विश्व

भारतीय बाँधबारे पाकिस्तानको आपत्ति

एजेन्सी २०७५ भदौ १७ गते ९:५३ मा प्रकाशित


इस्लामावाद । पाकिस्तानले चेनाब नदीमा भारतद्वारा निर्माणाधिन दुई परियोजनामध्ये एउटामा आपत्ति जनाएको छ ।भारतले जलविद्युत् परियोजनाअन्तर्गत चेनाब नदीमा दुईवटा बाँध निर्माण गरिरहेको छ । ४८ मेगावाट क्षमताको लोअर कालनाई र १ हजार ५ पाँच सय मेगावाट क्षमताका पाकल दुल परियोजना निर्माण भइरहेका छन् ।

पाकल दुल बाँधलाई लिएर चिन्तित बनेको पाकिस्तानले भारतीय परियोजना सिन्धु जल सम्झौता विपरीत भएको बताएको छ । पाकिस्तानका अनुसार पाकल दुल बाँधको उचाइ १ हजार ७ सय ८ मिटर हुन सक्छ, जसका कारण पाकिस्तान पुग्ने पानीको मात्रा कम हुन सक्छ । उक्त बाँधको निर्माणसँगै भारत आफ्नो इच्छा अनुसार पानी रोक्न वा छोड्न सक्षम हुने पाकिस्तानको भनाइ छ ।

सिन्धु जल सम्झौताअनुसार चेनाब नदीमा बाँध निर्माण गर्नुपरेमा काम सुरु हुनुभन्दा करिब ६ महिना पहिले भारतले पाकिस्तानलाई जानकारी गराउनुपर्छ। सिन्धु जल सम्झौतासँग जोडिएका विषयमा कुराकानी गर्न भारतीय प्रतिनिधिमण्डल अहिले पाकिस्तानको लाहोरमा छ । पानीको बाँडफाँडलाई लिएर दुई देशबीच भएको यो १ सय १५औँ द्विपक्षीय वार्ता हो ।

यसअघि दुई देशका अधिकारीहरूले गत मार्चमा छलफल गरेका थिए । भारत–पाकिस्तान विभाजनपछि पानीको उपभोगलाई लिएर दुई देशबीच सन् १९६० सम्म तनाव जारी रह्यो । अन्ततः विश्व बैंकको मध्यस्थतामा दुई देशबीच सिन्धु–तास सम्झौतामा हस्ताक्षर भयो । तीनवटा नदीको पानीमा भारतको नियन्त्रण रहने र बाँकी तीनवटा सिन्धु, झेलम र चेनाब नदीको पानीमाथि पाकिस्तानको नियन्त्रण रहने सम्झौतामा उल्लिखित छ ।

ती नदीको पानी प्राकृतिक रूपमा पाकिस्तानतर्फ बग्छ । अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीको वेबसाइटमा सो सम्झौता पछाडिको नालीबेली उल्लेखित छ । आरोन वोल्फ र जोसुआ न्युटनले आफ्नो अध्ययनमा उल्लेखित गरे अनुसार सन् १९४७ मा भारत–पाकिस्तान विभाजनअघि नै पानीको विषयमा खासगरी सिन्धु र पञ्जाब प्रान्तबीच झगडा सुरु भइसकेको थियो ।

सन् १९४७ मा दुई देशका अधिकारीहरूले पाकिस्तानतर्फ बग्ने दुईवटा नहरसम्बन्धी एउटा सम्झौता गरे । जसअनुसार पाकिस्तानले लगातार पानी पाइरह्यो । उक्त सम्झौता सन् १९४८ को मार्च ३१ सम्म लागू थियो ।  सिन्धु जल सम्झौतासम्बन्धी सन् १९३३ देखि २०११ सम्म पाकिस्तानी आयुक्त रहेका जमात अलि शाहका अनुसार सन् १९४८ को अप्रिल १ मा सम्झौता लागू हुने अवस्था थिएन ।

सोही वेला भारतले दुई प्रमुख नहरहरूको पानी रोक्यो, जसबाट पाकिस्तानको पञ्जाबमा १७ लाख एकड जमिनमा नराम्रो असर पर्न गयो । भारतले पानी रोक्नुका कैयौँ कारण बताएको थियो । जसमध्ये कस्मिर मुद्दामा पाकिस्तानमाथि दबाब सिर्जना गर्नु एउटा कारण भएको उसको भनाइ थियो । पछि भएको सम्झौता पश्चात् पानी आपूर्ति जारी राख्न भारत तयार भयो .

अध्ययन अनुसार सन् १९५१ मा भारतीय प्रधानमन्त्री नेहरूले अमेरिकाको टेनिसी भ्याली अथोरिटीका पूर्वप्रमुख डेबिड लिलियन्थललाई भारत बोलाए । लिलियन्थल पाकिस्तान पनि गए । र, अमेरिका फर्केपछि उनले सिन्धु नदीको बाँडफाँडबारे एउटा लेख लेखे ।  त्यो लेख विश्व बैंकका प्रमुख र लिलियन्थलका साथी डेबिड ब्ल्याकले पनि पढे र उनले भारत तथा पाकिस्तानका आयुक्तहरूसँग सम्पर्क गरे ।

अनि त्यसपछि दुई देशबीच बैठकको सिलसिला सुरु भयो । दुई देशबीच करिब एक दशकसम्म वार्ता चलिरह्यो र अन्ततः सन् १९६० को सेप्टेम्बर १९ मा कराँचीमा सिन्धु नदी सम्झौतामा हस्ताक्षर भयो । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका तत्कालीन राष्ट्रपति अयुब खानले त्यसमा हस्तारक्षर गरे ।

सम्झौताका प्रमुख बुँदाहरू :
१) सिन्धु नदीका सहायक नदीहरूलाई पूर्वी र पश्चिमी नदीमा विभाजित गरियो । सतलज, व्यास र रावीलाई पूर्वी नदी भनियो भने झेलम, चेनाब र सिन्धुलाई पश्चिमी नदी भनियो ।

२) सम्झौताअनुसार अपवादबाहेक भारतले पूर्वी नदीहरूको पानी बिनारोकटोक उपभोग गर्न पाउँछ भने पश्चिमी नदीको पानीको उपभोग पाकिस्तानले गर्न पाउँछ । यद्यपि, ती नदीको पानी उपभोग गर्ने केही सीमित अधिकार भारतलाई पनि छ ।
३) सम्झौता अन्तर्गत एउटा स्थायी सिन्धु आयोगको स्थापना गरियो । जसमा दुवै देशका आआफ्ना आयुक्त हुन्छन् र कुनै विवाद भए उनीहरूले सल्टाउँछन् ।

४) यदि, एउटा देशले कुनै परियोजनामाथि काम गर्छ र अर्को देशलाई त्यसको संरचनाबारे आपत्ति हुन्छ भने सम्बन्धित देशले जवाफ दिन्छ । दुवै पक्षको बैठक हुन्छ । आयोगले सल्टाउन नसके दुई देशले सम्बोधन गर्नेछन् ।

५) त्यसबाहेक सम्झौतासम्बन्धी विवाद सल्टाउन तटस्थ विशेषज्ञहरूको सहयोग लिने अथवा ‘कोर्ट अफ आर्बिट्रेसन’ मा जान सक्ने सुझाइएको छ ।

प्रतिक्रिया