विश्व

भारतीय मिडियामा मोदीको प्रशस्ती

एजेन्सी २०७५ भदौ २१ गते ८:२८ मा प्रकाशित

सञ्चारमाध्यमले मोदीलाई एक सक्रिय, साहसी, निर्णायक, सक्षम र कठोर व्यक्तिका रूपमा प्रस्तुत गरे । तिनीहरूले एक इम्प्रेसनिस्ट (प्रभाववादी) चित्रकारले जसरी मोदीलाई एउटा जीवन्त पात्रका रूपमा चित्रित गरिराखे

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सन्दर्भमा सञ्चारमाध्यमहरूको कुनै पनि मूल्यांकन ‘उनलाई सञ्चारमाध्यमले नै बनाएका हुन्’ भन्ने मानेर गरिन्छ । मोदी एक्लैले राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) बनाउन सक्दैनथे ।

ती सञ्चारमाध्यम नै हुन् जसले मानिसहरूलाई सपना देखाए र कहानीहरू सुनाए । मोदीलाई यसरी प्रस्तुत गरियो कि मानिसहरूलाई लाग्न थाल्यो कंग्रेस आई अब सकियो र त्यसको एक मात्र विकल्प मोदी नै हुन् ।

सञ्चारमाध्यमले मोदीलाई एक सक्रिय, साहसी, निर्णायक, सक्षम र कठोर व्यक्तिका रूपमा प्रस्तुत गरे । तिनीहरूले एक इम्प्रेसनिस्ट (प्रभाववादी) चित्रकारले जसरी मोदीलाई एउटा जीवन्त पात्रका रूपमा चित्रित गरिराखे ।

दुई दशकअघिसम्म मोदी किंवदन्तीजस्तै थिए । उनी विस्तारै चर्चामा आउन थाले र सञ्चारमाध्यममा प्रकाशित सामग्रीले उनको एउटा छवि बन्यो । सञ्चारमाध्यमले उनलाई एउटा आदर्शका रूपमा स्थापित गरिदिए । उनी सञ्चारमाध्यमको एउटा ठूलो खोज हुन् ।

सञ्चारमाध्यमहरूको मोदीसँग के सम्बन्ध छ ? यो प्रश्न अर्को तरिकाले सोध्न आवश्यक छ । आफैँले बनाएको व्यक्ति, जो अहिले प्रधानमन्त्री छन्, उनलाई सञ्चारमाध्यमले कसरी हेर्छन् त ?

यसको उत्तर निकै चिन्ताजनक छ । मानिसहरू सञ्चारमाध्यमबाट आलोचनात्मक, तथ्यपूर्ण र सन्तुलित सामग्रीको अपेक्षा राख्छन् । तर, दुःखको कुरा सञ्चारमाध्यम मोदीका प्रशंसक बनेका छन् । अरूलाई हेर्ने सञ्चारमाध्यमले आफूलाई नियाल्नै छाडेका छन् ।

जनतासमक्ष सत्यतथ्य पु¥याउनुपर्ने र आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमाध्यमले मोदीको उग्रराष्ट्रवादको भाकामा व्यक्तिपूजन गर्न थालेका छन् । पत्रिकामा मोदीबारे छापिने समाचार र विज्ञापन उस्तै लाग्छन् ।

कहिलेकाहीँ मोदी कहिल्यै प्रश्न गर्न नहुने उत्तर कोरियाका दिवंगत नेता किम जङ–इलका भारतीय संस्करण पो हुन् कि जस्तो लाग्छ । पहिला जसले पनि मोदीप्रति सहानुभूति राख्न सक्छन् किनकि, सञ्चारमाध्यमले उनलाई एउटा साधारण चिया बेच्नेबाट प्रधानमन्त्री बनेका व्यक्तिका रूपमा प्रस्तुत गरेका छन् ।

उनको गाथामा आकर्षणलाई कायम राखिराख्न बारम्बार त्यो कुरामा जोड दिने गरिएको छ । सञ्चारमाध्यमले विरोधाभाषपूर्ण कुरा गर्छन् ( एकातिर मोदी नयाँ भएकोले उनलाई स्वागत गर्नुपर्ने भन्छन्, अर्कोतर्फ उनलाई समयको आवश्यकताका रूपमा चित्रित गर्ने गर्छन् ।

यस्तो लाग्छ मानौँ सन् २०१९ को निर्वाचनको चुनावको घोषणा भइसकेको छ । सञ्चारमाध्यमले यस्तो व्यवहार देखाइरहेका छन् मानौँ मुलुकमा मोदीबाहेक अरू केही छँदै छैन । बढाइचढाइ प्रस्तुत गरिने समाचारले सञ्चारमाध्यममाथि प्रश्न उब्जाउँछ र तिनीहरूको विश्लेषणमाथि सन्देह उत्पन्न गराउँछ ।

यो प्रमाणित गर्न तीन–चारवटा कुरालाई हेरौँ । पहिलो, ‘नोटबन्दी’सँग जोडिएको विषय । भारतीय सञ्चारमाध्यमले त्यसलाई एउटा पर्वको रूपमा प्रस्तुत गरे । मध्यमवर्गले त्यसलाई भ्रष्टाचारविरुद्धको कदमको रूपमा बुझेर सुरुसुरुमा खुसी मनाएका हुन सक्छन् । तर, छिट्टै वास्तविकता स्पष्ट भयो ।

‘नोटबन्दी’ अनौपचारिक अर्थव्यवस्था र नगद आवश्यक हुने कारोबारविरुद्धको एउटा कदम थियो । सञ्चारमाध्यमले मानिसहरूको दुःखलाई नदेखेझैँ गरे । ‘नोटबन्दी’ का कारण मानिसहरूले झेल्नुपरेको सास्तीलाई तिनीहरूले उपेक्षा गरे ।

दोस्रो कुरा ‘नोटबन्दी’ले पु¥याएको हानिलाई तिनीहरूले तत्कालै महसुस नगरे पनि केही समयपछि सटिक विश्लेषण गर्न सक्थे । अब विदेश नीतिको कुरा गरौँ । मोदी सिन्जो आबे, भ्लादिमिर पुटिन वा डोनल्ड ट्रम्पसँग उभिएर आकर्षक दृश्यको सिर्जना गराउँछन् र सबैलाई लोभ्याइदिन्छन् । यसमा सञ्चारमाध्यमले उनलाई यथेष्ट सहयोग गर्छन् ।

तर, त्यस क्रममा यी चार मुलुकको नैतिक खोक्रोपनलाई हेर्न सञ्चारमाध्यम बिर्सन्छन् । यमन, सिरिया र रोहिंग्या मुस्लिमहरूको समस्याबारे मोदी मौन बस्छन् । एसियालाई लिएर उनले धारणा बनाइसकेका छन् ।

तर पनि इजरायली नीतिबारे कुनै प्रश्न नगरी इजरायल मामिलामा सञ्चारमाध्यमले मोदीको सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । खासमा चीन मामिलामा मोदीले तिब्बतलाई धम्की दिने र लज्जित तुल्याउने कामबाहेक अरू केही गरेका छन् । पाकिस्तानको हकमाचाहिँ उनले केही उपलब्धि हासिल गरेको भन्न सकिन्छ ।

तर, विदेश नीतिबारे सञ्चारमाध्यम गम्भीर देखिँदैनन् । यो मामिलामा मोदीको वास्तविक आँकलन निकै कम हुन्छ । सञ्चारमाध्यमसँग निकै थोरै शंका र प्रश्न छन् । हामी पाकिस्तान र चीनबारे काल्पनिक जितको खुसी मनाउँछौँ। वास्तविकता देखाउनुपर्ने ठाउँमा सञ्चारमाध्यमहरू ‘जी हजुरी’ मा लागेका छन् ।

भीडले कुटपिट गरी मार्ने घटनालाई लिएर मोदीले अवलम्बन गरेको व्यवहारप्रति सञ्चारमाध्यमको दृष्टिकोण अझ बढी लज्जास्पद छ । सञ्चारमाध्यमले मोदीका प्रतिक्रियालाई सफासुग्घर बनाउने प्रयत्न गर्छन् । सञ्चारमाध्यमसँग फरक दृष्टिकोण नहुनुले साँच्चै चिन्ता उत्पन्न गराउँछ ।

मोदीका उपलब्धि र कमजोरीलाई लिएर सञ्चारमाध्यमको ढुलमुले व्यवहारका कारण उनीबारे विज्ञापन कहाँ सकिन्छ र सन्तुलित मूल्यांकन कहाँबाट सुरु हुन्छ भन्ने छुट्ट्याउन गाह्रो छ । यहाँसम्म कि सञ्चारमाध्यमहरू आसामबारे पनि मौन छन् र छिटपुट विश्लेषण मात्रै आइरहेका छन् ।

नागरिकतासम्बन्धी राष्ट्रिय पञ्जीकरणलाई भारतको एउटा महान् परम्पराको रूपमा देखाइँदैछ । यी र यस्ता अवस्थाबीच देशमा विरोध र फरक मतका लागि ठाउँ कम हुँदै गएको छ । आशा छ ‘बहुसंख्यवाद’ को पक्षमा उभिनुको साटो सञ्चारमाध्यमले आफ्नो वास्तविक भूमिका निर्वाह गर्नेछन् ।

सञ्चारमाध्यमले ‘आपत्काल’मा एउटा भिन्न भूमिका निर्वाह गरेका थिए । आशा छ सन् २०१९ को चुनावअघि नै आलोचना र साहसिक पत्रिकामा तिनीहरू फर्कनेछन् । यो विरोध र लोकतन्त्रको सञ्चारमाध्यमहरूमाथि एउटा ऋण छ ।
(बिबिसी हिन्दीमा प्रकाशित भारतीय समाजशास्त्री शिव विश्वनाथनको व्यक्तिगत विचारको अनुवाद)

प्रतिक्रिया