सम्पादकीय

बिम्स्टेक र नेपाल

सौर्य अनलाइन २०७५ भदौ १३ गते ९:३९ मा प्रकाशित

बंगालको खाडी आसपासका देशहरूको साझा मञ्च बिम्स्टेकको चौथो सम्मेलन भोलि बिहीबारदेखि राजधानी काठमाडौंमा सुरु हुँदै छ । यो सम्मेलनको आयोजना गर्ने अवसर नेपालले पाउनु आफैँमा महत्वपूर्ण अवसर हो । यो अवसरलाई उपलब्धिमा बदल्ने प्रतिबद्धताका साथ सरकारले सम्मेलनका लागि पूर्व गृहकार्य सम्पन्न गरिसकेको छ । राजधानी काठमाडौंको शान्ति सुरक्षा व्यवस्थालाई निकै कडा बनाइएको छ । खासगरी, सम्मेलनस्थल वरिपरि तथा विशिष्ट पाहुना आवतजावत गर्ने सडकका सबै खाल्डाखुल्डीहरू अस्थायी रूपमै भए पनि रातारात टालिएको छ । विशिष्ट अतिथिहरूको तस्बिर राखिएका स्वागतद्वार तथा ब्यानरहरूले राजधानी काठमाडौं सिंगारिएको छ । यति महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर हो । यो अवसरलाई प्रतिफलमा परिणत गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । काठमाडौंमा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ भन्ने महसुस राजधानी काठमाडौंवासीले गरेका छन् । तर, बिम्स्टेक के हो ? यसको महत्व के छ ? बिम्स्टेकको सम्मेलनले नेपाललाई के–के फाइदा पुग्छ ? भन्ने विषयमा भने राजधानी काठमाडौं करिब–करिब बेखबर छ भन्दा पनि फरक पर्दैन । धेरैले ठानेका छन्, ‘बिम्स्टेक भनेको पाकिस्तानलाई चुनौती दिन भारतको प्रयासमा खोलिएको सार्कजस्तै अर्को संगठन हो ।’ सार्कको महत्व र बिम्स्टेकको महत्व फरक छ भन्ने धेरैलाई थाहा छैन । वास्तवमा सरकारीस्तरबाट सार्कको जति प्रचारप्रसार भएको छ त्यसको तुलनामा बिम्स्टेकको प्रचारप्रसार कम भएको छ । सार्क राजनीतिक संगठन हो भने बिम्स्टेक जैविक तथा पर्यावरणीय संगठन हो । संयोगले नेपाल यतिवेला यी दुवै संगठनको अध्यक्ष छ ।
बिम्स्टेकको पूरा रूप बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास हो । यसमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिम्स्टेकको स्थापना ६ जुन, १९९७ मा भएको थियो । यसको मुख्य कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । सुरुआतीकालमा बिम्स्टेकमा भारत, श्रीलंका र थाइल्यान्ड सहभागी थिए । म्यान्मार, नेपाल र भुटान पछि सहभागी भएका हुन् । यसको पहिलो सम्मेलन २००४ मा थाइल्यान्डमा, २००८ मा भारतमा र तेस्रो सम्मेलन २०१४ मा बर्मामा सम्पन्न भइसकेको छ । सदस्य राष्ट्रहरूको बीचमा प्राविधिक एवं आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिम्स्टेकका सदस्य राष्ट्रहरूबीच विशेषगरी व्यापार, प्रविधि, ऊर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धित सहयोग आदानप्रदान हुने गरेको थियो । सन् २००८ मा यस सहयोग क्षेत्रमा कृषि, जनस्वास्थ्य, गरिबी उन्मूलन, आतंकवादको सामना, पर्यावरण, संस्कृति, जलवायु परिवर्तन र सम्पर्क विस्तार गरी आठ वटा विषय थप गरिएको छ ।
पृथ्वीमा भएका जलचक्रहरूमध्ये बंगालको खाडीको जलचक्रको विशिष्ट महत्व छ । बंगालको खाडीबाट उत्पन्न हुने जलवाष्प हिमालय पर्वत शृंखलामा ठक्कर खाई वर्षामा परिणत हुन्छ र नदीका रूपमा फेरि बंगालको खाडीमा पुग्छ । यस क्षेत्रका देशहरूबीचको साझा प्रयासविना यो जलचक्रलाई सधैँका लागि जोगाउन सकिन्न । त्यसैले, बिम्स्टेकको महत्व विशिष्ट छ । बंगालको खाडी तथा हिमालय पर्वत शृंखलाबाट प्रभावित यी सात वटा देशको भाषा, धर्म तथा संस्कृति पनि मिल्दोजुल्दो छ । साझा प्रयासबाट मात्रै अवसर प्राप्त गर्न सकिने र समस्या समाधान पनि साझा प्रयासबाट मात्रै हुने अवस्था छ । नेपालका सन्दर्भमा बिम्स्टेकको महत्व अझ बढी छ । बिम्स्टेकका सहभागी सात देशमध्ये पाँच वटा देशमा नेपालीभाषीको उल्लेख्य बसोबास छ । नेपालको वन जंगल तथा हिमालको संरक्षण भएन भने बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प तथा पानीमा असर पर्छ । बंगालको खाडीको पानी तथा जलवाष्पमा असर पर्यो भने नेपालमा कि त अनावृष्टि हुन्छ, कि त अतिवृष्टि हुन्छ । जसले बंगालको खाडी क्षेत्रभरी विनासलीला निम्त्याउँछ । यो जलचक्रको संरक्षण गर्दै यसबाट कसरी लाभ लिने भन्ने सन्दर्भमा नेपालमा सम्पन्न हुन गइरहेको बिम्स्टेक सम्मेलन उपलब्धिमूलक बनोस् । नेपालका नदीनालाबाट प्रशस्त विद्युत् उत्पादन गरी पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सक्ने हो भने नेपालका वनजंगल, नदी तथा हिमालहरू जोगिन्छन् । नेपालका हिमाल, नदी र जंगल जोगिएपछि बंगालको खाडी पनि जोगिन्छ । यस विषयमा नेपालका तर्फबाट सम्मेलनमा तर्क संगत प्रस्ताव राख्नु जरुरी छ ।

प्रतिक्रिया