अर्थबजार

वार्षिक १० करोडको स्याउ कुहाउँदै बाजुरा

अनिल शाही २०७५ भदौ २२ गते ७:१० मा प्रकाशित

बाजुरा । बाजुरामा हरेक वर्ष स्याउ लगाइएको क्षेत्रको क्षेत्रफल बढी रहेको छ । स्थानीय तहले समेत स्याउ उत्पादन हुने क्षेत्रमा क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छन । एक तथ्यांकअनुसार स्याउ उत्पादन हुनसक्ने क्षेत्रमध्ये बाजुरामा गएको बर्ष करिब १० प्रतिशतले विस्तार भएको देखाएको छ ।

एकातिर स्याउको उत्पादन बढदै छ भने अर्कातिर स्याउको खपतको अवस्थामा भने निकै गिरावट आइरहेको छ । सबैभन्दा बढी स्याउ उत्पादन हुने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गतवर्ष ११२ दशमलव ८ मेट्रिकटन स्याउ उत्पादन भयो ।

तर १६ दशमलव ९ मेट्रिकटन स्याउ मात्र बिक्रि भएको पाइएको छ । त्यस्तै, बुढीनन्दा नगरपालिकामा गत वर्ष ११० दशमलव १५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो तर ३७ दशमलव २६ मेट्रिकटन स्याउ मात्र किसानले बिक्री गरेका छन् ।

जिल्लामा गत वर्ष स्याउको उत्पादन ४ सय ७० मेट्रिकटनले वृद्धि भएको भए पनि किसानले करिब २ सय ५० मेट्रिकटन स्याउको मात्र बिक्री गर्न सकेका छन् । बाजुरामा उत्पादन भएर खेर जाने करिब ७ सय १० मेट्रिकटन स्याउको बजार मूल्यलाई हेर्दा बाजुराले प्रतिवर्ष १० करोड ५० लाख बढी रुपैयाँ बरावरको स्याउ खेर जाने गरेको छ ।

यो वर्षको असिनाले बाजुराको पाण्डुसैनमा स्याउको उत्पादन राम्रो नभए पनि अन्य ठाउँमा स्याउ राम्रै उत्पादन भै रहेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मिनप्रसाद जैसीले बताए । अधिकारीका अनुसार बाजुराले प्रतिवर्ष झण्डै २ सय २० हेक्टरमा करिब एक हजार मेट्रिकटन सम्म स्याउ उत्पादन गर्दै आइरहेको छ ।

यो वर्ष पनि बाजुरामा ९ सय मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । असिना परेको वर्ष केही सय मेट्रिकटन स्याउ उत्पादन घटे पनि उत्पादन भने राम्रै हुने उनले बताए । बाजुराको स्याउलाई धनगढी, नेपालगञ्ज लगायतका बजारसम्म पुर्याउन सके बाजुराले वर्षिक १४ करोड ४० लाख रुपैयाँसम्म आर्जन गर्न सक्थ्यो । तर, बाजुरामा भने सिजनमा प्रतिकिलो स्याउ रु १५ देखि २० रुपैयाँसम्म पर्छ भने अफ सिजनमा ७० देखि एक सयसम्म पर्ने गर्दछ ।

जिल्लामा यातायातको पहुँच र बजारीकरण नहुँदा किसानले स्याउ बजारसम्म ढुवानी गर्न नसकिरहेका स्वामीकार्तिक गाउँपालिकाका जेटिए नवराज पण्डितले बताए । आफैँले बोकेर बजारसम्म पुर्याउन सकिँदैन, सडक, यातायात छैन, हवाई यातायात महंगो छ किसानले कहाँ लगेर बेच्ने स्याउ किसान नरबहादुर कट्टेलको भनाइ छ । क्रमशः स्याउको क्षेत्र विस्तार र उत्पादन बढिरहेको भए पनि यहाँ उत्पादन भएको स्याउले बजार नपाएपछि किसानको स्याउतर्फको आर्कषण घट्न थालेको छ ।

यो वर्ष पनि बाजुराका स्थानीय तहमा स्याउ राम्रै उत्पादन भएको छ, तर किसानलाई कहाँ बिक्री गर्ने भन्ने पिरलो कायमै छ । आजभोलि बगैँचामा पुग्ने ग्राहकलाई किसानले प्रतिगोटा एक रुपैयाँको दरले दिने गरेका भए पनि बिक्रि गर्न समस्या भै रहेको स्वामीकार्तिक गाउँपालिका तीन जुकोटका स्याउ किसान कपुर शाहीले गुनासो गरे ।

अफ सिजनसम्म स्याउ टिकाउन सकेमा प्रतिगोटा १० देखि १५ रुपैयाँसम्म बिक्री हुने भए पनि सिजनमा त प्रतिकिलोको १० देखि १५ रुपैया मात्र पर्दा पनि स्याउ बिक्री नभएको उनले बताए ।

कतिपयले यहाँबाट डोकोमा लगेर स्थानीय बजार कोल्टी, मार्तडीसम्म स्याउ बिक्री गर्ने भए पनि अधिकांश स्याउ भने बगैँचामै खेर जाने गरेको जुकोटकै स्थानीय विरेन्द्र शाहीले बताए । ‘बाजुराका स्याउ उत्पादन हुने स्थानमा अझै जग्गा खाली छ । स्याउ खेती गर्न किसान उत्साहित भए पनि बजारको अभावले मन लगाएका छैनन्’, शाहीको भनाइ छ ।

स्थानीय तहले भने स्याउ लगायतका फलफूल खेतीमा जोड दिइएका छन् । स्याउ, जैतुन, अनारलगायतका फलपूmल खेतीमा अनुदानको समेत व्यवस्था गरी क्षेत्र विस्तारमा स्थानयी तह लागेका भए पनि बजारीकरणका लागि भने स्थानीय तहले कुनै चासो नदिएको कृषकको गुनासो छ ।

स्थानीय तहले स्याउ, जैतुनजस्ता फलफूलका बिर वामा ७० प्रतिशत अनुदान दिएका भए पनि फलफूलको बजारीकरणमा जोड दिनुपर्ने र ढुवानीका लागि कृषकलाई अनुदानको व्यवस्था गर्नुपर्ने कतिपयको भनाइ छ ।

बाजुरामा अग्र्यानिक स्याउ उत्पादन हुने गरेको छ । बाजुरामा फल्ने गोल्डेन डेलिसियस, रेड डेलिसियस र जुनाथनलगायत जातको स्याउ उत्पादन हुने भए पनि त्यसले बजार नपाउँदा समस्या भइरहेको गुनासोका माझ क्षेत्र विस्तार र बजारीकरणमा स्थानीय तहलाई चुनौती भने थपिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय