मत-विमत

भगवान् श्रीकृष्णको प्रेममार्ग

अञ्जु कार्की २०७५ भदौ १८ गते ८:०८ मा प्रकाशित

ज्ञानमार्ग र भक्तिमार्गलाई सबै धर्मका प्रवर्तकहरूले व्याख्या गरेका छन् तर श्रीकृष्णले ज्ञानमार्ग र भक्तिमार्गका अलवा प्रेममार्ग र कर्ममार्गको पनि व्याख्या गरेका छन् । तर, हाम्रो समाज उनको प्रेममार्ग, ज्ञानमार्ग र कर्ममार्गको गहिराइसम्म पुग्न सकेको देखिँदैन ।

भाद्रकृष्ण अष्टमीको दिनलाई भगवान् श्रीकृष्णको जन्मदिन मानिन्छ । हरेक वर्ष यसदिन रातभरि जाग्राम बसी भगवान् श्रीकृष्णको पूजा आराधना गर्ने परम्परा छ । श्रीकृष्णले के योगदान दिए वा उनको योगदानबाट मानव जातिले के कसरी लाभ लिने ? भन्दा पनि कर्मकाण्डी हिसाबले नै श्रीकृष्णजन्माष्टमी मनाउने गरिन्छ ।

हुन त हरेक धर्मका दुई पक्ष हुन्छन्, ज्ञानमार्ग र भक्तिमार्ग । कर्मकाण्ड भक्तिमार्गअन्तर्गत पर्छ । ज्ञानमार्ग र भक्तिमार्गलाई सबै धर्मका प्रवर्तकहरूले व्याख्या गरेका छन् तर श्रीकृष्णले ज्ञानमार्ग र भक्तिमार्गका अलवा प्रेममार्ग र कर्ममार्गको पनि व्याख्या गरेका छन् ।

तर, हाम्रो समाज उनको प्रेम मार्ग, ज्ञानमार्ग र कर्ममार्गको गहिराइसम्म पुग्न सकेको देखिँदैन । प्रेममार्गको त सतहसम्म पनि पुग्न सकेको छैन, हाम्रो समाज । ज्ञानमार्ग र कर्ममार्गअन्तर्गत श्रीकृष्णको राजनीतिक र आर्थिक व्यक्तित्व पनि त्यतिकै उच्च छ । तर, यसको चर्चा प्रायः हुँदैन ।

कृष्ण पशुपालन अर्थव्यवस्थाका पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो ।त्यसवेला कृषिलाई नै सर्वाधिक महत्व दिइन्थ्यो । राजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरूलाई दण्ड दिनु उनको लक्ष्य थियो तर उनले कहीँ पनि राज्य विस्तार गरेको देखिएन ।

अन्यायी शासकको वध गरेपछि त्यहाँको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैँ प्राप्त भइरहोस् भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरूले आफूलाई सधैँ स्वतन्त्र ठान्छन् भन्ने उनको मान्यता थियो । श्रीकृष्णले अनावश्यक रूपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाइँदैन । श्रीकृष्ण आफूले एक छुट्टै राज्यको स्थापना गरे ।

त्यसको राजनीतिक प्रणाली अरू राज्यको भन्दा बिल्कुलै फरक तवरले सञ्चालित थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो । जसको तत्कालीन निर्णयमा दुवैजना दाजुभाइ भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लिखित भएको पाइँदैन । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर, कृष्णले एकप्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए ।

जसको शासन वृष्णीवंशका व्यक्तिहरूले गर्थे, जुन प्रजातान्त्रिक तरिकाले छानिएका हुन्थे । ग्रन्थहरूमा यसलाई वृष्णीवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउँछ । महान् काम गरी युग परिवर्तन गर्ने महामानवलाई भगवान्को अवतार मान्ने गरिन्छ । हरेक धर्म सम्प्रदायमा यो प्रचलन छ ।

खासगरी विश्वमा यतिवेला श्रीकृष्णका अलवा, गौतम बुद्ध, जिसस क्राइस्ट र पैगम्बर मोहम्मदलाई भगवान्का अवतार वा दूतको रूपमा मान्ने गरिन्छ । भगवान्का रूपमा पूजिएका यी चारैजना महामानवको जन्म, जीवन भोगाइ तथा मृत्यु मिल्दोजुल्दो भएको पाइन्छ । उदाहरणका लागि क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको संकेत वेथलहेमको ताराले दिएको थियो ।

बुद्धकी आमा मायादेवीले बुद्ध गर्भमा आउनुअघि सेतो हात्ती मुखबाट शरीरभित्र प्रवेश गरेको देखेकी थिइन् । श्रीकृष्णको जन्म हुनु धेरैअघि आठौँ गर्भको रूपमा अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत् कथामा उल्लिखित छ । आठौँ गर्भ ज्यादै विशेष भएकोले सातौँ गर्भमा त्यसको पूर्वतयारी गरिएको थियो ।

पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रूपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासँग साटिएको थियो । वास्तविक जन्मको रूपमा कृष्णलाई आठौँ गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदानसमेतलाई हिसाब गर्दा उनी आठौँ नै हुन्छन् । यसरी भगवान् कृष्ण एक असाधारण गर्भबाट र असाधारण रूपमा जन्मिएका थिए ।

उनले जन्म लिनुअघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरूपमा दर्शन दिएको कथा भागवत्मा उल्लिखित छ । जन्म हुनासाथ आमाको दूध मुखमा राख्न नपाई छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई योभन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनुअघि असुरक्षित छ र जन्मिसकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा वयान गर्न सकिँदैन ।

जीवनका भयंकर असुरक्षित क्षणहरूलाई नाचेर, गाएर, अत्यन्त हलुका रूपमा लिएर, अर्काको घरमा आफ्नो घरभन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आँखाले हेर्न सकिँदैन । हिमवत् भूखण्डमा आई गुरु सान्दीपनिबाट धनुर्वेद पढेर घर फकिएपछि श्रीकृष्णले विभिन्न अत्याचारी राज्यहरूलाई दण्डित गरी रुक्मिणी लगायतका आठ जना रानीलाई विवाह गरेका थिए ।

भौमासुरले थुनेर राखेका १६ हजार राजकुमारीहरूलाई जेलबाट मुक्त गरेका थिए । भौमासुरको जेलमा बन्दी भएका ती १६ हजार राजकुमारीहरूले पनि कृष्णसँग विवाह गर्ने इच्छा जनाएकाले कृष्णले ती राजकुमारीहरूलाई पनि विवाह गरेका थिए । यसरी कृष्णका रानीहरूको संख्या १६ हजार १ सय ८ पुगेको थियो ।

प्रत्येक रानीहरूका लागि एक÷एक वटा महल बनाइदिएका थिए । प्रत्येक रानीहरूबाट आठ÷आठ जना छोरा जन्मेका थिए, भनिन्छ । ‘कृष्णका गृहस्थ जीवनमा जतिजना रानी थिए त्यतिजनाको स्वरूप लगेर प्रत्येक रानीका घरमा बस्ने गर्थे । यसैगरी, कृष्ण चरित्रमा भनिएको छ, ‘नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो ।

जसले कन्याहरूलाई जबरजस्ती समातेर ल्याउँथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौँ कन्याहरूलाई दूषित गरेको थियो । ती कन्याहरूलाई कसैले मुक्त गर्न सकेका थिएनन् । भगवान् श्रीकृष्णले नरकासुरलाई वध गरेर सबै कन्याहरूलाई मुक्त गरे अनि सबैका घरघर पठाइदिए ।

घर गएका कन्याहरू पुनः कृष्णकहाँ फर्के र भन्न थाले कि हामीलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरू कसैले विवाह गर्न पनि मानेनन् । हजारौँ नारीहरूको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे । ‘तिमीहरू आजदेखि मेरा पत्नी भयौ । मेरा पत्नी भएपछि तिमीहरूको सम्मानको जिम्मेवारी पनि मेरो भयो ।’

जबकि, अघिल्लो युगका रामले लोकले कुरा काट्यो भन्दैमा आफ्नी पत्नी सीतालाई त्यागेका थिए । तर, त्यसपछिको युगका श्रीकृष्णले पतिद्वारा त्यागिएका जति पनि महिलाहरूले आफूलाई प्रेम गर्छन् उनीहरूलाई सहर्ष पत्नीको रूपमा स्वीकार गरे । प्रेममार्गको यो गहिराइसम्म हाम्रो समाज पुग्न सकेको छैन ।

न त प्रेम मार्गको विषयमा विद्वान्हरूले अध्ययन अनुसन्धान नै गरेका छन् । वास्तवमा भगवान् श्रीकृष्ण प्रेम मार्गका महासागर नै हुन् । तर, यसको गहिराइमा पुगेर कहिल्यै व्याख्या गर्ने जमर्को हाम्रो समाजले गरेन । धेरै कालपछि ओसो रजनीशले प्रेमका बारेमा व्याख्या गरे । तर, उनलाई हाम्रो समाजको एउटा तप्काले छाडा यौनवादीको आरोप लगाउनसमेत पछि परेन ।

प्रतिक्रिया