अन्तर्वार्ता

प्रधानाध्यापक विद्यालयको मालिक होइन, अभिभावक हो: हेडम्बराज

सौर्य अनलाइन २०७५ साउन २७ गते ९:५० मा प्रकाशित

वि.स २००३ सालमा काठमाडौंस्थित त्रिपुरेश्वरमा स्थापना भएको विश्वनिकेतन माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । सरकारद्वारा मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको विश्वनिकेतनले राष्ट्रिय शिक्षा पुरस्कार पाउन सफल भएको छ ।

यसले, एसइई, कक्षा ११ र १२ मा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । सामुदायिक विद्यालयअन्तर्गत उत्कृष्ट स्थानमा पर्न सफल विश्वनिकेतनको अवस्था, सफलता तथा शैक्षिक सुधारको विषयमा केन्द्रित भई सौर्यकर्मी अप्सरा गौतमले गरेको कुराकानीको संपादित अंश ।

विश्वनिकेतन माविको परिचय दिनोस् न ?
विश्वनिकेतन माध्यमिक विद्यालयको स्थापना आजभन्दा ७२ वर्ष पहिले अर्थात् ०३ साल १९ माघमा भएको थियो । राणा शासनकालमै स्थापना भएको विश्वनिकेतन ०९ सालदेखि एसएलसीमा सहभागी भयो । त्यतिबेला ११ जना विद्यार्थीलाई प्रवेशिका परीक्षामा सहभागी गराइएको थियो । जसमध्ये ६ जना उत्तीर्ण भएका थिए ।

त्रिविका पूर्वरेक्टर र नेपालका प्रसिद्ध जियोग्राफर सूर्यलाल अमात्य लगायतका व्यक्ति त्यतिवेला परीक्षार्थी हुनुहुन्थ्यो । स्वरकिन्नरी तारादेवी, वरिष्ठ गायक प्रेमध्वज प्रधान, त्रिविका उपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमा पनि ०१५ सालमा विद्यालयबाट एसएलसी उत्तीर्ण हुनुभएको हो ।

हाल, माथेमा आयोग प्रतिवेदन निर्माणमा उहाँको महत्वूर्ण योगदान रहेको छ । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रको विकृति, विसंगति हटाउन लागू पर्नुभएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, नायक श्रीकृष्ण श्रेष्ठ, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्व ऊर्जा तथा परराष्ट्रमन्त्री प्रकाशशरण महत ०२२ सालमा यहाँबाट एसएलसी उत्तीर्ण हुनुभएको हाे।

गायक, गायिक, नायक, नायिक, डाक्टर, इन्जिनियर, न्यायाधीश सबै क्षेत्रमा यहाँका विद्यार्थी आवद्ध भएका छन्। यहाँबाट उत्पादन भएका विद्यार्थी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र नाशामा आबद्ध भएका छन् । विद्यालयले विभिन्न आरोहअवरोह पार गर्दै ऐतिहासिक रूपमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

विद्यालयको शैक्षिक सुधारको प्रक्रिया, उपलब्धी तथा आगामी योजनाको विषयमा बताइदिनोस् न ?
विद्यालयले सफलता हासिल गर्नुमा शैक्षिक सुधारको प्रक्रियाले महत्वपूर्ण स्थान लिएको हुन्छ । परिवर्तनशील समय अनुरूप परिमार्जन हुन नसकेको जुनसुकै वस्तु लोप भएर जान्छ । कुनै समय त्यही अवस्थामा विश्वनिकेतन पुगेको थियो । ०४८ सालसम्म विद्यालयमा अत्यधिक विद्यार्थी अध्ययनरत थिए ।

तर, ०५६ सालपछि विद्यालयमा विद्यार्थीको संख्या घट्न थाल्यो । शिक्षक, अभिभावक, व्यवस्थापन समितिको घनीभूत छलफलले अंग्रेजी शिक्षाको मागलाई प्रस्ट्यायो । समय र समाजको आवश्यकताअनुसार अंग्रेजी शिक्षाप्रति रुचि बढेको देखिएपछि विद्यालयले ०५६ सालमा सुरुमा १, २ र ३ कक्षामा अंग्रेजी माध्यम सुरु गर्यो । युनिफर्मको व्यवस्था गर्यो । ०६८ सालपछि कक्षा १० सम्मै अंग्रेजी माध्यममा गयौँ ।

हाल, विद्यार्थीको संख्या अत्यधिक बढेको छ भने सिकाइ उपलब्धिको अवस्था अति नै राम्रो छ । ०७२ सालको एसइईमा दुई जना विद्यार्थी आशिष सापकोटा र सक्षम वाग्लेले ४ मा ३ दशमलव ९ जिपिए ल्याएर देशभरिकै सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट बनेका थिए ।

०७३ सालको एसइईमा पनि यस विद्यालयकी रोजिना अधिकारी सामुदायिक विद्यालयतर्फ सर्वोकृष्ट भइन् भने यहाँबाट एसइईमा सहभागी १ सय ८४ विद्यार्थीमध्ये १७ जनाको ‘ए प्लस’, २६ जनाको ‘ए’, अन्य सबैको ‘सी’ वा त्योभन्दा माथिको जिपिए थियो । भर्खरैको ०७४ को एसइई नतिजामा पनि परीक्षामा सहभागी १ सय ४८ विद्यार्थीमध्ये २० जनाको जिपिए ३ दशमलव ६ माथि रहेको छ ।

४६ जनाको जिपिए ३ दशमलव २ देखि ३ दशमलव ६ छ भने ४५ जनाको जिपिए ‘बी प्लस’, २९ जना विद्यार्थी ‘बी’ र र आठ जना विद्यार्थी ‘सी प्लस’ मा उत्तीर्ण हुन सफल भए । हामीकहाँ सबै विद्यार्थी ‘सी प्लस’ वा त्योभन्दा माथिका छन् ।

विश्वनिकेतन माविले गुणस्तरीय शिक्षा दिएको छ, उत्कृष्ट शिक्षा छ भनेर दाबी गर्ने अवस्था बनेको छ । समयको माग र आवश्यकतालाई अध्यननको पाटो बनाएको छ । त्यति मात्रै होइन, कक्षा ११ र १२ मा गत वर्षको उत्कृष्ट नतिजाका कारण सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार नै पाउन सफल भयौँ । विगत १० वर्षदेखि ११ र १२ को नतिजा उत्कृष्ट छ ।

विज्ञानमा शतप्रतिशत छ भने व्यवस्थापन र मानविकीमा पनि ८५ प्रतिशत माथिको नतिजा छ । महानगरले लिएको कक्षा ८ को परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल भयो । हरेक कक्षाको सिकाइ उपलब्धि पनि उत्कृष्ट छ । निरन्तर विद्यालय मूल्यांकन पद्धति व्यावहारिक रूपमै लागू गरेका छौँ कक्षा ६ सम्म । यस वर्षदेखि कक्षा ८ सम्मै लागू गर्दै छौँ ।

उदार कक्षोन्नति लागू गरिएकाले माथिल्लो तहमा जाने कमजोर विद्यार्थीका लागि बिहान र बेलुका ‘क्याप्सुल कक्षा’, ‘टोनिक कक्षा’ सञ्चालन गर्दै आएका छौँ । सुरुमा बिहान÷बेलुका विज्ञान र गणित विषयको थप कक्षा सञ्चालन गर्छौं । पछि कक्षा ८, १० र १२ को अन्तिममा क्लोज क्याम्प कक्षा नै सञ्चालन गर्छौंं । शैक्षिक सुधारको प्रक्रियासँगै उपलब्धीमुलक शिक्षा र विद्यालयको मिहिनेतको नतिजा सन्तोषजनक नै छ ।

 

समयको मागसँगै प्राविधिक शिक्षा अपरिहार्य मानिएको छ । विद्यालयमा प्राविधिक शिक्षाको अवधारणालाई कसरि अवलम्बन गरिएको छ ?
वर्तमान समयमा सैद्धान्तिक शिक्षण प्रणाली, पूरातनवादी सोचको शिक्षा मात्र पर्याप्त छैन । प्रयोगात्मक शिक्षण विधी नवीनतम शिक्षणपद्धती हो । नेपालको शैक्षिक क्षेत्रमा यसको अवलम्बन अत्यावश्यक देखिएको छ । विद्यालयमा विज्ञानको लागि अत्याधुनिक प्रयोगशालाको व्यवस्था गरिएको छ ।

जनजाति, सिमान्तकृत, आदिवासीको कला संस्कृति तथा वासस्थानको बारेमा अध्ययन गर्न विद्यार्थीलाई क्षेत्रगत भ्रमणमा लैजाने गर्छाैं । माछा मारेर दिनेभन्दा पनि माछा मार्ने सीप सिकाउनु महत्वपूर्ण कुरा हो। वास्तवमा नै, विश्वनिकेतनले व्यवहार उपयोगी शिक्षालाई जोड दिएको छ। अहिले, अन्वेषणसँग सम्बन्धित क्रियाकलापसँग सम्बन्धित शिक्षा दिनु आवश्यक मानिएको छ ।

विद्यार्थीको सिकाई उपलब्धीमाथि शिक्षकको गुणस्तरले कस्तो असर पार्छ ?
शिक्षक परामर्शदाता, नेतृत्वकर्ता, सहजकर्ता सम्पूर्ण भूमिकामा बाँधिनुपर्छ । शिक्षकमाथि विद्यार्थीको निक्कै ठूलो आशा, भरोसा र विश्वास हुने गर्छ । विश्वासको केन्द्रमा रहेको शिक्षकले गलत शिक्षा दिनुहुँदैन । शिक्षक जहिले पनि अध्ययनशील हुनुपर्छ ।

तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कक्षा कोठामा इमानदारीका साथ प्रस्तुत गर्नुपर्छ । नयाँप्रविधी र शिक्षण सिकाईलाई प्रयोग गर्नुपर्छ। पछिल्ला घटना, परिमार्जित र संशोधित विषयलाई अध्ययन र सिकाइको पाटो बनाउनुपर्छ । शिक्षकलाई राजनीतिक दलको झोला बोकेर हिँड्छन्, पढाउँदैनन् भन्ने आरोप लागेको छ ।

त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ। ४५ मिनेटको समयमा के पढाउने कति पढाउने पूर्व योजनाअनुसार कक्षामा प्रवेश गर्नुपर्छ । वास्तवमा एउटा शिक्षक नै विद्यार्थीको भविष्य निर्माण गर्ने आधार हो । विद्यार्थीलाई न्यायका साथ पढाउनुपर्ने हुन्छ । सँगै अभिभावकले पनि विद्यालय र बालबालिकाको अवस्था अध्ययन र अनुगमन गर्नुपर्छ ।

सरकारको यति ठूलो लगानी गरेको सामुदायिक विद्यालयको अवस्था किन नसुध्रिएको होला ?
सरकारको पक्षबाट सुधानुपर्ने र विद्यालयको पक्षबाट सुध्रनुपर्ने थुप्रै पक्षहरू छन् । नेपालमा १७ किसिमका शिक्षक कार्यरत छन् । देशमा एउटै प्रकारका शिक्षक रहने व्यवस्था मिलाउनु पर्छ । प्रत्येक वर्ष खुल्ला प्रतिस्पर्धामार्फत शिक्षक छनोट गर्नु आवश्यक छ। विभिन्न क्षेत्रसँग सम्बन्धित आयोगको स्थापना भएको छ, तर बिडम्बना, शिक्षा आयोगको स्थापना हुन सकेको छैन ।

राज्य दायित्वबाट पन्छिन खोजेको जस्तो देखिएको छ। साथै, देशको १० दशमलव ३ प्रतिशत भाग मात्रै शिक्षा क्षेत्रलाई छुट्याइएको छ । शिक्षा क्षेत्रमा बजेटको आकार अन्त्यत न्यून छ । सँगै, नेपाललाई प्रयोगशालाको केन्द्र बनाइएको छ । नेपालको वास्तविकतासँग, परिस्थितिसँग मेल खाने हिसाबको पाठ्यक्रम बनाउन आवश्यक छ।

सँगै हाम्रो विद्यालयमा ‘विद्यालय समय’ हामीले पूर्ण रूपमा विद्यालयकै लागि प्रभावकारी रूपमा दिनुपर्छ भन्ने मान्यता छ ।डिजिटल हाजिरीको व्यवस्था छ। विद्यालयमा आएपछि शिक्षकहरू १०–५ बजेसम्म बस्नै पर्छ। शिक्षकहरूलाई विद्यालयमा राजनीतिक गतिविधि गर्न मनाही छ । उहाँहरू आफैँ यसप्रति सजग र जिम्मेवार, समर्पित हुनु आवश्यक छ । शिक्षणमा समर्पण र लगाव छ ।

आफ्ना विद्यार्थीलाई मैले जसरी पनि राम्रो गराउनुपर्छ भनेर मिहिनेतका साथ लाग्नुभएको छ । अभिभावक र नागरिक समाजले पनि सचेत भएर विद्यालयको अनुगमन र चासो लिने गर्नुभएको छ। अन्य सामुदायिक विद्यालयमा सायद यस कुराको कमी छ । त्यसैले, सबै सामुदायिक विद्यालयहरूको समानरूपमा विकास हुन सकेको छैन ।

विद्यालय सुधारको प्रतिबद्धता हुन आवश्यक छ । सरकारले विद्यालयमा पुग्दो कर्मचारीको दरबन्दी दिनुपर्छ । कर्मचारी व्यवस्थापनको कुरालाई ध्यान दिनु आवश्यक छ ।

सरकारले दिवा खाजा, अभिभावकत्व ग्रहण, भर्ना अभियान लगायतका क्रियाकलापलाई निक्कै जोड दिएको छ ? सामुदायिक विद्यालयको अवस्था सुधार्न यस्ता अभियानको भूमिका कस्तो रहन्छ होला ?
सरकारले शैक्षिक सत्र ०७५ मा ल्याएको दिवा खाजा, अभिभावकत्व ग्रहणले सामुदायिक विद्यालयको अवस्था केही हदसम्म सुध्रने मौका पाएको छ। विशेषतः पहाडका विकट क्षेत्र तथा तराईमा सञ्चालित विद्यालयमा दिवा खाजाको व्यवस्थाले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

अभिभावकत्व ग्रहण अर्काे आकर्षक पक्ष हो। विद्यालय पढ्न नपाउने अवस्थामा रहेका बालबालिका पढ्न पाउने भएका छन् । खाजा खान पाउने आशले पनि पढ्न जाने गर्छन् । जसले गर्दा विद्यालको ड्रप आउटको अवस्थालाई निक्कै कम गर्न मद्दत पुर्याउँछ ।

सरकारको पछिल्लो शिक्षा नीति तथा कार्यक्रम कत्तिको प्रभावकारी छन् ?
हाम्रो देशमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति विद्यमान छ । शिक्षा क्षेत्रलाई एउटा प्रयोगशालाजस्तो बनाइएको छ । विभिन्न नीति तथा कार्यक्रम परीक्षण गर्ने स्थलको रूपमा शिक्षालाई लिइएको छ । जसले गर्दा बीच–बीचमा केही संकट र द्विविधा भोग्नुपरेको छ। पाठ्यक्रममा समेत धेरै सुधार गर्नुपर्ने देखिन्छ।

स्नातकोत्तर उत्तीर्णले एउटा जागिरका लागि निवेदन लेख्न जान्दैन। बिएस्सी गरेकाले बनस्पति, किरो फट्याङ्ग्रा चिन्दैन। कृषिप्रधान देश भन्छौँ, अर्बौंको मासु विदेशबाट आउँछ। धान–मकै विदेशबाट ल्याउनुपरेको छ। सीपमूलक र व्यावसायिक दक्षता बढ्नेगरी पाठ्यक्रम निर्माण नगर्नाका परिणाम हुन् यी । पाठ्यक्रममा आमूल सुधार आवश्यक छ । अनुत्तीर्ण दर धेरै भयो भनेर अक्षरांकन पद्धति लागू गरियो ।

वास्तवमा, यो तयारीविनै आयो । यो पद्धतिले गर्दा विद्यार्थीमा नपढे पनि उत्तीर्ण भइन्छ भन्ने धारणा विकसित भएको छ । परिणामतः कम मिहिनेत गर्ने प्रवृत्ति देखापरेको छ । पहिले डिस्टिङ्सन आउनेलाई ११ मा रेड कार्पेट बिच्छ्याएर स्वागत गरिन्थ्यो । अहिले ‘ए प्लस’ ल्याए पनि गणितमा ‘सी’ ग्रेड आए विज्ञान पढ्न पाउँदैन । गणितमा ‘डी प्लस’ नभए व्यवस्थापन पढ्न पाउँदैन ।

यसले झनै अन्योल भएको छ । फेरि जीवन उपयोगी शिक्षाको कुरा आएको छ । तर, त्यो भनेको के हो ? अन्योल छ । विज्ञले इन्टरनेट÷कम्प्युटर पढाए हुन्छ भन्ने गरेका छन् । कसैले गणितीय सीप सिकाउने त कसैले विज्ञान राखे पनि हुन्छ भन्छन् । यसबारे पहिल्यै पर्याप्त तयारी हुन जरुरी छ । खेलवाड गर्नु हुँदैन ।

सामुदायिक विद्यालयको अवस्था सुधार्न प्रधानाध्यापकले कस्तो भूमिका निभाउनुपर्ला ?
विद्यालयको अवस्था सुधार्नको लागि प्रअले सर्वाेपरि भूमिका खेल्नुपर्छ । प्रधानाध्यापक पक्षपाति नभई लगनशील र मिहिनेति भएको खन्डमा सामुदायिक विद्यालयको अवस्था सुध्रन्छ भन्ने अनुभव आफैँबाट पाएको छु । प्रअमा हाकिम, मालिक बन्ने सोचाइ हुनु निक्कै गलत कुरा हो । मुख्यतः प्रधानाध्यापक मिहिनेति, दक्ष र नेतृत्वदायी क्षमताको हुनुपर्छ ।

कुशल प्रशासक र दूरदर्शी प्रअले नै विद्यालय सुधार गर्न सक्छ। अहिले राम्रा भनिएका सामुदायिक विद्यालयहरू हेर्दा त्यहाँका प्रधानाध्यापकहरूकै लगनशीलता, मिहिनेत र कुशल नेतृत्वले राम्रो भएको देखिन्छ । प्रअमा बहुमुखी प्रतिभा र भूमिका हुन जरुरी छ । प्रधानाध्यापक आफैँ नै पहिले रोलमोडल हुनुपर्छ ।

मिलनसार, सामूहिक भावना, सहकार्यको भावना हुन आवश्यक छ । कुशल र नेतृत्वदायी प्रअले चाहे विद्यालय सुध्रिन्छ । कुशल व्यवस्थापकको भूमिका निभाउनु आवश्यक हुन्छ । विद्यालयको अवस्था, सिकाइ तथा योजनाको विषयमा मूल्यांकन गर्न समयसमयमा बैठक बस्नुपर्छ । यसबीचमा प्रअले अन्य शिक्षक, विद्यार्थी र विद्यालयको अभिभावकको भूमिका निर्वाह गर्न सक्छ ।

सरकारी विद्यालयमा कार्यरत शिक्षकका छोराछोरी सरकारी विद्यालयमा नै पढाउनु पर्छ भन्ने माग आइरहेको छ । यसलाई कसरि लिनुहुन्छ ?
विश्व निकेतन माविमा अध्यायपन गराउँदै आएका अधिकांश शिक्षकका छोराछोरी यहि विद्यालयमा अध्ययन गरेका छन् । सरकारी विद्यालयमा कार्यरत शिक्षक स्वयंले आफ्ना बालबालिकालाई महँगा प्राइभेट विद्यालयमा भर्ना गर्ने गरेका छन् । अनि, गरिब, विपन्न अभिभावकका छोराछोरी सरकारी विद्यालयमा पढाउन आग्रह गर्छाैं। यो निक्कै अस्वभाविक कुरा हो ।

सरकारी विद्यालयमा तालिम प्राप्त शिक्षकले पढाइराख्नुभएको छ भने आफ्ना छोरा छोरी त्यहि विद्यालयमा पढाउन केको आपत्ति ?

म त सम्पूर्ण शिक्षकलाई आफ्ना छोराछोरी सरकारी विद्यालयमा नै भर्ना गराउन आग्रह गर्छु, ताकि, विद्यालयप्रति शिक्षकको माया र सद्भाव जागोस् । सरकारले देशको ढुकुटीबाट पैसा दिएर राखेका निजामती कर्मचारी, फौजी, शिक्षक सम्पूर्णले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा नै पढाउनुपर्छ । शिक्षकले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाएमा उसले राम्ररी पढाउछ भन्ने विश्वास रहन्छ । सरकारले यो नियमलाई कडाइका साथ लागू गर्नुपर्छ ।

अन्त्यमा, शिक्षक, विद्यालय र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्धले विद्यालयको अवस्था सुधार्न कस्तो भूमिका खेल्छ होला ?
शिक्षक, विद्यालय र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध अन्त्यन्त सन्तुलन हुनु आवश्यक छ । विद्यार्थीलाई विद्यालयमा राम्रो व्यवहार गरिनुपर्छ । व्यवस्थापन समिति, अभिभावकले विद्यालयप्रति उदार भावना प्रकट गर्नुपर्छ । विद्यालयमा हाम्राभन्दा राम्रा शिक्षक छनोट गर्नुपर्छ ।

सँगै, यी तिनै पक्षको सम्बन्ध नङ र मासुकोजस्तो सुमधुर हुनुपर्छ । नियन्त्रक र हस्तक्षेपकारी भूमिका नभई सहयोगी भूमिका निभाउनुपर्छ । शिक्षक, कर्मचारी विद्यालय र अभिभावकप्रति वफादार, पूर्ण आज्ञापालक भएको खन्डमा अवश्य पनि विद्यालयको स्तर सुध्रिन समय लाग्दैन ।

प्रतिक्रिया