सम्पादकीय

कम्युनिस्ट एकताको कष्ट

सौर्य अनलाइन २०७५ भदौ १८ गते ८:१५ मा प्रकाशित

इतिहासलाई हेर्यो भने कम्युनिस्ट पार्टी बग्रेल्ती खुले । फुट्ने र जुट्ने क्रम अत्यधिक भयो । निर्वाचन आयोगमा धेरै दल दर्ता भए । कति दल दर्ता मात्रै छन्, कुनै संगठन छैन । अहिलेसम्म आयोगमा दर्ता मध्ये धेरै कम्युनिस्ट पार्टीहरू छन् । हरेक वर्ष यी दल जुट्छन्, फुट्छन् । पछिल्लोपटक एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी बन्यो । कुनै वेला एमाले फुटेर र जुटेर निर्माण भएको थियो । माओवादी पनि जुट्दै फुट्दै आएको हो । यी दुई पार्टीका बेग्लाबेग्लै इतिहास छन् । तर, अहिले दुबै पार्टी एक भएका छन् । मूल पार्टी एकीकरण भए पनि तल्लो इकाइ र भ्रातृसंगठनबीच समायोजन हुन बाँकी छ । पार्टी एकीकरण भएको पनि तीन महिना नाघिसकेको छ । यो बीचमा प्रदेश र जिल्ला कमिटी एकीकरण भइसक्ने निर्णय गरिएको थियो । वडा इकाइदेखि स्थायी कमिटीसम्म सहमतिको आधारमा समायोजन हुने सचिवालयले निर्णय गर्यो । तर, भदौ पहिलो साताभित्रै धेरै इकाइ र संगठनहरू एकीकरण हुने भनिए पनि अझै कुनै सकारात्मक संकेत देखिएको छैन । बरु उल्टै असन्तुष्टका स्वरहरू बाहिर आउन थालेका छन् । कति जिल्लामा माधव नेपाल पक्षले समानान्तर कमिटी चलाउने चेतावनी दिएका छन् ।
किन लम्बियो एकता प्रक्रिया ? नेतृत्वले गम्भीर समीक्षा गर्न जरुरी छ । ३ जेठमा पार्टी एकीकरण चल्दै गर्दा वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा थिए । एकीकरण हुने अघिल्लो दिनसम्म कहिले हुने भन्ने एकिन दुबै दलहरूले सार्वजनिक गरेका थिएनन् । एक्कासि एकीकरण गरियो । हतारमा थियो त्यो एकीकरण । पार्टी हाँकिसकेका वरिष्ठ नेतालाई बेवास्ता गरेर गरिएको एकीकरण आफैँमा त्रुटि थियो । ‘बिहानले दिनको संकेत गरे झैँ  एकीकरणको पहिलो चरणमा कालो बादल लागिसकेको थियो । दुई पार्टी एककरण हुँदा न्यूनतम मापदण्डलाई ख्याल गर्नुपथ्र्यो । त्यसमा एकीकरण गर्नेहरू चुकिसकेका छन् । अहिले पनि सबै जिल्लामा दुवै पार्टीका समानान्तर कमिटी सञ्चालित छन् । दुवै पार्टीका कार्यालय जस्ताका तस्तै छन् । कार्यकर्ताबीच अलग पार्टीको व्यवहार यथावत छ । नेतादेखि साधारण सदस्यसम्म भावनात्मक एकता हुन सकेको छैन । केन्द्रको सचिवालयले मात्र एकीकरण पार्टी हाँकिरहेको छ । यस्ता सचिवालय हरेक जिल्लामा बनाउन बाँकी छ । प्रदेश कमिटी र यसका इकाई संयन्त्र उस्तै छन् । जिल्लाबाट पठाएका एकीकरण प्रतिवेदनमा विरोध गर्नेहरू उत्ति नै छन् । झन् बढी यो वा त्यो पक्ष भन्दै दरार बढ्दै गएको छ । नेतृत्व हत्याउन केन्द्रका नेताहरूको चाकडी गर्ने प्रवृत्ति झनै बढेको छ । यस्ता खालका जटिलताबीच समायोजन प्रक्रिया पेचिलो बन्दै गएको छर्लंग छ । जटिलताका गाँठाहरू नफुकाएसम्म मजबुत एकता हुनै सक्दैन । यदि, एकता भइहाले पनि असन्तुष्टका स्वरहरू झन् बढी देखिनेछन् । यसले आगामि दिनमा पार्टीलाई कमजोर मात्र बनाउँदैन, अर्को फुटको अवस्था नआउला भन्न सकिन्न ।
मजबुत एकताका लागि नेतृत्वले पद्धति सुरुआत गर्नुपर्छ । त्यही पद्धतिमा टेकेर मात्र एकतालाई अघि बढाउन सक्नुपर्छ । पद्धतिले पक्ष वा विपक्षीको विकृति अन्त्य गर्छ । वरिष्ठ, कनिष्ठ, क्षमता र लोकप्रियका आधारमा एकीकरण प्रक्रिया चलाउन सक्नुपर्छ । नेतृत्वले यसका केही मापदण्ड निर्माण गरिदिने हो भने पदमा दाबी गर्नेहरूले आफ्नो मूल्यांकन आफैँ गरेर समाधान निकाल्न सक्छन् । दुई ठूला कम्युनिस्ट पार्टीको एकता पक्कै पनि सजिलो विषय होइन । तर, यसलाई सहज बनाउन सचिवालयले सन्तुलित र तटस्थ भूमिका खेल्न सक्नुपर्छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितको सचिवालय टिमको मजबुत एकीकरण गर्ने प्रमुख भूमिका रहेको छ । कथंकदाचित एकीकरणमा किचलो र अझै ढिलाइ भयो भने सचिवालय दोषीको भागिदार बन्नेछ । किनकी, सचिवालयमा रहेका हरेक व्यक्ति पार्टीका प्रमुख नेताहरू हुन् । अहिले देखिएको एकताको समाधान यही सचिवालय हो । एकीकरणमा देखिएको कष्ट निराकरण गर्ने जिम्मा शीर्ष नेताहरूको काँधमा छ । सन्तुलित र वैज्ञानिक समायोजन नै दीर्घकालीन मजबुत संगठनको आधार हो ।

प्रतिक्रिया