्व गर्छु ।

त्यसपछि सम्मेलनको तयारीस्वरूप सम्पर्क कार्यालय मेरै कोठा तोकियो बाबुराम जीसँग निकै भेट हुन थालियो । बाबुराम र म लागेर पत्रिका छाप्नतिर लाग्यौँ । पत्रिका बोकेर आउने वेला बाबुराम जी दुर्घटनामा पर्नुभयो । मेडिकलमा भर्ना गराइयो जति वेला बाबुरामलाई भेट्न ठूलै भिड भयो ।

त्यतिखेर त्यो हस्पिटलको भिसीले बाबुरामको उपचारको पैसा हस्पिटलले व्योहोर्ने छ । उपचार राम्रो गर्नुपर्छ यो मान्छे नेपाललाई मात्र नभई संसारलाई काम लाग्ने मान्छे हो । भनेर भनेको मलाई याद छ । त्यतिवेला बाबुराम जी लाई तीन दिनपछि होस आयो । त्यसपछि सम्मेलन भयो । त्यो वेला भित्र–भित्र कम्युनिस्ट पार्टी बन्यो, बाहिर हेर्दा समाजजस्तो देखिन्थ्यो ।

मेरो नेपाल फिर्ता र जनयुद्ध
नेपालमा युद्ध सुरु हुनुभन्दा अगाडिको अन्तिम बैठक भारतमै बसेको थियो । जसमा म आफैँ पनि सरिक भएको हुँ । त्यसको लगत्तै ३५÷४० जनाले मात्र युद्धको सुरुवात गरेका हौँ । मेरो जिम्मा भारतमा व्यवस्थापनमै लागे । जब नेपालमा भीषण युद्ध सुरु भइरहेको थियो त्यसवेला ०७५ मा म नेपाल प्रवेश गरेको हुँ । त्योभन्दा अगाडि नेपालमा युद्ध सुरु भयो भारतमा अखिल भारत नेपाली समाज भारत सरकारले बन्द गरायो ।

हामी तीनजना म (राजु नेपाली), वामदेव क्षेत्री र नारायणप्रसाद दाहाल (प्रचण्डको भाइ) विरुद्ध वारेन्ट जारी गर्यो । त्यसवेला जताततै भारतीय पुलिसले हामीलाई खोजिरहेको वेला एक वर्ष म भारतमै भूमिगत बसेँ। त्यसवेला नै भारतबाट नेपालमा हतियार सप्लाई गर्ने, भारत गएका नेताहरू को व्यावस्थापन गर्ने काम गरेँ ।

भारतीय पुलिसले वामदेवजी लाई प्रक्राउ गरेर नेपाल पठाएको थियो । त्यतिखेर भारतका केही सुरक्षाकर्मीसँग मेरो सम्बन्ध पनि बनिसकेको थियो । नेपाल आइसकेपछि रोल्पा रुकुमको जिम्मेवारी परेको थियो । त्यसपछि अर्घाखाँचीको इन्चार्ज सम्म भएको थिएँ । हरेक ठाउँको भिडन्तमा सहभागी भएँ, तर लडाकु नभई म व्यवस्थापनतिर नै लागेँ ।

बाबुराम–प्रचण्डको मतभेद र नयाँ शक्ति स्थापना
बाबुराम प्रचण्ड एकै पार्टीमा लागेर मिसन त सफल भयो तर मतभेद सकिएन । विचार नमिलेकै कारण अन्ततः बाबुरामले पार्टी छाडे । युद्ध हुँदै गर्दा पनि बाबुराम प्रचण्डको मतभेद भइरहेको थियो । पछिल्लो समय असोज ३ गते नेपालमा संविधान जारी भयो असोज ९ गते बाबुरामले पार्टी छोडे ।

पार्टी छोड्नुभन्दा पहिला प्रचण्डसँग बैठक गर्नुभएछ। संविधानसभामार्फत संविधान बन्यो अब पार्टी नयाँ ढंगबाट चलाउनुपर्छ भन्दा प्रचण्ड जीले नमान्दा बाबुराम सहितका अन्य सदस्यले पार्टी छाडे । बाबुराम लगायतले नयाँशक्ति भनेर कोरम गर्नुभो तर, म नयाँशक्तिमा लाग्ने कुरामा चाहिँ बाबुरामले मलाई केही भनेका थिएनन् ।

उनी धेरै विद्वान छन् तर, कुन बाटो ठिक छ भन्ने त मेरो दिमागमा पनि छ नि त । बाबुरामले ९ गते राजीनामा दिए । म १० गते पार्टीको बैठकको लागि पेरिस डाडाँ गए । पेरिस डाँडामा मलाई देखेर सबै चकित भए । बाबुरामले पार्टी छाड्यो तर बाबुरामको गुरु चाहिँ यता आइराछ भन्ने साथीहरूलाई लागेको थियो । पार्टी फुटाएर जानुपर्नेमा मेरो जोड थियो तर, बाबुरामले एक्लै पार्टी छाडेर हिँडे ।

पार्टी फुटाएर ल्याउन पाएको भए नयाँ शक्ति अहिलेको जस्तो भद्रगोल हुने थिएन, यो सेटमा हुने थियो र माओवादीवाट धेरै मान्छे नयाँ शक्तिमा आउने थिए । मलाई यहि कुरामा चित्त नबुझेकाले बाबुरामको विचारभित्र त ठिक लागेको थियो तैपनि म एक महिनासम्म नयाँशक्तिमा आइन र एक महिना ढिला मात्र आएँ ।

नयाँशक्तिको आवश्यकता किन ?
माओवादी पार्टीको दस्तावेजमा संविधान सभाभन्दा अर्को कार्यनीति थिएन । समाजवाद र साम्यवाद थियो तर, मुख्य कार्यनीति संविधान सभा मात्र थियो बाँकि संविधान सभाबाट संविधान बनिसकेपछि त्यो कार्यनीति बन्द भएको ठानी नयाँ कार्यनीति तय गरौँ भन्दा प्रचण्ड जी मान्नुभएन र बाबुराम जीले नयाँ पार्टी खोले ।

यो देशमा नयाँ आर्थिक समृद्धि ल्याउन, नयाँ तरिकाबाट राजनीतिक व्यवस्थापन गर्न आवश्यक देखेर नयाँ शक्ति स्थापना गरिएको हो । देशमा औद्योगिक विकास तथा अन्य समृद्धिका कुराहरू देखेर नयाँशक्ति आएको छ । बाबुरामसँग नयाँ शक्ति बनाउनुपर्छ भन्ने टोपबहादुर पनि हुन्, तर के ले उनलाई उतै तान्यो बुझ्न सकिएन ।

नयाँशक्तिको त्यो जोस र यो हालत
नयाँशक्ति स्थापना हुँदा निकै जोस जाँगरले नेता कार्यकर्ता आबद्ध भए पनि हाल धेरैले छोडेर गएका छन् । यसको एउटै कारण हो जो केही धेरै ठुल्ठूला स्वार्थ बोकेर आएका थिए ती भन्नेवित्तिकै केही नपाएका कारण गए । नयाँशक्तिमा लागेर धेरै पाउँछु भनेर अझै पनि कोही नआए हुन्छ । यो त केवल देशको सेवा गर्न हो ।

कतिपय नेताहरू हिजोका दिन सँगै मर्ने भन्दै जनयुद्धमा लागेका थिए । ती पनि अब त केही पाइएला कि भनेर हिँडेका हुन् । आशा राख्नुपर्छ केही स्वार्थ पनि होला तर देशको परिवर्तन गरेपछि पो केही आशा गर्नु तर काम नै नगरी पहिल्यै फल खोजेर हुन्छ र ? जनमतबाट नयाँशक्ति पछाडि परेको हो म स्वीकार गर्छु ।

एउटा कुरो के याद गर्नुपर्छ भने यो समाज सारा दुनियाँ नै बलेको आगो ताप्ने व्यवहारको छ । यो समाज अहिले कस्तो छ भने आज सुन्तला रोप्छ भोलि मलजल गर्दैन तर पर्सि फलेन भनेर उखेलेर फाल्छ । हो त्यहि संस्कारका कारण नयाँशक्ति जनमतबाट पनि पछाडि परेको हो । जब निरन्तर परिश्रम गरिन्छ तब पो समाज परिवर्तन गरिन्छ ।

अर्को कुरो नयाँ काम गर्न त्यति सजिलो छैन । त्यस्तै, बाबुराम आफैँ संगठन विस्तार गर्दैनन् । दोश्रो नम्बरको नेतालाई विश्वास गर्छन् त्यसकारण संगठन बलियो हुन सकेन ।

नयाँशक्तिको वर्तमान अवस्था र भावी योजना
नयाँशक्तिमा हाल दुई अंकको केन्द्रीय समिति छ । १५÷१६ जना विज्ञ टोली छ । सातवटै प्रदेशमा प्रदेश संयोजक तोकिएका छन् । व्यापक रूपमा देशव्यापी संगठन विस्तारमा नयाँशक्ति लागेको छ । नयाँशक्तिले महाअधिवेशन गराउँदै छ । ६० प्रतिशत युवा सहभागिता ४० प्रतिशत पुराना नेताहरूको प्रतिनिधित्व हुनेछ ।

नयाँ शक्तिको विचारबाट मात्र अब नेपालको उन्नति प्रगति सम्भव छ । नयाँशक्तिमा हामी बाबुरामको पछि लागेर आएको होइन, सोच विचार गरिकन, यो विचार सहि छ भन्ने निष्कर्ष निकालेर नै आएको हो । अबको कार्यदिशा भनेको जुन हाल गाउँ गाउँमा सिंहदरबार भनिएको छ । त्यससँगै गाउँगाउँमा भ्रष्टाचार मौलाएको छ ।  गाउँका बाटाघाटा कागजमा बनेका छन् ।

पुल पुलेसा कागजी मात्र भएका छन् ।  यिनको भण्डाफोर गर्दै सबल सक्षम जनसमाज बनाउन भूमिका खेल्ने । अस्थाइ विकासका कामको पनि भण्डाफोर गर्न नयाँशक्ति अगाडी आउनेछ । हामी अब शान्तिपूर्ण आन्दोलनमा जाने तयारीमा छौँ । अब नयाँशक्ति एकातिर अरू सबै दल एकातिर भन्ने कुराले हामी लाग्छौँ ।

वर्तमान सरकार र ठूलो भनिएको नेपाल कम्युनिस्ट पार्टी
माक्र्सवाद, लेनिनवाद, माओवाद भौतिकवादका नारा लाएर जनमत जितेको यो दल विचार सिद्धान्त गुमाइसकेको छ । जुन अपेक्षा जनताले गरेका थिए त्यो अहिलेसम्म नि गरेनन् भोलि नि गर्दैनन् । यिनको चरित्र हेर्दा यो नाम मात्रको कम्युनिस्ट सरकारले केही गर्लाजस्तो लाग्दैन ।

हिजो बाबुराम अर्थमन्त्री हुँदा गरिबको ३० हजार मिनाहा गरिएको थियो भने हाल हरेक कुरामा कर बढाएर दोब्बर पुर्याएको छ । कर तिर्नु कर्तव्य भए पनि कर तिरे अनुसारको स्वस्थ गुणस्तरीय सेवा तथा वस्तु उपभोग गर्न पाउनु अधिकार हो तर यो सरकार कर मात्र बढाउने पट्टी लाग्यो । रेलका कुरा गर्ने यहाँ बाटोघाटो अवस्था नाजुक छ ।

कम्युनिस्ट सरकारले जनतालाई राहत दिने हो कि आहत दिने भन्ने कुरा नै प्रमुख विषय बन्न पुगेको छ । यो कम्युनिस्ट सरकारले जनतालाई आहत मात्र दियो । जन्मदर्ता, नागरिकता, विवाह दर्ता लगायतमा व्यापक शुल्क बढायो । जो विभिन्न वादका दर्शन बोकेर आएका थिए ती दर्शन थन्किएका छन् ।

यो एकता स्वार्थ मिलेर भएको होजस्तो लाग्छ । आजका प्रधानमन्त्री गणतन्त्र भन्ने शब्द नै उच्चारण गर्नु हुँदैन भन्ने मान्छे, अर्का अहिलेका नेकपाका अध्यक्ष जनयुद्धका कमान्डर यसरी हेर्दा यो केवल स्वार्थका लागि भएको एकता हो । (बाल्यकालदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेका भक्तिप्रसाद आचार्य (राजु नेपाली) सँग सौर्यकर्मी केशव भट्टले गरेको कुराकानीमा आधारित सामग्री)

प्रतिक्रिया