मत-विमत

मानवतावादी राजा जयपृथ्वीबहादुरलाई सम्झिँदा

गाेकुल निराैला २०७५ भदौ ६ गते ८:२८ मा प्रकाशित

‘सिंहले बझाङमा शिक्षाको सुरुआत गर्नेवेला काठमाडाैँमा राणाहरूले पढ्ने विद्यालयबाहेकका अरू विद्यालय खोलिएका थिएनन् । जयपृथ्वीबहादुरले २४ वर्षको कलिलो उमेरमा नेपाली भाषाको अक्षरांक शिक्षा लेखेर १९५८ सालमा प्रकाशित गरिसकेका थिए । सिंहले लेखेको यो अक्षरांक शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ’

मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्म पश्चिम नेपालको बझाङ जिल्लामा १९३४, ७ भदौमा भएको थियो भने भारतको बैंग्लोरमा १९९७ असोज १ मा उनको मृत्यु भएको थियो । सुधारवादी सोच राख्ने राजा जयपृथ्वी आठ वर्षकै उमेरमा आफ्नी आमा रुद्रकुमारीसित काठमाडौं आएका थिए ।

थापाथाली दरबार, पाठशाला, दरबार हाइस्कुल, कोलकाता विश्वविद्यालय र इलाहावाद कलेजमा जयपृथ्वीबहादुरले शिक्षा प्राप्त गरेका थिए । जयपृथ्वीबहादुरले बझाङ जिल्लाको राजाको पदवी पाउँदा उनी मात्र १२ वर्षका थिए । उनको आनीबानी, रूपरङबाट प्रधानमन्त्री चन्द्रशमशेर निकै प्रभावित भएर आफ्नी छोरी खड्ग दिव्येश्वरीको विवाह गरिदिएका थिए ।

चन्द्रशमशेरका नौ भाइ छोराले आफ्नी एक मात्र चेलीलाई बझांगी राजाको रानी पदमा आसिन गराए । देवशमशेरको प्रधानमन्त्री कालमा गोरखापत्रको स्थापना गरेर उनले नेपाली पत्रकारिताको श्री गणेश गरे ।

गोरखापत्रको सम्पूर्ण कमाइ र स्वामित्व छोरीले पाउने र ज्वाइँलाई कुनै हक नहुने गरी तत्कालीन प्रधानमन्त्री तथा उनका ससुरा चन्द्रशमशेरले नियम लगाएपछि जयपृथ्वीबहादुर सिंह भारत बस्दै आएका थिए ।

चन्द्रशमशेरले देश निकाला गरिएको भनिए पनि उनी भारतमै बसेर पत्रिका सञ्चालन गरेर आफूले लागू गरेको मानवतावाद विश्वभर फैलाउँदै गए ।

जहानियाँ राणा शासनको ज्यादति र आफ्नै ससुरा तत्कालीन राजा चन्द्रशमशेरको दमन सहन नसकेर ४८ वर्षको उमेरमा उनी भारततिर पसे ।

भारतको बैंग्लोरमा बस्दा पनि उनले पत्रिका प्रकाशन गरेका थिए । नेपाली परिवेशमा जयपृथ्वीबहादुर महामानव थिए ।

चन्द्रशमशेरद्वारा देश निकाला गरिएका जयपृथ्वीलाई ब्रिटिस कम्पनी सरकारले राजबन्दी सरहको व्यवहार गरेको थियो । भारतको बैंग्लोरमा नेपालका मानवतावादी राजा जयपृथ्वीबहादुर बसेको ठाउँलाई जयपृथ्वी नगरको नामाकरण गरिएको छ ।

नेपालमा रहँदा उनले शिक्षाको सुरुआत गरे । राणाहरूको शासनकालमा जनताका छोराछोरीहरू पढ्नबाट बन्चित थिए । जनता शिक्षित भए राणाहरूले दुःख पाउँछन् भन्ने धारणाले जनतालाई विद्यालय जान र विद्यालय खोल्न बन्देज लगाइएको थियो । त्यसै बखत पश्चिम नेपालकोे बझाङमा उनले शिक्षाको सुरुआत गरे ।

सिंहले बझाङमा शिक्षाको सुरुआत गर्नेवेला काठमाडाैँमा राणाहरूले पढ्ने विद्यालयबाहेकका अरू विद्यालय खोलिएका थिएनन् । जयपृथ्वीले २४ वर्षको कलिलो उमेरमा नेपाली भाषाको अक्षरांक शिक्षा लेखेर वि.सं १९५८ प्रकाशित गरिसकेका थिए । सिंहले लेखेको यो अक्षरांक शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।

संयोगवश नेपालमा शिक्षाको सुरुआत गर्ने राजा पश्चिम नेपालमै जन्मे भने नेपालको कर्णाली सेरोफेरोबाटै नेपाली भाषाको उत्पति भएको मानिन्छ । जयपृथ्वीले त्यसवेलाको नेपाली समाजमा प्रचलित जाति प्रथा, भूमिसम्बन्धी व्यवस्था, सर्वसाधारणलाई शिक्षा र स्वास्थ्य क्षेत्रको व्यवस्थालाई सर्वसुलभ बनाए ।

उनी हक्की स्वभावका समाजसुधारक पनि थिए । तैपनि, नेपालमा स्वतन्त्र रूपले काम गर्न उनलाई गाह्रो भयो । उनको सुधारवादी कार्य बझाङमा मात्रै गरियो । हुन् त उनले शिक्षामा क्रान्ति ल्याउन काठमाडौंबाट नेपाली भाषाका विभिन्न विषयका पुस्तक छपाएर वितरण पनि गरे ।

जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक अक्षरांकमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु र अंग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए ।

उनको अक्षरांक शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाड, विभिन्न गणितका, जोड घटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वहरूको पनि वर्णन उल्लिखित छ । जयपृथ्वीबहादुरले अक्षरांक शिक्षा लेखेर वि.सं १९५८ सालमा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुंगाको रूपमा स्थापित भएको छ ।

आफू राजा भएपछि जयपृथ्वीबहादुरले शिक्षालाई खुबै महत्व दिए । त्यही क्रममा उनले आठजना विद्यार्थीलाई काठमाडौंमा पढ्न पठाए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठैजना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भए ।

बालबालिकाको चौतर्फी विकासका लागि बाधापर्ने विभिन्न समस्यामा कुपोषण, विकृतिपूर्ण संस्कृति, अज्ञानता, मानसिक र शारीरिक शोषण र अशिक्षा हुन् भन्ने कुरालाई समाधान गर्न शिक्षाकै ज्योति बाल्नुपर्दछ भनेर जयपृथ्वीबहादुरले विकट गाउँ चैनपुर र काठमाडौंको नक्सालमा सत्यवादी पाठशालाको आरम्भ गरेका थिए ।

अहिले बझाङमै उच्च शिक्षा हासिल गर्न पाउनुको पछाडि राजा जयपृथ्वीबहादुर नै रहेका सम्झन्छन् बझांगी युवाहरू । जयपृथ्वीबहादुरले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन पनि गरका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । उनीले वैज्ञानिक ढंगबाट नापी व्यवस्थाको सुरुआत पनि गरे ।

त्यहाँ औषधालय उनैले स्थापना गरे । औषधालय त्यस भेकको पहिलो औषधालय थियो । मानवतावादी राजाका रूपमा चिनिएका जयपृथ्वीबहादुर सिंहले अमेरिका र रुसको भ्रमण गरी त्यहाँ भएका शिक्षा विकासका कुरालाई टपक्क टिपी नेपालमा ल्याई परिपालना गर्नमा पनि जोड दिइएको पाइन्छ ।

मानवतावादसम्बन्धी पुस्तक लेखे अनि मानवतावादी शिक्षा दिँदै गए र पछि नेपालमा मानवतावाद संस्था खोल्दै गएका थिए । सन् १९३६ देखि ‘ह्युम्यनिस्ट’ नामक पत्रिकाको प्रकाशन बैंग्लोरबाट गरेर मानवतावादको चेतना र शिक्षाको प्रचारमा ठूलो योगदान दिएका थिए । नेपालमा मात्रै नभएर देश विदेशमा समेत उनले सकारात्मक सन्देश र मानवतावाद फैलाउँदै गए ।

सन् १९२८ मा बैंग्लोरको जयाभवनमा ह्युम्यनिस्ट क्लब खोलेर त्यसकै माध्यमबाट मानवतावादको विचारधारा युरोप र अमेरिकामा पनि प्रचारप्रसार गरे । सन् १९३६ मा इटलीका सेनाले इथियोपियामा आक्रमणको क्रममा गुस्टार्ड ग्यास फाले । त्यस ग्यासको प्रभावले सर्वसाधारण मानिस र बालकहरू भटाभट मुच्र्छा पर्दै मर्न थाले ।

यो खबर थाहा पाउने बित्तिकै मानवताको नाताले केही गर्ने उद्देश्यले जयपृथ्वीबहादुरले ग्यास मास्क किने । ग्यास माक्स जापानमा मात्रै पाइन्थ्यो । तर, उनीसँग जापान जाने भिसा थिएन इथोपियालीलाई सहयोग गर्ने अठोट बोकेका जयपृथ्वीबहादुरले नक्कली भिसा बनाएर जापान प्रवेश गरी ग्यास मास्क किने ।

यिनले इथियोपियाका जनतालाई ग्यास मास्क बाँडेर ठूलो गुन लगाए । हजारौँ मानिसको ज्यान बच्यो । एउटा महामानवले गर्ने काम नेपाल आमाका सुपुत्रले गरे । विदेशीले चिनेका तर नेपालले नचिनेका समाजवादी राजा जयपृथ्वी रुस भ्रमण गर्ने पहिलो नेपाली हुन् ।

रुस भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वी र नेपाल भ्रमण गर्ने इभान मिनायेभको स्मृतिमा स्रष्टा सम्मान पुरस्कारको स्थापना गरिएको छ। उनको सम्मानमा बैतडी–बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण गरिएको छ । राजा जयपृथ्वीबहादुरले सुधार गर्न बाँकी रहेको गरिबी, अशिक्षा, जातिय भेदभाव, रुढीवादीको बदनामबाट नाम कमाएको पश्चिम नेपाल अथवा सुदूरपश्चिम जहिले पनि राजनीतिक हेराइबाट पछाडि पारियो ।

एकशताब्दी पहिले शिक्षाको सुरुआत गर्ने जयपृथ्वीबहादुर जन्मेको जिल्ला बझाङ र सुदूरपश्चिमकै दार्चुला जिल्लामा २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । उनकै क्षेत्रमा अहिलेसम्म सबैभन्दा गरिबी र अशिक्षा छ । सुदूरपश्चिममा अहिले पनि ४६ दशमलव दुई प्रतिशतको हाराहारीमा गरिबी रहेको छ ।

आजभन्दा लगभग डेढ शताब्दी पहिले नै राजा जयपृथ्वीबहादुरले खोलेको आयुर्वेद औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो, यसले निरन्तरता पाएको भए, यस क्षेत्रका जनताले अकालमै ज्यान गुमाउनुपर्ने थिएन । बालबालिकाको शिक्षामा प्रत्येक व्यक्ति र राष्ट्रले चासो राख्नुपर्दछ भन्ने कुरामा जयपृथ्वीबहादुर दत्तचित्त थिए ।

उनीजस्तै अरू नेपालीले पनि यस्तै सोच राखेको भए नेपाली बालबालिकामा शिक्षाको साथै अन्य स्थितिमा आज धेरै सुधार आइसक्थ्यो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको युरोप यात्रामा जयपृथ्वीबहादुर पनि सहभागी थिए । उनले युरोपका अधिकांश देशमा बालबालिकालाई पढाउने स्तरीय पुस्तक र पाठशालाको भ्रमण गरेर धेरै कुरा सिके ।

बालबालिकाको भविष्यप्रति जयपृथ्वीबहादुर निकै चिन्तित थिए। पश्चिम नेपालका मानवतावादी राजाको चिन्तन कर्णालीक्षेत्र हुँदै काठमाडा पुग्न नपाउँदै बीच बाटोमै तुहिनुमा राणाहरूको हात भए पनि लागू नगर्नु अहिलेका शासकको कमजोरी हो । विदेशीले चिनेका तर नेपालले भुलेका जयपृथ्वीबहादुरको आजकाल बझाङमा समेत उनको जन्मजयन्ती खुलेर मनाउने गरिएको छैन ।

यही जिल्लामा दर्तागरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जयपृथ्वीबहादुर सामुदायिक अध्ययन केन्द्रले मात्रै बझाङ्गी राजा जयपृथ्वीबहादुरको जन्मजयन्ती मनाउने गरिको छ । हालसम्म बझाङमा राजा जयपृथ्वीबहादुरको सालिकसम्म स्थापना गर्न सकिएको छैन ।

राजा जयपृथ्वीबहादुर सिंहको सालिक स्थापना र जन्मजयन्ती मनाउन बझाङका राजनीतिक दलहरूले कन्जुस्याइँ गरेका मात्र नभई मानवतावादी राजालाई भुलिसकेका छन् । उनले गरेका कामको मूल्यांकन गर्दै सालिक निर्माण गर्ने कार्य सरकारको पनि जिम्मेवारी हो, कि !

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय