सम्पादकीय

मेडिकल शिक्षाको खराब नतिजा

सम्पादकीय २०७५ साउन २९ गते ८:१३ मा प्रकाशित

एमबिबिएस परीक्षा उत्तीर्ण गरेपछि डाक्टरहरूले आफ्नो पेसा सुरु गर्न लाइसेन्स लिनुपर्ने प्रावधान छ । लाइसेन्स उपलब्ध गराउने जिम्मेवारी सरकारले नेपाल मेडिकल काउन्सिललाई दिएको छ । नेपाल मेडिकल काउन्सिलले वर्षको तीनपटक मार्च, अगस्ट र डिसेम्बरमा परीक्षा लिएर उत्तीर्ण हुनेहरूलाई लाइसेन्स उपलब्ध गराउँछ । तर, दुर्भाग्य लाइसेन्सको परीक्षामा सामेल डाक्टरहरू अधिकांश फेल हुने गरेका छन् । गत शनिबार सम्पन्न परीक्षामा आठ सय ७६ डाक्टर सामेल भएका थिए तर एक सय ८९ जना मात्रै उत्तीर्ण भए । यो नतिजा २४ प्रतिशत मात्रै हो । २४ प्रतिशत भनेको त ज्यादै नै खराब नतिजा हो । यस्तो अत्यन्त खराब नतिजा कसरी आयो ? सरकार गम्भीर हुनु जरुरी छ । लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेमध्ये अधिकांश आफ्नै खर्चमा विदेश पढेर आएका डाक्टरहरू रहेको मेडिकल काउन्सिलले जनाएको छ । योपटक मात्रै होइन यस अघिका सबै परीक्षामा आफ्नै खर्चमा विदेश पढेर आएका डाक्टरहरूको यस्तै खराब नतिजा थियो । स्वदेशमा नाम निकाल्न नसकेपछि पैसाको भरमा विदेश गएर पढ्ने कमजोर विद्यार्थीका कारण यस्तो खराब नतिजा आएको ठहर गर्दै सरकारले विगत केही वर्षदेखि प्रवेश परीक्षाको अनिवार्य व्यवस्था गरेको थियो । स्वदेशमा लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भएपछि मात्रै विदेशमा एमबिबिएस पढ्न जान पाउने अनिवार्य व्यवस्था गरिएको थियो । यो अनिवार्य व्यवस्थापछि पनि खराब नतिजा दोहोरिरहेको हो भने थप संवेदनशीलता अपनाउनु जरुरी छ । शनिबारको नतिजामा फेल हुनेमध्ये अधिकांश पुराना अर्थात् प्रवेश परीक्षाको प्रावधान सुरु हुनुभन्दा अघि विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरू रहेको मेडिकल काउन्सिलले जनाएको छ । यसरी पटकपटक अनुत्तीर्ण भएकाहरूका लागि वैकल्पिक व्यवस्थाबारे सरकारले सोच्नुपर्छ । उनीहरूको लगानी र मिहिनेत खेर जान नदिन थप तालिम तथा अनुभव लिने व्यवस्था गर्नुपर्छ ।
मुलुक बाहिरबाट पढेर आएका डाक्टरहरूको गुणस्तर मापन गर्ने एक मात्रै आधार भनेको लाइसेन्स परीक्षा नै हो । चिकित्सा सेवाको अभ्यास गर्न यो परीक्षा पास गर्नै पर्छ । यस परीक्षणमा असफल भएकाले पुनः परीक्षा दिन पाउ“छन् । तर, १०औँ पटक फेल हुनु भनेको राम्रो लक्षण होइन । मेडिकल शिक्षा आफैँमा जटिल हो । मेडिकल पढ्ने विद्यार्थीको आधारभूदेखि ‘प्लस टु’ सम्मको शिक्षाको स्तरसमेत राम्रो हुनुपर्छ । मेडिकल शिक्षा पढाउने कलेजले योग्य शिक्षक, पुस्तकालय, प्रयोगशाला शिक्षण सामग्रीजस्ता कुराको राम्रोसँग व्यवस्थापन गर्न सकेन भने गुणस्तर राम्रो हुँदैन । मेडिकल शिक्षाको पाठ्यक्रम सामान्यतया ७० प्रतिशत विश्वका सबै मुलुकमा एउटै हुन्छ । ३० प्रतिशत कुरा देशअनुसार फरक हुन्छ । पढाइ भएको देशको रोग, आर्थिक, सामाजिक अवस्था र वातावरणीय प्रभावजस्ता कुरामा आधारित हुन्छ । विदेश पढ्न जानेहरूले त्यो ३० प्रतिशत पढ्न पाउँदैनन् । विदेशका मेडिकल कलेजहरू अरू देशका विद्यार्थीको भविष्यप्रति गम्भीर नहुनु स्वभाविकै हो । उनीहरू पैसा मात्रै हेर्छन् गुणस्तर हेर्दैनन् र प्रमाणपत्र बाँड्छन् । ‘हामीले लाइसेन्स पनि दिनुपर्ने होइन र हाम्रा देशका जनतालाई पनि यिनीहरूले सेवा गर्ने हैनन्’ भन्ने मानसिकता पनि रहेको हुनसक्छ । त्यसकारण पनि विदेशबाट चिकित्साशास्त्रमा राम्रो जनशक्ति आउन नसकेको हुनुपर्छ ।
यसैगरी, चिकित्सा शास्त्रको अध्ययनमा देशअनुसार निश्चित उद्देश्य हुन्छ । विदेशमा चिकित्सा सेवा पढेर पनि धेरै मानिसहरू अनुसन्धान, निरोधात्मक स्वास्थ्य र वातावरण, स्वास्थ्य र समाजजस्ता विषयमा आफ्नाे काम गर्छन् भने नेपालमा चिकित्सकहरू उपचारात्मक काममा मात्रै सीमित छन् । त्यसैले नेपालमा लाइसेन्सको परीक्षा उपचारात्मक विषयमा मात्रै हुन्छ । नेपालमा पढ्नेले नेपाल सुहाउँदो ज्ञान हासिल गरेको हुन्छ । चिकित्साशास्त्रको पढाइ भनेको प्रयोगात्मक अभ्यासमा आधारित नै हो । बिरामीलाई असर नपुर्याइकन बिरामीबाटै सिक्ने । तर, विदेशमा पढेकाहरू सबैले यस्तो अवसर पाउँदैनन् । बिरामीसँग दोहोरो सञ्चार नभएकोले पनि विदेश पढेर आएकाहरूको पढाइ नराम्रो भएको हो । प्रयोगशालामा मुसा र खरायोमा प्राक्टिकल गरेर मात्रै हुँदैन । स्वदेशभित्रै पनि कतिपय निजी मेडिकल कलेजहरूको नतिजा राम्रो छैन । मापदण्ड अनुसारका संरचनाविना नै इजाजत दिइएका कारण यो समस्या आएको हो । यसमा सरकार दोषी छ । जसरी विदेशमा मेडिकल शिक्षा लिन पठाउने मामिलामा अविभावकहरूको कमजोरी छ, त्यसरी नै स्वदेशी मेडिकल कलेजमा खराब नतिजा आउनुमा सरकार दोषी छ । राज्यको अनुगमन संयन्त्रमा रहनेहरू पनि दोषी छन् । यसबारे छानबिन गर्नु जरुरी छ ।

प्रतिक्रिया