मत-विमत

हाम्रो शिक्षा प्रणाली: कति ठीक, कति बेठीक ?

 डा. छवि पन्थी २०७५ भदौ १७ गते ९:४३ मा प्रकाशित
गुरुकुल शिक्षा प्रणाली पत्तासाफ हुन जाँदा मेकाको शिक्षाले विचारक, सर्जक होइन कारिन्दा मात्र उत्पादन गरिरहेको छ । मालिक होइन नोकर उत्पादन गरी अन्तर्राष्ट्रिय श्रम बजारमा रोजीरोटीका लागि मानव तस्करी गरिरहेको छ ।
आजको दुनियाँमा संसारभरि नै हिमवत शृंखलाको वैदिक शिक्षा प्रणाली दिनानुदिन प्रशंसनीय बन्दै गइरहेको छ । हाम्रा वैदिक ज्ञान, ज्योतिष, भूगोल, खगोल, ध्यान, योग र उपचार पद्धतिहरूको बढ्दो आकर्षणलाई अझै पनि वेबास्ता गरेर पश्चिमी, पाश्चात्य, पाखण्डी र ढोंगी बाइवलमा आधारित शिक्षालाई अँगाल्नु के यहाँको माटो र यसले सिर्जना गरेको मौलिकताका अनगिन्ती उपलब्धिहरूलाई अन्याय न होला र ?
केही नगन्य संख्याका विद्यार्थीहरू विभिन्न विधाहरूमा संसारभरि उत्कृष्ट भइरहेका छन् । विदेशमा गएर डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिकलगायत कैयौँ क्षेत्रमा उच्च दक्षता र योग्यता हासिल गरे तापनि कुल उत्पादनको औषतलाई गहिरो अध्ययन गर्ने हो भने पंक्तिकारले यो लेखमा उठान गर्न खोजेका कुराहरूलाई नजर अन्दाज गर्न मिल्छ र ? यो आंशिक सफलता केवल वंशाणुमा मात्र सीमित हुनु मेकाले शिक्षा पद्धतिको असफलता होइन र ?
आजभन्दा करिब दुई सय वर्ष पूर्व सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६ मा पादरी काल्डवेलले सम्पूर्ण महाभारतमा आफ्नो साम्राज्य स्थापना गर्न हातहतियार प्रयोग गरेर क्रिस्चियन धर्मको विकास गर्न र वैदिक सनातनी संस्कृतिलाई छिन्नभिन्न पार्ने कार्य गरे । जतिवेला सम्पूर्ण महाभारतको हिमवत् र द्रविड खण्डमा गुरुकुल शिक्षा पद्धति थियो जहाँ शिक्षाको साथसाथै संस्कारमा जोड दिइन्थ्यो र त्यही संस्कारको बलमा वैदिक सनातन आर्य समाज विश्वको शैक्षिक केन्द्र बनेको थियो ।
तर, जब अंग्रेज भारतमा आए र उनीहरूले यहाँको सुन्दर संयुक्त परिवारका चरित्रहरू संस्कारवान् पुरुष र शिलवती नारीलाई देखे र उनीहरूहरूले कल्पना नै नगरेको अवस्था पाए, जहाँ कोही पुरुष र महिला जीवनभरि एकै जोडीमा बस्न सक्छन् । कुनै बालक आफ्नो माता पितालाई बुढेसकालमा काँधमा बोकेर तीर्थ डुलाउँछ ।
यी र यस्तै, अनेकौँ चरित्रहरूले अन्त्यमा फिरंगीहरूको ध्यान आकर्षण गर्यो । तदअनुरूप अंग्रेज भाइ सराय विलियम एडमले टि.बी. मेकालेलाई पूरै महाभारतको सर्भे गर्न लगाएर ब्रिटिस संसद्मा एक रिपोर्ट पेस गरे । त्यो रिपोर्टमा मेकालेले भनेका थिए, ‘कि, आर्य समाजको सम्पन्नताको आधार भनेको यहाँको गुरुकुल र सुसंस्कृत समाज हो ।
यदि, यो गुरुकुल र संस्कार नष्ट गर्न सकियो भने हामी सजिलैसँग यो भूमिलाई हाम्रो गुलाम बनाउन सक्छौँ ।’ यो निचोडको साथ मेकालेको रिपोर्टअनुसार नै ब्रिटिस संसद्ले कानुन बनायो र सम्पूर्ण गुरुकुलहरूलाई अवैैध घोषणा गर्यो । यही समयदेखि मेकालेको शिक्षा नीतिले हालको दक्षिण एसियामा नैतिक र चारित्रिकस्तरलाई अहिलेको अवस्थासम्म ल्याई पुर्यायो । 
यसरी उनीहरू तत्कालीन महाभारतमा ब्रिटिस साम्राज्यको विस्तार हुनुभन्दा अघि ब्रिटिस शासन कसरी फैलाउन र बलियो बनाउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न आएका थिए । उनीहरूले यहाँको बौद्धिक, वैदिक शिक्षा पद्धति, आचरण, जीवनशैली, पारिवारिक एकता र यथार्थ वस्तुस्थितिको अध्ययन गरेर ब्रिटिस सरकारलाई प्रतिवेदन दिएका थिए ।
उनीहरूको प्रतिवेदनमा मुख्य धारणा के थियो भने शिक्षा पद्धतिमा आमूल परिर्वतन गरी यहाँको भाषा, संस्कृति र आचरणमा परिवर्तन नगरेसम्म ब्रिटस साम्राज्य बलियो हुँदैन र बनाउन सकिँदैन भन्ने थियो ।  त्यसै अनुसार यहाँ पश्चिमी, पाखण्डी र ढोंगी शिक्षा पद्धति लागू गरियो । बौद्धिक, वैदिक शिक्षा, भाषा संस्कृति र नैतिक शिक्षालाई विस्थापन गरियो ।
यो घटनाक्रमले नेपालमा पनि मेकाले को शिक्षा पद्धति भित्र्याउन सहज भयो । यसको परिणामस्वरूप अहिले नेपाल र भारतमा समेत वैदिक शिक्षा र संस्कृत भाषा प्रायः लोप हुने अवस्थामा पुगेका छन् । अहिले पश्चिमी भाषा संस्कृति, शिक्षा प्रणाली र खराब फेसनहरूले नराम्ररी जरो गाडिरहेका छन् ।
त्यसकारण यो शिक्षा पद्धतिले सनातन धर्मलाई लोप गराउन त मूल चुनौती दिएको नै छ भने यहाँको माटो सुहाउँदो सिर्जनशीलतालाई निमिट्यान्न पारेको छ । यसरी गुरुकुल शिक्षा प्रणाली पत्तासाफ हुन जाँदा मेकाको शिक्षाले विचारक, सर्जक होइन कारिन्दा मात्र उत्पादन गरिरहेको छ ।
मालिक होइन नोकर उत्पादन गरी अन्तर्राष्ट्रिय श्रम बजारमा रोजीरोटीको लागि मानव तस्करी गरिरहेको छ । जसको परिणाम संसारलाई ज्ञान, विज्ञानको र धर्मद्वारा पोषित गर्ने मुलुक अहिले नाम मात्रका शैक्षिक बेरोजगारहरू उत्पादन गर्दा वैचारिक विचलनता र सिर्जनशीलतामा पछाडि पर्न गई मानवीय जीवन क्रमशः यान्त्रिक बन्दै गइरहेको छ ।
यो दुःखद् क्षणमा पश्चिमबाट पढेर आएका विद्वान्हरूले साम्राज्यवादी शोषणका मनगढन्ते फुस्रा साहित्य अनि गणितको नाफाघाटाका प्रविधिहरू सिकाइरहेका छन् । जसको परिणामस्वरूप यहाँको एउटा उच्च वर्ग पश्चिमी सभ्यता र आधुनिकताको सिको गर्दै देश छोडेर दिनानु दिन पलायन भइरहेका छन् जुन बढो दुर्भाग्यपूर्ण छ ।

प्रतिक्रिया