रंग‍-विविध

सिञ्जालीले ल्याए मीरा

सौर्य अनलाइन २०७५ भदौ २० गते ९:१२ मा प्रकाशित

कास्की । लेखक दीपक सिञ्जालीले लेखेको नवीन उपन्यास ‘मीरा’ बजारमा आएको छ । पोखरामा एक समारोहका बीच साहित्यकार भुवनहरि सिग्देलले उक्त कृतिको विमोचन गरेका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त उपन्यासको विमोचनको चाँजोपाजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको हो । कार्यक्रममा उपन्यासमाथि टिप्पणी गर्दै लेखक गणेश पौडेलले परिपक्क लेखकको भन्दा मीरा कम नभएको दाबी गरे ।

उनले भने, ‘सिञ्जालीले संघर्ष गरेर पनि मानिस बाँचिरहेको हुन्छ भन्ने उपन्यासमा देखाउन खोजेको देखिन्छ । पुस्तकमा हाडनाता सम्बन्धजस्ता कुरालाई पञ्च भलाद्मी बसेर मिलाउने सामाजिक न्याय व्यवस्था ठीक होइन भन्ने देखाउने प्रयास छ ।’ प्रेम, सामाजिक न्यायलगायत विषयमाथि उपन्यास केन्द्रित रहेको बताउँदै उनले थपे, ‘उपन्यासले नेपालको सामाजिक विषयलाई कलात्मक रूपमा उठान गरेको छ ।’

साहित्यकार सिग्देलले उपन्यासबाट सिञ्जालीले नेपाली साहित्यमा प्रचुर सम्भावना देखाउन सकेको धारणा व्यक्त गरे । उनले भने, ‘सरल भाषामा समाजको एउटा प्रेमको विम्बलाई दीपकले उतारेका छन् ।’

सञ्चारकर्मी तथा निबन्धकार दीपक सापकोटाले उपन्यासका फ्याक्ट्रीबाट उत्पादितमध्ये मीराले सम्भावनाको संकेत गरेको भनाइ राखे । उनले भने, ‘कृष्णभक्त भएर बाँच्नु नै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भन्ने मीरा बाई र सिञ्जालीको उपन्यासकी पात्र मीराको बीचमा तालमेलचाहिँ छैन ।’ समीक्षक उपेन्द्र पौडेलले समाजले पचाउन इन्कार गर्ने जटिल प्रेमकथालाई सिञ्जालीले आकर्षक रूपमा उपन्यासमा बुनेको बताए ।

प्रतिक्रिया