सम्पादकीय

बलात्कारी पत्ता नलाग्नु लज्जास्पद

सौर्य अनलाइन २०७५ भदौ ८ गते ९:२८ मा प्रकाशित

बालिकाको बलात्कार गरी निर्मम हत्या गर्ने जघन्य अपराधीलाई पक्राउ गर्नुपर्ने माग राख्दै विगत एक महिनादेखि कञ्चनपुरको महेन्द्रनगरमा आन्दोलन जारी छ । अपराधी पत्ता लगाउन स्थानीय प्रहरी प्रशासन असफल भएका कारण आन्दोलन निकै पेचिलो बन्दै गइरहेको छ । सरकारले समयमै निर्णायक कदम नचाल्दा बिहीबार गोली चल्नुका साथै कफ्र्यू लगाउनुपरेको छ ।

यति लामो आन्दोलनबाट धेरै ठूलो क्षति हुनुका साथै आन्दोलन नियन्त्रणबाहिर जाने सम्भावना देखिनु स्वभाविक हो । ढिलै भए पनि सरकारले आन्दोलनकारीको मागको सुनुवाइ गरी सिडिओ र प्रहरी प्रमुख हटाएर नयाँ व्यक्ति पठाएको छ । सरकारको यो कदमले आन्दोलनकारी निकै संयमित बनेका छन् ।

गत ११ साउनमा भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको निम्बुखेला खोलापारि उखुबारीमा शव फेला परेको थियो । अघिल्लो दिन दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर उनी साइकलमा आफ्नो घर फर्किएकी थिइन् । रोशनीका घरबाट दिउँसो दुई बजेतिर फर्किएकी निर्मला घर नपुगेपछि घरपरिवार र आफन्तले खोजी गरेका थिए ।

११ साउनमा सबेरै निर्मलाले चढेको साइकल र कापी निम्बुखेला खोला सडकमा फेला परेपछि आसपासमा उनको खोजी भएको थियो । सो क्रममा उनको शव उखुबारीमा भेटिएको हो । अर्धनग्न अवस्थामा शव फेला परेपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा सामूहिक बलात्कारपछि घाँटी थिचेर मारिएको प्रमाणित भयो । घटना भएको दिनदेखि नै स्थानीय जनताले यथाशीघ्र अपराधीहरू पत्ता लगाएर कारबाही गर्न दबाब दिँदै आन्दोलन गरिरहेका छन् । तर, एक महिना बित्न लागिसक्दासमेत प्रहरीले अपराधी पत्ता लगाएको छैन ।

महेन्द्रनगर धेरै नै ठूलो आवादी भएको सहर होइन । सहरका प्रायजसोले एकअर्कालाई चिन्छन् । बाहिरका मान्छे किनमेल गर्न तथा घुम्न आउने ठाउँ पनि होइन महेन्द्रनगर । सीमावर्ती सहर भएको हुनाले सुरक्षा निकायको बलियो उपस्थिति छ । सामान्यतया सीमावर्ती क्षेत्रका सहर तथा बस्तीहरूमा सुरक्षा निकायले हरेक टोल, परिवार तथा व्यक्तिका गतिविधिमाथि निगरानी गरिरहेको हुन्छ ।

यति लामो समयसम्म पनि अपराधी पत्ता नलगाउनु आपैmँमा ठूलो विडम्बना हो । यो घटनाले नेपाल प्रहरीको शाख महेन्द्रनगर क्षेत्रमा मात्रै होइन मुलुकभरि नै गिरेको छ । घटना भएको करिब एक सातापछि स्थानीय अगुवा तथा समाजसेवीहरूले माग गरेका थिए, ‘अपराधमा शक्तिशाली परिवारका व्यक्तिहरूको संलग्नता रहेको देखियो र त्यो परिवारले स्थानीय प्रहरीहरूलाई प्रलोभनमा पारेर अपराधको ढाकछोप गर्ने प्रयास गरेको देखियो, त्यसैले सत्यतथ्य छानबिनका अर्कै प्रहरी फोर्स तैनाथ गरियोस् ।’

तर, यो मागको सुनुवाइ सरकारले निकै ढिला गर्यो । यो अवधिमा स्थानीय प्रहरीले वास्तविक अपराधीको सबुत प्रमाण नष्ट गर्नेबाहेक अरू काम नगरेको आरोप स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको छ । छानबिन लम्बिनुको रहस्यलाई हृदयंगम गर्ने हो भने स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूले लगाएको त्यो आरोप नकार्ने ठाउँ देखिँदैन ।

घटना भएको २६ दिनपछि प्रहरीले अपराधी भन्दै मानसिक सन्तुलन ठीक नभएका दिलिप सिंह विष्ट नाम गरेका ४२ वर्षीय व्यक्तिलाई उभ्याएको छ । स्थानीय कोही पनि यो कुरा स्वीकार गर्न तयार छैनन् । वास्तविक अपराधीलाई उन्मुक्ति दिन स्थानीय प्रहरीद्वारा नै नक्कली अपराधी खडा गरिएको आशंकापछि आन्दोलन थप चर्केको हो ।

आन्दोलन थप चर्कने संकेतपछि गत बुधबार प्रदेश–७ प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई घटनास्थलमा खटायो । तर, स्थानीयले चित्त बुझाएनन् । यो चुनौतीको सामना गर्न एसएसपी चन्दलाई पनि सजिलो थिएन । स्थानीय प्रहरीको जुन टिमलाई स्थानीय जनताले अपराधीसँग मिलेको भन्दै शंकाको घेरामा राखेका छन्, त्यही टिमबाट थप अनुसन्धान गर्न एसएसपी चन्दलाई फलामको चिउरा सावित हुने निश्चित थियो ।

किनकी, अहिलेसम्म अनुसन्धानको जिम्मेवारी लिएको प्रहरीको स्थानीय टिमले अपराधीको रूपमा ४२ वर्षीय विष्टलाई उभ्याइसकेको छ । उक्त टिम आफ्नो अडानलाई पुष्टि गर्नपट्टी नै लाग्ने निश्चित थियो । यदि, प्रहरीको स्थानीय टिम वास्तविक अपराधीलाई उन्मुक्ति दिन लागेकै हो भने उसले सबुत प्रमाणहरू नष्ट गरिसकेको हुनुपर्छ ।

निष्पक्ष छानबिनका लागि अहिलेसम्म अनुसन्धानमा रहेको टिमलाई तत्काल बाहिर पठाएर त्यहाँ नयाँ टिम खटाउनु पहिलो काम थियो । जुन सरकारले गरेको छ । दोस्रो कुरा बलात्कारको केस भएका कारण तत्काल वीर्य परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको होला । घटनालगत्तै पठाइएको वीर्य विधिविज्ञान प्रयोगशालामा सुरक्षित होला ।

स्थानीय प्रहरीले अपराधी भनेर ठहर गरिएका विष्टको वीर्य परीक्षण गर्ने हो भने सत्यतथ्य बाहिर आउँछ । यदि, वीर्य परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको रहेनछ भने त अपराधी लुकाउन स्थानीय प्रहरीको संलग्नता रहेको आरोप पुष्टि हुने नै भयो ।

प्रतिक्रिया