मत-विमत

ओलीका ६ महिना: सुशासनको संकेत कि, भ्रमको खेती ?

रामप्रसाद गैरे २०७५ भदौ १७ गते ९:३५ मा प्रकाशित

सम्पत्ति पारदर्शीताको कुरा ल्याएर कम्युनिस्ट पार्टीहरू चर्चामा आउने गर्दछन् । तर, सबैभन्दा बढी सम्पत्ति भएका नेता कम्युनिस्ट पार्टीभित्र छन् । सुरुसुरुमा सानो पार्टी रहँदा सर्वहारा वर्गको नेतृत्व हुने भनेर त जनतालाई भन्दै हिँडे । जब पार्टी ठूलो हुँदै गयो र सरकारमा जाने मौका पनि पटकपटक पाए । तब आफैँ सामन्त वर्गमा परिणत भए ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता, कार्यकर्ताहरूलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । यो वास्तवमा पार्टीले सुशासन कायम गर्न खोजेको हो भने सकारात्मक कदम हो ।

प्रचारबाजी र देखावटी मात्र गर्न खोजेको हो भने त्यो कुनै पनि हालतमा राम्रो पक्ष होइन । राजनीतिक दल र तिनका नेता, कार्यकर्ताहरूको सम्पत्ति पारदर्शी हुनुपर्छ भन्ने कुरा धेरै पहिलेदेखि नै उठ्दै आएको विषय हो ।

तर, अहिलेसम्म पनि यो विषयले सार्थकता पाउन भने सकिरहेको छैन । जे भए पनि सुशासनका कुरा उठाउनु र कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा हो । कुरा मात्र उठाएर हुँदैन । व्यवहारमा उतार्नु ठूलो कुरा हो ।

वास्तवमा कम्युनिस्ट पार्टी देश र जनताप्रति इमानदार बन्न खोजेको नै हो भने यो कदमले सकारात्मक सन्देश दिन्छ । राजनीतिक दल र तिनका नेता कार्यकर्ताको सम्पत्ति पारदर्शी नहुँदा भ्रष्टाचारले जरो गाडेको अवस्था देखिन्छ । देशमा विकास, समृद्धि र सुशासन कायम गर्ने हो भने सरकारले गम्भीरताका साथ काम गरेर देखाउनुपर्छ ।

अहिले कुराले मात्र होइन, काम गरेर देखाउने वेला पनि हो यो । वर्तमान सरकारसामु धेरै अवसर र थोरै चुनौती छन् । सरकारले अवसरहरूलाई सदुपयोग गर्दै चुनौतीलाई पार लगाउने किसिमले काम गर्नुपर्छ । यो नै अहिलेको आवश्यकता र महत्वको विषय हो । देशमा विकासको समृद्धि र उज्ज्वल भविष्य निर्माण गर्ने हो भने भ्रष्टाचारलाई जरैदेखि नै उखेलेर फाल्नुपर्छ ।

हाम्रो देशमा अहिले कम्युनिस्ट गठबन्धनअन्तर्गत दुईतिहाइले बनेको बहुमतको सरकार छ । यो सरकारले चाहने हो भने देशमा सुशासन कायम गर्न सक्छ । सबैभन्दा पहिला आफूलाई सुधार्ने काम गरे मात्र यी कुरा सम्भव हुन्छन् । जुन पार्टी सरकारमा छ, तिनका नेता कार्यकर्ता नै इमानदार बन्न सक्दैनन् भने सुशासनको कुरा मात्र हो, व्यवहारमा लागू हुने छैन ।

राजनीतिक दलहरू र तिनका नेता कार्यकर्ताहरू रातारात धनी बन्दै जाने र देश अनि जनता गरिब हुँदै जाने अवस्था देखिएको छ । ०४६ सालपछि जुन किसिमले राजनीतिक परिवर्तन भयो, त्यसपछि राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरूको जीवनस्तर परिवर्तन भएको पाइएको छ । तुनो फाटेको चप्पल र दुला परेका जुत्ता लगाएर काठमाडाैँ छिरेका नेताहरूको अहिले काठमाडांैलगायत धेरै ठाउँमा घरघडेरी छन् । त्यो कसरी सम्भव भयो ?

बहुदलीय व्यवस्था पुन: स्थापनापछि उदाएका राजनीतिक दल र तिनका नेताहरूको सम्पत्ति अकुत छ । सबै नेताहरूको सम्पत्ति छानबिन र खोजतलास गर्ने हो भने सबै कुरा छर्लंग हुन्छ । राजनीतिक दलहरू र तिनका नेताहरूको सम्पत्ति पारदर्शी नहुँदा आमजनतामा निराशा उत्पन्न भएको छ । अब नेतृत्वकर्ताले गम्भीरताका साथ यो विषयलाई सोच्नुपर्छ ।

जनतामा उत्पन्न निराशालाई हटाउन राजनीतिक दलहरूले इमानदारीका साथ व्यक्तिगत सम्पत्ति पारदर्शी गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीले चालेको कदम वास्तवमा प्रभावकारी र सार्थक बन्नुपर्छ । कम्युनिस्ट पार्टीले गरेको यो नित्तान्त नौलो कुरा होइन । एमाले विभाजनपछि बनेको माले पार्टीले पनि नेताको सम्पत्ति पारदर्शी हुनुपर्ने कुरा उठाएकै हो ।

त्यसवेला पार्टीको अध्यक्ष सहाना प्रधान र महासचिव बामदेव गौतम थिए । पार्टीलाई लोकप्रिय बनाउन त्यस्ता कुरा उठाइएका थिए । तर, जनताले त्यस्ता कुरा पत्याएनन् । चुनावमा एकसिट पनि नजितेपछि तत्कालीन माले पार्टी पुन: एमालेमा फर्किन बाध्य भएको थियो । कुराले मात्र हुँदैन, व्यवहारमा देखाउनु नै ठूलो कुरा हो ।

वेलाबखत सम्पत्ति पारदर्शीताको कुरा ल्याएर कम्युनिस्ट पार्टीहरू चर्चामा आउने गर्दछन् । तर, सबैभन्दा बढी सम्पत्ति भएका नेता कम्युनिस्ट पार्टीभित्र छन् । कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको नेतृत्व गर्ने भनेर त सुरुसुरुमा सानो पार्टी रहँदा जनतालाई भन्दै हिँडे । जब पार्टी ठूलो हुँदै गयो र सरकारमा जाने मौका पनि पटकपटक पाए ।

सरकारमा गएपछि सर्वहारा वर्गको सबै कुरा बिर्संदै आएका छन् । यो नै समस्याको कुरा हो । धन सम्पत्ति जोड्ने र व्यक्तिगत सुविधालाई प्राथमिकता दिने कामबाहेक अहिलेसम्म केही हुन सकिरहेको छैन । वेलाबखत राजनीतिक दलहरूले आफ्ना नेता कार्यकर्ताको सम्पत्ति विवरण संकलन गर्ने र जाँच समिति बनाउने गर्दछन् ।

तर, उनीहरूले कुनै पनि नेता कार्यकर्ताहरूलाई कानुनी कारबाही गरेको उदाहरण छैन । यदि, कसैलाई गरिएको छ भने त्यो प्रमाण नेपाली जनताले खोजिरहेका छन् । आम्दानी मूलक व्यवसायमा नलागेका नेताहरूको सम्पत्ति खोज्ने हो भने सबैभन्दा बढी भेटाउन सकिन्छ ।

विनालगानी अकुत सम्पत्ति थुपार्ने नेताहरूको भड्किलो जीवनशैलीले गर्दा नै देशको विकास समृद्धि हुन नसकेको हो । राजनीतिक दल र तिनका नेताहरूको सम्पत्ति पारदर्शी नहुनु हाम्रो देशको ठूलो समस्या हो । कम्युनिस्ट पार्टीमा मात्र होइन, अन्य पार्टीहरूमा पनि यो समस्या छ । किनकि, कुनै नेता पारदर्शी हुन खोज्दैनन् ।

राजनीतिक दल र तिनका नेताहरूले जति पनि सम्पत्ति कमाउन पाउने र त्यसका स्रोतहरू खुलाउन नपर्ने भएपछि भ्रष्टाचारले जरो नगाडेर केले गाड्छ ?  यो विषयमा अब सबै राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ । संसारभरि भ्रष्टाचार उन्मूलनको पहिलो सर्तका रूपमा पारदर्शीतालाई लिने गरिन्छ ।

राजनीतिक दल र तिनका नेताहरू पारदर्शीता इमानदारी नबन्दासम्म देशले कुनै प्रगति गर्न सक्दैन । निजी सम्पत्तिमा लोभलालच गर्ने नेताहरूले देशको विकास गर्न सक्दैनन् । त्यस्ता, नेताहरूबाट जनताले कुनै आशा नगरेपनि हुन्छ । अहिले हाम्रो देशमा भएको त्यही हो । अब राजनीतिक दलहरू र तिनका नेताहरूले कागजी पारदर्शीता होइन, व्यावहारिक पारदर्शीता देखाउनुपर्ने आवश्यकता छ ।

यस्ता कुरा गर्न थालेको धेरै भयो । अब व्यवहारमा कार्यान्वयन गर्नु नै इमानदारीता हुनेछ । संसारमा राजनीतिलाई समाजसेवाका रूपमा लिने गरिन्छ । तर, हाम्रो देशमा राजनीतिलाई व्यापार, व्यवसाय बनाइएको छ । यो राम्रो पक्ष होइन । त्यसो भएको हुनाले पनि देश अघिबढ्न नसकेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचार नियन्त्रण गर्न खाजेको हो भने हामी सबै नेपालीले यसको समर्थन जनाउँदै सहयोग गर्न जरुरी रहेको छ ।  यतिवेला नेपाली जनताले खाजेको कुरा पनि यही हो । मुलकलाई समृद्धिको मार्गमा लैजाने हो भने वर्तमान कम्युनिस्ट सरकार गम्भीरताका साथ लाग्नुपर्छ ।

अमेरिका चीन, भारत, जापान र कोरियालगायतका विकसित देशहरू त्यसै विकसित भएका होइनन् । देशको विकास गर्न नेताहरूमा इच्छा शक्ति र निजी सम्पत्तिमा लोभलालच हुनुहुँदैन् । तब मात्र देश बन्न सक्छ । मानिस बाँच्नका लागि सबैभन्दा पहिले खाना, नाना, र छानाको आवश्यकता पर्दछ ।  त्यसपछि स्वास्थ्य, शिक्षा, संस्कार र संस्कृति हो ।

अहिले मुलुकको हरेक क्षेत्र लथालिंग छ । यो अवस्था कायमा भए मुलुक कतिखेर के हुने हो । केही भन्न सकिने अवस्था छैन । नेकपाले सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचार नियन्त्रणतर्फ ध्यान दिएको स्वीकार गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्तिका स्रोतहरू, भड्किलो जीवनशैली र दोषीलाई कारबाहीजस्ता कुरामा काम हुनुपर्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय