मत-विमत

युवाको कर्तव्यबारे साई सन्देश

राजेशमान केसी २०७५ भदौ ४ गते ८:५४ मा प्रकाशित

आध्यात्मिक गुरु सत्य श्री साई बाबाले आफ्नो दिव्य सन्देशमा भन्नु भएको छ, असलपना, नैतिकता अनि सत्यताजस्ता आदर्शहरू अभ्यास अनि प्रचार गर्ने नै साँचो अर्थमा युवा हुन् । यस दिव्य सन्देशबाट हामी के स्पष्ट बुझ्न सक्छौँ भने युवा हुनुको अर्थ केवल उमेरसँग मात्र सम्बन्धीत हुँदैन । अथवा युवा हुनको लागि उमेर मात्र बाधक तत्वको रूपमा मान्न सकिँदैन ।

कुनै व्यक्ति यदि उमेरले पाको छ, तर पनि ऊ शारीरिक अनि मानसिक रूपले सक्रिय छ र उसले समाजको लागि केही योगदान पु¥याउने अठोटका साथ अघि बढिरहेको छ भने ऊ पनि युवा नै हो । तर, यदि कुनै व्यक्ति उमेरले काँचो छ तर, पनि उसले आफ्नो समय त्यतिकै नष्ट पारिरहेको छ र समाजको लागि केही गर्नुपर्छ भन्ने उसमा सोच नै छैन भने उसलाई युवा कसरी भन्ने ?

त्यसैले आध्यात्मिक गुरु साइ बाबाले आफ्नो दिव्य सन्देशमा अगाडि भन्नुभएको छ, ‘युवा भन्नाले त्यस्तो व्यक्तिलाई जनाउँछ जसमा उत्साह, साहस, धैर्य, भक्ति, शक्ति र पराक्रमजस्ता छ सद्गुणहरू विद्यमान रहेका हुन्छन् ।

आजका धेरै युवाहरूमा यी सद्गुणहरूको अभाव रहेको हामी पाउँछौँ । बरु, यसको विपरीत उनीहरूले आफ्नो हृदयलाई काम, क्रोध, लोभ, मोह, ईष्र्या र अहंकारजस्ता ६ दुर्गुणहरूले भरेका छन् । यो अत्यन्त दुःखलाग्दो कुरा हो ।

तैपनि ‘युवा’ भन्नेबित्तिकै एउटा पर्याप्त सम्भावना बोकेको, भविष्यमा आइपर्ने चुनौतीको सामना गर्न सक्ने, उर्जाशील, क्षमतावान र गतिशील जनशक्ति भन्ने नै हाम्रो मानसपटलमा आउँछ । उमेरकै कुरा गर्दा पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड युवा समूहको लागि फरक फरक देखिन्छ ।

जस्तो संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र युवा मानेको छ भने राष्ट्र संघकै बालबालिकासम्बन्धी महासन्धी १९८९ ले १८ वर्षभन्दा माथिका र ४० वर्षभन्दा मुनिकालाई युवा मानेको छ । त्यस्तै, हाम्रो देशको राष्ट्रिय युवा नीति, ०६६ ले १६ देखि ४० वर्ष सम्मकालाई युवा मानेको छ । यो हिसाबले हेर्दा खेरी त एउटै घर–परिवारको बाउ–छोरा अथवा आमा छोरी पनि युवा हुन सक्छ ।

हाम्रो देशमा यस्ता १६ देखि ४० वर्ष समूहका युवाहरूको संख्या कुल जनसंख्याको ३८ देखि ३९ प्रतिशतको हाराहारीमा रहेको अनुमान छ । यो प्रतिशत भनेको नेपालकोे कुल जनसंख्याको एक तिहाइभन्दा बढी भाग हो । जनसंख्याको ठूलो हिस्सा ओगटेर रहेको युवा समूहको सक्रिय सहभागिता बिना हामी समाजको प्रगति र राष्ट्रको उन्नतिको कल्पना गर्न सक्तैनौँ ।

संख्यात्मक हिसावले मात्र होइन गुणात्मक दृष्टिले पनि समाजमा युवा वर्गको अत्यन्त महत्वपूर्ण स्थान तथा भूमिका हुन्छ । विश्वमा ठूला–ठूला परिवर्तनहरू युवाहरूकै सक्रिय सहभागितामा भएका छन् । नेपालमा पनि सामाजिक, आर्थिक, राजनीतिक अथवा सांस्कृतिक परिवर्तन युवाहरूकै सक्रियता र सहभागितामा भएका छन् । त्यसैले, युवाहरूलाई नै परिवर्तनको प्रमुख संवाहक शक्तिको रूपमा हामी लिन सक्छौँ ।

तर, एउटा यथार्थ कुरा के हो भने परिवर्तनको नाममा युवाहरूले हाम्रो सामाजिक मूल्य–मान्यता र मौलिक संस्कृतिलाई पनि भुल्नु हुँदैन । परिवर्तनको नाममा युवाहरूले यदि मौलिक परम्परालाई बिर्सेर अथवा वेवास्ता गरेर केवल बाह्य संस्कृति र रीति रिवाजलाई मात्र प्रश्रय दिन थाले भने त्यसले हाम्रो समाजलाई विकास होइन झन् विनाशतिर धकेल्छ ।

हाम्रो मौलिक पहिचान नै गुम्ने अवस्था पनि आउन सक्छ । जस्तो कि सत्य साई बाबाले आफ्नो दिव्य सन्देशमा भन्नुभएको छ– आपूmले गर्न लागेको कुनै पनि कामले भविष्यमा अथवा कालान्तरमा कस्तो प्रकारको परिणाम प्राप्त हुन्छ भन्ने निक्र्यौल गरेपछि मात्र त्यो काममा युवाहरूले हात हाल्नुपर्दछ ।

भनिन्छ युवाशक्ति भनेको बगिरहेको नदीको प्रवाह जस्तै हो । यसलाई उचित तवरले सदुपयोग गर्न सकियो भने सिँचाइ गरेर अन्न अथवा खाद्य बालीको उत्पादन बढाउन सकिन्छ । विद्युत उत्पादन गरेर देशलाई समृद्ध तुल्याउन सकिन्छ । जबकि, त्यही नदीको प्रवाहलाई यदि सही दिशातर्फ बहाव गर्न सकिएन अथवा सही रूपमा उपयोग गर्न सकिएन भने त्यो बगेर त्यत्तिकै खेर जान्छ । बरु उल्टो बाढीको रूपमा विनास निम्त्याउँदै भएकै बालीनाली पनि सखाप पारिदिन सक्छ ।

मानिसले महत्वपूर्ण प्रगति हासिल गर्ने र दुर्गति प्राप्त गर्ने उमेर र समय भनेको पनि युवावस्था नै हो । निश्चीत रूपमा यसमा संगतले पनि ठूलो असर पार्छ । नेपालीमा एउटा उखान पनि छ ‘संगत गुनाको फल ।’ त्यसैले युवाहरूलाई सदैव सत्संगमा लाग, असल संगत गर भनेर बाबाले आफ्नो सन्देशमा भन्नुभएको छ । अर्को कुरा मानिसले जुनसुकै पेसा अथवा क्षेत्रमा प्रवेश गर्ने पनि युवा अवस्थामै हो ।

चाहे त्यो डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, कलाकार, खेलाडी, पत्रकार, सैनिक, प्रहरी, कानुन व्यवसायी, कृषक अथवा व्यापारी नै किन नहोस् सबै पेसामा सर्वप्रथम युवा अवस्थामा नै प्रवेश हुन्छ । तर, युवाहरूले आफ्नो रुची र क्षमताअनुसार जुनसुकै पेसामा प्रवेश गरे पनि आफ्नो सीप र पेसालाई मानव हित र सेवामा पनि लगाउनुपर्दछ ।

जस्तो कि सत्य साई बाबाले आफ्नो सन्देशमा भन्नु भएको छ आध्यात्मिक साधनाको पहिलो खुड्किलो भन्नु नै मानव सेवा हो र मानव सेवा नै माधव सेवा हो ।

नेपालमा असंख्य प्राकृतिक सम्पदाहरू छन् । सुन्दर तालतलैया, कलकल बग्ने नदीनाला, मनमोहक झरनाहरू, सेता हिम शृंखलाहरू, हरिया वनजंगल, दुलर्भ जीवजन्तु र विभिन्न धार्मिक मठमन्दिर, बौद्ध स्तुप, मस्जिद, गुम्बा एवं पाटी पौवाहरूको संरक्षण संवद्र्धन गरेर हामी नेपाललाई विश्वकै एक अनुपम रमणीय स्थलको रूपमा, पवित्र आध्यात्मिक गन्तव्य स्थलको रूपमा विकास गर्न सक्छौँ ।

र, यसैको माध्यमबाट नेपाललाई एउटा शान्त र समृद्ध मुलुकको रूपमा विश्वमाझ स्थापित गर्न सक्छौँ । यसको लागि पनि युवाहरूले चिन्तन मनन गर्नु पर्दछ र राज्यले पनि यस पुनीत कार्यमा युवाहरूलाई प्रोत्साहित गर्नु आवश्यक छ ।

आज हामी २१औँ शताब्दीको युगबाट गुज्रिरहेका छौँ । विज्ञान र प्रविधिको विकासले विश्वमा चमत्कारिक परिवर्तन ल्याइदिएको छ । हरेक दिन नवीन कुराको आविष्कार भइरहेको छ, हरेक दिन नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ ।

विज्ञान र प्रविधिकै विकासले गर्दा विकसित मुलुकहरूले आज समुद्रमुनि रेल कुदाइसके । वैज्ञानिकहरू अन्तरिक्षमै मानव बस्ती बसाउने तयारीसमेत गरिरहेका छन् । खासगरी, सूचना प्रविधिमा भएको विकासले गर्दा हिजो एक ठाउँबाट अर्को ठाउँमा एउटा सााधारण चिठी पठाउँदा महिनौँ लाग्थ्यो । आज हामी इमेल र इन्टरनेटमार्फत् क्षणभरमै विश्वको कुना कुनामा सन्देश आदान प्रदान गर्न सक्ने भएका छौँ ।

टेलिभिजनको कुरै भएन । यसको आविष्कारले घरकै एउटा सानो कोठामा बसेर हामी विश्वभरीको गतिविधि देख्न र सुन्न सक्ने भएका छौँ । सूचना प्रविधिकै कारण सिंगो विश्व आज एउटा सानो गाउँकोमा परिणत हुन पुगेको छ । तर, विज्ञानले विश्वलाई भौतिक रूपमा साँघुरो बनाए तापनि भावनात्मक रूपमा भने मानिस मानिसबीचको दूरी झन्झन् बढ्दै गइरहेको देखिन्छ ।

केवल भौतिक सुख सुविधाको अत्यधिक लालसाले मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू नै बिर्संदै गइरहेको महसुस हुन थालेको छ । विज्ञानकै देन स्वरूप बम र बारुदहरूको आविष्कारका कारण सिंगो मानव समुदायले भय र त्रासमा बाँच्नु परिरहेको अवस्था छ । जताततै चिन्ता र तनाव देखिन्छ । यसले गर्दा विज्ञान मानिसको लागि वरदान हो कि अभिशाप ? मानव समुदायमा यो पनि एउटा बहसको विषय भइरहेको छ ।

वास्तवमा विज्ञान वरदान पनि हो र अभिशाप पनि हो । यदि, हामीले विज्ञानको उपलब्धिलाई सही रूपमा उपयोग गरी त्यसलाई मानवहितमा लगाउन सक्यौँ भने यो वरदान हो । होइन यसको उपलब्धिलाई केवल आफ्नो स्वार्थपूर्तिको लागि मात्र प्रयोग गर्ने हो र भौतिक सुख सुविधा र विलासिताको मात्र पछि लाग्ने हो भने विज्ञान अभिशाप पनि हुन्छ । विज्ञानको उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव हित र कल्याणमा लगाउन हामी सबै मानव समुदायले विशेषगरी युवा समुदायले आध्यात्मिक ज्ञान र चेतनालाई पनि आम जनमानसमा फैलाउनुपर्ने आवश्यकता देखिएको छ ।

निश्चय पनि यी कुराहरूलाई मनन गर्दै युवाहरूले यदि आफ्नो कर्म क्षेत्रमा डटेर अगाडि बढ्ने हो भने त्यसै पनि शान्त, सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण हाम्रोजस्तो देश नेपालले सम्मुनत र समृद्धिको दिशामा उल्लेखनीय फड्को मार्न सक्ने कुरामा कुने सन्देह गरिरहनुपर्ने अवस्था देखिँदैन ।

प्रतिक्रिया