मत-विमत

आर्थिक विकासमा सहकारीको भूमिका

सुदर्शन अधिकारी २०७५ भदौ ३ गते १०:०० मा प्रकाशित

हाम्रो जस्तो विकासोन्मुख देश जहाँ आर्थिक वृद्धिदर न्यून रहेको छ । त्यहाँ सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ । रोजगारीका लागि विदेसिने युवाको संख्या १२ देखि १५ सयसम्म छ । त्यसैबाट पनि बेरोजगारीको अवस्था प्रस्टै हुन्छ । राज्यले रोजगारी सिर्जना गर्न नसक्दा ठूलो युवा जमात शिक्षित भएर पनि बेरोजगार बस्न बाध्य छन् ।

अशिक्षित र अर्धशिक्षित त अरबियन मुलुकदेखि विभिन्न राष्ट्रहरूमा रोजगारीकै लागि जान विवश भएका छन् । सरकार भने देशमा भएका ठुल्ठूला उद्योगलाई सञ्चालन गरी थप रोजगारीको सिर्जना गर्नेतर्फ लाग्नुको सट्टा जेनतेन चलेका उद्योगहरू पनि बन्द हुने अवस्था आउँदासम्म प्रभावकारी कदम चालेर रोजगारी सिर्जना गर्नेतर्फ लाग्दैन ।

प्रजातन्त्रको पुनः स्थापना पश्चात् उदार आर्थिक नीतिको अवलम्बनबारे कारोबार गर्ने बैंक तथा वित्तीय संस्था स्थापना हुन थाले । त्यसकै परिणाम स्वरूप सहकारी संस्थाको वृद्धि हुँदै गएर साठीको दशकमा त तीव्र रूपले सहकारी संस्थाहरू खुलेका छन् । जसबाट ससाना रूपमा गाँउ सहरमा छरिएर रहेको रकमलाई जम्मा गरी आर्थिक कारोबार गर्दै केही मात्रामा रोजगारी प्राप्त गर्ने र पुँजी परिचालन गरी आर्थिक अवस्थासमेत सुधार्ने सुअवसर प्राप्त भएको देखिन्छ ।

सहकारी मूलतः न्यून आय भएका गरिब तथा विपन्न परिवारका लागि एउटै भरपर्दो संस्था बन्न पुग्यो । जसबाट थोरै थोरै बचत गरी ठूलो धनराशि निर्माण गरी स्वरोजगारी सिर्जना भएको छ । गाईभैँसीपालन, कुखुरापालन, बंगुरपालन, वेमौसमी तरकारी खेती, च्याउ खेतीजस्ता आयमूलक व्यवसाय गरी निर्धन व्यक्ति तथा परिवारको आर्थिक अवस्था उकास्न सहकारी संस्था अत्यन्तै महत्वपूर्ण सावित भए । हाल देशमा २६ हजार ५ सयवटा सहकारी सस्ंथा छन् । जसले कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान गरेको छ ।

सहकारीकै माध्यमबाट ग्रामीण विपन्न महिलाहरू आयमुलक कार्यगरी आर्थिक रूपमा सबल बन्दै सफल व्यवसायीसमेत बनेका छन् । आमा समूह महिला समूहजस्ता संगठित संस्था खोलेर रुपैयाँमा छरिएर रहेका पैसालाई लाख र करोडमा बदल्दै स्वरोजगारी सिर्जना गरी आफैँ सक्षम बनेर जीविकोपार्जन गर्ने समूह अनगिन्ती रहेका छन् ।

सहकारी संघ संस्थामार्फत् सुलभ व्याजदरमा ऋण लिएर मैनबत्ती बनाउने, साबुन बनाउने, दालमोठ बनाउने, तितौरा बनाउने, सिलाई बुनाई गर्ने, सिन्के तथा बाटेको धूप बनाउनेजस्ता कार्य गरी लाखौँका संख्यामा बेरोजगार भएर बसेका युवती आमा, दिदीबहिनीलाई आर्थिक रूपमा सबल बनाउने कार्य गरेको छ । साथै, महिलाहरू पनि नेतृत्वमा पुगेर संगठनलाई समेत प्रभावकारी रूपले सञ्चालन गर्न सफल भएका छन् ।

वैदेशिक रोजगारीमा गएका युवाहरू पनि केही समयको पीडा र दर्दनाक अवस्था भोगेर स्वदेशमा फर्किएर त्यही सहकारी संस्थामार्फत् पुँजीजम्मा गर्दै व्यावसायिक रूपमा कृषि तथा पशुपालन, दुग्ध व्यवसाय बाख्रापालनजस्ता आधुनिक र वैज्ञानिक ढंगले व्यवसाय सञ्चालन गरेर आफ्नै जन्मभूमिमा विदेशमा भन्दा बढी आम्दानी गर्न सक्षम भएका छन् ।

अनेकौँ व्यावधान सहेर कामगरी विदेशी भूमिमा पसिना बगाएर नेपाल पठाएको रकमबाट प्राप्त हुने रेमिट्यान्समा रमाउने सरकारले भने बर्सेनि श्रम बजारमा आउने तीन÷चार लाख युवालाई रोजगारी दिनुपर्नेमा तीन÷चार हजारलाई समेत रोजगारी दिनेगरी कार्य गर्न नसकि रहेको वर्तमान अवस्थामा सहकारीमार्फत् स्वरोजगार सिर्जना गर्दै देशको आर्थिक वृद्धिदर बढाउनमा समेत महत्वपूर्ण योगदान गरिरहेका छन् ।

सहकारी संस्थामा आवद्ध हुनु भनेको सेवा भावले कार्य गर्ने समूहमा मिलेर अगाडि बढ्ने आर्थिक कार्यको जिम्वेवारी सबैले लिने सबैको समान हैसियत हुने पदीय हिसाबले उच्च र निम्न देखिए पनि आर्थिक कारोबार गर्ने सवालमा समान पहुँच हुने एकताको साथै भावनाको विकास गर्नेजस्ता सकारात्मक र समान अवसरको विकास गराउने संस्था भएकाले यसमा आवद्ध हुनु भनेको मिलेर कार्य गर्ने क्षमताको विकास गराउनु पनि हो ।

आर्थिक कारोबारमा साझेदारीहरूका बीचमा लामो समय मेल भएको अन्यत्र अपवादको रूपमा मात्रै देखिन्छ । पछिल्लो समयमा संख्यात्मक रूपमा सहकारीको संख्या वृद्धि हँुदै जाँदा केही मात्रामा भने नकारात्मक असर पर्ने कार्य गरी समग्र सहकारी आन्दोलन र इतिहासलाई समेत दाग लगाउने कार्य भएका पनि छन् । हजाराँैमा रहेका संस्थाहरू मध्ये एकाध संस्थाले गलत कार्य गरिदिँदा पूरै सहकारीलाई मुछ्नु पनि सही हुँदैन ।

हरेक क्षेत्रमा गलत मनसायका व्यक्ति हुन्छन् र त्यस्ता व्यक्तिले सिंगो संस्थालाई बदनाम गराउने गरेका पनि थुप्रै दृष्टान्त भेटिन्छन् । झनै सहकारी संस्थामा त आर्थिक कारोबार बढी हुने भएकाले यसमा पनि त्यस्ता कुदृष्टि राख्ने खराब आचरणका व्यक्ति छिटपुट रूपमा हुने नै भए । त्यस्ता संस्थालाई अहित हुने र विकृतिलाई बढावा दिनेलाई सहकारीको नीति, नियम र कानुनले दिएको अधिकार उपयोग गरी निरुत्साहित गर्दै लैजानु पर्दछ ।

सहकारी संस्था भनेको देशको आर्थिक स्तम्भ नै हो भन्ने प्रमाणित गर्न यसमा आवद्ध सबै सदस्यहरू गम्भीर आपसमा हातेमालो गरी दिगो आर्थिक विकासका लागि पुँजी निर्माण गरी आर्थिक अनुशासनमा रहेर रोजगारी तथा आर्थिक वृद्धि गर्नमा इमानदार भएर लाग्नुपर्ने देखिन्छ । सहकारीको आदर्श मूल्य र मान्यतालाई आत्मसात गर्दै अगाडि बढ्न सकिएमा अझै पनि देशको आर्थिक वृद्धिदरलाई अपेक्षा गरिए अनुरूप दोहोरो अंकमा पु¥याउने लक्ष्य हासिल गर्न कठिन देखिन्न ।

वास्तवमा सहकारीको पहुँच ग्रामीण इलाकाका ती जनसमुदायका बीचमा पु¥याउनुपर्छ जहाँ बैंक तथा अन्य वित्तीय संघ÷सस्थाहरू रहेका छैनन् । पछिल्लो समयमा सहकारी संघसस्थाहरू सहर केन्द्रित हुँदै गएका छन् । यसले विपन्न वर्गमा सहकारी संस्थाको उपलब्धता नहुँदा उनीहरूले थोरै पुँजी बचत गरी त्यसै संस्थाबाट सहुलियत दरमा ऋण लिएर स्वरोजगारका कार्य गर्न नपाइरहेको अवस्था पनि छँदै छ । कतिपय सहकारी संस्थाहरूले बहुउद्देश्यीय भने पनि एउटै कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

सहकारी संस्थाको गठन गर्दा जुन–जुन क्षेत्रमा जसरी कार्य गर्ने भनिएको थियो । त्यसरी सबै क्षेत्र समेटेर कार्य अथवा आर्थिक क्रियाकलाप गर्ने सहकारी संस्थाहरू अत्यन्तै कम मात्र भेटिन्छन् ।

कतिपय सहकारी संस्थाका पदाधिकारी तथा सदस्यलाई सामान्य सहकारीको बारेमा जानकारीसमेत नहुँदा आफ्नो संस्थाको गतिविधि तथा कार्यक्षेत्रका बारेमा अनविज्ञ देखिन्छन् । यसलाई हटाउन सम्बन्धित सहकारी, संस्थाका सदस्यहरू नै जागरुक भएर सहकारी विकास बोर्ड तथा विभागलगायतका निकायबाट दिइने तालिममा सहभागी हुँदै, सहकारीप्रति बढी जानकार भएर संगठित र प्रभावकारी रूपमा आफ्नो उपस्थिति देखाएर नमुनाका रूपमा आफ्नो संस्थालाई चिनाउनेतर्फ अग्रसर हुनुपर्दछ ।

जसले गर्दा संस्थाको कार्य उदाहरणीय बन्छ भने आफ्नोसमेत कार्य सम्पादन क्षमतामा वृद्धि हुन्छ । जसले सस्थाको गरिमा वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाहसमेत गराउँछ ।

सहकारी नै त्यस्तो महत्वपूर्ण र प्रभावकारी संस्था हो । जसले व्यक्ति व्यक्तिको सानो रकम जुन छरिएर रहेको हुन्छ, त्यसलाई जम्मा गर्दै ठूलो पुँजी बनाएर लगानी गर्ने वातावरण बनाउँछ । अझ स्पष्ट भन्नुपर्दा थोपा थोपा नगदलाई नदी बनाएर लगानी गर्ने वातावरण बनाउँछ । पछिल्लो समयमा सहकारीको सख्ंया वृद्धि हुँदै जाँदा संस्थाहरूको कार्यमा पनि छिटपुट रूपमा विकृति विसंगतिहरू पनि देखिन थालेका छन् ।

तिनलाई व्यवस्थित नियमन गर्नका लागि सहकारी संस्थालाई आवश्यकपर्ने थप जनशक्ति पूरा गरी चुस्तदुरुस्त राख्नेतर्फ पनि सहकारी बोर्ड र विभागका सम्बन्धित शाखाले ध्यान दिनुपर्ने देखिन्छ । हाम्रो जस्तो कम आय भएका जनताहरू रहने मुलुकमा सहकारी नै उत्तम माध्यम हुन्छ । तसर्थ, सहकारीको पहुँच ग्रामीण र दुर्गम इलाकामा समेत पु¥याएर सही ढंगले अगाडि बढाउन सबैको सकारात्मक भूमिकाको खाँचो रहन्छ ।

सहकारीसम्बन्धी रेडियो तथा टेलिभिजन कार्यक्रम मासिक तथा त्रैमासिक पत्रपत्रिका वार्षिक अंकलगायतका सामग्रीले यससम्बन्धी जानकारी पाउन सहज बनाएको छ । अझै यसको प्रभावकारीता र व्यापकतालाई विस्तार गर्दै लैजानका लागि विद्यालयस्तरका पाठ्यक्रमदेखि नै सहकारीका सम्बन्धमा जानकारी दिलाउने गरी उच्च मावि तथा विश्वविद्यालयसम्मका पाठ्यक्रममा सहकारीका बारेमा अध्यापन गराउने व्यवस्था गर्दा अझै उपयुक्त हुने देखिन्छ ।

सामान्य किसानको थोरै उप्पादनदेखि ठूला उद्योगपतिका उत्पादनसम्मलाई बजार पु¥याइ उत्पादन र वितरणमा समेत राम्रो माध्यम बन्ने साथै, सहकारीको विकासका लागि सरकारले पनि समय सापेक्ष सुधार गर्नुपर्छ । प्रभावकारी नीति तथा नियम ल्याएर त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय