खोजखबर

संस्कृति धान्दै नेवार समुदाय

रामबहादुर थापा २०७५ भदौ २० गते ९:५४ मा प्रकाशित

बागलुङ । यहाँको नेवार समुदायमा अहिले भदौरे जात्राको रौनक छ । जनैपूर्णिमादेखि सुरु भएको जात्रा तीजसम्म चल्नेछ । वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । नेवारबाहेकलाई पनि जात्राको रमझमले लोभ्याएको छ । तीन सय वर्षअघि भक्तपुरबाट आउँदा साथै ल्याएको जात्राको परम्परालाई नेवार जातिले जीवित राखेका छन् ।

भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउँछन् । सो जात्रामा विभिन्न परम्परा झल्कने गीत र नाच प्रदर्शन हुने गर्छ ।

‘मुख्य गरी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म गरी आठ दिनसम्म भदौरे नाच देखाउने गरिन्छ’, उनले भने । गाईजात्रामा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा तःहामचा, बास्सा नाच निकालिएको थियो । त्यसयता हलो, कटुवाल, रोपाइँ, जोगी र घोडा नाच प्रदर्शन भइसकेका छन् ।

धानको बालानाच र लाखेनाच प्रदर्शनको तयारीमा रहेको नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । सबैभन्दा लामो समयसम्म नाचिने लाखेनाच भने तीजमा अन्त्य हुनेछ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यंग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । प्रायः नाच गाईजात्राकै भिन्नस्वरूप जस्ता देखिन्छन् ।

‘जात्राले सामाजिक विकृति, विसंगतिप्रति व्यंग्य पनि गर्छ’, संस्कृतिकर्मी छोटा भन्छन्, ‘मौलिक र परम्परागत मूल्य, मान्यताले पनि जात्रा सुसज्जित छ ।’ उनले प्रचलनमा रहेका मौलिक नाच र जात्राले सयौँ वर्ष अघिको संस्कृतिको जगेर्ना गरेको उल्लेख गरे । सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने भिन्नभिन्न पाइन्छ ।

गाईजात्राको दिन निक्लने तःहामचा र बास्सा नाच दिवंगत आफन्तजनको सम्झनामा निकालिन्छ । यो वर्ष १७ जना दिवंगत व्यक्तिको घरबाट तःहमचा र बास्सा नाच राधाकृष्ण मन्दिर सेवा समितिको पहलमा सामूहिकरूपमा निकालियो । बास्सा नाच धनी र सम्भ्रान्त परिवारबाट निकाल्ने चलन रहेको संस्कृतिकर्मी छोटाको भनाइ छ ।

‘वर्ष दिनभित्र दिवंगत भएका घरबाट तःहमचा निक्लन्छ’, उनले भने, ‘बास्सा नाच भने खर्चिलो हुने हुँदा सम्भ्रान्त परिवारले मात्र निकाल्ने गर्छन् ।’ बास्सा नाच पनि दिवंगत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । यो नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीलाहरू प्रदर्शन गर्ने चलन छ ।

त्यस्तै कटुवाल नाचमा पनि युवा विभिन्नरूपका मुकुन्डो धारण गरेर मृदंगको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश कटुवालले दिने गर्छन् । यस नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ ।

रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्क महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाखामा गीत गाउँदै बजार परिक्रमा गर्दा यो जात्राले सबैलाई आकर्षित गर्ने गर्छ । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढंगले प्रस्तुत गर्ने गरिन्छ ।

जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवार समुदायभित्र पनि शाक्यले यसको संरक्षण गर्दै आएका छन् । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज बागलुङका सल्लाहकार एवं कलाकार मुकुन्द शाक्यले बताए । उनले बागलुङको यो नाच तीन सय वर्ष पुरानो भएको उल्लेख गरे ।

जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । ‘यो नाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा जटिलता छ,’ कलाकार शाक्यले भने । आफ्नो सांस्कृतिक पर्व र जात्रा जोगाउन नेवार समुदायका युवा जागरुक बनेका छन् ।

कटुवाल नाच, घोडा नाच, रोपाइँ नाच, जोगी नाचलगायतमा युवाकै बढी सहभागिता देखिन्छ । नेवार युवाको संस्था ‘नेवा ल्याम पुच’ का सचिव निलेश राजभण्डारीले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुनुपर्ने बताउँछन् । ‘यो वर्ष युवाको सक्रियता बढेको छ, बीचमा हराएको घोडा नाच अहिले देखाउन सफल भयौँ’, उनले भने ।

पुरानो पुस्ताले छोडेर गएको सांस्कृतिक पर्व, जात्राको संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व भएको उनको भनाइ छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको संस्कृतिकर्मी बताउँछन् ।

प्रतिक्रिया