अन्तर्वार्ता

सरकारले गियर फेर्ने वेला भएको छ

सौर्य अनलाइन २०७५ भदौ ४ गते ९:१८ मा प्रकाशित

तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका लागि सक्रिय भूमिका खेलेका र नेपालमा सबै वामपन्थी एक हुनुपर्छ, भन्दै आएका मध्येका एक नेता हुन् टोपबहादुर रायमाझी । पटकपटक मन्त्रीसमेत भएका उनले ठूला दुई कम्युनिस्ट पार्टी एक गराउन निकै कसरत गरे । उनीलगायतका नेताहरूको सक्रियताले दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताको सूत्रमा बाँध्न सफलता मिल्यो । त्यही सफलताले आज मुलुकमा कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार छ ।

यो ०४६ पछिको सबैभन्दा शाक्तिशाली सरकार हो । तर, त्यही एकतामा सक्रियता देखाउने मध्येका नेता रायमाझी भने एकतापछिका दिनमा त्यति सक्रियता देखाएका छैनन् । एकताको फाइदा कैयौँ नेताले लिए । कैयौँले अस्वाभाविक रूपमा राजनीतिक छलाङ मारे, कल्पना नै नगरेको पद हातपार्ने पनि देखिए । रायमाझी भने राजनीतिमा कमै देखापर्न थालेका छन् । यसै, सन्दर्भमा रायमाझीसँग सौर्य दैनिककी चमिना भट्टराईले गरेको संवादः–

हिजोआज कता व्यस्त हुनुहुन्छ ? त्यति धेरै सार्वजनिक कार्यक्रममा देखिनु हुँदैन नि ?
पहिलाजस्तै यतिवेला पनि म पार्टीको काम, विकास निर्माण र सामाजिक काममा व्यस्त छु । जिल्लाका कैयौँ सामाजिक काममा लागेको छु । म यहाँ छु, भन्दै हिँड्ने कुरा भएन । जे जिम्मेवारी छ, त्यसैलाई पूरा गरिरहेको छु । तत्कालीन नेकपा

एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि पार्टीमा तपाईंको भूमिका खासै देखिएन कारण के हो ?
दुईवटा पार्टीबीचको एकतापछि पार्टी अझैँ विशाल बनेको छ । पार्टीमा धेरै नेता छन् सबैको आआफ्नो जिम्मेवारी छ । यतिवेला मेरो मात्रै होइन धेरै नेताहरूको भूमिका देखिएको छैन । पार्टी एकताको प्रक्रिया अझै पूरा भएको छैन ।

त्यो प्रक्रिया पूरा नहुँदासम्म धेरै नेताहरूको भूमिका देखिँदैन । त्योभित्र म पनि पर्दछु । यो अहिलेका निम्ति सामान्य हो । जब पार्टीको एकता प्रक्रिया पूरा हुन्छ, त्यतिवेला सबैको भूमिका देखिनेछ, भन्नेमा म विश्वस्त छु ।

पार्टी एकताको पक्षमा सक्रिय रूपमा लाग्नुभएको मान्छे, हिजोआज एकता प्रक्रियामा खासै भूमिकामा नभएकाहरूले भूमिका बढाएका छन् । तपाईंचाहिँ कता हराउनुभयो ? पार्टीमा तपाईंको भूमिका सकिएको हो ?
म ०४८ सालदेखि नै नेपालका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ, भनेर लागेको हुँ । त्यसयता भएका विभिन्न निर्वाचनका परिणाले पनि नेपालका कम्युनिस्ट पार्टीको संख्या र त्यसलाई मतदिने जनताको भावना हेर्दा नेपालमा दुईतिहाइभन्दा बढी कम्युनिस्टहरू छन् । त्यसलाई एकता गरेर लैजानुपर्छ भन्ने मलाई लागैकै हो।

अहिले त्यसमा सफलता पाएका छौँ । यतिवेला मुलुकमा राजनीतिक व्यवस्था र राजनीतिक एजेन्डामा पनि परिवर्तन भएको छ । त्यसैले अब देशको एक मात्रै एजेन्डा विकास र समृद्धि हो । त्यसका लागि बहुमत वा दुईतिहाइ बहुमतको सरकार आवश्यक थियो । त्यति नभइकन मुलुकमा राजनीतिक स्थिरता, शान्ति र विकास हुँदैन भन्ने मैले उति वेलैदेखि बुझेको हुँ।

यसो गर्न सकिएन भने राजनीतिमा नोक्सानी हुन्छ, भन्ने महसुस गरेको हुँ । यसले समृद्धिमा पनि असर पार्ने निश्चित थियो । विगतको भोगाइले पनि अनुभूति गराएको छ । अब दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टी एकताको आवश्यकताबाहेक केही छैन, भन्ने भयो त्यसैले पार्टी एकताको प्रस्ताव सबैभदा पहिला मैले नै गरेको हुँ ।

तर, पार्टी एकताको फल त अरूले खाँदै छन् होइन र ? एकतापछि तपार्इं हराउनुको कारण के हो ?
हो, त्यतिवेला आवश्यकता अनुसार भूमिका खेलेँ । तर, पछिल्लो चरणमा कतिपय मान्छेलाई टोपबहादुर रायमाझीले बढी भूमिका खेल्यो भन्ने पनि लाग्यो । त्यस प्रकारका आसयहरू पनि व्यक्ति भए । यसले मलाई कुनै फरक पार्दैन । अझ एमालेसँग एकताको कुरा गरिरहँदा टोपबहादुर एमालेमा प्रवेश गर्न लाग्यो पनि भने ।

त्यो एकताका कुरा विरोधी थिए, उनीहरूले त्यसको प्रचार पनि गरे । तर, म कुनै पार्टीमा प्रवेश गर्ने भए किन एकताको कुरा गर्थे ? त्यसको विषय उठाउने वा पहल गर्ने थिइनँ । तर, मेरो त्यही प्रस्तावले अन्ततः पार्टी एकता भयो यसमा म खुसी छु । एकतापछि त्यस्ता कुरा गर्नेको मुखबन्द भएको छ ।

यद्यपि, म सधैँ पार्टी एकताको पक्षमा थिएँ र रहेँ पनि । पार्टीमा काम गर्ने सन्दर्भमा होस् वा सरकारमा रहेर काम गर्ने सवालमा मैले सधैँ काम र त्यसको परिणामलाई महत्व दिने गरेको छु । जतिवेला जे आवश्यकता पर्छ, त्यतिवेला आवश्यकता पर्ने भूमिका खेल्ने गरेको छु । आफ्नो कामलाई प्रचारमा ल्याउन वा आउन कहिल्यै पनि चाहिनँ । इमानदारीपूर्वक काम गर्ने हो ।

दुई भिन्न धारमा रहेको कम्युनिस्ट पार्टीलाई एकता बनाउन भूमिका खेल्नुभयो, अहिले अरू भूमिकामा देखिँदै छन् । परिणाम आइसकेपछि छायामा पर्दा उपयोगवादी नीति भयो भन्ने लाग्दैन ?
त्यस्तो सोचेकै छैन । कम्युनिस्टहरूले कहिल्यै पनि आफ्ना लागि के हुन्छ ? कुन निर्णय हुँदा मैले के पाउँछु ? भन्ने कुरामा ध्यान दिँदैनन् । मैले पनि आफूलाई त्यही कम्युनिस्ट कार्यकर्ताका रूपमा उभ्याएँ । हाम्रो ध्यान राष्ट्र र जनताको हितमा हुन्छ कि हुँदैन भन्नेमा जानुपर्छ ।

राजनीति गरेकै देश र जनताका लागि हो । कम्युनिस्ट भएर के पाउँलाभन्दा पनि देश र जनताका लागि के दिन सकुँला भनेर लागेको हुँ । आफ्नो निर्णयले जनतालाई फाइदा पुग्छ कि पुग्दैन भन्ने कुरा प्रमुख हो । म सधैँ यही कुरामा विश्वास राख्दछु । हो, मैले पार्टी एकतालाई परिणाममा पुर्याउनका लागि भूमिका नखेलेको होइन, आफ्नो हैसियतले भ्याएसम्म खेलेकै हुँ ।

भोलिका दिनमा पनि भूमिका खेल्ने कुरामा मपछि हट्दिन । अहिले भूमिकामा नभएका कारण फेरि मेरो कहिल्यै भूमिका नै रहँदैन भन्ने हुँदैन । आवश्यकता परेको ठाउँमा सबै प्रकारका भूमिका खेल्छु । अहिले को कहाँ छ कसले के पायो र सधैँ यहीँ रहन्छ भनेर बुझ्नु हुँदैन । अहिले नै भूमिकामा देखिनु पर्ने, हतारो गर्नेपर्ने र चर्चामा आउनुपर्ने भन्ने छैन ।

पार्टीले जिम्मेवारी तथा खटाएको वेला जुनसुकै भूमिका खेल्न तयार छु । तर, भूमिका चाहियो भन्दै हिजो पनि हिँडिनँ, आज पनि हिँड्दिनँ । पार्टीले कसलाई कतिवेला के जिम्मेवारी दिने भनेर सोचेको हुन्छ । म पार्टी निर्णयप्रति विश्वस्त छु ।

पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई नजिकको भनेर चिनिनुभएको थियो, उहाँले पार्टी छोडेका कारण तपाईंप्रति पनि कम विश्वास गरिएको त होइन ?
केही मान्छेमा त्यस्तो ह्याङओभर हुनसक्छ, नहोला भन्न सकिँदैन । समग्र पार्टीमा त्यस्तो दृष्टिकोण र चिन्तन छ, भन्ने मलाई लाग्दैन । पार्टीमा बाबुराम भट्टराईजस्तो राष्ट्रिय र अन्तर्राट्रिय रूपमा चर्चित र विद्वान् मान्छेको आवश्यकता छ, यिनलाई टिकाउनुपर्छ र सँगै लैजानुपर्छ भनेर म लामोसमय लागेको सत्य हो ।

बाबुराम भट्टराईलाई साथदिनुको मतलब पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई धोका दिने र असहयोग गर्ने काम मैले कहिल्यै पनि गरिनँ । जे गरेँ पार्टीका हितमा गरेँ । बाबुरामलाई सहयोग गरेको देखियो होला त्यसले पार्टीलाई हित पुग्छ भनेर गरेको थिएँ ।

हिजोका दिनमा उनलाई सहयोग गरेकोमा मलाई कुनै पश्चात्ताप छैन । उहाँ अहिले पनि राष्ट्रका लागि आवश्यक व्यक्तित्व हुनुहुन्छ । ज्ञान र क्षमताका हिसाबले उहाँ अहिले पनि महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । तर, उहाँले आफ्नो ज्ञान क्षमता र बौद्धिकतालाई राजनीतिसँग जोड्न सक्नुभएन कि भन्ने मेरो बुझाइ छ ।

त्यसबारेमा उहाँले सोच्नुहोला । उहाँले पार्टी छोडेर जाने र नयाँ पार्टी खोल्नेकाम गर्नु हुँदैन थियो । मैले त्यसलाई पनि रोक्ने प्रयास गरेको हुँ, सकिएन । त्यसको मतलब म उहाँ जहाँ जानुहुन्छ, पछिपछि जानुपर्छ भन्ने होइन । म त्यस्तो मान्छे होइन । कसैलाई भ्रम छ भने त्यो भ्रम त्यागिदिए हुन्छ ।

नेपालका कम्युनिस्ट पार्टीहरू फुट्ने र जुट्ने क्रममा कहिले कसैलाई निकै फाइदा पुग्यो त कहिले कसैलाई निकै घाटा भयो । यो क्रममा अप्रत्यासित पद हात पार्ने काम पनि भएको छ । अहिलेको एकतामा तपाईंलाई क्षति पुगेको ठान्नु हुन्छ कि हुँदैन ?
यस्ता कुरामा म बढी हिसाब गर्दिनँ । त्यसको वास्तै गर्दिनँ भन्ने होइन । के थियो र के हुँदै छ भन्ने जानकारी राख्छु । तर, त्यसैको पछि लाग्दिनँ । राजनीति यात्रामा यस्ता धेरै ठुल्ठूला उतारचढाव हुन्छन् । त्यसमा यस्तो परिस्थिति वेला मौकामा आइरहन्छ । हामीले मुख्य गरेर राष्ट्र र जनताको समृद्धिलाई केन्द्रमा राखेर आफ्नो क्षमता र बलबुताले भ्याएसम्म विकास र समृद्धिको पक्षमा काम गर्नुपर्छ ।

त्यसमा उतारचढावलाई व्यवस्थापन र सञ्चालन गर्ने विधिले हो । यस्ता अवसर र चुनौती र समस्या रहीरहन्छ यसलाई हामीले पचाएर लैजानुपर्छ । यो सामान्य हो यसलाई ठूलो विषय बनाइनु हुँदैन । एकताले मलाई क्षति पु¥याउनु न पुर्याउनुभन्दा पनि देशलाई नाफा भएको छ ।

यतिवेला तपाईंको पार्टी दुईतिहाइको सरकार चलाइरहेको छ । कम्युनिस्ट पार्टीसँग जनताको धेरै अपेक्षा छ । तर, सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन, किन ?
यतिवेला सरकारका अघि धेरै ठुल्ठूला महान् सम्भावनाहरू छन् । त्यसका साथसाथै चुनौतीहरू पनि छन् । तर, सम्भावना बढी प्रवल छ । सरकारलाई अब राजनीतिक क्रान्ति गर्नु छैन, संविधान निर्माण गर्ने काममा समय खर्चिनु परेको छैन । केन्द्र प्रदेश र स्थानीयतहको निर्वाचन गर्नुपरेको छैन । सरकार अल्पमतको छ कतिवेला ढल्ने हो भन्ने चिन्ता पनि छैन ।

दुईतिहाइको बहुमत भएकाले कहीँ कतैबाट समस्या होला भन्ने चिन्ता छैन । यी सरकाका सामुन्ने सम्भावना हुन । तर, यति हुँदाहुँदै पनि सरकारसँग केही चुनौतीहरू अवश्य पनि छन् । हामी पुरानो व्यवस्थाको अभ्यासबाट गुज्रिरहेका मान्छे हौँ । अब त्यो अभ्यासको संस्कार हामीबाट अझै गएको छैन । नेता, जनता र कर्मचारीमा त्यही संस्कार छ ।

त्यसलाई परिवर्तन गर्न केही समय लाग्छ । एकैदिन रातारात यस्तो कुरामा परिवर्तन ल्याउन सकिँदैन । त्यसका साथसाथै हामी नयाँ संविधान र नयाँ व्यवस्थामा हिँडिरहेका छौँ । त्यो संरचनामा जानु केही सिक्नु र अभ्यास गर्नुपर्नेछ । पुरानो संविधानमा व्यवस्था भएका केही कुरा अब हामीले नयाँ संविधानअनुसार जानुपर्छ । हामी नयाँ संघीय व्यवस्था केन्द्र, प्रदेश र स्थानीय सरकारलाई चलाउनुपर्छ ।

यसका बजेट योजना साधनस्रोतको अधिकार र बाँडफाँडका कुरा छन् र यसको व्यवस्थापन गर्नुपर्नेछ । त्यस कारणले यस्ता समस्याका बीचमा पनि हामी छौँ । यी चुनौतीका बीचमा सम्भावना बढी रहेकाले सरकारले राष्ट्र निर्माणका लागि व्यवस्थित मार्ग चित्र बनाएर अघि जानुपर्छ । त्यसमा जनताको अपेक्षा बढी छ ।

सरकार दुईतिहाइको भएकाले पनि जनताको अपेक्षा बढी भएको हो । जनतामा यो सरकारले जे पनि गर्नसक्छ भन्ने भान परेको छ । जनता र राष्ट्रको आवश्यकतालाई ध्यान दिँदै विकास र समृद्धिलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ । जनताका अपेक्षा, गुनासा र सुझाव स्वाभाविक हुन् । तर, सरकारले गरेका कामको अहिले नै मूल्यांकन गर्नेवेला भइसकेको भने छैन ।

जनताले अनुभूति गर्ने र बुझ्नेगरी भन्नुहोस् त सरकारले गरेका राम्रा कामहरू के–के हुन् ?
अनेक चुनौतीका बीचमा पनि सरकारले जनताको अपेक्षा पूरा गर्न नसके पनि देशलाई हानि हुने र बिग्रने काम केही पनि गरेको छैन । यो बीचमा सरकारले चुनौती बुझेको छ, जनताको अपेक्षालाई महसुस गरेको छ र सम्भावनाका पाटोमा अघिबढेको छ । सरकारले अब जनताले देखिने र अनुभूति हुनेगरी काममा तीव्रता लिनेवेला भएको छ ।

अब यसले आफ्नो काममा गियर चेन्ज गर्ने वेला भएको छ । कसैले पनि एकैपटक चार गियरमा गाडी चलाउन सक्दैन । त्यसको पनि आफ्नै विधि र नियम हुन्छ । त्यसरी चलाइएको सवारीले गन्तव्यमा सुरक्षित पुर्याउँछ भन्नेमा जो सुकैले पत्याउन सक्दैनन् । सरकार पनि अहिले योजनासहित दीर्घकालीन रूपमा देश र जनतालाई हित हुने गरी काम गर्दै छ ।

पछिल्लो समय सरकारले लगाएको करले सबैमा आक्रोश पैदा गराएको छ । यो स्वाभाविक हो वा यसमा सरकारले पुनः विचार गर्नुपर्छ ?
अहिले सरकारको अवस्था भनेको केन्द्र, प्रदेश र स्थानीयतह गरी तीन तहमा छ । केन्द्रमा नेकपाको दुईतिहाइको सरकार छ । प्रदेशमा पनि एउटा प्रदेशबाहेकमा कम्युनिस्टले चाहेको कुरा गर्न सक्ने अवस्थामा छ । तर, स्थानीय सरकार केन्द्र र प्रदेशजस्तो छैन ।

स्थानीय निर्वाचनका वेला कम्युनिस्टका बीचमा एकता नभएका कारण त्यसको परिणाम प्रदेश र केन्द्रमा जस्तो अनुकूल आएन । त्यसकारण स्थानीयतहका निकायहरूलाई केन्द्र सरकारले करका विषयमा छुट दिएको छ । अर्को कुरा केन्द्र, प्रदेश र स्थानीय सरकारका बीचमा एकरूपता देखिएको छैन ।

यसकारण केन्द्र सरकारले साधनस्रोत, योजना, अधिकारको बाँडफाँड र कर उठाउने कुरामा अझै सन्तुलन देखिएको छैन । नयाँ अभ्यास भएकाले यस्ता असन्तुष्टि गुनासा आउनु स्वाभाविक हुन् । तर, विरोध र गुनासालाई सरकारले एकरूपता ल्याउनुपर्छ । समस्याको समाधान खोज्नुपर्छ ।

अब पार्टी कसरी अघि बढ्ला ?
हामी राजनीतिक क्रान्ति, आन्दोलबाट विकास र समृद्धिको प्रक्रियामा अघिबढेका छौँ । राजनीतिक क्रान्तिबाट विकास र समृद्धिको युगमा प्रवेश गरिरहेकाले चुनौती छन् । त्यसलाई सामना गर्नुपर्छ । अर्को कुरा हामी विश्वका भाग्यमानी मान्छेमा पर्छाैं । हाम्रो जीवनकालमा पुरानो व्यवस्था हटाएर नयाँ व्यवस्था ल्याउने काम भएको छ, नयाँ संविधान बनाउने र देशलाई विकासको बाटोमा लैजाने अवसर पाएका छौँ ।

यस्तो अवसर दुनियाँमा कमै मान्छेले प्राप्त गर्छन् । त्यसकारण यो अवसरमा दुईतिहाइको सरकार छ । ‘नारा विकास र समृद्धिको छ ।’ अब सरकार प्रतिपक्षसँग र जनतासँग एक भएर छोटो समयमा देशलाई विकास र समृद्धिको पथमा पुर्याउनका लागि सम्पूर्ण राजनीतिक पार्टी संघ÷सस्था समुदाय एक हुनु आवश्यक छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय